अकस्मात बन्दुकको आवाजले
तर्सिए सबैजना -
ब्यथाले गलेका हुनेवाला आमाहरु
सुन्दर सन्सार देख्न आतुर
गर्वमा नौ महिना पूरा गरेका
नजन्मेका अबोध शिशुहरु
सबै आफन्तमा खुसी लिएर
आएका म र मेरा साथीहरू
सुत्केरी स्याहार गर्न खटिएका
सुडेनी आमाहरु र हाम्रा बाबाहरु ।
मेरी आमाले जुरुक्क उचालेर
आफ्नो काखमा च्याप्दै भागेको
भाग्न नसकेपछि
वार्डको गल्ली मै घोप्टो परेर
मलाई लुकाएको
बाहिर निस्किएका मेरा दुबै खुट्टामा
गोली लागेको मात्र याद छ मलाई ।
बाबाको निन्याउरो अनुहार
देख्दै बिउँझिएँँ अस्पतालको शैयामा
मेरो दुबै खुट्टा प्लास्टर गरेको
डाक्टर भन्दै थिए
दुबै खुट्टा काट्नु पर्छ
बाबा रोइकराई गर्दै
खुट्टा नकाट्न आग्रह गर्दै हुनुन्थ्यो
मेरो भविष्य देख्दै
आमा पनि छैन, खुट्टा पनि छैन।
कस्ले किन टुहुरो बनायो मलाई
कस्ले किन अपांग बनायो मलाई
जन्मनै नपाई धेरैको जीवन
कस्ले खोस्यो केको लागि
मेरो र म जस्ता जन्मिदै गरेका शिशुहरुको
प्रसव पीडामा रहेका आमाहरुको
के दोष थियो र
के सम्बन्ध थियो र यो क्रुर राजनीतिसँग
के कुनै ठाँउमा जन्मनु हाम्रो अपराध थियो
अनि यस्को सजाय
म जीवनभर भोगी रहूँ?