काठमाडौं । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान उपकुलपतिको सचिवालयको मुख्य आयोजना र वास्तुकला तथा अन्य सृजनात्मक कला विभागको सहकार्यमा आयोजित ‘सुन्दर नेपाल खुसी नेपाली’ प्रतियोगितामा पाल्पाका मिथुन कुँवरले खिचेको ‘पाल्पामा दशैँका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेको’ तस्बिरले प्रथम स्थान हासिल गरेको छ ।
प्रतियोगितामा प्रवीण श्रेष्ठले खिचेको भक्तपुरमा बेल विवाहमा रमाउँदै गरेकी बालिकाको तस्बिरले दोस्रो स्थान हासिल गरेको छ ।
दयासागर केसीको पाटन दरबारक्षेत्रमा पुनर्निर्माणका लागि काठमा बुट्टा कुद्दै गरेको तस्बिरले तेस्रो स्थान प्राप्त गरेको छ भने स्कन्द गौतमको कुहिरोभित्र देखिएको गुम्बाकोे तस्बिरले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको छ ।
प्रतियोगिताका प्रथमले ४० हजार रुपैयाँ, द्वितीयले २५ हजार रुपैयाँ, तृतीयले १५ हजार रुपैयाँ र सान्त्वना स्वरूप १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले ूकला फोटोग्राफीूको विशिष्टीकरणका लागि प्रतिष्ठानले सो शीर्षकमा फोटो प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताका लागि देशभरबाट २२१ फोटोग्राफरका करिब १ हजार फोटोहरु प्राप्त भएको आयोजकले जनाएको छ ।
नेपालका वरिष्ठ फोटोग्राफर मणि लामाको अध्यक्षता तथा केयु स्कुल अफ आर्टका सहप्राध्यापक तथा वरिष्ठ कलाकार सुजन चित्रकार र स्पेसेस म्यागजिनका प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ फोटोग्राफर अशेष राजवंश सम्मीलित निर्णायक मण्डलले विजेतासहित उकृष्ट ७० ओटा फोटोहरु छानेको थियो ।
वरिष्ठ फोटोग्राफर अशेष राजवंशीले नेपालमा फोटोग्राफी संस्कृतिको विकास हुँदै छ भन्ने यस प्रतियोगिताले देखाएको बताउँदै फोटो खिच्ने हेर्ने तरिका र देखाउन खोजेको कुरा स्पष्ट पार्ने तस्बिर नै राम्रो हुने बताए। फोटोहरु राम्रो आएको छ, प्रथम हुने फोटोले सरल जनजीवन र खुशीलाई सरल रूपमा उतारिएको छ भने नेपाली परिवेश र मौलिकता झल्किएको केयु स्कुल अफ आर्टका सहप्राध्यापक तथा वरिष्ठ कलाकार सुजन चित्रकारले बताए । देशभरबाट प्राप्त फोटोहरुले नेपालको कलासंस्कृति, प्राकृतिक स्रोत, सम्पदा, समृद्धि, खुसी र सुख झल्कने फोटोहरु रहेको बताउँदै निर्णायकमण्डलका अध्यक्ष वरिष्ठ फोटोग्राफर मणि लामाले भने,‘थिमअनुसार राम्रा तस्बिरहरु आएका छन्, तर हामीले जे छानेका छौं यसबाट म पूर्ण सन्तुष्ट छु ।’
प्रतियोगिताबाट छानिएका उत्कृष्ट ७० फोटोहरुको प्रदर्शनी यही २०७७ पौष ११ गते नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान नक्सालमा हुनेछ । यसै कार्यक्रममा प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण पनि गरिनेछ । फोटो प्रदर्शनी २०७७ पौष १७ सम्म चल्नेछ ।
प्रकाशित ७ पुष २0७६ , सोमवार | 2019-12-23 10:46:28
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार