‘हु चुनहुआ तोकिन सक्छन् सीको उत्तराधिकारी’

सांघाईमा जन्मेका चेङ ली अमेरिकी थिंकट्यांक ब्रुकिन्स इन्स्टिच्यूटस्थित फरेन पोलिसी कार्यक्रमको जोन एल थोर्नटन चाइना सेन्टरका सिनियर फेलो हुन्। चीनको पार्टी नेतृत्वमा पुस्ता परिवर्तनबारे विशेषज्ञता हासिल गरेका उनले पछिल्लो पटक पोलिटब्युरोको स्थायी समितिमा रहने सम्भावना भएका १२ नेताको जीवनीमूलक विश्लेषण गरेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेसन बेइजिङमा चलिरहेको बेला राष्ट्रपति सी जिनपिङका सम्भावित उत्तराधिकारीबारे शुक्रबार एसिया टाइम्सले चेङको अन्तर्वार्ता प्रकाशित गरेको छ। चीनको राजनीतिक नेतृत्व परिवर्तन र पुस्ता परिवर्तनमा केन्द्रित यो अन्तर्वार्तामा चेङले ५४ वर्षीय हु चुनहुआलाई राष्ट्रपति सीले आफ्नो उत्तराधिकारी घोषित गर्नसक्ने बताएका छन्। अन्तर्वार्ताको भावानुवादः 

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेसनमा सीले आफ्ना उत्तराधिकारी घोषणा गर्लान्? को होला उनको उत्तराधिकारी? मलाई लाग्छ, सीको उत्तराधिकारी हुने सबैभन्दा बढी सम्भावना भएका व्यक्ति ग्वाङदोङ पार्टी सचिव हु चुनहुआ हुन्। 

तर यो विषयलाई सी जिनपिङले विभिन्न तरिकाले हल गर्न सक्छन्। एक, उनले पोलिटब्युरोको स्थायी समिति सदस्य संख्या ७ बाट घटाएर ५ बनाउन सक्छन्। यसरी संख्या घटाउनुको मुख्य उद्देश्य भनेको स्थायी समितिमा अर्को पुस्ताको मान्छेलाई प्रवेश नदिनु। यसो गर्दा स्थायी समितिका सबै सदस्य उही उमेरका हुनेछन्। जसले गर्दा सीले उत्तराधिकारी घोषणा गर्ने प्रक्रियालाई विलम्ब गर्न सक्नेछन्। एउटा पुस्ता १० वर्ष सत्तामा रहँदा पाँच वर्ष चाहिँ अर्को पुस्तालाई सत्ता हस्तान्तरणको तयारी गर्ने पुरानो मोडल अलि कठोर भयो र यसले मुख्य नेताको शक्तिलाई कमजोर बनाउन सक्छ भनेर सीले पार्टी संस्थापनलाई विश्वास दिलाउन सक्छन्। यसको अर्थ उत्तराधिकारी तोक्ने काम सीले गर्न सक्छन्।

तर यही महाधिवेसनमा सीले आफ्नो उत्तराधिकारी नतोक्न पनि सक्छन्। ५०–५० सम्भावना छ। उत्तराधिकारी दाबी गर्ने अन्य केही उम्मेदवार पनि छन्। तीमध्ये छोङछिङका वर्तमान पार्टी सचिव चेन मिनर एक हुन्। मलाई लाग्छ, पार्टीको एकतालाई ध्यानमा राखेर यसमा केही सम्झौता पनि हुनसक्छ। तर कति सम्झौता हुन्छ, मलाई थाहा छैन। केही दिनमै हामीलाई यसको उत्तर थाहा हुनेछ।

सीको महत्वपूर्ण भ्रष्टाचारविरोधी अभियानका नेतृत्वकर्ता वाङ क्विसानबारे के निर्णय होला? उनी पदमा कायम रहलान्, बढुवा होलान् वा निवृत्त होलान्? मेरो व्यक्तिगत विचारमा वाङ क्विसान निवृत्त हुनेछन्। कसैले बाध्य बनाएर होइन, पार्टीको नियमअनुसार। वाङ एक क्षमतावान् राजनीतिज्ञ पनि हुन्। आफ्नो विरासतलाई सुरक्षित गर्ने र आफ्ना आश्रितहरुलाई सकेसम्म राम्रो पद दिलाउने यही नै सबैभन्दा उत्तम उपाय हो भन्ने कुरा उनी बुझ्छन्। तर यो १०० प्रतिशत निश्चित छैन।

१९ औँ महाधिवेसनबाट मुख्यगरी के कुरा विकसित होला भन्ने तपाईंलाई लाग्छ? हामी आधारभूत रुपमा मुख्य तीन क्षेत्रलाई नियालिरहेका छौँ। सबैभन्दा महत्वपूर्ण चाहिँ तेस्रोमा छ– पार्टीमा चयन हुने व्यक्तिहरु। सबैभन्दा कम महत्वको कुरा चाहिँ पहिलोमा छ।

पहिलो, सी जिनपिङ र वाङ क्विसानका भाषण। उनीहरुको भाषणबाट उनीहरुको सोचाइमा गत पाँच वर्षका प्राप्ति र अगामी पाँच र त्यसपछिका वर्षहरुमा के हुनेछ भन्ने कुरा थाहा पाइनेछ।

बुधबारको भाषणमा सी जिनपिङले निश्चय नै महान सफलताको दाबी गरे। उनले गत पाँच वर्षलाई परिभाषित गर्न ‘चार महान’ (महान संघर्ष, महान परियोजना, महान कारण र महान सपना) को उदाहरण दिए। निश्चय नै उनले आफ्नो भनाइलाई वैध तर्कद्वारा पुष्टि गरेका छन्।

दोस्रो, सुधारको कुरा। गत पाँच वर्षमा सीले धेरै ठूलो भ्रष्टाचारविरोधी अभियानको सुरुवात गरे। मेरो विचारमा त्यसले चिनियाँ कम्युनिष्ट पार्टीलाई बचायो र जनतामा आत्मविश्वास दिलाउन पनि ठूलो भूमिका खेल्यो। सेवानिवृत्त भएकाबाहेक नै केन्द्रीय समितिका १० प्रतिशत सदस्य कारबाहीमा परे। यो निकै ठूलो कुरा हो। गत आठदश वर्षमा सी जिनपिङले भनेझँै चिनियाँ जनताले सबैभन्दा धेरै घृणा गरेको कुरा भनेको भ्रष्टाचार नै हो।

तर गत केही वर्षमा चिनियाँहरुका लागि सार्वजनिक चासोको मुख्य विषय भ्रष्टाचार होइन, बरु वातावरण, खाद्य सुरक्षा, आदि बन्न थालेका छन्।

अर्को मुख्य सुधारको पक्ष भनेको चीनको सेना हो। मैले यो विषयमा विस्तारमा लेखेको छु। यो चाहिँ देङ स्यायो पेङजस्ता नेताले पनि गर्न नसकेको काम थियो। तर सीले त्यसलाई आधारभूत रुपमा पूरा गरेका छन्।

सीले सेनामा के गरे? उनले सेनामा तीन काम गरे। पहिलो, उनले चिनियाँ सेनाको रुसी मोडलमा आधारित संरचना परिवर्तन गरे। रुसी मोडलको सेनाले स्थल सेनामा बढी जोड दिन्थ्यो। तर अहिलेको चिनियाँ सेनाले जलसेना, हवाइ सेना र रणनीतिक सेनामा बढी जोड दिँदै संयुक्त अपरेसनलाई बढी महत्व दिएको छ।

दोस्रो, सीले सेनाका चार ठूला विभागलाई सीमान्तीकृत गरे। पहिले यी चारले केन्द्रीय सैन्य आयोग (सिएमसी) को शक्तिलाई नै कमजोर बनाउँथे। तर अहिले यी चार विभाग सिएमसीका १५ विभाग अन्तर्गत छन्। जसले गर्दा सी जिनपिङले यिनीहरुको प्रत्यक्ष नियन्त्रण गर्छन्। 

तेस्रो, सी जिनपिङले सेनाको महत्वपूर्ण पदहरुमा युवा अधिकृतहरुलाई बढुवा गरे।

अन्य सुधारहरु के के हुन्? सीले बजार सुधारका कार्यक्रम ल्याए। केहीले सीले यो कार्यक्रम लागु नगरेको बताउँछन्। तर उनको प्राथमिकतामा अरु कुरा परेर यस्तो भएकोजस्तो मलाई लाग्छ। तै पनि उनले केही निश्चित कुराहरु दिए। घरेलु उपभोग उच्च छ, सेवा क्षेत्र पनि राम्रो बनेको छ। र अन्वेषणको कुराले मानिसहरुलाई प्रभावित बनाउन थालेको छ।

विदेश नीतिमा पनि उल्लेख्य सुधार भएको छ। खासगरी दुई तरिकाले उनले विदेश नीतिमा सुधार गरेका छन्। वान बेल्ट वान रोड परियोजनाबाट र छिमेकीसँग असल सम्बन्ध कायम गरी पूर्वाधार विकासका माध्यमबाट। कोही भन्छन्, उनको यो योजना सफल भएन। तर मलाई लाग्छ, छिमेकीहरुले चीनको आर्थिक सहकार्यको प्रस्तावलाई स्वागत गरेका छन्। विदेश नीतिको कुरा गर्दा सीले नयाँ खालको शक्ति–सम्बन्ध सिर्जना गरेका छन्। खासगरी अमेरिकासँग।

डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दै गरेको भए पनि चीन–अमेरिका सम्बन्ध लिकबाहिर गएन, यसको जस सीले लिन सक्छन्। द्विपक्षीय सम्बन्ध अझै नियन्त्रणमै छ। सीका उपलब्धि यिनै हुन्।

तपाईंले नियालिरहनुभएको तेस्रो क्षेत्र चाहिँ के हो? तेस्रो र सबैभन्दा मुख्य क्षेत्र भनेको महाधिवेसनबाट पार्टीको नेतृत्वमा को को रहन्छन् र नयाँ को आउँछन् भन्ने हो। वाङ क्विसान रहन्छन्, रहँदैनन्, सीले उत्तराधिकारी घोषणा गर्छन्, गर्दैनन् भन्नेबारे हामीले कुरा गरिसकेका छौँ।

आफ्नो भविष्यको नीतिबारे सीले के संकेत दिएका छन् त? सबैभन्दा महत्वपूर्ण नीतिगत परिवर्तन भनेको बुधबारको भाषणमा सीले चर्चा गरेको ‘नयाँ युग’ हो। उनले भने, देङको शासनकालमा जनताको जीवनस्तर सुधार गर्नुपर्ने आवश्यकता र पछौटे उत्पादनका साधनहरुबीच तनाव विद्यमान थियो। तर अहिले चीन पछौटेपनबाट ग्रस्त छैन। चीनले चमत्कार गरेको छ। चीनको अन्वेषण तथा व्यवसायिक मोडल अमेरिकाजस्ता देशभन्दा अगाडि पनि हुनसक्छ।

सीले आफ्नो भाषणमा दुई मुख्य नयाँ शब्द पनि प्रयोग गरे, ‘असन्तुलन’ र ‘अपर्याप्त।’ यसले कल्पनाका लागि अझै स्थान दिन्छ। यसले चीनका अलगअलग क्षेत्रहरु, भित्री तथा किनारका क्षेत्र, सहर र गाउँ, आदिबीचको असन्तुलनलाई जनाउन सक्छ। त्यस्तै यसले फरक आर्थिक, सामाजिक र स्वार्थसमूहहरुलाई पनि जनाउन सक्छ। यसले आर्थिक विकास र सामाजिक–राजनीतिक परिवर्तनको आयामलाई वा चीनको घरेलु विकास र विदेशमा उसको प्रभावबीच रहेको असन्तुलनलाई पनि जनाउन सक्छ।

त्यसैले यसले परिवर्तनका लागि थुप्रै चीज बाँकी छन् भन्ने संकेत गर्छ।

पार्टी महाधिवेसनबाट अरु के परिवर्तन आउन सक्ला?  हामीले संस्थागत परिवर्तनलाई पनि हेर्नुपर्छ। पार्टी र राज्य दुवैमा ‘नेसनल सुपरभिजन कमिसन’ र ‘नेसनल फाइनान्सियल स्ट्याबिलिटी कमिसन’ को स्थापनाको कुरा छ। हामीले ध्यान दिनुपर्ने संस्थागत परिवर्तनहरु यी पनि हुन्। त्यस्तै पार्टी विधान संशोधन, सीको शासनसम्बन्धी विचारबारे पनि हामीले ध्यान दिनुपर्छ।

यो महाधिवेसनले चीन–अमेरिका सम्बन्धलाई कस्तो असर पु¥याउला? कुन क्षेत्रमा यसको मुख्य असर पर्ला? के सम्बन्ध सुधार हुनेछ त? यस विषयमा केही भन्न सकिने बेला भइसकेको छैन। तर केही साताभित्रै राष्ट्रपति ट्रम्पले चीनको भ्रमण गर्नेछन्। पार्टी महाधिवेसनलगत्तै सीले विदेशी प्रतिनिधिसँग भेट गर्नेछन्। खासगरी अमेरिकी व्यवसायी र पूर्व राजनीतिज्ञहरुसँग। यसले के देखाउँछ भने सी अमेरिका–चीन सम्बन्धप्रति निकै सचेत छन् र यो सही दिशामा अघि बढोस् भन्ने चाहन्छन्। साथै बजारमा पहुँच, निष्पक्ष व्यापार, वित्तीय उदारीकरण र सेवा क्षेत्रमा खुलापनजस्ता विषयमा ट्रम्पले निश्चय नै दबाब दिनेछन्। यी सबै कुरा सीको भाषणमा उल्लेख थियो। त्यसैले उनले यी विषयलाई महत्व दिइरहनेछन्।

चियाको पातमा जोखाना हेर्दा महाधिवेसनमा सीको अवस्था चाहिँ कस्तो देखिन्छ? एउटा सन्देशचाहिँ स्पष्ट छः सी जिनपिङको अवस्था राम्रो छ र उनले आफ्नो शक्तिलाई सुदृढ गरेका छन्। तर उनी ‘बाहुबली शक्तिआधार’ (स्ट्रङम्यान पावर बेस) मा फर्किए भन्न म चाहन्नँ। यदि उनीसँग त्यस्तो शक्तिको आधार हुन्थ्यो भने स्थायी समितिमा के होला भनेर हामी चासो नै दिँदैनथ्यौँ। तर यो कुरा त्यस्तो छैन। चीनको नेतृत्व अझै पनि मूलतः ‘टिमवर्क’ नै हो। यद्यपि सी अन्य नेताभन्दा निश्चय नै बढी शक्तिशाली छन्।

प्रतिकृया दिनुहोस

वर्षको उत्कृष्ट स्टोरीः डा. बाबुराम

पूर्व गृहमन्त्री र राज्यमन्त्री विरुद्ध

दिल्लीबाट फर्किएका राजदूत टिकटका

जो पहिले मन्त्री भए, अहिले प्रदेशतिर

पर्यटकले खचाखच मनास्लु पदमार्गका

डडेल्धुरामा देउवाले जित्लान्? यस्तो

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला