ट्यूमर अवलेशन -Tumor Ablation_
ट्यूमरका विभिन्न उपचार विधि छन । त्यस मध्ये हालसालै केहि प्रविधिहरु विकसित गरिएका छन् । जसलेगर्दा फैलने र नफैलिने दुबै खालका ट्यूमरको उपचार गर्न अवलेशन (ट्यूमर डढाउने) प्रविधि धेरै रोगहरुमा सहयोगी सिद्ध हुन आएका छन् । विभिन्न प्रकारका ट्यूमर अवलेशन विधिहरु हाल प्रचलित छन । ती मध्ये केही प्रविधिहरुको मात्र नेपालमा प्रयोग छन् । केही त्यस्ता प्रविधिलाई यस आलेखमा चर्चा गरिएको छ ।
अल्कोहल अवलेशन (Alcohol Ablation)
यस विधिमा ट्यूमरमा सिधा अल्कोहलको सुई लगाइन्छ । जसबाट ट्यूमर कुहीन गई विस्तार क्रमिक रुपमा सानो हुँदै जान्छ र अन्त्यमा हराएर जान्छ । यो विधिबाट उपाचार गराउँदा विरामीलाई अस्पतालमा भर्ना गराउनु पर्दैन । विरामीले ओपीडीमार्फत उपचार गराउन सक्छन् । त्यसपश्चात केही घण्टा निरीक्षण गरेर विरामीलाई घर पठाउन सकिन्छ । कलेजोकोे गाँठो, नशाको गाँठो, थाइराइटको गाँठो इत्यादिलाई यस विधिबाट सफलता पूर्वक उपाचार उराउन सकिन्छ । कहिले काही एक पटकमा मात्र सम्पूर्ण ट्यूमर डढी नसक्ने हुनाले दुई वा तीन पटक यस्तो सुई लगाउनु पर्ने हुन्छ । यसका केही जटिलताहरु सामन्य खालका हुन सक्छन् । केही भने गम्भीर प्रकृतिका समेत हुन सक्छन् ।
रेडियो फ्रिक्वेन्सी अवलेशन (Radio Frequency Ablation)
जापान, दक्षिण कोरिया, चीन, ताइवान, सिंगापुर आदि देशमा अत्यन्तै लोकप्रिय मनिएको यो प्रविधि नेपालमा पनि प्रयोगमा रहेको छ । यो प्रविधिमा लामो लामो सुइरोद्वारा गाँठोलाँई छेदन गरी इलेक्ट्रिक करेन्टको माध्यम मार्फत रेडियो तरङ्गले ट्यूमर डढाइन्छ । गाँठो देखाउनका लागि अल्ट्रासाउण्ड, सिटी स्क्यान र एमआरआईको सहयोगले ट्यूमर डढाइन्छ । यो विधि कलेजोको ट्यूमर, पाठेघरको ट्युमर, स्तनको ट्युमर, थाइराइडको ट्युमर डढाउनका लागि प्रयोगमा ल्याइएको छ ।
साथै मुटुको धड्कन बढ्ने रोगमा समेत यो विधिवबाट उपचार गरेमा समस्याबाट तुरुन्तै मुक्ती पाइन्छ । यस विधिवाट उपचार गर्न आउने विरामीले अस्पतालमा भर्ना हुनु आवश्यक हुँदैन । कहिले काँही यो प्रविधिमा विरामीलाई करेन्ट लाग्ने, छाला जल्न जाने आदि जटिलता भने देखापर्न सक्छन ।
माइक्रोवेभ अवलेशन (Microwave Ablation )
सन् २०१० को दशकदेखि यो प्रविधि विश्वभर प्रयोगमा आएको छ । लामो सुइरोबाट ट्यूमर गाँठोमा इनर्जी पठाइन्छ । इनर्जी माइक्रो वेभको माध्यमबाट पठाई ट्यूमरका कोषलाई नष्ट गरिन्छ । यो प्रविधि नेपालमा हालसालै भित्रिएको छ । यो केही महँगो प्रविधि हो । हरेक विरामीलाई भिन्नभिन्न सुइरो प्रयोग गर्नुपर्नेे र त्यसकालागि माइक्रो वेभ जेनेरेटर चाहिने भएकोले यो प्रविधि केही महँगो पर्न गएको हो । यो प्रविधि कलेकाजेको ट्यूमर, मृगौलाको ट्यूमर, थाइराइटका् ट्यूमर, पाठेघरको ट्यूमर, स्तन ट्यूमर र बोन ट्यूमर आदिमा प्रयोगमा आउँछ । यसका जटिलताहरु कम छन । साथै चलाउन सजिलो पनि छ ।
क्रायो अवलेशन (cryo ablation)
ट्यूमरलाई चिसो पारेर हिउँ बनाउने प्रविधि हो क्रायो अवलेशन । ट्यूमरलाई हिउँ बनाएपछि ट्यूमरका कोषहरु जहाँको तहीँ नष्ट हुन्छन र केही समयपछि गाँठो हराएर जान्छ । यो अत्यन्त महँगो प्रविधि हो । चिसो पार्ने मेसिन र ट्यूमरकम सुईलगाउने सुइराहरु विशेष प्रकारका हुन्छन । सिटी अथवा एम.आर.आईको सहयोगद्धारा गाँठोलाई सिस्याउने काम गरिन्छ ।
यो प्रविधि नेपालमा आइसकेको छैन । दिमागका भित्रका सम्बेदनशिल ठाउँहरुमा पनि यो प्रविधिले उपचार गर्न सकिन्छ । साथै फोक्सोका क्यान्सर लगाएत विभिन्न किसिमको गाँठोहरुमा यो प्रविधि अत्यन्त उपयोगी सावित भएको छ । यसका जटिलतामा कहिलेकाँही सुइराहरु हिउँमा टाँसिएर बाहिर निक्लन गार्हो हुनुका साथै मुख्य नसाभित्र रगत जमाइदिने हुन सक्छ ।
निष्कर्ष
यो प्रविधि रेडियो लोजिष्टहरुले साना साना गाँठाहरु निकोपार्न प्रयोग गर्छन । यसका लागि सैद्धान्तिक र व्यवहारिक ज्ञान हाँसिल गरेका रेडियोलोजिष्टसँग परामर्श गर्नु पर्छ । रेडियोलोजिष्टले आवश्यक पर्ने सम्पूर्ण चेक÷जाँच गरेर विरामीलाई भौतिक र मानसिक रुपले उपचारका लागि तयार गरिन्छ । साथै यसमा भइपरि आउने जटिलताबारे समेत सम्झाइवुझाई गरिन्छ । यस विधिमा चिरफार र अस्पतालमा भर्ना समेत हुनु नपर्ने हुनाले यो प्रविधि विकसित मूलुकमा अत्यन्त लोकप्रिय भएको पाइन्छ । साथै नेपालमा पनि हालसालै यो उपलब्ध हुन थालेकोले जनमानसमा यस सम्वन्धी सूचना, जानकारी हुनु आवश्यक छ ।
प्रकाशित १६ बैशाख २0७६ , सोमवार | 2019-04-29 12:07:40
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार