काठमाडौं । अर्थविद् तथा पूर्वराजदुतहरूले अमेरिकी सहयोग एमसीसी सहयोग संसदबाट अनुमोदन गरेर लिनुपर्ने बताएका छन् । उनीहरूले सरकारले संसदबाट अनुमोदन गरेर सहयोग लिदा कुनै विवाद नहुने दाबी समेत गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द प्रसाद पोखरेल, अमेरिकाका लागि पूर्व नेपाली राजदुत डा.शंकर शर्मा, श्रीलंकाका लागि पूर्व राजदुत प्राडा. विश्वम्भर प्याकुरेल र अर्थविद् डा. डील्लीराज खनालले एकै स्वरमा एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताए ।
प्रा.डा. गोविन्दराज पोखरेलले एमसीसीबारे धेरै विवाद गर्न नहुने धारणा राखे । उनले भने,‘यसबारेमा कुनै विवाद नगरौं, बरु यसलाई अगाडि बढाऔं । संसदबाट अनुमोदन गर्नुपर्छ ।’ उनले ५० करोड डलर बराबरको उक्त एमसीसी कम्प्याक्ट नेपालकै हितमा रहेको पनि सुनाए । ‘यसलाई विवादमा ल्याउनहुँदैन्’–उनले भने,‘यो नेपालको हितमा भएकोले यसलाई पास गरौं ।’
अमेरिकाका लागि पूर्व नेपाली राजदुत तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले पनि एमसीसीलाई अघि बढाउनुपर्ने धारणा राखे । एमसीसीमा डेमोक्रेटिक र रिपब्लिकन दुवै सदस्य रहेको पनि उनले सुनाए । उनले नेपाल एमसीसीको सबै सूचांक पार गरेर क्वालिफाई भएको पनि सुनाए । उनले भने,‘यसमा आर्थिक सूचांक थियो, भ्रष्टाचारबारे हेरिएको थियो ।’ सन् २०११ को डिसेम्बरमा नेपाल क्वालिफाई भएको शर्माले जनाए । उनले भने,‘त्यतिवेला म राजुत थिएँ, नेपालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो, हामी दुवैले बधाई पायौं ।’
श्रीलंकाका लागि पूर्व नेपाली राजदुत प्राडा. विश्वम्भर प्याकुरेलले पनि एमसीसीलाई संसदबाट अनुमोदन गर्नुपर्ने बताए । तर, यस्तो परियोजना संसदबाटै अनुमोदन गर्नुपर्छ भनेर नेपालको संविधानले पनि कुनै व्यवस्था नगरेकोले मन्त्रिपरिषदबाटै अनुमोदन गर्दापनि हुनेथियो भन्ने धारणा राखे ।
अर्थविद् डा. डिल्लीराज खनालले नेपालले सम्झौता गरिसकेकोले अब यसलाई विवाद नगरी संसदबाट अनुमोदन गर्नुपर्ने सुझाव दिए । उनले भने,‘अहिले संसदबाट अनुमोदन गर्ने कि नगर्ने भनेर बहस चलिरहेको छ । म त भन्छु एमसीसी ल्याउनुपर्छ । तर, कम्प्याक्टका केही प्रोभिजनहरुबारे स्पष्ट पार्नुपर्छ ।’
प्रकाशित ८ पुष २0७६ , मङ्गलबार | 2019-12-24 11:24:38
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार