काठमाडौं । नेपाल चिकित्सक संघले सरकारले तत्काल डा. गोविन्द केसीका माग सम्बोधन गर्नुपर्ने बताएको छ । संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले बेलैमा अनशनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन नगरे सिंगो चिकित्सा क्षेत्र आन्दोलनमा उत्रिने बताएका छन् ।
उनले भने,‘प्रधानमन्त्रीलाई गलत सल्लाह नदिन म नेकपाका सांसदलाई आग्रह गर्दछु । वार्ता समिति बनाएर वा आँफै पहल गरेर भएपनि प्रधानमन्त्रीज्यूले डा. केसीको माग सम्बोधन गर्नुहोस भनेर म आग्रह गर्दछु ।’
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री ओलीले डाक्टर केसीको माग सम्बोधन गर्न समयमै दिमाग र आँखा खोल्नुपर्ने पनि बताए । सरकारले दुई तिहाईको दम्भ देखाउन नहुने उनको सुझाव छ । उनले भने,‘आवश्यक पर्यो भने हामी पनि चुप लागेर बस्दैनौं । हामी कम बोल्छौं तर काम गरेर देखाउँछौं ।’ गोविन्द केसी सरकारी कर्मचारीमात्रै नभएर तीन करोड नेपालीको अभियन्ता पनि भएको श्रेष्ठले बताए ।
सत्तारुढ दल नेकपाका नेता एवम् प्रस्तावित मनमोहन मेडिकल कलेज सञ्चालक समितिका सचिव डा. रामकुमार अधिकारीले डा. गोविन्द केसीले राजनीतिक माग राखेर १६ औं अनशन बसेको आरोप लगाएका छन् । उनले भने,‘डाक्टर केसीले राख्नुभएको ६ बुँदे मागमा स्वास्थ्य क्षेत्रबारे केही माग छैन् । उहाँले प्रष्टसँग राजनीतिक माग राख्नुभएको छ ।’
नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता कार्यान्वयन नगरेकोले वर्तमान सरकारले राजीनामा दिनुपर्ने माग गरे । उनले भने,‘हिजो सरकारले लम्पसार परेर सम्झौता गर्यो, तर आज आएर सम्झौता कार्यान्वयन गरेन । नैतिकताका आधारमा पनि यो सरकारले राजिनामा दिनुपर्छ ।’
मेडिकल क्षेत्र र शिक्षाको सुधारको लागि छुट्टै मेडिकल विश्वविद्यालय चाहिनेपनि उनको भनाई छ । उनले थपे,‘मेडिकल क्षेत्र सुधारको लागि माथेमा आयोगको प्रतिवेदन राम्रो र उत्कृष्ट छ । तर, त्यो प्रतिवेदन पूर्ण होईन । यसको लागि मेडिकल युनिभर्सिटी आवश्यक हुन्छ ।’
प्रकाशित २९ पुष २0७५ , आइतबार | 2019-01-13 12:11:45
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार