ललितपुर । नेपाल मेडिसिटी अस्पतालमा सोमबारदेखि शुरू भएको ब्रेष्ट (स्तन) तथा एसोफेगस (खाना नली) को क्यान्सर सम्बन्धी सम्मेलन बुधबार सम्पन्न भएको छ । सम्मेलनमा क्यान्सरबाट जोगिने र उपचारमा अपनाउनु पर्ने सावधानी बारे छलफल भएको थियो ।
‘उपचार, पुनस्र्थापना र भविष्यका’ आधारहरू भन्ने मूल नारा सहित आयोजना भएको सम्मेलनमा देश/विदेशका २०० जना भन्दा बढी क्यान्सर विशेषज्ञ तथा रेडियोलोजिष्टहरु सम्मेलनमा सहभागी थिए ।
अमेरिकास्थित प्रसिद्ध येल न्यू हेभन हस्पिटल र नेपाल मेडिसिटी अस्पतालले आयोजना गरेको सम्मेलनमा स्तन र खाना नलीको क्यान्सर रोग सम्बन्धमा विज्ञहरूले ज्ञान तथा अनुभवको साटासाट गरे । अमेरिकाबाट डा. डिकरम्यान होलिस्टरको नेतृत्वमा ग्रीनवीच र एल न्यू हेभेन अस्पतालका डा.बार्बरा वार्ड, डा. बेरी बौइड्, डा. अस्वथा नारायण, डा. पउल वेटर्स, र डा. एल्सा रास्किन जस्ता विशेषज्ञ टोलीहरुको सम्मेलनमा सहभागिता रहेको थियो ।
सम्मेलन अवधिमा स्तन क्यान्सर र खानेनलीको क्यान्सरका जटिल शल्यक्रियाको नेपाल मेडिसिटी अस्पतालको अपरेशन थिएटर देखि सम्मेलन स्थलमा प्रत्यक्ष प्रशारण गरिएको थियो जसका माध्ययमबाट न्यू योर्क र नेपालमा हुने शल्यक्रियाका समानता र भिन्नता एवं प्रविधिको विषयमा बृहद् अन्र्तक्रिया समेत गरिएको थियो । सम्मेलनमा सर्जिकल, मेडिकल, रेडिएसन क्यान्सर विशेषज्ञ र क्यान्सरसँग सम्बन्धित अन्य सबै विशेषज्ञ र सरोकारवालाको सहभागिता रहेको थियो ।
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले स्तन क्यान्सरको न्यूनिकरण र विश्वस्तरीय उपचारका लागि अस्पताल सक्षम रहेको बताए । अस्पतालका महाप्रबन्धक विजय रिमालले यस सम्मेलनले केवल नेपाल मेडिसिटीका चिकित्सकलाई मात्र नभई मुलुकभरका क्यान्सर रोग विशेषज्ञलाई समेटेको बताए ।
प्रकाशित १६ साउन २0७५ , बुधबार | 2018-08-01 10:34:34
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार