काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा भदौ १९ गतेदेखि २१ गतेसम्म महामेला लाग्ने भएको छ । मेलाको सम्पूर्ण तयारी पूरा भएकोबारे कागेश्वरी महामेला व्यवस्थापन समितिले बताएको छ ।
बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी कागेश्वरी नगरपालिकाका मेयर एवम् महामेला व्यवस्थापन समितिका संरक्षक कृष्णहरि थापाले महामेला भव्य र सभ्य हुने बताउँदै देशभित्र र बाहिरका सबै भक्तजनहरुलाई निम्तो दिए । उनले मेलामा पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै एक लाख पचास हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको जानकारी दिए ।
नगरपालिकाको नाम नै कागेश्वरी महादेव मन्दिरको नामबाट राखिएको हुँदा उक्त मन्दिरमा लाग्ने मेलालाई नगरपालिकाले बिशेष महत्व दिएको छ । धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्येश्यले नगरपालिकाले २२७ किलो धातुको कागको मूर्ति स्थापना गरी कागेश्वरी महादेव मन्दिरको पहिचान बनाएको पनि थापाले जनाए ।
भदौ १९ गते कागेश्वरी मेलाको उद्घाट्न गरी साहित्यिक कार्यक्रम सञ्चालन गर्ने, भदौ २० गते धार्मिक प्रबचन र महात्म्य संचालन हुने र भदौ २१ गते मन्दिरको सरसफाई गर्ने कार्यक्रम रहेको थापाले बताए । उनले मन्दिरको डिजाईन पुरातात्विक विभागबाट गराएको र ६ करोडको बजेट छुट्याएको साथै मन्दिर वरपर पर्यटकलाई लक्षित गरी भ्यू–टावर, पिकनिक स्पट बनाउने बताए । उनले मन्दिरमा जानका लागि सुन्दरीजल, गागलफेदी, कागेश्वरी नगरपालिका हुँदै छोटो बाटोको प्रयोग गरी जान सकिने पनि जानकारी दिए ।
कार्यक्रममा कागेश्वरी–मनोहरा नगरपालिका वडा नम्बर एकका अध्यक्ष एवम् महामेला व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द गजुरेलले महामेलाको सम्पूर्ण तयारी भएको र कार्यक्रममा सानो ठाउँको बाबजुतपनि भक्तजनहरुलगायत सम्पूर्ण पत्रकार मित्रहरुलाई मेलामा उपस्थितिका लागि आमन्त्रण गरेका छन् । कार्यक्रममा सानो क्षेत्रलाई जतिसक्दो व्यवस्थित् गर्ने र आगामी वर्षमा मेलालाई मध्येनजर गर्दै ठाउँ व्यवस्थापन गर्ने पनि विश्वास दिलाए । मेलामा नगरपालिकाभित्र सार्वजानिक विदा दिने परम्परालाई यसपालिपनि निरन्तरता दिईएको आयोजकको भनाई छ ।
ॐकार ध्वनीका संस्थापक मुकुन्द शर्माले चराचर जगतको महिमा सुनाउँदै तीन दिनको अनुष्ठान् मेलाका लागि अभियान सुरु भएको अभियान अत्यन्त राम्रो र धार्मिक भएको प्रतिक्रिया दिए । उक्त मेलामा जाने भक्तजनहरुले गोसाईकुण्डको जल लिएर गए पवित्र हुने विश्वास रहेको पनि उनले सुनाए । उनले कागले छोए वा विस्टाएमा दशा लाग्ने रुढीबादी परम्परा भएको र कागले छोएमा कागेश्वरीको दर्शन गर्न जानु भन्ने परम्परा रहेको बताए । उनले भने,‘यस मन्दिरमा मकै ल्याएर कागलाई अर्पण गर्नु, यहाँ अवस्थित् पर्वतमा चढ्यो भने असम्य यज्ञ गरेको फल पाईने किम्बदन्ती छ ।’
कागेश्वरी मन्दिर स्वर्गको नमूनाको रुपमा रहेको र उक्त मन्दिरबाट काठमाडांै उपत्यकाको पनि मनोरम दृश्यहरुको दर्शन गर्न पाईने पनि शर्माले जनाए । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित उक्त क्षेत्रमा अहिले आन्तरिक एवं बाह्य पर्यटकको संख्या दैनिक बढ्दै गएको पनि आयोजकको दाबी छ । नेपालको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित कागेश्वरी महादेव मन्दिरमा हरेक वर्ष कागेअष्टमीका दिन विशेष मेला लाग्ने गर्दछ ।
प्रकाशित १८ भाद्र २0७६ , बुधबार | 2019-09-04 09:45:50
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार