काठमाडौं । नेपाल मेडिसिटीका अध्यक्ष एवम् उद्यमी डा. उपेन्द्र महतोले नेपाललाई स्वास्थ्य क्षेत्रको ‘हब’ बनाउन सकिने बताएका छन् ।
सोमबारबाट सुरु भएको तीन दिने स्तन तथा खानानली क्यान्सर सम्बन्धी सम्मेलनको उद्घाटन कार्यक्रममा उनले यस्ता खाले छलफलले नेपाली डाक्टरहरुको मनोबल बढ्ने तथा ज्ञान आदानप्रदान हुने बताए ।
कार्यक्रममा अमेरिकी डाक्टर डिकर म्यानले हाल अमेरिकामा २ लाख ६६ हजार नयाँ क्यान्सर रोगी देखा परेको जनाए । उनले यसै वर्ष अमेरिकामा फोक्सोको क्यान्सरबाट ४१ हजार मानिसहरुको निधन भएको तथ्य उल्लेख गरे । सन् १९५९ मा गठन भएको अमेरिकन कमिसन अफ क्यान्सरले अहिले क्यान्सर रोग रोकथामका लागि विभिन्न संस्थाहरुसँग सहकार्य गरिराखेको उनले बताए ।
क्यान्सर रोगीको बढ्दो संख्याप्रति टिप्पणी गर्दै मेडिसिटी अस्पतालका मेडिकल निर्देशक डा. सुनील कुमार शर्मा ढकालले भने, ‘जीवनशैली, खानपान आदि प्रदूषित हुँदै गएका छन् । मानिसहरुले बिहान उठेर शाररिक व्यायाम गर्न छाडिसके । खाद्यपदार्थहरु पनि विषादीयुक्त छन् ।’ पछिल्ला वर्षहरुमा क्यान्सर रोगीको मृत्युदर घटेको बताउँदै उनले भने, ‘आजभोलि मानिसहरुमा स्वास्थ्यप्रति सचेतना बढ्दै गईराखेको छ ।’
नेपालमा स्तन क्यान्सरले पीडित कति जना छन् भन्ने यकिन तथ्याकं नरहे पनि नेपाली महिलाहरु माझ यो रोग भयावह रहेको डाक्टरहरु बताउछन् । मेडिसिटी अस्पतालको नेतृत्वमा सुरु भएको स्तन तथा खानानली क्यान्सर सम्बन्धी यो सम्मेलन तीन दिन चल्नेछ । सम्मेलनमा नेपालभरीबाट क्यान्सर रोग विशेषज्ञ, शल्य चिकित्सक, फिजिसियन आदिको सहभागिता रहेको छ । सम्मेलनमा अमेरिकाको येल न्यु हेभन अस्पतालका ७ जना विशेषज्ञहरुको पनि सहभागिता रहेको छ ।
प्रकाशित १४ साउन २0७५ , सोमवार | 2018-07-30 08:00:03
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार