वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका एमाले र माओवादी केन्द्रले विद्रोही उम्मेदवारहरुको सामना गर्नु परेको छ। वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पूर्व गृहमन्त्री शक्ति बस्नेत जाजरकोट र पूर्व गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ विरुद्ध रामेछापमा उम्मेदवारी परेको हो।
जाजरकोटमा बस्नेत विरुद्ध राप्रपाबाट एमाले प्रवेश गरेका पूर्व सांसद गोबिन्दबिक्रम शाहले उम्मेदवारी दर्ता गराएका छन् भने रामेछापमा श्रेष्ठविरुद्ध पूर्व सांसद रहेकी माओवादी नेतृ लक्ष्मी गुरुङ उम्मेदवार बनेकी छन्।
बस्नेत एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा गृहमन्त्री थिए भने श्रेष्ठ कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृह राज्यमन्त्री थिए। पछिल्लो मन्त्री परिषद् विस्तार तथा पुनर्गठनमा उनी विना विभागीय राज्यमन्त्री बनेका छन्।
दुवै जिल्लाका प्रदेश सभामा पनि वागी उम्मेदवारी परेको छ। एमालेले पाएको जाजरकोट (क) मा पुन माओवादीलाई दिइएपछि माओवादी केन्द्रका गणेशबहादुर सिंहविरुद्ध एमालेका निरज आचार्यले उम्मेदवारी दिएका छन्।
यसैगरी एमालेले पाएको रामेछाप (क) मा माओवादी केन्द्रका हेमन्त पौडेलले उम्मेदवारी दिएका छन्। रामेछाप (ख) मा पनि माओवादीकै मैनकुमार मोक्तानले वागी उम्मेदवारी दिएका छन्।
प्रदेश सभाका दुवै सिट एमालेले पाएको रामेछापमा (क) बाट एमालेका शान्ति पौडेल र (ख) मा कैलाश ढुङ्गेलले साझा वाम उम्मेदवारका रुपमा उम्मेदवार दर्ता गराएका छन्।
एमाले–माओवादी केन्द्रबीच सिट बाँडफाँटसँगै दुवै जिल्लामा असन्तुष्टि चुलिएको थियो। प्रदेश सभाका दुवै सिट एमालेलाई दिएकोमा माओवादी केन्द्रका कार्यकर्ता आक्रोसित थिए।
पूर्व गृहमन्त्री बस्नेतलाई प्रतिनिधि सभामा आफ्नो टिकट सुरक्षित गराउनकै लागि जाजरकोटमा प्रदेश सभाका दुवै सिट एमालेलाई दिइएको भन्दै जाजरकोट माओवादीभित्र असन्तुष्टि चुलिएको थियो।
यही असन्तुष्टिका बीच एमालेले पाएको (क) निर्वाचन क्षेत्र पुन माओवादीलाई दिएपछि प्रतिनिधि सभाका बस्नेतविरुद्ध शाह र सिंह विरुद्ध आचार्य उम्मेदवार बनेका हुन्।
यस्तै असन्तुष्टि रामेछापमा पनि थियो। प्रदेश सभाका दुवै सिट एमालेलाई दिएर श्रेष्ठले प्रतिनिधि सभामा आफ्नो सिट सुरक्षित गरेको भन्दै जिल्लाका माओवादी नेता कार्यकर्ता असन्तुष्ट थिए।
प्रकाशित ६ कार्त्तिक २0७४ , सोमवार | 2017-10-23 07:24:06
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार