वीरगञ्ज । मृतकको पिसिआर रिपोट नआउँदै शव दिएको भन्दै वीरगञ्ज नेशनल मेडिकल कलेजमाथि अनुसन्धान थालिएको छ ।
कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख एवम् पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि थप अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
अस्पतालमा जेठ २ गते भर्ना गरिएका र जेठ ४ गते नै मृत्यु भएका बारा, कलैया उपमहानगरपालिका–७ निवासी ७० वर्षीय व्यक्तिमा कोभिड १९ सङ्क्रमणको आशङ्कामा पिसिआर जाँचको लागि स्वाब सङ्कलन गरिएको तर पिसिआर जाँचको रिपोर्ट नआउँदै दाहसंस्कार गर्न शव आफन्तको जिम्मा लगाइएको र आफन्तले मृतकको सदगद समेत गरिसकेको अवस्थामा रिपोर्ट पोजिटिभ आएको थियो ।
सङ्घीय गृह मन्त्रालयमार्फत् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई यस घटनामा थप छानबिन एवम् कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गर्ने निर्णय कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
बैठकले मृतकको सम्पर्कमा आएका कलेजका चिकित्सक, स्वास्थ्यकर्मीलगायत सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखी पिसिआर जाँच गराउने, मृतकलाई उपचार गरिएको वार्ड तथा अस्पतालको क्षेत्र सिल गर्ने निर्णय गरिएको छ ।
प्रकाशित १३ जेठ २0७७ , मङ्गलबार | 2020-05-26 05:33:52
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार