काठमाडौं । नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता नै लोकतन्त्रको जग भएकाले कहिकतैबाट प्रेसलाई नियन्त्रण गरिनु नहुने बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार तथा मिडियाकर्मीप्रति शुभकामना व्यक्त गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । शुभकामना सन्देशमा देउवाले ‘लोकतान्त्रिक व्यवस्थामै स्वतन्त्र प्रेस सम्भव हुन्छ भन्ने विश्वास राख्ने संचारकर्मीहरुले विभिन्न कालखण्डमा जो जसले सहादत दिनु भयो ती सबैलाई आजको मितिमा बिशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु ।’
यस वर्ष युनेस्कोले तय गरेको नारा ‘भयमुक्त र पक्षपातरहित पत्रकारिता’ अनुरूप नै नेपाली पत्रकार र मिडियाले काम गर्न पाउने वातावरण निर्माण गर्ने दायित्व सरकारको रहेको बताउँदै देउवाले त्यसका लागि खबरदारी गर्ने भूमिका प्रतिपक्षको रहेको स्पष्ट पारे।
‘प्रश्न र आलोचनाको संवैधानिक हक बोकेको मिडियालाई त्यही दायित्व निर्वाह गर्दा हामी कसैले पनि नकारात्मक दृष्टि राख्न मिल्दैन,’ सन्देशमा देउवाले भनेका छन् ।
महामारीको मौका हेरेर प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको र यसका केही संकेत सरकारका अभिव्यक्ति र व्यवहारमा देखिएको भन्दै कांग्रेसले लोकतन्त्रको पहरेदारका रूपमा रहेको मुलुकको चौथो अंगमाथि कुनै पनि ढंगले नियन्त्रण गर्न खोज्ने कामविरुद्ध प्रखर रुपले उभिने पनि जनाएको छ ।
प्रकाशित २१ बैशाख २0७७ , आइतबार | 2020-05-03 05:21:39
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार