गोपाल किराँती खरो बोल्ने र स्पष्ट विचार राख्ने नेताका रूपमा परिचित छन् । माओवादी केन्द्रमा हुँदापनि उनी कहिले ८०० जिल्ला बनाउनु पर्छ भन्ने धारणा राख्दा विवादमा आएभने कहिले पार्टीको आधिकारिक लाइन विपरित बोलेको भन्दै उनको आलोचना हुन्थ्यो । माओवादी केन्द्रले उनलाई पछिल्लो आम निर्वाचनमा पार्टीको हित विपरित गएको भन्दै कारवाही गरेको बताएको छ । तर, किराँती भने आफू नेकपा माओवादी पुनःगठन अभियानमा जुटेको बताउँदै आएका छन् । मशाल, एकता केन्द्र, माओवादी, एकीकृत हुँदै माओवादी केन्द्रसम्म पुग्दा उनको व्यक्तिगत तथा जातीय पहिचान पनि फरक–फरक रह्यो । माओवादी केन्द्रमा रहेर जातीयता र पहिचानका लागि निरन्तर संघर्ष गरिरहेको बताउने किराँती त्यतिबेला छाँगाबाट खसेँझै भए जब प्रचण्डले २०७४ साल असोज १६ गते एमालेसँग पार्टी एकीकरण औपचारिक प्रस्ताव केन्द्रीय नेताहरूलाई सुनाए । किराँती भन्छन् ‘यो माओवादी पार्टी विलय थियो ।’ उनले प्रचण्डले राखेको एकताको प्रस्तावको ठाडै विरोधमात्र गरेन पार्टीको प्रशिक्षण समेत बहिस्कार गरे । त्यसपछि उनी प्रचण्डको ‘तारो’ बने । र, अन्ततः उनी माओवादी केन्द्रबाट अलग्गिए । किराँतीको ३५ वर्षे राजनीतिक संघर्ष,भोगाई, नेपालमा कम्युनिष्ट आन्दोलन र उनले थालेको माओवादी पुनःगठन लगायत विषयमा केन्द्रित भएर अमरवाणीका संवाददाता रमेश दवाडीले उनीसँग गरेको कुराकानीः
राजनीतिक यात्रा
२०४० साल मंसिरबाट म राजनीतिमा होमिएँ । चक्कर ब्रिटिस आर्मी बन्ने थियो । तर, एकजना आफन्तले देश र जनताको मुक्तिका लागि संघर्ष गर्नुपर्छ भनेपछि म राजनीतिमा लागेँ । त्यतिबेला उहाँ नेकपा चौमको बुद्धिजीवी हुनुहुँदो रहेछ । म पनि त्यसमै सहभागी भएँ र ०४५ सालमा म जेल परेँ १० महिना । तारेख धाउदै ०४६ सालको जनआन्दोलनमा सहभागी भएँ । आन्दोलन सफलभएपछि अञ्चलाधीश कार्यालय खारेज भयो र मेरो मुद्दा पनि खारेज भयो । जनआन्दोलनपछि एमएस थापा र गोरेबहादुर खपाङ्गीसँग मिलेर जनमुक्ति मोर्चा गठन गरियो । म त्यसको केन्द्रीय सदस्य रहेँ । तर, पछिबाट खपाङ्गी र थापा राजावादी रहेछन् भन्ने थाहा भयो अनि मैले मोर्चा छाडेँ । जातियमुक्तिको सवाल उठाउने एउटा वामपन्थी शक्ति भन्ने मैले बुझेको थिएँ तर थापा र खपाङ्गी वामपन्थी रहेनछन् । म कलिलै थिएँ । स्वायत्त राज्यको माग गर्नुप¥यो भनेर ०४९ सालदेखि पूर्वमा गएर खम्बुवान राष्ट्रिय मोर्चा खोलियो । त्यसले आफ्ना गतिविधि अघि बढाएकै बेला ०५२ सालमा जनयुद्ध सुरु भयो । मोर्चा ‘जनयुद्ध’ को नीतिगत समर्थक थियो । ०५४ साल असारदेखि हामी पनि माओवादी ‘जनयुद्ध’ मै होमियो । ति दिन निकै कष्टकर थिए भन्ने घामजस्तै छर्लङ्ग छ । पछि पहिलाको मार्चालाई किराँत वर्कस पार्टी भनेर परिवर्तन ग¥यौं । ०६० सालमा माओवादीमा एकीकृत ग¥यौं । त्यसपछि केन्द्रीय जनसरकार तहको प्रारूप भनियो संयुक्त कान्तिकारी जनपरिषद्लाई । म त्यसको केन्द्रीय सदस्य ०५८ सालदेखि भएँ ।
०६० सालमा नेकपा माओवादीको केन्द्रीय सदस्यको जिम्मा पाएँ । पोलिटब्यूरो सदस्य पनि भएँ । मेची–कोसी ब्यूरोको जिम्मेवारी पाएँ । म जिम्मेवारी पाएको भूमिका पूरागर्न दत्तचित्त भएर लाग्थे । मलाई पार्टीले किराँत स्वायत्त जनसरकारको अध्यक्ष बनायो । पहिलो संविधानसभा निर्वाचनमा गृहजिल्ला सोलुखुम्बुबाट निर्वाचित भएँ । त्यसपछि गणतन्त्र नेपालको पहिलो संस्कृति, राज्य पुर्नसंरचना मन्त्री बनेँ । ०६८ मा पनि फेरि सोही मन्त्रालयको जिम्मेवारी सम्हाल्न पार्टीले पठायो । पछिल्लो चरणमा माओवादी पार्टी विभाजित भयो । यो कम्युनिष्ट आन्दोलनलाई ठुलो धक्का थियो । १० वर्षे जनयुद्धमा हजारौं व्यक्ति सहिद भए,कतिको घरवार बेपत्ता छ, जनताले धेरै अपेक्षा गरेको पार्टी टुक्रँदा मुलुकलाई ठूलो क्षति पुगेको छ । त्यो निर्वाचनले पनि पुष्टि गरिसकेको छ ।
‘माओवादी’ पुर्नगठन अभियान
०७५ साल वैशाख ९ गते लेनिन दिवस र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर पुर्नगठन पक्षधर एकाकार भएका छौं । त्यसमा विश्वभक्त दुलाल (आहुति),लोकेन्द्र मगर म लगायतका केन्द्रीय सदस्य भेला भएर नेकपा माओवादी केन्द्र राष्ट्रिय भेला आयोजक समिति गठन गरेका छौं । साउन ७ गते पुष्पलाल श्रेष्ठ स्मृति दिवसरको अवसरमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय भएको छ । हामी पुनःगठन अभियानलाई धनीभूत रूपमा अगाडि बढाइने छ ।
सफल बनाउने सूत्र
माओवादी पुनःगठन अभियानका तीन ओटा महत्वपूर्ण पक्ष छन् । एउटा, वैज्ञानिक अथवा क्रान्तिकारी विर्सजनवादी धारको प्रश्न । अर्को, भावनाको प्रश्न र तेस्रो इतिहास निर्माणको प्रश्न । नेपालमा दशवर्ष जनयुद्ध भयो, नेपाली कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च संश्लेषण हो भनेर हामी मान्छौँ । त्यसका मागहरू पूरा भएका छैनन् । त्यसो हुनाले त्यो इतिहासले माग गर्दछ र माग पूरा गर्नको निम्ति अघि बढ्नुपर्छ एक नम्बरमा । नम्बर २, भावनात्मक कुरामा जसलाई पछाडिबाट गोली लाग्यो अथवा रातको समयमा नदेखेको बेलामा गोली लाग्यो ती सहिदले त केही पनि भन्न पाएनन् नि ! तर, जसलाई यातनाद्वारा अन्तिम अवस्थामा पुग्दा र अगाडिबाट गोली लाग्दाखेरि अ म मारिने नै भएँ भनेर जसले सोच्नमा आयो उसले त्यो मारिने बेलामा माओवाद जिन्दावाद भनेर साथीहरूको बलिदान भएको छ । तर, त्यो हामी विर्सन सक्दैनौँ । त्यस्तै अर्को मुल कुरा विचारको कुरा हो । माक्सवाद, लेलिनवाद, माओवाद, मान्नेहरू मात्र कम्युनिष्ट हुन्छन् ।
अहिलेको विश्व कम्युनिष्ट आन्दोलनमा माओवाद मान्नेहरू कम्युनिष्ट हुँदैनन् । प्रचण्डले दस्तावेज लेख्नुभयो, प्रस्तुत गर्नुभयो अनि हामीले ठीक छ भनेर आयौँ । यतिबेला प्रचण्ड समूहलाई माओवाद चाहिएको छैन । त्यसमा हाम्रो भन्नु केही छैन् । हामी माओवाद छाड्दैनौँ । र, नेपालमा यो सम्भव छ, किनभने छरिएको भएता पनि माओवादी खेमा कमजोर छैन् । ठीक छ, सरकारमा पुगेको अवस्था छैन् । अब खड्क ओली र प्रचण्ड समूह चुनावमा भाग लिँदै, एकता भन्दै आएका छन् । जुन एकतालाई हामी विलय भन्छौँ । प्रचण्डको पलायन भन्छौँ । त्यहाँ पुगेर ठूलो भएतापनि त्यो दक्षिणपन्थी खेमा हो । र, माओवाद मान्नेहरू बीचमा क्रान्तिकारी खेमा निर्माण गर्नुपर्दछ भन्ने हाम्रो धारणा छ । त्यसो गर्दा मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत शक्ति मिलेर बलियो कम्युनिष्ट पाटी खडा हुनसक्छ । वास्तवमा यो सच्चा कम्युनिष्ट पार्टी बन्छ । त्यो अभियानलाई हामी तीब्र गतिमा अघि बढाउछौं । हाम्रो कार्यदिशा त्यसतर्फ अघि वढिसकेको छ । यसलाई कसैले रोक्न सक्दैन ।
पार्टीको न्वारन छिट्टै
विचार र सिद्धान्तमा माओवाद हाम्रो हो । जो वैद्यले पनि मान्नुहुन्छ विप्लवजी पनि मान्नुहुन्छ । नेकपा माओवादी केन्द्रलेचाहिँ वादल, मातृका यादव, मणि थापाहरूसँग एकता गर्दा यो नाम नामाकरण भयो । अब उता विलयमा जाँदा नेकपा माओवादी केन्द्र विघटन भयो भन्नुपर्ने हुन्छ प्रचण्ड समूहले । एमालेले पनि केही भन्ला । उहाँहरूले विघटन भनेपछि हामी के गर्ने भन्दा हामीले पुर्नगठन गर्ने भन्ने हुन्छ । अहिले विवाद पनि देखिएको छ । विवादका कारण यदि उहाँहरूले एकता विलम्ब भयो, ढिलासुस्ती भयो भने नेकपा माओवादी केन्द्र यो राष्ट्रिय भेला आयोजक समितिलाई समानान्तर रूपमा हामी अगाडि बढाउछौँ । तर, भोलि फेरि वैद्य, विप्लवहरूसँग छलफल गर्दै लैजाँदा यसको नाम नेकपा माओवादी केन्द्र नै हुन्छ भन्ने छैन् । जे हुन्छ सल्लाह अनुसार नै हुन्छ ।
माओवादी बिगार्ने प्रचण्ड
जनताले मूल्याङ्कन गर्न सक्नुपर्छ । माओवादको सिद्धान्त छाडेर एमालेसँग एकता गर्ने प्रचण्ड चैँ पार्टी बिगार्ने होकि माओवादको सिद्धान्त दृढतापूर्वक अख्तियार गरेर माओवादी केन्द्र सम्हल्ने बीचको मूल्याङ्कन जरुरी छ । हामी दोषी छैनौं । प्रचण्डहरू दोषी हुनुहुन्छ । कार्यकर्तालाई जसरी प्रशिक्षित गरियो, जसरी बलिदान गरियो, धेरै साथीहरू वेपत्ता घाइते हुनुहुन्छ, जनतालाई के भनियो ? अहिले एमालेकरणमा जसरी प्रचण्ड हामफाल्नु भएको छ त्यसो त भनिएको थिएन । तै पनि एमालेसँग एकताको निमित्त छलफल गर्न दिएको भए हुन्थ्यो । छलफल गर्न पनि दिनुभएन । खड्क ओलीसँग हस्ताक्षर गरेर ल्याएर पेरिसडाँडामा प्रस्तुत गर्नुभयो, सातबूँदे । चुनाव चिह्न सम्बन्धी एउटा बूँदा फेरेर ६ बूँदे प्रस्तुत गर्नुभयो, ०७४ साल असोज १७ गते । यसो गरिसकेपछि उहाँले जवाफ दिनुपर्छ, हामीले होइन् । हामी त यसको निरन्तरता चाहन्छौं । हामी ठीक छौँ या वेठीक छौँ । हाम्रो बुझाइमा हामी ठीक छौँ, यो सम्हालेर अगाडि बढ्न हामी चाहन्छौँ । तर, ठीक वेठीक जनताले छुट्याउनुपर्छ । अबको जनताले त्यो छुट्याउन सक्छन् भन्ने हामी ठान्छौँ ।
समाजवाद हाम्रो लक्ष्य
क्रान्तिको सिद्धान्त, पथ प्रदर्शक माक्सवाद, लेनिनवाद, माओवाद भन्छौँ । वर्तमान विश्वको सामाजिक क्रान्तिमा मानव मुक्तिको सर्वोच्चमुक्ति विज्ञान मानिएको छ । यसलाई हामी दृढतापूर्वक अख्तियार गर्छौँ । पुष्प कमल दाहाललाई ‘प्रचण्ड’ बनाएको पनि माओवादले नै हो । प्रचण्ड ठूलो भइसकेपछि उहाँ चाहिएन होला, हाम्रो भन्नु केही पनि रहेछन । र, यो सिद्धान्तको मातहतमा हामीले कार्यदिशा एउटा प्रस्ताव प्रस्ताव गरेका छौँ आयोजक समिति मार्फत् । राष्ट्रिय समाजवाद भन्नुपर्छ भनेर राष्ट्रिय समाजवादको कार्यदिशा प्रस्ताव गरेका छौँ । छलफल गर्दै अगाडि बढेका छौँ । त्यो राष्ट्रिय समाजवादविभत्र त्यहीअन्तर्गत राष्ट्रियता, जनवाद, जनजिवीका, पहिचान, मजदुर, किसान, महिला, दलित, जनजाति, मधेसी, उत्पीडित क्षेत्र आर्दि सबैलाई हामी व्यस्वस्थित गरेर लैजान्छौँ ।
आइएनजिओवादी एमाले
एमाले–माओवादीले ७ फागुनमा सात बूँदे सहमति गर्दै माक्सवाद, लेनिनवादलाई निर्देशक सिद्धान्त मान्ने भनेका छन् । त्यो अब एमालेको भयो । लागू गरेपनि नगरेपनि । माओवादबारे छलफल गर्न सकिने भनेर ७ बूँदेमा लेखिएको छ । त्यसले के देखाउँछ भने महाधिवेशन होला उहाँहरूको, त्यो महाधिवेशनमा प्रचण्डलाई नै नचाहिने माओवाद एमालेले नै पारित गरिदिने भन्ने सम्भव भएन । बहुदलीय जनवाद घुमाउरो भाषामा एमालेले कायम राखेको छ । त्यसलाई प्रचण्ड समूहले स्वीकार गरेको अवस्था छ । र, वामपन्थी भनेको वाम दक्षिण मध्ये भन्ने चर्चा कम्युनिष्ट आन्दोलनमा हुन्छ । ओली र प्रचण्डसँग कोही प्रगतिशील छैन् । माओवाद नै छाडिदिने ? कसरी कान्तिकारी भए ? एउटा ब्यानरमा झगडा गरे । जनयुद्ध लेख्न नमान्ने खड्ग ओली, लेखाउनुपर्ने प्रचण्ड । यो के हो भन्दा एमाले भनेको आइएनजीओबाट पालिएको संस्था हो । जनयुद्धलाई सकारात्मक ढङ्गले विधानमा या प्रतिवेदनमा लेख्ने बित्तिकै अमेरिका र युरोपबाट आइएनजीओका वजेट दाताहरूले रकम रोकिदिन्छन् । त्यसैले खड्क ओली विदेशीले राम्रो मान्दैन भनेको हो । यसरी उहाँहरू बीचको लडाइँ त्यहाँ छ । पश्चिम बङ्गलमा ज्योति बशुको जुन नियति रह्यो, खड्क ओली र प्रचण्डबीचको गठबन्धन, एकताको नियति त्यही हो ।
प्रचण्डसँगै सतिजान सकिन्न
म जन्मनु अगाडि नेपालमा कम्युनिष्ट पार्टी निकट बहुकेन्द्र गठन भइसकेको थियो । २०१९ सालमा तेस्रो महाधिवेशनपछि कम्युनिष्ट पार्टीमा विभाजनको रोग समेत देखापरिसकेको थियो । धेरै कम्युनिष्ट समूह गुट,उप–गुटमा विभाजित थिए । यसमा हाम्रो पुस्ता दोषी छैन् । म किराँत पार्टीमा काम गर्दै थिएँ । माओवादी हुने भनेपछि माओवादी भयौँ । हामी त जोडिन आएका हौँ । हामी फुटवादी होइनौँ । हामी एकतावादी हौँ । तर, सिद्धान्त भनेको विज्ञान हो । माओवादी विज्ञानलाई उहाँ (प्रचण्ड) ले छोडेर गइसकेपछि हामी सति जान सकेनौँ । धेरै कम्युनिष्ट समूह छन् यसले बेफाइदा गरेको छैन् । नेपालमा धेरै कम्युनिष्ट आन्दोलप्रति, पार्टीपति, विचारप्रति झुकाव राख्ने जनताको संख्या छ धेरै समूह भएर त्यसो हुन सकेको हो । एउटै मात्र भएको भए थोरै मान्छे जनताकोमा पुग्थे । धेरै समूह भएकाले आफ्नो सदस्यता विस्तार गर्नका निम्ति पनि मान्छे घर घरमा पुगे ।
प्रचण्डसँगको टसल
यो उत्कर्ष समय हो । यसका केही पृष्ठभूमि छन् । यसमा पनि तीन ओटा कुरा छन् । पहिलो, ०७२ सालमा संविधान बन्यो । खड्क ओलीलाई प्रधामन्त्रीमा समर्थन गर्ने १६ बूँदेको सहमति पार्टीले ग¥यो । त्योसम्म ठिकै थियो । मेरो व्यक्तिगत आपत्ति थिएन र छैन पनि । गणतन्त्रको संविधान जसरी पनि बन्नुपर्छ र लागू गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत र पार्टीको धारणा हो । त्यहाँनिर ८ ओटा मन्त्री पायो एमाओवादीले । ८ मन्त्री पाउँदा दलीत र थारुलाई कुनै हालतमा नछुटाउँ भनेर मैले स्थायी समितिमा संघर्ष गरेँ । सुनुवाई भएन । ८ मन्त्रीमध्ये ६ जना खस आर्य मूलका नेताहरूलाई पठाइयो । के माओवादी नीति यही थियो त ? प्रचण्ड प्रधानमन्त्री हुनुभयो । त्यसमा महिलालाई क्याबिनेट मन्त्री बनाइएन दोस्रो घटना । तेस्रो घटना, चितवनमा रेणु दाहालले मेयर जित्नुभयो । उहाँलाई नै त्यो भन्नु मेरो केही छैन् । तर, रेणु दाहाललाई मेयर बनाउका निम्ति प्रचण्डले राज्यको सम्पूर्ण निकाय प्रयोग गर्नुभयो । जित्नुभयो रेणु दाहाल । राम्रै भयो । तर, के रेणु दाहाललाई जिताउनका निम्ति जसरी शक्ति दुरुपयोग गरियो पार्टीका अरू उम्मेदवारलाई जिताउन प्रचण्डले त्यसो गर्नुहुन्छ ?
मुख्यमन्त्री नै छाडेँ
मैले मुख्यमन्त्री नपाएका कारण चुनावमा माओवादी केन्द्रलाई असहयोग गर्यो भन्ने गलत प्रचार हो । तथ्यहरूले पुष्टि गर्दैन । स्थानीय तहको निर्वाचनमा म पूर्णरुपले खटेँ । जीवनमा कहिल्यै नपुगेको संखुवासभा भोटखोला गाउँपालिकासम्म पुगेर पार्टीको पक्षमा भोट पनि मागेँ । तर, स्थानीय निर्वाचनमा चाहेजस्तो परिणाम आउन सकेन । १३७ स्थानीय तहमध्ये ९ ओटामात्रै माओवादीले जित्यो १ नम्बर प्रदेशमा । त्यसपछि भदौमा प्रदेश कमिटिको बैठक बस्यो । सल्लाह गरेर प्रस्ताव राखेँ, प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव आउँदैछ अब कसरी लड्ने ? भन्दा मुख्यमन्त्रीको उम्मेद्वार घोषणा गरे जाऊँ, मुख्यमन्त्रीको उम्मेद्वार प्रदेश इन्चार्ज गोपाल किराँती नै घोषणा गरौं भनेर मैले भनेँ । सबै कमरेडले सहमति जनाउनुभयो । कहाँबाट थालौँ चुनावी अभियान ? ल ठीक छ भनेर सहमति गरियो । मुख्यमन्त्री नपाएर होइन, मैले पाएको मुख्यमन्त्रीको पद पनि छोडिदिएको हो । त्यसपछि हामी एकजुट भएर चुनावमा खटेकै हो । प्रत्यक्षतर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार हुने कि समानुपातिक हुने भन्ने विषय बाँकी नै थियो । भदौ १३ गते हामीले निर्णय ग¥र्यौँ, असोज १६ गते ठिक एक महिनापछि प्रचण्डले एमालेकरणको प्रस्ताव ल्याउनुभयो । ल्याईसकेपछि मैले सुरुमै भनें, माओवाद र पहिचानको मुद्दा के हुन्छ एकता गर्दा ? अध्यक्ष प्रचण्डलाई सोधियो । छलफल गर्न सकिन्छ भन्ने उत्तर दिनुभयो ।
छलफलमा धकेलिन्छ भने एकता नभएर विलय हो । विलय हुने हुनाले एमालेसँगको विलयमा म जान्न । एमालेको चुनाव चिन्हमा चुनाव लड्दिन । असोज १६ गते चौतर्फी रूपमा पेरिसडाडाँमा भनियो, म त्यसमा प्रतिवद्ध भएँ । वक्तव्य दिएँ । एमालेको ऋण खाएर, उम्मेद्वार भएर, मुख्यमन्त्री जितेर जनताको काम गर्न म सक्दिन । नसक्ने हुनाले मैले मुख्यमन्त्रीको उम्मेद्वार परित्याग गरेँ । माओवादको पक्षमा विचारको वकालत गर्छु भनेर मैले असोज २७ गते फेरि वक्तव्य दिएँ । म उम्मेदार भइनँ । त्यसपछि प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा म सक्रिय रूपमा लागिनँ । असोज महिनामै प्रदेश इन्चार्ज मैले छोड्न खोजेँ । तर, प्रदेशका साथीहरूले मान्नुभएन । चुनावको मुखमा तपाईं नछाड्नुस्, कसलाई इन्चार्ज खटाउँछ माथिबाट । त्यसपछि व्यवहारिक हुँदैन । अफठ्यारो पर्छ । तपाईं नै हुनुपर्छ भने । मैले फिल्डमा त म खट्दिन, नाम मेरो राख्ने काम तपाईंहरूले गर्ने हो भने ठिक छ होइन भने म छोड्छु । किनभने यतिठूलो वैचारिक मतभेद भएपछि संगठनको जिम्मा लिन हुँदैन भन्दा गोपाल किराँतीको नाम राखेर काम हामीले गर्ने भनिसकेपछि प्रसार–प्रचारको काम अघि बढ्यो । आन्तरिक रूपले सरसल्लाह, खर्च खोजिदिने, कयौं योजना निर्माण गर्ने काममा त म लागेँ । तर, फिल्डमा गएर भोट मागिनँ । किनभन्दा भोट माग्ने बेलामा एमालेसँग संयुक्त कार्यक्रम हुन्थ्यो । संयुक्त कार्यक्रममा आलोचना ग¥यो भने साथीहरूको भोट बिग्रने, आलोचना नगर्दा आफूलाई चित्त बुझेको छैन् । त्यो बेला खपेर आलोचना नबोल्न पनि सकिन्थ्यो तर त्यसो गर्दा अहिले प्रश्न उठाउँथे । चुनावको बेला किन ठिक छ भनिस् ! थप अन्तरबिरोधमा नफस्नका निम्ति नखटेको हो । म नखटेर त्यस्तो नोक्सान प¥यो भन्ने लाग्दैन ।
सम्भ्रान्त शैली कम्युनिष्ट पतनको कारक
केही साथीहरु माओवादी पार्टी एकीकरणपछि संघर्ष गरौं भन्ने लाइनमा थिए । एमालेसँगको एकता महाधिवेशनसम्म जाऊँ भन्नेमा उनीहरुकोे जोड थियोे । त्यो मेरो अन्तरमनले मानेन् । किनभने, त्यो चरणमा पुगिसकेपछि के संघर्ष गर्ने १ त्यहाँनिर माओवादी स्थापित हुँदैन अहिले यो अहिले प्रष्ट छ । माओवाद स्थापित हुन बल गर्ने जब त्यसलाई विस्थापित गरिन्छ, म त महाधिवेशन छोडेर हिंड्छु । हिंड्दा तपाईं पनि हिंड्ने कि म मात्रै रु त्यहाँ पुगेर एक्लिने कि यहीँ एक्लिने रु यहीँ एक्लिदा क्रान्तिकारी भइन्छ । किन दुःख पाउने त्यहाँ रु प्रष्टै छ भोलि के हुन्छ भन्ने कुरा । अब यो अवस्थामा प्रचण्ड समूहको एक तिहाईमात्र माथिल्लो स्तरका नेताहरू क्रान्तिकारी भइदिएको भए मैले पनि आँट गर्थेँ । छैनन् । साथीहरू सम्भ्रान्त वर्गीय जीवनशैलीमा पतन भइसकेका छन् । त्यसो हुनाले नै एमालेसँको एकता मन नपराउनेमा म पुगे । म सर्वाहारा दृृष्टिकोण र जीवनशैली भएको हुनाले कहिले पनि एमाले बन्न सक्दिन् ।
प्रकाशित १९ बैशाख २0७५ , बुधबार | 2018-05-02 11:04:51
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार