काठमाडौं । मनमोहन कार्डियोथोरासिसमका वरिष्ठ मुटुरोग विशेषज्ञ उप–प्रध्यापक डा. अनिल भट्टराईको नेतृत्वमा जटिल ओपन हार्ट सर्जरी सफल भएको छ । अस्पतालले ९ वर्षको इतिहासमा यो जटिल केश भएको बताएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड टा«न्सप्लान्ट सेन्टरका डा.भट्टराईको टोलीले रामेछाप सुनपाती गाउँपालिकाकी २४ वर्षीया (३७ हप्ताकी गर्भवती महिला) प्रमिला अर्यालको मुटुको सफल शल्यक्रिया गरेको हो । अहिले आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको डा. भट्टराइले जानकारी दिए । उनीहरूले यो दुर्लभ खुल्ला हृदय शल्यक्रिया भएको दाबी गरेका छन् । अर्याललाई टाईप ए अरोटिक डिसेक्शन विथ प्रेगनेन्सी रोग लागेको थियो । यो दुर्लभ रोग हो । यो रोग लागेपछि विरामी बाँच्ने सम्भवना अत्यन्तै न्यून हुन्छ । तर, मनमोहनको यो ९ वर्षको इतिहासमा पहिलोपटक शल्यक्रिया सफल भएको डा. भट्टराईले बताए । उनले भने,‘बच्चा जन्मिँदा बेहोस थियो । तीन घण्टापछि होसमा आएको छ ।
आमालाईपनि अहिले भेन्टिलेटरबाट आईसियूमा सारिएको छ ।’ डा. भट्टराईले भने,‘मेरो करिअरको १३ वर्षमा यस्तो दुर्लभ रोग लागेका विरामीको सफल शल्यक्रिया गरेर नयाँ जीवन दिन पाउँदा खुशी लागेको छ । म मेरो टिमलाई धन्यवाद भन्न चाहन्छु ।’ सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डा. उत्तमकृष्ण श्रेष्ठलेपनि यस्तो दुर्लभ रोग लागेको विरामीको सफल शल्यक्रिया भएकोमा खुसी व्यक्त गरे । उनले भने,‘म टिमप्रति आभारी छु । उहाँहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।’
उक्त शल्यक्रियामा कार्डियाक सर्जरी टिमका डा. भट्टराईका साथै डा. प्रभात खकुरेल, डा. रवि बराल र डा. निकेश भण्डारी सहभागी थिए । त्यस्तै एनस्थेसिया टिममा डा. विश्वास प्रधान, डा. विभुष श्रेष्ठ, डा. मन्दिरा बस्नेत, डा. प्रिष्का बास्तोला र डा. अर्जुन गुरुङ सहभागी थिए । गाईनोकोलोजीमा भने प्रा डा. ज्योति शर्मा, डा. बेखा लक्ष्मी मानन्धर, डा. सुनीति रावल, डा. सुनिता बज्राचार्य र डा. सुभाना माष्के सहभागी थिए । त्यस्तै बाल रोग विशेषज्ञमा डा. प्रदीप पौडेल र डा. कविता मानन्धर उपचारमा संलग्न थिए । परफ्युजन टिममा महेन्द्र भट्ट, पूर्ण मोक्तान र रविन्द्र शाह संलग्न थिए ।
डा. भट्टराई सामाजिक सेवामासमेत सक्रिय छन् । उनको पहलमा सयौं असहाय, गरिब तथा दुर्गमका मुटुरोगीहरुको सफल उपचार भएको छ । अहिलेसम्म उनले ९० भन्दा बढी विरामीको निःशुल्क मुटुको शल्यक्रिया गरिसकेका छन् । डा. भट्टराईले रुकुम, रोल्पा, कालिकोट, पर्वत, पाल्पालगायत ४० भन्दा जिल्लामा आफ्नो नेतृत्वमा निःशुल्क मुटु शिविर लिएर गएका छन् । शिविरको क्रममा भेटिएका गम्भिर प्रकृतिका मुटुरोगीहरुलाई आफ्नो पहलमा काठमाडौं ल्याई सफल उपचार गराएर घर पठाएका छन् । उनले ‘सेभ द हार्ट’ नामक सामाजिक संस्थामार्फत यस्तो कार्य गरिरहेका छन् ।
प्रकाशित ८ भाद्र २0७५ , शुक्रबार | 2018-08-24 12:53:19
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार