काठमाडौं । रामेछापमा भूकम्पले क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माणको कार्य ५५ प्रतिशत सम्पन्न भएको छ । जिल्लामा २५ प्रतिशत भवन निर्माण सुनिश्चित भएको जिल्ला आयोजना कार्यान्वयन इकाई )शिक्षा) जनाएको छ ।
शिक्षा पत्रकार समूहले आयोजना गरेको विद्यालय पुनःनिर्माण विषयक भर्चुअल सम्वादमा विद्यालय पुनर्निर्माणमा भएको सुस्त र पुनर्निर्मित भवनका गुणस्तरबारे सरोकारवालाले प्रश्न उठाएका थिए ।
जिल्लामा २०७२ को महाभुकम्पले क्षति पुर्याएका ५५ प्रतिशत विद्यालय निर्माण सम्पन्न र २५ प्रतिशत निर्माणाधीन रहेकाले झण्डै ८० प्रतिशत विद्यालयको पुनःनिर्माण सुनिश्चित भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले जनाएको छ । बाँकी २० प्रतिशत विद्यालयमा पनि ३० वटा अन्यसँग समायोजन भएका र केही हुने चरणमा रहेका साथै केही स्थानीय र प्रदेश सरकारले पुनर्निर्माण गरिदिएकाले अब पुनर्निमाण हुने विद्यालयको संख्या धेरै नरहेको इकाइले जनाएको छ ।
भुकम्पले रामेछापका ४१९ विद्यालयका ३३ सय ४५ कक्षाकोठामा क्षति पुगेको थियो । जसमध्ये हाल १७४५ कक्षाकोठा निर्माण सम्पन्न र ७१८ निर्माण सुनिश्चित गरी २४६३ कक्षाकोठा आगामी वर्ष भित्र निर्माण सम्पन्न भइसक्ने जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा) का प्रमुख निर्मल घिमिरेले बताए । बाँकी ८ सय कक्षाकोठा पुनर्निर्माण गर्नुपर्ने तथ्यांक भएपनि केही प्रदेश र स्थानीय तहबाट पनि निर्माण भएका र केही आगामी वर्ष निर्माण गर्ने इकाइको योजना छ ।
इकाइ प्रमुख घिमिरेले त्यतिबेला ४१९ विद्यालय भएकोमा ३० समायोजन भएर हाल ३८९ मात्रै विद्यालय बाँकी रहेका र केहीका स्तर घट्ने क्रम रहेकाले पुनर्निर्माण हुनुपर्ने कक्षाकोठाको स.ख्या केही घट्ने जानकारी दिए । रामेछापमा विव्यस, निर्माण व्यवसायी र गैह्रसरकारी संस्थामार्फत निर्माण हुने गरी ३ मोडलमा निर्माणको काम भइरहेको घिमिरेले जानकारी दिए । विव्यसबाट निर्माण हुने २७१ विद्यालयका ९१६ कक्षाकोठा निर्माण र निर्माण सुनिश्चित गरिसकेको भन्दै त्यो मध्ये ७४७ कक्षाकोठाको निर्माण यही असारमा सकिने र बाँकी १६९ कक्षाकोठा भर्खरै कार्यक्रम स्वीकृत भएकाले अर्कोवर्ष सकिने उनले बताए ।
निर्माण व्यवसायीबाट बन्ने २१ विद्यालय गतवर्ष नै सम्पन्न भएको र १२ विद्यालय २–३ महिना भित्र सम्पन्न हुने इकाइले जनाएको छ । १७ विद्यालयको निर्माण चाही कोभिड–१९ का कारणले शुरु गर्न सकिएको छैन । ठेक्कामार्फत् निर्माण हुने ९ विद्यालयको निर्माण भर्खरै शुरु भएको इकाइले जनाएको छ । विव्यसमार्फत ७४७ कक्षाकोठा बनाउन हालसम्म १ अर्ब ९ करोड ३९ लाख ७ हजार ६६२ रुपिया ७३ पैसा खर्च भएकोमा आ.वं. २०७३/७४ मा १० करोड बढी, २०७४/७५मा ३५ करोड बढी, २०७५/७६ मा ४२ करोड बढी र २०७६/७७ मा २१ करोड बढी खर्च भएको छ ।
आगामी बर्षमा थप १६९ कक्षाकोठाको कार्यक्रम आएको इकाइले जनाएको छ । चार चरणमा गरेर निर्माण व्यवसायीमार्फत् निर्माण गर्नुपर्ने ५९ विद्यालयका ११३५ कक्षाकोठा मध्ये २१ विद्यालयमा ४२० कक्षाकोठा गतवर्ष नै निर्माण भएको छ । १२ विद्यालयमा २४० भदौभित्र निर्माणसम्पन्न भइसक्ने इकाइ प्रमुख घिमिरेले जानकारी दिए । बाँकी ९ विद्यालयका १३५ कक्षाकोठा र १७ विद्यालयका ३४० कक्षाकोठा पुननिर्माणको काम शुरु गर्ने चरणमा रहेका छन् ।
गैरसरकारी संस्थाले निर्माण गर्नुपर्ने ८५ विद्यालयका ७१२ कक्षाकोठा मध्ये ३३८ कक्षाकोठा निर्माण सम्पन्न गरिसके पनि १४ विद्यालयका ७४ कक्षा कोठा अहिले पनि निर्माणाधीन नै छन् । भूकम्पका कारण ३१ जिल्लाका करिव ८ हजार विद्यालय पुननिर्माण गर्नुपर्नेमा इकाइले ५ वर्षमा ७ हजार ५५३ पुनर्निर्माण गर्नुपर्ने थियो । जसमा ७५ प्रतिशत आधारभूत तह र २५ प्रतिशत मावि तहका विद्यालय थिए ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाइ(शिक्षा)का आयोजना उपनिर्देशक दिलिप शेखर श्रेष्ठले ५ वर्षमा ७५५३ विद्यालय पुनर्निर्माण गर्न दुई मोडालिटि तयार गरी ठूला र बढी क्षति भएकामा निर्माण व्यवसायीबाट र साना र कम क्षति भएका आधारभूत तहका विद्यालयहरु विव्यसमार्फत् निर्माण कार्य शुरु गरिएको जानकारी दिए । बन्दै गरेका र बनिसकेका विद्यालयकोे गुणस्तर अनुगमन नियमित भइरहेको र बनेका भवनहरु विपत्तप्रतिरोधी, लैंगिकमैत्री र वातावरण मैत्री रहेका उहाँले स्पष्ट पारे ।
यस्तै, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का उपसचिव प्रकाश महर्जनले पुनर्निर्माण रफ्तारमा अघि बढिरहेको बेला कोभिड–१९ को संकटले केही सुस्त हुनगएको स्वीकार्दै सुस्त गतिमा भएपनि काम अगाडि बढिरहेको बताए ।
शिक्षा विकास तथा समन्वय इकाइ रामेछापका इकाइ प्रमुख भरत भट्टराईले कोरोना कहरका बीच जिल्लामा विद्यालयको पुनर्निर्माण नियमितरुपमा अगाडि बढिरहेको बताए । सुनापति गाउँपालिकाका अध्यक्ष ढावा लामाले जिल्लामा विद्यालय पुननिर्माणको काम अनितम चरणमा पुगिरहेको भन्दै इकाइले बनाइ दिएका चिटिक्कका भवनको सुरक्षा र त्यसमा बालबालिका भर्ने र गुणस्तरीय सिकाइ गर्ने जिम्मा स्थानीय सरकारले लिने स्पष्ट पार्नुभयो ।
गौरीशंकर मावि रामेछापका प्रअ निरबहादुर कार्कीले पुनर्निर्मित भवनको डिजाइन एक तले हुँदा जग्गा ओगटेको र थप भवन बनाउन समस्या परेकाले भवनको डिजाइन गर्दा तलाथप्न मिल्ने गरी बनाउन पाए सहज हुने धारणा राखे । दहु मावि दहु रामेछापका प्रअ दलबहादुर बलले भवन निर्माण समयमै सम्पन्न भएपनि खानेपानीको समस्या यथावत रहेकाले अब बन्ने भवनमा खानेपानीको व्यवस्था पनि समेट्न सके राम्रो हुने विचार व्यक्त गर्नुभयो । निलकण्ठेश्वर मावि रामेछापका विव्यस अध्यक्ष गुञ्जबहादुर श्रेष्ठले लकडाउनका कारण निर्माण सामग्री ढुवानी र कामदार व्यवस्थापनमा केही समस्या भएको बताउनु भयो ।
शिक्षा पत्रकार समूहले गरेको सो भर्चुअल छलफलमा रामेछापका जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रमुख÷उपप्रमुख, केन्द्रीय तथा जिल्ला आयोजना कार्यान्वयन इकाईका अधिकारीहरु, पत्रकारहरु, गैरसरकारी संस्थाका प्रतिनिधि सहभागी थिए ।
प्रकाशित ५ असाढ २0७७ , शुक्रबार | 2020-06-19 12:27:28
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार