काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघ ६ गतेभित्रै मिल मालिकबाट उखु किसानको भुक्तानी गराईनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता गरेका छन् । उनले लिखित रुपमै प्रतिवद्धता गर्न तयार रहेको भन्दै उखु किसानलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । मन्त्री भट्टले उखु किसानको मागप्रति सरकार सुरुदेखि नै सकारात्मक र गम्भीर रहेको बताउँदै आगामी माघको पहिलो साताभित्रै सबै भुक्तानी दिलाउनेगरि लिखित रुपमै सहमति गर्ने स्पष्ट पारेका हुन् । उनले भने,‘आउने माघको ६ गतेभित्र उखु किसानहरुको माग पूरा हुन्छ । म लिखित रुपमै प्रतिबद्धता व्यक्त गर्छु ।’
मन्त्री भट्टले पुसभित्र ८० प्रतिशत र बाँकी २० प्रतिशत माघको पहिलो सातासम्म भुक्तानी गराउने विश्वास समेत दिलाएका छन् । उनले भने,‘सरकारको तर्फबाट म चिनी मालिकसँग किसानहरुको बाँकी भुक्तानी उठाईदिने प्रतिबद्धता व्यक्त गर्दछु ।
सरकारले नै अब किसानहरुको भुक्तानी उठाईदिने जिम्मेवारी लिएको छ ।’ उनकाअनुसार १३ ओटामध्ये ३ चिनी मिलले किसानलाई भुक्तानी दिन बाँकी रहेको छ । उनले भने,‘उखु किसानहरुको माग र समस्याको दीर्घकालीन समाधान गर्न हामी आजै एउटा कार्यदल गठन गर्छौं । र त्यो कार्यदलले १५ दिनभित्र प्रतिवदन दिनेछ ।
त्यो प्रतिवेदन आएपछि हामी त्यही अनुसार अघि बढ्छौं । अब उखु किसानहरुलाई दिईने हरेक अनुदान किसानकै खातामा हालिदिने व्यवस्था पनि गर्छौं ।’ मन्त्री भट्टले नेपालमा वार्षिक २ लाख ४० हजार मेट्रिक टक चिनी आवश्यक पर्ने जानकारी दिए । उनले भने,‘ अहिले एक लाख ७५ हजार मेट्रिक टन मात्र उत्पादन हुन्छ । अझै ६५ हजार मेट्रिक टन अभाव छ ।’ चिनीको उत्पाद वढाउन सरकारले उखु किसानलाई प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिँदै आएको छ ।
कार्यक्रममा उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले विभागीय मन्त्रीबाटै आफूहरुको माग पूरा गराउने प्रतिबद्धता आएको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा उपस्थित् भएका उखु किसानहरुले अब आफूहरु घर फर्किने पनि जानकारी दिए । उनीहरुले विभागीय मन्त्रीबाट नै माग पूरा गराउने प्रतिबद्धता आएकोले अब घर फर्किन आफूहरु तयार भएको स्पष्ट पारेका हुन् ।
कार्यक्रममा उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले आफूहरुले सरकारप्रति विश्वास र भरोसा राखेर लामो समयसम्म पर्खेर बसेको सुनाए । तर, लामो समयसम्म पर्खिदापनि माग पूरा नगरेकोमा आफूहरु दुःखित भएको पनि उनले गुनासो पोखे ।
अर्का उखु किसान रामविलाष रायले पनि तीन वर्षदेखि आफू मारमा परेको दुखेसो पोखे । उनले भने,‘मैले तीन वर्षदेखि तीन लाख लिनुपरेको छ । तर, यो बीचमा मैले आफ्नो स्वास्थ्योपचारदेखि अन्य धेरै समस्याको समाधान ऋण मागेर गर्नुपरेको छ । अब ऋणको ब्याज तिर्दा म त धेरै ठूलो मारमा पर्छु नि ।’
प्रकाशित १८ पुष २0७६ , शुक्रबार | 2020-01-03 09:31:52
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार