मेरो राराको छेउमा
त्यो शान्त र शौम्य दृश्य
अनुपम उपहार प्रकृतिको
हिमालयको सजीव चित्र
लाग्छ अजीव र विचित्र
न त मौखिक वर्णन
न त शाब्दिक चित्रण
यसको बयान त असीमित छ
जो छ बिशाल छ
मनमोहक र सुन्दर छ
अदम्य र अटल छ !
मेरो मुगुको चिनारी
हिमालयको काखमा अटाएको
निस्फिक्री रमाएको
कहिले सिरसिर चलमलाँएको
कहिले शान्त र स्थिर
घना जङ्गलको बीचमा
जङ्गलको शोभा बढाउँदै
जंगलको मुटु हो भन्ने भान हुन्छ
चराहरुको चिरबीर आवाज
जङ्गली जनावरको उफ्राई
अनेक फूलहरुको सुवासना
हिमाली जडिबुटीहरुको सुगन्ध
आनन्दको अन्तिम सीमा
स्वर्णिम अनुभूतिको हद पार !
यो न त नदी झैं गडगडाउँछ
न त यसमा समुन्द्र माझैं मिसावट छ
स्वच्छ, सफा र निश्चलताले भरिएको
कति प्यारो कति लोभलाग्दो
हिमालयको शुद्ध गङ्गाजल
पिउनै पर्दैन यसलाई
हेरेरै प्यास मेटिन्छ
डुब्नै पर्दैन यसमा
स्पर्शले मात्र स्वर्ग भेटिन्छ !!
प्रकाशित २७ असाढ २0७७ , शनिबार | 2020-07-11 04:23:26
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार