काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
मन्त्रिपरिषद्को माघ ६ गतेको निर्णय अनुसार प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती हुनुभएकी डा. सिंहलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच महानिरीक्षक खनालले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
त्यस अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नती हुनुभएका अधिकृतलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतीका लागि अग्रसर हुनु पर्ने बताए । नेपाल प्रहरी अस्पतालले प्रदान गर्ने सेवा, व्यवहार, भौतिक संरचना लगायतमा उल्लेख्य सकारात्मक परिवर्तन भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल सरकार तथा संगठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन समेत दिए ।
कार्यक्रममा एआईजी डा. सिंहले त्रुटी रहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न आफू तल्लीन हुने प्रतिवद्धता व्यक्त गरिन् । गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह र पेशागत क्षमतालाई अभिवृद्धि गर्न सरोकारवाला निकायहरुसँग समन्वय गर्ने उल्लेख गर्दै उहाँले नेपाल प्रहरी अस्पताललाई सबैको भरपर्दो साथीको रुपमा विकास गर्ने उनले बताइन् ।
प्राविधिकतर्फको एआईजी पदसम्म पुग्ने महिला डा. दुर्गा थापा हुन् । उनीपछि एआईजी हुने महिला सिंह हुन्। २०५२ मा माओवादीले थालेको हिंसात्मक आन्दोलनका बेला नेपाल प्रहरीमा इन्सपेक्टर पदमा भर्ना भएकी आशा सिंह झण्डै अढाई दशकको अथक परिश्रमपछि एआईजी बन्न सफल भएकी छिन् । उनी नेपाल प्रहरीको यति उच्च ओहोदामा पुग्ने पहिलो मधेसी महिला हुन्।
प्रकाशित ८ माघ २0७६ , बुधबार | 2020-01-22 08:59:34
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार