काठमाडौं २, पुस । एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । आइतबार सम्पन्न फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले हरायो ।
थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो । आपनिङ उत्कृष्ट नभएपनि नेपालका मध्यक्रममा ब्याट्सम्यानहरुको प्रदर्शन सन्तोषजनक रहृयो ।
दोस्रो ओभरमा ओपनर कुशल मल्ल खाता नखोली आउट भएपछि आएका सुवार आयरले २२ रन जोडे । अर्का ओपनर राजन मगर दुर्भाग्यपूर्वक रनआउटको शिकार हुँदा नेपालले ५.३ ओभरमा २१ रनमात्र जोडेको थियो ।
त्यसपछि आएका कप्तान बिशाल केसीले ६३ रनको शानदार पारी खेले । ७९ बल खेलेर उनले ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै तृप्तराज दाशले १९ र सुनील भण्डारीले १५ रन नेपालको खातामा जोडे ।
सातौं नम्बरमा ब्याटिङमा आएका नारायण जोशीले विष्फोटक पारी खेल्दै नेपाललाई सम्मानित योगफलमा पुर्याए । जोशी २३ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४६ रनमा अविजित रहे । प्रतिश जोशी पनि १० रनमा अविजित रहे ।
१८४ रनको विजयलक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ३१.५ ओभरमा ११२ रनमै समेटिएपछि नेपालको ७१ रनको शानदार जित सम्भव भयो । सिंगापुरका लागि शाही हर्ष बेनुगोपालले सर्बाधिक ३१ रन बनाए । अर्नभ राधवाले सिंगापुरका लागि २१ रन बनाए ।
प्रकाशित २ पुष २0७४ , आइतबार | 2017-12-17 10:07:30
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार