काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक पारित नगरी संसद्को बर्खे अधिवेशन अन्त्य भएकोप्रति आपत्ति जनाएका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी डा. केसीले आफूसँग भएका सबै सम्झौता कार्यान्वय नभएको भन्दै कार्यान्वयन नभए १६औं अनशन थाल्ने बताएका छन् ।
केसीले शिक्षा मन्त्री गिरीराजमणि पोखरेल समस्याप्रति गम्भीर नभएको भन्दै उनको राजीनामा माग गरेका छन् । हामीसँग भएका सबै सम्झौता तत्काल कार्यान्यन नभए नागरिकका हैसियतमा सुशासनका लागि १६औँ सत्याग्रह शुरू गर्न बाध्य हुने पत्रकार सम्मेलनमा केसीले बताए ।
‘अत्यादेशलाई तोडमोड गरेर संसदमा विधेयक प्रस्तुत गर्नु र चिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका सरकारी विभागीय मन्त्रीले नै प्रधानमन्त्री स्वयंको पहलमा भएको सम्झौताविरुद्ध संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको विधेयकमा अवरोध गर्नु गैरजिम्मेवारपूर्ण भएकाले शिक्षामन्त्री पोखरेल सो पदमा रहिरहनु नैतिक रूपमा अशोभनीय छ, विज्ञप्तिमा भनिएको छ ।
गुणस्तरीय स्वास्थ्य सुविधा र शिक्षामा सम्पूर्ण नेपालीको समान पहुँच, शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्ने शिक्षण संस्थानहरूको देशैभरि न्यायोचित वितरण सुनिश्चित गर्ने गरी ऎन निर्माणका लागि हामीले लामो समयदेखि निरन्तर सङ्घर्ष गर्दै आएको भन्दै सरकारले चिकित्सा शिक्षा अध्यादेशमा भएका जनतामुखी र विद्यार्थीमुखी बुँदाहरू हटाएर महाभ्रस्ट पृष्ठभूमि भएका नेता र मफियाहरुको स्वार्थ पूरा गर्ने गरी विधेयक प्रस्तुत गरेको केसीले विज्ञप्तिमा भनेका छन् ।
माथेमा कार्यदलको प्रतिवेदन र हामीसँग भएका सम्झौताहरू बमोजिम विधेयक पारित गर्ने गरी पन्ध्रौँ सत्याग्रह अन्त्य गर्ने क्रममा नेपाल सरकारसँग सम्झौता भएको दुई महिना बितिसक्दा पनि सरकार आफै उदासीन देखिनु विडम्बनापूर्ण भएको डा.केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित १२ आश्विन २0७५ , शुक्रबार | 2018-09-28 10:28:11
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार