टिप्पणीः काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावी चहलपहल । मंगलबारदेखि काठमाडौंको ह्यात होटलमा जारी नवौं अधिवेशनमा संघका वैचारिक वा अन्य मुद्दाभन्दा पनि चुनावी एजेण्डाले प्राथमिकता पाएको छ । बुधबार बिहान ८ बजेबाट शुरु भएको निर्वाचन प्रक्रियामा उम्मेदवार देखि समर्थकसम्म निकै तामझामका साथ चुनाव प्रचारमा उत्रिएका देखिन्थे ।
स्वस्थ्य र मर्यादित निर्वाचन प्रचार शैली भन्दा पृथक देखिएको ह्यात होटलको प्राङ्गणमा आ–आफ्ना गुटलाई भन्दा व्यक्तिगतरुपमा उम्मेदवारले मत मागिरहेको देखिन्थ्यो । उम्मेदवारी दर्ता प्रक्रियामा अध्यक्षमा कुमार पन्त र कुल आचार्यको प्यानल खडा भएपनि मत माग्ने क्रममा भने अध्यक्ष लगायत अन्य विभिन्न पदका उम्मेदवारहरूले व्यक्तिगत प्रचारमा जोड दिएका थिए । उनीहरूले पोष्टर,पम्पलेट पर्चा वितरण गर्नुका साथै उम्मेदवारको प्रचारले पोतिएका टी सर्टमा युवतीलाई मैदानमा उतारेका छन् ।
आफूलाई ‘सामान्य नेपाली नागरिक’भन्दा ‘उपल्लो दर्जा’ ठान्ने प्रवासी नेपालीहरूको चुनाव प्रचारशैली हेर्दा नेपालको स्थानीय निर्वाचन प्रचारशैली भन्दा तल्लोस्तरको देखिन्थयो । पढेलेखेका, बौद्धिक र विश्ववातावरण बुझेको भनिएका एनआरएनएको प्रचारशैली कुनैपनि प्रकारले बौद्धिक र शालीन देखिएन । प्रविधिको युगमा पनि क्याम्पमा आयोजना हुने विद्यार्थी युनियनको चुनाव शैलीमा संघ प्रचारप्रसार भएको कतिपय पदाधिकारीले टिप्पणी गरिरहेका थिए । निर्वाचन प्रचारका क्रममा नेपाली कांग्रेस र नेकपा सरकारीका सी,डी ग्रेडका नेता/कार्यकर्तासमेतको ह्यात प्राङ्गणमा बाक्लो उपस्थिति देखिन्थ्यो ।
पन्त र आचार्य प्यानलका पदाधिकारी र मतदाताहरू एकले अर्कालाई संघमा जवर्दस्त रुपमा ‘दलीय’ राजनीति गरेको आरोप लगाइरहेका छन् । संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले यही कारण देखाउँदै सम्मेलन बहिस्कार गरेका छन् । तथापी संस्थापक अध्यक्ष महतो पूर्व अध्यक्ष जीवा लामिछानेले खुलेरै आर्थिक सहयोग सहित पन्त प्यानललाई सघाएको आरोप आचार्य प्यानलका पदाधिकारीले लगाएका छन् । आचार्य प्यानलको एक जना पदाधिकारीले भने,‘अध्यक्षका उम्मेदवार पन्तलाई नेकपा पार्टी र सरकार दुबैले समर्थन गरिरहेका छन र महतो र लामिछानेको पैसाले निर्वाचनलाई प्रभाव पार्न लागिएको छ ।’
प्रकाशित २९ आश्विन २0७६ , बुधबार | 2019-10-16 10:50:17
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार