काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुहुने भएको छ । संसद सचिवालय स्रोतका अनुसार उहाँले आज प्रतिनिधि सभा बैठक सुरू हुनुभन्दा अगाडि नै राजीनामा दिन लाग्नुभएको हो ।
दिउँसो एक बजे संसद बैठक बोलाइएकाले त्यस अगाडि नै राजीनामा बुझाइने उपसभामुखका सञ्चार विज्ञ शेखर अधिकारीले बताएका छन् । उपसभामुखको राजीनामासँग ैसभामुख चयन प्रक्रिया अगाडि बढाउने तयारी भएको छ ।
बलात्कार प्रयासको अभियोगमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । तर, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख नछोड्ने भए पछि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने भएकी हुन् । यस अघि उनले राजीनमा नदिने अडान लिएकी थिइन् । आइतबार नेकपा अध्यक्ष प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्ड बीच सभामुखमा अग्नि सापकोटालाई अघि सार्ने सहमति भएपछि उपसभामुख पनि राजीनामा गर्न सहमत भएकी छन् ।
सभामुख र उपसभामुख दुवैले राजीनामा दिएपछि जेष्ठ सदस्य महन्थ ठाकुरले बैठक सञ्चालन गर्नेछन् । उपसभामुख तुम्बाहाङ्फेले संसद बैठक पछाडि पत्रकार सम्मेलन गर्ने भएकी छन् ।
यसअघि पुस ११, १६ र २७ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउन नसक्दा सूचना टाँसेर स्थगित हुँदै आएको थियो । सभामुख चयन प्रक्रिया ३ दिनभित्र सक्ने गरी निर्वाचन कार्यतालिका बनाउने सम्भावना रहेको संसद सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सभामुखमा सचेतक पुष्पा भुसाललाई अघि सार्ने तयारी गरेको छ ।
प्रकाशित ६ माघ २0७६ , सोमवार | 2020-01-20 07:09:08
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार