डेढ दशकको बैंकिङ करियरमा विभिन्न वाणिज्य बैंकहरूमा काम गरेका युवा बैंकर प्रवीण बस्नेत हालै कामना सेवा विकास बैंकको डेपुटी सिईओमा नियुक्त भएका छन् । वाणिज्य बैंकका प्रायःसबै विभागको जिम्मेवारी सफलतापूर्वक सम्हालेका बस्नेत कामना सेवा बैंकलाई नयाँ उचाईमा पुर्याउने लक्ष्यका साथ आएको बताउँछन् । कामना विकास बैंक र सेवा विकास बैंक मर्ज भएर बनेको कामना सेवा विकास बैंकले अब काठमाडौं उपत्यकामा पनि सेवा विस्तार गर्ने रणनीति बनाएको छ । पेशाले चार्टर्ड एकाउन्टेन्ट बस्नेत भन्छन्,‘सेवाग्राहीलाई चित्त बुझ्दो सेवा प्रदान गर्ने हाम्रो प्रयत्न रहनेछ।’
४० वर्षीय बस्नेतसँग नेपाल बैंक, नबिल बैंक, नेपाल बंगलादेश बैंक, एनआईसी एसिया र माछापुच्छ्रे बैंकमा काम गरेको अनुभव छ । उनले सन् २०१० मा काठमाडौं विश्वविद्यालयबाट एक्जिक्युटिभ एम बिए गरेका हुन् । सन् २००४ मा चार्टर्ड एकाउन्टेन्सी पास गरेको २ वर्षपछि उनले ईन्फर्मेशन सिष्टम अडिटमा ईन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ ईन्डियाबाट डिप्लोमा गरे । कामना सेवा विकास बैंकको भावी योजना, बजार रणनीति र वित्तीय सुधार लगायत विषयमा केन्द्रित भएर अमरवाणी डटकमका समाचार संयोजक अभिषेक जोशीले बस्नेतसँग गरेको कुराकानी:
करिव आधा दर्जन वाणिज्य बैंकमा काम गरेर आउनु भएको छ,धेरै बैंकमा काम गर्दाको अनुभव कस्तो रह्यो ?
धेरै संस्थामा बसेर काम गर्दा बैँकिङ क्षेत्रको अवसर, चुनौती तथा खतराबारे नजिकबाट बुभ्mने मौका पाईयो । र, मैले शैक्षिक ज्ञान तथा व्यावसायिक अनुभव जुन आर्जन गरेँ, यसलाई आप्mनै नेतृत्वमा कुनै एउटा बैंक तथा वित्तीय संस्थामा लगाउने सोचका साथ म यहाँ आएको हुँ । मेरो भित्री इच्छा एउटा राम्रो र दीर्घकालीन परिवर्तन ल्याएर देखाउँ भन्ने थियो र छ । अन्य बैंकमा काम गर्दा पनि मेरो करियर राम्रै थियो । तथापी, कामना सेवा विकास बैँकको राम्रो सम्भावना देखेर यसलाई नयाँ उचाइँमा पुर्याउने लक्ष्यका साथ आएको हुँ ।
काठमाडौंमा वाणिज्य बैंकबीच नै चर्को प्रतिशपर्धा छ, तपाई विकास बैंकलाई नयाँ उचाइँ दिने भन्नुहुन्छ, कसरी अघि बढ्ने रणनीति बनाउनु भएको छ ?
वाणिज्य बैंकको आफ्नो क्षेत्र छ, हाम्रो आफ्नै कार्यक्षेत्र छ । हामी सेवाग्राहीको चाहना बमोजिम प्रोडक्ट (सेवा) र प्रोसेस (प्रक्रिया)लाई पहिलेदेखि नै डिजाईन गर्दै आईरहेका छौँ । र, हाम्रो सफलताको स्रोत पनि त्यहि नै हो । हामी सरल र झन्झटरहित सेवा प्रदान गर्ने लक्ष्यसाथ अघि बढेका छौं । हामीले काठमाडौँमा पनि सेवाग्राहीलाई आवश्यकता अनुसार छिटो भन्दा छिटो सेवा उपलब्ध गराउन सक्यौँ; उत्कृष्ट सेवा दिनसक्यौँ भने त्यहि नै उपलब्धि हुन्छ । हाम्रो मुख्य रणनीति नै यही हो । त्यसको लागि हामीले धेरै मेहनत गर्नुपर्छ । हाम्रो चिन्तन शैली पनि अन्य बैंकको तुलनामा भिन्दै हुनुपर्छ । हामीले आप्mनै भवन खरिद गरेर कार्यालय राखेका छौँ । यसले पनि हामी दिगो रुपले जान चाहन्छौँ तथा बलियो छौँ भन्ने सन्देश दिन्छ । कामना सेवा मोफसलमा नाम चलेको भए पनि काठमाडौँका लागि नयाँ हो ।
यसका लागि कस्तो रणनीति अख्तियार गर्दै हुनुहुन्छ ?
काठमाडौं उपत्यकामा हामीले कर्पाेरेट अफिस राखेर भर्खरै काम सुरू गरेका छौँ । अब लगत्तै हामी न्यू रोड, कलंकी र गोङ्गबुमा तीनवटा शाखा खोल्दैछौँ । यसको लागि स्वीकृति पाईसकेका छौँ । चाँडै नै काठमाडौँमा थप शाखा खोल्ने योजना रहेको छ । यो आर्थिक वर्षभित्रमा काठमाडौँमा ६ ओटा शाखा खोल्ने हाम्रो योजना छ । उपत्यका बाहिर त हाम्रा शाखाहरू छँदै छन् । यस वर्ष नेपालभरी २२ ओटा शाखा पु¥याउने योजनामा छौँ । बैंकको शाख र सेवा प्रभावकारी एवम् जनमूखी बनाउन चाँडै नै सिएसआर (कर्पाेरेट सोसियल रेस्पोन्सिबिलिटी) विभाग बनाउँदै छौँ । यसले सामाजिक उत्तरदायित्व निर्वाह गर्न विभिन्न संघ/संस्थासँग समन्वय गर्नेछ । सामाजिक उत्तरदायित्वको क्षेत्रमा कामना सेवा बैंकले नेतृत्वदायी भूमिका खेल्ने छ । त्यस्तै, हामी छुट्टै कर्पाेरेट कम्युनिकेशन विभाग पनि बनाउँदै छौँ । समग्रमा अन्तर्राष्ट्रिय अभ्यासबाट हामीले हाम्रो बैँकको गुडविल र इमेज बढाएर; प्रोडक्ट र प्रोसेसलाई सरलीकरण गरेर ग्राहकलाई खुसी बनाउने हाम्रो नीति हो ।
बैँकबाट ऋण लिने तर नतिर्ने प्रवृत्ति पनि छ, तपाईहरुले यस्तो समस्या भोग्नुभएको छैन ?
यसमा नियमनकारी निकाय नेपाल राष्ट्र बैँकका धेरै नीति तथा नियम छन् । बैंकिङ कसुर र अपराध ऐन पनि बनेका छन् । आजको दिनमा कसैले पनि ऋण लिएर फुत्त भाग्ने स्थिति छैन । र, त्यसमा पनि सबै बैँकले ऋण दिनुअघि पर्याप्त मात्रामा धितो मूल्यांकन गर्ने र यस्ता मूल्यांकनहरू अन्तर्राष्ट्रिय स्तरका हुन थालिसकेको अवस्थामा त्यस्तो हुने सम्भावना निकै न्यून छ ।
उद्यमी व्यापारीको गुनासो हुन्छ–हामी घाटामा छौँ । बैँकहरू सबैजसो नाफामा छन् । वास्तवमा यस्तो असन्तुलन किन ?
बैंकिङ क्षेत्र भनेको मध्यस्थकर्ता व्यापार हो । हामीले छरिएर रहेको पूँजीलाई एकत्रित गरेर, जहाँ जसलाई पूँजीको आवश्यकता छ, त्यसको मूल्यांकन गरेर ती परियोजनामा लगानी गर्ने हो । र, हाम्रो उद्देश्य भनेको कुनै ऋणीको परियोजनाबाट आप्mनो ब्याज असुल गर्ने भन्ने कदापी होईन । उहाँहरूले पनि आफ्नो लगानीको माध्यमबाट प्रतिफल पाउनुहोस् र त्यो प्रतिफलको निश्चित रकम हामीलाई तिर्नुहुन्छ भन्ने मात्र बैंकको अपेक्षा रहन्छ । त्यसकारण, यो अर्थतन्त्र स्वस्थ रहनको लागि बैँकले मात्रै नाफा गर्ने; उद्यमी व्यवसायीले नाफा नगर्ने भन्ने कुरै आउँदैन । त्यसैले, जबसम्म उहाँहरूले लगानी गर्ने राम्रो वातावरण पाउनुहुन्न, तबसम्म बैँक तथा वित्तीय संस्थाहरूको नाफा बढ्ने भन्ने कुरा आउँदैन ।
बैँकहरू नाफामुखी परियोजनामा लगानी गर्न आकर्षित हुन्छन् । कृषि लगायत उत्पादन क्षेत्रमा कम लगानी गर्छन भने जनगुनासो छ । यस्तो किन हुन्छ ?
हामीले उत्पादनशील क्षेत्रको कर्जालाई उत्तिकै प्रोत्साहन गरेका छौँ । हिजोको तुलनामा आज तपाईले हेर्नुभयो भने उत्पादनको क्षेत्रमा कर्जा प्रवाह बढ्दो मात्रामा छ । र, हाम्रो नियमनकारी निकायले पनि कति सहज गर्ने र कतिपय अवस्थामा बाध्यात्मक प्रतिशतहरूको व्यवस्था गरेको अवस्था छ । र, अहिलेसम्मको हाम्रो बैँकहरूले जुन अभ्यास गर्दै आएका थिए, त्यसमा विगत केही वर्षदेखि ठूलो परिवर्तन आईरहेको छ । र, म केमा विश्वस्त छुँ भने, उत्पादनको क्षेत्रमा पुँजीको अवतरण अँझै बढ्दै जान्छ । राम्रो नियामक प्रबन्ध भयो भने उद्यम वित्त तथा प्रारम्भिक पुँजीको रुपमा पनि बैँकहरूले लगानी गर्न सक्ने वातावरण बन्छ । त्यहि भएर राम्रो उपाय भएका; राम्रो योजना भएका युवाहरुले लगानीको कारणले पछाडि फर्केर हेर्नु नपर्ने किसिमको वातावरण भयो भने धेरै राम्रो हुन्थ्यो ।
मौद्रिक नीतिले विदेशी मुद्रामा पनि ऋण लिन पाउने व्यवस्था गरेको छ । यसले बैंकिङ क्षेत्रमा कस्तो प्रभाव पार्छ ?
मौद्रिक नीति समग्र बैँक तथा वित्तिय संस्थालाई सहयोग गर्ने नीति हो । अहिलेको अवस्थामा विद्यमान समस्याहरुलाई समाधान गर्ने उद्देश्यले नै यो नीति आएको छ । त्यसैले, यो निकै महत्वपूर्ण छ । जहाँसम्म भारतीय मुद्रामा ऋण लिने कुरा छ, यो एउटा माध्यम हो । यसलाई धेरै बैँक तथा वित्तिय संस्थाले उपयोग गर्न सक्नेछन् । यो प्रक्रिया कार्यान्वयनको हिसाबले एक दुईओटा वित्तीय संस्थामा अलिक अगाडि बढेको छ । हामी ‘ख’ वर्गका संस्थाहरुको लागि चाहिँ यो विषयमा अँझै केहि समय लाग्ने देखिएको छ ।
विदेशी पैसा ऋणको रुपमा आउँदा यसले नेपाली पैसाको मूल्यमाथि असर पार्दैन ?
मैले त्यसलाई यसरी हेरेको छैन । तपाईँले संसारको जुनसुकै विकसित अर्थतन्त्र हेर्नुभयो भने त्यसको पछाडि विदेशबाट पुँजी वा लगानीको रुपमा आएको पैसा नै देखिन्छ । उदाहरणको रुपमा हामीले खाडी मुलुक तथा पश्चिमा मुलुकहरुमा हेर्न सक्छौँ । विदेशी पुँजीले त्यहाँको अर्थतन्त्रलाई विकसित हुन सहयोग गरेको छ । यहाँ पनि यो नीतिले त्यो अवसर उपलब्ध गराएको छ । यो सबैका लागि उत्तिकै उपयोगी हुन्छ भन्ने कुरो चाहिँ होईन । तर, यसको अर्थतन्त्रमा उपयोगीता चाहिँ छ । वातावरण तथा नीति नै नबनेको अवस्थामा चाहिँ यो चाहेर पनि गर्न सकिँदैन । मौद्रिक नीतिले सम्भावनाको एउटा ढोका खोलिदिएको छ । यसलाई मैले सकारात्मक रुपमा नै हेरेको छु ।
विद्यार्थीहरूले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाउने सरकारले व्यवस्था गरेको छ । त्यसमा कतिपय बैँकहरू सहमत छैनन् । किन ?
विद्यार्थीले आप्mनो ज्ञान र सीपको आधारमा आप्mनो व्यापार योजनासँग गाँसेर दिनसक्यो भने राम्रो हुन्छ जस्तो मलाई लाग्छ । शैक्षिक प्रमाणपत्र मात्रै दिएर पैसा मात्रै लिएर नतिजा प्राप्त हुँदैन । विद्यार्थीले जुन विषयमा दक्षता हासिल गरेको छ, त्यसैको विषयसँग जोडेर योजना बनाएर पैसा लिने वातावरण बन्यो भने त्यो चाहिँ धेरै राम्रो हुन्छ । आज नेपालमा कहिले यो पढाई सिध्याउने र जागीर खाने भन्ने मनस्थिति छ । देशै नै यस्तो मानसिकताबाट ग्रसित भएकोले हाम्रो अर्थतन्त्रको विकासमा पनि प्रतिकूल असर परिरहेको छ ।
विद्यार्थीले आप्mनो सीप अनुसार आफैँले लगानी गरेर आफैँले रोजगारी सिर्जना गर्ने हो भने देशले चाहिँ काँचुली फेर्न समय लाग्दैन । यस्तो राम्रो योजना बजारमा आएको छ, यो यत्तिकै हराएर जानु हुँदैन । कतिपय संघसंस्थाले यो योजना सुचारू गरिसकेका छन् । मुख्यतयाः विद्यार्थीले हासिल गरेको दक्षता र त्योसँग सम्बन्धित व्यवसायको योजना बनाएर हामीले पनि लगानी गर्ने वातावरण भयो भने अँझै उपयुक्त हुन्छ ।
बैँकहरूले लिने र दिने ब्याजदरको विषयमा बेला–बेला विवाद उठ्ने गरेको छ, त्यस्तो अवस्था किन आउँछ ?
हो । बेला–बेला यस्ता घटना बाहिर आएका छन् । त्यसले सिंगो अर्थतन्त्र प्रभावित हुन्छ । नियामक निकाय राष्ट्र बैंक र बैंकर्स एशोशिएन जस्ता संस्थाले पनि यो अनुभूत गरिसकेको अवस्था छ । जुन किसिमले त्यस्ता विवाद आएका थिए, त्यो हल भइसकेको छ । सबै गोलबद्ध भएर हिँडिरहेको अवस्था छ । हामी बैँक वित्तीय संस्थाले जे कार्य गर्छाैँ, बैँक वित्तीय संस्थाहरुको संगठनबाट त्यसको प्रतिक्रिया त आउँछ नै । त्यसकारण सबैले राम्रो काम ग¥यौँ भने राम्रो प्रतिक्रिया आउँछ । मुलुकको अर्थतन्त्रको विकासका लागि ब्याजदर एउटा सीमामा स्थिर रहनु एकदमै आवश्यक छ । यो कुरा सबै पक्षले बुभ्mनु भएको छ ।
विभिन्न बैंकमा काम गर्नुभयो, सम्झनलायक कामहरु के के छन् ?
धेरै संस्थामा राम्रो योगदान गरेको थिएँ । त्यही अनुरुप मेरो मूल्यांकन पनि भएको थियो । विभिन्न प्रमाणपत्र तथा सम्मान पनि पाएँ । मैले सबैभन्दा बढी सम्झन चाहेको चाहिँ, एनआईसी बैंक र एसिया बैँक मर्ज गर्न महत्वपूर्ण भूमिका खेल्ने अवसर पाएको थिएँ । तत्कालीन हाम्रो सिईओ सचिन जोशी ज्यूबाट यसको लागि मैले धेरै प्रशंसा र सम्मान पाएँ । यस बाहेक अन्य वाणिज्य बैँकहरूमा पनि राम्रो काम गरेका कारण डबल प्रमोशन पाएको थिएँ ।
प्रकाशित ११ भाद्र २0७५ , सोमवार | 2018-08-27 11:22:21
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार