काठमाडौं । पार्टी भित्र र बाहिरबाट चौतर्फी विरोध भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सांसद तथा पदाधिकारीलाई वितरण गर्ने दसैँ भत्ता नलिने भएको छ । कोरोना महामारीको चरम संकटमा दसैं भत्ता लिँदा सर्वत्र विरोध भएपछि नेकपा संसदीय दलले भत्ता नलिने निर्णय गरेको हो । यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दसैं भत्ता नलिने निर्णय गरेको थियो ।
नेकपा सांसदले पाउने दसैँ भत्ता कोरोना नियन्त्रणका लागि स्थापना गरिएको प्रधानमन्त्री कोषमा रकम जम्मा गरिने राष्ट्रियसभामा नेकपामा प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिएका छन् । प्रतिनिधि सभामा नेकपाका १ सय ७२ जना सांसद छन्। त्यसैगरी संघीय संसदको उपल्लो सदन राष्ट्रिय सभामा नेकपाका ५० जना सांसद छन् ।
कांग्रेस सांसदले पाउने ४३ लाख भत्ता कोरोना कोषमा
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना सासंदहरुले पाउने दसैँ भत्ता नलिने घोषणा गरेको छ । दसैँ भत्ता वापत आफ्ना ५० जना सांसदहरुलाई वितरण गरिने भत्ता कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय कांग्रेसले गरेको छ।
कांग्रेस पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई प्राप्त हुने कूल रकम ४३ लाख २० हजार ८ सय १० रुपैयाँ सो कोषमा जम्मा गर्ने निर्णय भएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले बताएका छन्। ‘कोरोना भाइरस महामारीको कारणले उत्पन्न हालको विषम परिस्थितिमा आमनेपाली जनताले रोग, भोक, अभाव, पिडा र कठिनाई भोगीरहेका अवस्थामा जनप्रतिनिधिलाई दशै भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएकोले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने संघीय संसदका सदस्यहरुलाई उपलब्ध गराईएको दशै भत्ता वापतको रकम नेपाली कांग्रेसले फिर्ता गर्ने निर्णय गरेको छ,’ खाणले भनेका छन् ।
प्रकाशित ३ कार्त्तिक २0७७ , सोमवार | 2020-10-19 12:10:52
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार