काठमाडौं । काठमाडौं, पोखरा र जनकपुरमा अहिले १३ औं दक्षिण एसियाली खेलकुद जारी छ । प्रतियोगितामा २६ खेलका २८ इभेन्ट सामेल छन् ।
औपचारिक उद्घाटन भएको पाँचौं दिनसम्म १३५ स्वर्ण पदकको छिनोफानो भएको छ ।
कुल ३१७ स्वर्णमध्ये १३५ स्वर्णको छिनोफानो हुँदा भारत ६२ स्वर्ण पदकका साथ शीर्ष स्थानमा रहेको छ । भारतले ४१ रजत र २१ कास्य पदक जित्दै तालिकामा समग्रमा १२४ पदक जितेको छ ।
यस्तै इतिहासमै दोस्रो पटक सागको तालिकामा दोस्रो स्थानमा रहेको आयोजक राष्ट्र नेपालले ३६ स्वर्ण पदक जितेको छ । पहिलो संस्करणदेखि लगातार सागमा सहभागिता जनाएको नेपालले सर्वाधिक स्वर्ण १९९९ मा काठमाडौंमा भएको आठौं साग गेम्समा ३१ स्वर्ण जित्दै दोस्रो स्थान कव्जा गरको थियो ।
त्यस यता खराब प्रदर्शन गरेको नेपालले यस पटक भने घरेलु भूमिमा आठौं साग गेम्सको पदक तालिकालाई विर्साएको छ । सागको तयारीका क्रममा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले साग गेम्समा नेपालले ५० स्वर्ण पदक जित्ने दावी गरेका थिए । उनको दावी वास्तविकतामा परिणत हुन अब नेपाललाई १४ स्वर्ण पदकको आवश्यकता रहेको छ ।
नेपालले चौथो दिनसम्म ३६ स्वर्ण पदक जित्दा २७ रजत र ३८ कास्यका साथ कुल १०१ पदक जितेको छ ।
श्रीलंका १७ स्वर्ण, ३५ रजत र ५५ कास्यका साथ कुल १०७ पदकका साथ तेस्रो स्थानमा छ ।
कुल ६२ पदक जित्दै चौथो स्थानमा रहेको पाकिस्तानले १५ स्वर्ण,२३ रजत र २४ कास्य पदक हात पारेको छ ।
बंगलादेशले भने अहिलेसम्म ४ वटा स्वर्ण पदक जितेको छ । उसले समग्रमा ६० पदक हात पारे पनि ११ रजत र ४५ कास्य पदक हात पारेको हो ।
माल्दिभ्सले भने १ स्वर्ण जित्दै तालिकाको छैटौं स्थानमा राखेको छ । समग्रमा ३ पदक जितेको माल्दिभ्सले अरु २ पदक भने कास्य हात पारेको हो ।
भुटानले भने स्वर्ण पदक जित्न सकेको छैन् । समग्रमा ६ पदक हात पारेको भुटानका सवै कास्य पदक हुन् ।
प्रकाशित २0 मङ्गसिर २0७६ , शुक्रबार | 2019-12-06 01:09:38
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार