अमरवाणी संवाददाता/काठमाडौं । श्रृष्टि पन्त,बानियाँलाई कलेजको कक्षा छोप्ने हतारो थियो । सोमबार बिहान ६.१५ बाट शुरु हुने पहिलो घन्टीमा पुग्न उनी आतुर थिइन । पशुपति बुहुमुखी क्याम्पसमा स्नातक तह चौथो वर्ष व्यवस्थापन संकायमा अध्ययनरत उनी अब कहिले कलेजको गेट छिर्ने छैनन् ।
बिहान ५.३० बजे काठमाडौं सुकेधारामा कलेज जान गाडी कुरिरहेकी श्रृष्टिलाई भक्तपुर यातायताको बा ४ ख ५९२० नम्बरको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भइन् । ‘केही बेरमा उनलाई चावहिलको ओम हस्पिटल पुर्याइयो’ पशुपति बुहमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी रमेश आचार्यले भने,‘केहीबेर अस्पतालले आफ्न्त खोइ ? भनेर उपचारमा ढिलाई गर्यो ।’ ‘टाउकोमा गम्भीर चोट लागेकाले टाउको सिटी स्क्यान गर्ने भनियो’ रमेशले भने,‘त्यतिञ्जेल समय घर्की सकेको थियो, डाक्टरले टाउकोमा रगत जमेको भन्नुभयो ।’
अस्पताल पुगेपछि श्रृष्टि चेतमै भएको उनले कुराकानी समेत गरेको उनका साथीहरू बताउँछन् । विद्यार्थीहरूले बस समितिका पदाधिकारीलाई खबर गरेपनि उनीहरू सम्पर्कमा आएनन् । ९.१५ बजे श्रृष्टिको निधन भयो । आँखाभरी आँशु पार्दै पशुपति बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी रवीन खड्काले भने,‘हामीले साथी गुमायो,एकतिर चालकको लापरवाही अर्कोतिर अस्पतालले नै विरामी नहेर्ने ?’
गोरखा जिल्ला पालुङटार नगरपालिका वडा नं ९ घर भएकी श्रृष्टि भाइसँगै काठमाडौंमा बस्थिन् । एक वर्ष अघि उनको विवाह भएका थियो । श्रीमान कोरियामा छन् । उनी कलेजमा क्लाससँगै चावहिलमै ट्युसन पनि पढथिन् । सधै झैं बिहानै घरबाट निस्केकी थिइन एक छिनपछि फोनमा दुर्घटनाको खबर आयो ओम हस्पिटलमा उनका फुपाजु लोक बहादुर पन्तले भने,‘उनी त गइन अब यस्तो लापरबाहीले अरु कोही मर्नु नपरोस् ।’
प्रहरीले बस र बसका चालकालाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी प्रभाग गौशलामा राखेको छ । चालकलाई मुलुकी अपराध सहिँता २०७४ बमोजिम ज्यानमार्ने कसूरमा कारबाही अघि बढाइने बौद्ध प्रहरीका प्रमुख प्रहरी उपरिक्षक एनबी सिंहले बताए ।
अस्पतालले श्रृष्टिको उपचारमा कमी नगरेको ओम अस्पतालका म्यानेजिङ डाइरेक्टर बाबुकाजी कार्कीले बताए । उनले अमरवाणीसँग कुरा गर्दै भने,‘यसबारे अस्पतालले छिट्टै औपचारिक जानकारी दिने छ ।’ पशुपति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रयाग राज भट्टराईले छात्राको निधन दुखद भन्दै राज्यका अंगहरूले चेत गुम्दै गएका कारण यस्ता दोहरिने गरेको बताए ।
प्रकाशित ७ पुष २0७६ , सोमवार | 2019-12-23 09:29:23
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार