काठमाडौं । संसदको पाँचौ तथा हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । सभामुखको रिक्तताका कारण अधिवेशन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ ।
पहिलो बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र सभाध्यक्षले पढेर सुनाइनेछ । यसबीचमा गरिएका मन्त्रिपरिषद् पुनःगठनलगायत सरकारका महत्वपूर्ण कामबारेमा संसद्लाई जानकारी दिइनेछ भने सत्ता र प्रतिपक्षी दलका सांसद्ले सार्वजनिक महत्व र जनजीवनका सवालमा ध्यानाकर्षण गराउनेछन् ।
संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुव्र्यव्यहारको आरोप लागेसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले अनुसन्धानमा सघाउन आग्रह गरेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिएका थिए ।
उनलाई हाल अदालतको आदेशबाट पूर्पक्षका लागि थुनामा राखिएपछि उनको सांसद् पदसमेत निलम्बनमा छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को ९३० बमोजिम महरलाई गत असोज २३ गते निलम्बन गरिएको थियो ।
काठमाडौँ जिल्ला अदालतबाट असोज १९ गते अनुसन्धानका सिलसिलामा पक्राउ गर्न अनुमति प्राप्त भएपछि प्रहरीले महरालाई उनको सरकारी निवास बालुवाटारबाट नियन्त्रणमा लिएको थियो ।
प्रवक्ता पाण्डेका अनुसार अघिल्लो अधिवेशनमा पारित हुन बाँकी आठ विधेयक अहिले प्रारम्भिक अध्ययनका लागि सांसद्लाई दिइसकिएको छ । हाल विभिन्न संसदीय समितिमा १५ विधेयक विचाराधीन छन् भने केही नयाँ विधेयक दर्ता भएका छन् ।
प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा दुई विधेयक विचाराधीन छन् । संसदबाट पारित भएकामध्ये पाँच विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ । गत अधिवेशनमा प्रतिपक्षी दलको अवरोधका कारण कतिपय महत्वपूर्ण विधेयक प्रस्तुत भए पनि पारित हुनसकेका थिएनन् ।
यो अधिवेशनमा बहुप्रतिक्षित नागरिकता विधेयक, सङ्घीय निजामति कर्मचारी विधेयक, राहदानी विधेयक, भूमिसम्बन्धी एकीकृत विधेयक जस्ता कानून पारित हुने अपेक्षा गरिएको थियो । साथै अमेरिकी सहयोगको ‘एमसिसी’ सम्झौता अनुमोदनको प्रस्ताव पनि यही अधिवेशनमा प्रस्तुत हुनेछ । सभामुख नभएका अवस्थामा बैठकको अध्यक्षता उपसभामुखले गर्ने संविधानमा व्यवस्था भए पनि प्रतिनिधिसभा नियमावलीमा बैठकको प्रारम्भ र स्थगन सभामुखले मात्र गर्न पाउने प्रावधान छ। त्यसैले सभामुख नभएका अवस्थामा आज बस्ने संसद बैठकको अध्यक्षता कसले गर्ने भन्ने बारेमा अझै अन्यौलता कायमै छ ।
उपसभामुख शिवमाया तुम्वाहाम्फले राजीनामा दिने निश्चित भए पनि भावी सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपा निष्कर्षमा पुग्न नसकेपछि अन्यौलता थप बढेको छ ।
सत्तारुढ नेकपाले सभामुख पद आफूसँग राख्ने निश्चित छ । त्यसैले सभामुख र उपसभामुख फरक दल र लिंगको हुनु पर्ने संवैधानिक व्यवस्था बमोजिम उपसभामुख शिवमायालाई राजीनामा गराउनु नेकपाको बाध्यता रहेको छ । तर शिवमायाले आफूलाई सभामुख बनाउने भए मात्रै राजीनामा दिने अडान लिएकी छन् ।
संसदको हिउँदे अधिवेशन सुरु हुनुअघि आज दिउँसो एक बजे दलहरुको अनौपचारिक बैठक बस्दै छ । उक्त बैठकले उपसभामुखले बैठकको अध्यक्षता गर्ने वा ज्येष्ठ सदस्यबाट अध्यक्षता गराउने भन्ने विषयमा टुंगो लगाउने बुझिएको छ ।
नागरिकताअनुसार प्रतिनिधिसभाको जेष्ठ सदस्य राजपाका महेन्द्रराय यादव हुन्। तर, उनको नागरिकतामा उल्लेख भएको जन्ममिति गलत भएको पाइएपछि २१ महिना अघि ७५ वर्षे महन्थ ठाकुरले जेष्ठ सदस्यको हैसियतमा प्रतिनिसभाका सदस्यहरुलाई शपथ गराएका थिए।
प्रकाशित ४ पुष २0७६ , शुक्रबार | 2019-12-20 03:42:19
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार