काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीलाई आर्थिक पुरस्कारको घोषणा गरेका छन्।
प्रधानमन्त्री ओलीले बुधवार बालुवाटारमा सागमा सहभागी खेलाडीलाई भेट्दै एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रूपैयाँ र एउटा स्वर्ण जित्ने खेलाडीलाई ९ लाख रूपैयाँ दिने घोषणा गरेका छन।
त्यस्तै, ुटीम इभेन्टमाु स्वर्ण पदक जित्ने प्रतिखेलाडी लाई पाँच लाख र प्रशिक्षकलाई पनि पाँच लाख रूपैयाँ पुरस्कारको घोषणा गरेका प्रधानमन्त्री ओलीले रजत पदक जित्नेलाई ६ लाख र कांस्य पदक जित्ने खेलाडीलाई ३ लाख रूपैयाँ पुरस्कार घोषणा गरेका छन।
२४ मंसीरको साग समापनमा भिडिओ कन्फ्रेन्समार्फत् सम्बोधन गरेका प्रधानमन्त्री ओलीले खेलाडीलाई बालुवाटारमा निम्तो दिएका थिए।
सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जितेको छ। पदक तालिकामा नेपाल भारतपछि दोस्रो स्थानमा छ। नेपालले सागमा यति धेरै स्वर्ण पदक जितेको यो पहिलो हो।
राष्ट्रिय खेलकुद परिषद्ले सागमा स्वर्ण पदक जित्नेलाई पाँच लाख, रजत पदक विजेतालाई तीन लाख र कांस्य पदक जित्ने खेलाडीहरूलाई दुई लाख रूपैयाँ दिने घोषणा गरिसकेको छ।
त्यस्तै समूहगत प्रतिस्पर्धातर्फ भने प्रत्येक खेलाडीले स्वर्णतर्फ दुई लाख, रजततर्फ एक लाख ५० हजार र कांस्यतर्फ एक लाख रूपैयाँ नगद पुरस्कार दिइनेछ।
यसअघि १० मंसीरमा पदक जित्ने नेपाली खेलाडीलाई प्रधानमन्त्री ओलीले विशेष प्याकेजसहित पुरस्कार घोषणा गर्ने कार्यक्रम तय भएको थियो।
तर, प्रधानमन्त्री ओली सोही दिन अस्वस्थ भएका कारण सो प्याकेज घोषणा हुन पाएको थिएन।
प्रकाशित २६ मङ्गसिर २0७६ , बिहिबार | 2019-12-12 02:51:51
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार