काठमाडौँ । धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्यु कोरोना भाइरसको संक्रमणबाट भएको पुष्टि भएको छ । कोरोनाबाट मृत्यु हुने उनी नेपालमा पहिलो भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयले ८.५० मिनेटमा विज्ञप्ति जारी गर्दै उनको मृत्यु कोभिड–१९ बाट भएको स्पष्ट पारेको छ । यसअघि धुलिखेल अस्पतालले गरेको परीक्षणमा पनि उनमा कोरोना पोजिटिभ देखिएको थियो ।
उनले बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । २४ गते उनले बच्चा जन्माइन् । शिक्षण अस्पतालबाट २५ गते डिस्चार्ज भएकी उनलाई बाह्रबिसे पुगेपछि स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि उनलाई स्थानीय स्वस्थ्य संस्थामा उपचार गराइएको र थप समस्या आएपछि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पतालका अनुसार राति साढे ९ बजे इमर्जेन्सीमा ल्याउँदा उनको अवस्था निकै गम्भिर थियो । साथै स्वास फेर्न समेत निकै कठिन भइरहेको थियो ।
स्वास फेर्न गाह्रो भएपछि ट्युब राखेर भेन्टिलेट गर्दा पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । त्यसपछि उनको स्वाब लिएर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ आएको हो । थप यकिन गर्न अहिले नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको थियो ।
संक्रमितको संख्या २८१ पुग्यो
स्वाास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पछिल्लो रिपोर्टमा थप दुई जनामा कोरोना पोजिटिभ देखिएको हो । संक्रमितहरू धनुषाका २० र ६५ वर्षका पुरुष छन् । दुबै जनाको स्वस्थ्य सामान्य रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित ३ जेठ २0७७ , शनिबार | 2020-05-16 04:08:01
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार