दिपेन्द्र शर्मा/सुर्खेत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १७ शैयाको फिस्टुला अस्पताल सञ्चालनमा आएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हाताभित्र पौने ६ करोड रुपैयाँको लागतमा निर्माण भएको सो अस्पताल शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
अस्पतालको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले उद्घाटन गरेका हुन् । फिस्टुला केन्द्र बिएमजी टेराटेक जर्मनी र आईएनएफ युकेको आर्थिक सहयोगमा निर्माण गरिएको हो । उपचार केन्द्र सञ्चालनमा आएसँगै कर्णाली प्रदेश तथा प्रदेश नम्बर ७ का फिस्टुला र गाइनो रोगबाट प्रभावित महिलालाई उपचारका लागि सहज हुने फिस्टुला केन्द्रका इन्चार्ज कृपा चौधरीले जानकारी दिइन् ।
अहिलेसम्म फिस्टुला अस्पताल धरान र काठमाडौंमा मात्रै थियो । चौधरीका अनुसार सुर्खेतमा १० वर्षयता वर्षको एक पटक शिविर सञ्चालन गरेर फिस्टुलाको अप्रेसन गर्ने गरिएको थियो । यो अवधिमा २ सय ५० जनाले शिविरमार्फत लाभ लिएका थिए । आईएनएफले जिल्लामा प्रत्येक वर्ष फिस्टुलाको शिविर सञ्चालन गर्ने गरेपनि नियमित उपचारका लागि भने विरामीले कर्णाली बाहिर जानुपर्ने बाध्यता थियो । ‘अब आफ्नै भवनबाट दैनिक रुपमा विषशेज्ञ सेवा दिइने,’ इन्चार्ज चौधरीले भनिन ।
फिस्टुलाको उपचार निःशुल्क हुने हुँदा गरिब तथा असहाय विरामीलाई झनै सहयोग पुग्ने छ । फिस्टुलाको विरामी र कुरुवालाई आउन जान लाग्ने खर्च र उपचार खर्च सरकारले निःशुल्क गरेको छ । क्षेत्रीय अस्पताल सुर्खेतका प्रमुख डाक्टर डम्बर खड्काले अब यस क्षेत्रका फिस्टुलाका विरामी उपचारका लागि धरान र काठमाडौं जानुपर्ने बाध्यता हटेको बताए । विरामीले रोग लुकाउने चलनका कारण यस क्षेत्रमा फिस्टुलाका बिरामी कति छन भन्ने एकीन तथ्याङ्क छैन ।
के हो फिस्टुला ?
बच्चा जन्माउँदा लामो प्रसव बेथाका कारणले महिलाको पिसाब थैली र यौनीद्वारमा प्वाल परी पिसाब चुहिने समस्यालाई फिस्टुल भनिन्छ । योनीबाट निरन्तर रुपमा पिसाब वा दिसा पिसाव दुबै चुहिने समस्या फिस्टुला प्वाल भएमा हुन्छ ।
बच्चा जन्माउने व्यथा लामो हुँदा बच्चाको टाउको योनीमार्गमा धेरै समयसम्म रही टाउकोले थिचेको योनीमार्गको भागमा रक्तसञ्चार बन्द भई बन्द भएको भाग मर्न गएमा कमलो मासु मरेपछि त्यहाँ प्वाल पर्छ । त्यस्तो प्वाल पिसाब थैली र योनीमार्गको बीचमा परेको छ भने योनीमार्गबाट निरन्तर पिसाब चुहिरहन्छ । समयमै उपचारमार्फत यो निको हुने समस्या हो ।
प्रकाशित ५ आश्विन २0७५ , शुक्रबार | 2018-09-21 12:09:04
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार