काठमाडौं । वैशाख २३ गते गलत समूहको रगत चढाइएपछि ज्यान गुमाएकी बालिकाका बुवाले न्याय माग्दा धम्की खेप्ने परेको बताएका छन् । उनले प्रहरीले समेत उजूरी लिन नमानेको आरोप लगाएका छन् ।
सर्लाही गौरैता नगरपालिका १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेशले चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान गएको भन्दै यसबारेमा छानबिन गरि सरकारले न्याय दिलाउनुपर्ने माग गरेका छन् । स्वास्थ्य मन्त्रालयमा पुगेर न्याय पाउँ भनि हारगुहार गरेपनि वास्ता नगरेको उनले सुनाए ।
जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले उजुरी दर्तासमेत गर्न नमानेको उनको दुःखेसो छ । उनले भने,‘छोरीको मृत्युको सत्यतथ्य छानबिनका लागि आज १० दिन भयो हामीहरु सरकारी कार्यालय धाउन थालेको । तर, अहिलेसम्म सरकारी कार्यालयबाट सहयोग भएको छैन् ।’ ‘अब हामी कहाँ जाने?’उनले भने ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो माग गरेका हुन् । शल्यक्रिया गर्नुपुर्व विरामीको दुवै मृगौला ठिक रहेको तर शल्यक्रियापछि दुवै मृगौला फेल भएको रिपोर्ट देखाईएको उनले सुनाए । उनले भने,‘शल्यक्रिया गरेलगत्तै मृगौला फेल भएको मेडिकल रिपोर्ट छ । हामीलाई यसमा पनि शंका लागेको छ । यसबारेमा सत्य–तथ्य छानबिन हुनुपर्छ ।’
कार्यक्रममा बालिकाका आफन्त सरेन्द्र यादवले शल्यक्रियामा संलग्न चिकित्सकले जानाजान गल्ती गरेर गलत रगत चढाएको आरोप लगाए । उनले भने,‘मुटुको शल्यक्रिया हुँदा मृगौलाको भागमा किन चिरियो ? सुरुदेखि नै चिकित्सकले गल्ती गरिरहनुभएको छ।’ उनले प्रहरी वृत्त महाराजगन्जले भने व्यक्तिको नाम हटाएर उजुरी दिए तत्काल मुद्दा दर्ता गर्ने भन्दै फकाउने गरेको पनि जनाए ।
त्यस्तै, उनले पछिल्लो समय आफूहरुलाई ज्यानको पनि असुरक्षा महशुस भैरहेको जानकारी दिए । उनले भने,‘स्वास्थ्य मन्त्रालयमा पुग्दा त्यहाँ अस्पतालका निर्देशक जोतेन्द्र शर्मा, जो बालिकाको शल्यक्रियामा संलग्न थिए, उनी पनि मन्त्री उपेन्द्र यादव, स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव र सचिव पुष्पा चौधरीपनि सँगै थिए ।’ मन्त्रालयले उजुरी दर्ता गरेको तर अहिलेसम्म कुनै कारबाही नगरेको उनले सुनाए । यस्तो लापरवाही गर्ने डाक्टरलाई जागिरबाट हटाउनुपर्ने र उनको प्रमाणपत्र नै रद्द गर्नुपर्ने यादवको माग छ ।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया गर्दा फरक रगतका कारण आकृतिकुमारी साहको मृत्यु भएको थियो । आकृतिको शव हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छ । तर, बालिकाका बुवा रामप्रवेशले छोरीको शव कहाँ राखेको छ ? भन्ने कुरा अहिलेसम्म थाहा नभएको सुनाए । उनले भने,‘मलाई त ईन्साफ चाहिएको छ। तर, खुरुक्क लाश लिएर जान, बढि बोलिस भने तलाई नालामा फालिदिन्छु भनेर मलाई धम्की दिने गरेका छन् ।’ ‘ओ’ पोजेटिभ भएकी आकृतिलाई ‘ए’ पोजेटिभ रगत दिइएको थियो । जसका कारण उनको मृत्यु भयो ।
कार्यक्रममा बरिष्ठ अधिवक्ताद्धय डा. सुरेन्द्र भण्डारी र डा. नारायण घिमिरेले घटनामा लापरवाही गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । भण्डारीले मृतकको पिताले लिएर गएको जाहेरी दर्ता नगरिएको दुस्कृतिसँग सम्बन्धित दायित्वको मुद्दा हालिनेपनि जनाए ।
प्रकाशित १ जेठ २0७६ , बुधबार | 2019-05-15 11:46:24
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार