काठमाडौं। जडिबुटी संकलन गर्ने क्रममा चार दिनदेखि सम्पर्कविहीन रहेका जुम्लाको तिला गाउँपालिका–९, ढिपुगाउँका १२ जनासकुशल घर फर्किएका छन्।
उनीहरु तीन दिन लगातार हिडेर २९ मंसीर राति ११ बजे घर आइपुगेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले बताए ।
चार दिनदेखि हराइरहेको भन्दै खोजीका लागि हेलिकप्टरसहित जाने तयारी भइरहेकै बेला उनीहरु घर फर्किएका हुन्।
जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले पनि १२ जना नै सम्पर्कमा आएको पुष्टि गरे।
बाक्लो हिउँ परेका कारण यसअघि उनीहरुको खोजतलास र उद्धार कठिन बनेको थियो।
कर्णाली प्रदेश सरकार र स्थानीय प्रशासनले हेलिकप्टरबाट खोजी गर्न गृहमन्त्रालयलाई आग्रह गरेको थियो। आज बिहानै बसेको सुरक्षा समितिको बैठकले समेत गृहमन्त्रालयलाई उद्धारका लागि आग्रह गरेको थियो।
शेरा फूलबारी पाटन भन्ने ठाउँबाट उनीहरु सम्पर्कविहीन भएका थिए। सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी संकलन गर्न त्यसक्षेत्रका बासिन्दा पाटनतर्फ जाने गर्छन्।
ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा जडिबुटी संकलन गर्न गएका थिए।
प्रकाशित ३0 मङ्गसिर २0७६ , सोमवार | 2019-12-16 09:21:22
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार