स्वास्थ्यकर्मी यस्ता भए पो !

स्वास्थ्यकर्मी यस्ता भए पो !

लक्ष्मी भण्डारी/ सुर्खेत

हामी डाक्टरहरु पैसामुखी भए र जनताको स्वास्थ्यलाई ख्याल गर्दैनन् भन्ने सुन्छौं । कतिपय त छन पनि यस्तै । तर, सबै स्वास्थ्यकर्मीहरु त्यस्ता हुँदैनन्, उनीहरुले समाजमा उदाहरणीय काम गरेका हुन्छन् ।

यस्तै स्वास्थ्यकर्मी हुन्, वीरेन्द्रनगर सुर्खेतकी सीता शर्मा । जब उनी पाठेघरसम्बन्धि शिविरमा जान्थिन्, त्यतिबेला उनले पाठेघरको क्यान्सरबाट विकराल अवस्थामा पुगेका महिलालाई भेटाउँथिन् । पाठेघरको समस्याबाट महिलाको जीवनमा निकै कष्ट आइपरेको उनले पाउँथिन् । यसबाट महिलालाई कसरी बचाउने भन्ने सोचमा उनमा आउन थाल्यो । उनी यही सोचलाई कार्यान्वयन गर्न तिर लागिन् र सुरु गरिन् किशोरीसँगको सहयात्रा ।

सीता शर्मा अहिले महिलाको पाठेघर क्यान्सर हुनबाट बचाउने अभियानमा छिन् । जिल्लाका विकट बस्ती र विभिन्न सरकारी तथा निजी विद्यालयहरुमा पुगेर किशोरीहरुका समस्या पहिचान गर्ने र उनीहरुलाई महिनावारी सरसफाईका बारेमा चेतना जगाउन थालिन् ।

त्यति मात्र होइन किशोरीहरुलाई आफ्नै पैसाले किनेर सेनेटरी प्याड वितरण पनि गर्दै आएकी छन् । त्यसैले उनलाई किशोरीहरुले आमा भन्दा पनि नजिकको ठानेर आफ्ना समस्याहरु सुनाउँछन् ।

यसरी सुरु भयो अभियान

आम मानिसहरुको सोचाई हुन्छ की जागिर गर्ने र आफ्नो परिवारसँग आनन्दसँग जीवन जिउने । अझ सार्वजनिक विदाका दिनहरुमा आफ्ना परिवारसँग बस्ने, घुम्न जाने वा रमाइलो गर्ने । तर सीता शर्माको सोचाई भने त्यो भन्दा बेग्लै छ ।

नियमित कामबाहेकको समयमा मानव सेवा गर्ने र समुदायमा एक्लै भएपनि अभियान सञ्चालन गर्ने अठोट बोकेर हिडेकी छन् । यही सोचाईले अहिले जिल्लामा उनको परिचय पनि फेरिएको छ । किशोरीकी आमाको रुपमा परिचित बनेकी छन् । उनी भन्छिन्, ‘यसरी सबैको सेवा गर्न पाउँदा खुसी लाग्छ ।’

वि.सं. २०६० सालमा अनमीका रुपमा सेवा प्रवेश गरेकी सीता ग्रामीण बस्तीमा बसेर वर्षाैसम्म काम गर्दा लाग्यो पाठेघरको क्यान्सर हुनु र यौन रोग लाग्नुका कारणमा महिनावारीको समयमा सरसफाईमा ध्यान नदिनु पनि हो । तर यस विषयमा न त सरकारी क्षेत्रको कार्यक्रम थियो न त गैरसरकारी क्षेत्रको नै ।

त्यतिबेला सीतालाई लाग्यो एक्लै भए पनि अभियान थाल्नुपर्छ । प्रत्येक विद्यालयमा गएर किशोरीहरुलाई राखेर उनी सचेतनामुलक कक्षा सञ्चालन गर्न थालिन् । उनले महिनावारी सरसफाई तथा पाठेघर खस्ने समस्या तथा यौन रोगका बारेमा किशोरीहरुलाई कक्षामा पढाउँदै आएकी छन् ।

त्यति मात्र होइन उनले घरेलु हिंसा, छाउपडीप्रथा जस्ता कुप्रथाका विषयमा पनि जानकारी गराउँछिन् । जब उनले महिनावारी सरसफाईका विषयमा किशोरीहरुलाई सचेतना दिन थालिन् तब किशोरीहरु पनि उनीसँग नजिकिए र आफ्ना समस्याहरु राख्न थाले । यतिसम्म कि घरमा आफ्नो आमासँग पनि खोल्न नसकेका कुराहरु सीतासँग राख्थे । आफूलाई कुनै समस्या आइपरेमा फोन गरेर पनि सल्लाह लिने गरेको उनको भनाई छ ।

किशोरीहरुको यो अभियान देखेर किशोरीका आमाहरु पनि प्रभावित भएपछि उनीहरुले महिला समूहमा पनि उनलाई बोलाउन थाले । त्यसपछि सीताले महिला समूह तथा जेष्ठ नागरिकहरुलाई पनि स्वास्थ्य र सरसफाईका विषयमा सचेतना जगाउँदै आएकी छिन् । उनी भन्छिन्, ‘समस्या आएपछि भन्दा पहिले समस्या आउन नदिनु नै उचित हुने भएर यस्तो अभियानलाई अगाडि बढाएकी छु ।’

उनले अहिलेसम्म विकट वस्तीका २५ भन्दा बढी विद्यालयमा गएर निःशुल्क रुपमा स्वास्थ्य तथा सरसफाईका विषयमा कक्षा सञ्चालन गर्नुका साथै आफ्नै पैसाले सेनेटरी प्याड वितरण गरेकी छन् भने १२ वटा आमा समूह र सीमान्तकृत तथा वादी समुदायमा गएर यस्ता सन्देशहरु दिदै आएकी छन् ।

‘मेरो उद्देश्य भनेकै सीमान्तकृत तथा विपन्न समुदायका महिलालाई प्रजनन् स्वास्थ्य तथा सरसफाईका बारेमा जानकारी दिएर उनीहरुलाई पाठेघर क्यान्सर हुनबाट जोगाउनु हो,’ उनी भन्छिन् ‘यो सँगै कुप्रथाविरुद्ध आवाज उठाएर हिंसा मुक्त जीवन जिउनको लागि उत्प्रेरित गर्नु हो ।’ पछिलो समय सीताको अभियानबाट प्रभावित भएपछि स्थाानीय वातावरण बहुउद्देश्य सहकारी संस्थाले पनि सीताको अभियानमा सहयोग गर्न थालेको छ ।

 

हौसलाले बढेको जागर

वि.सं. २०६० सालबाट अनमीमा सेवा प्रवेस गरेपछि उनलाई विकट गाउँमा सेवा लिने अवसर मिल्यो । द्धन्द्धकाल भएको हुनाले त्यतिबेला काम गर्न त्यति सहज थिएन । त्यसमा पनि काखमा बच्चा भएकोले अझै समस्या थियो । उनी चार वर्षसम्म सल्यानको स्वास्थ्य चौकीमा काम गरिन् । त्यतिबेला प्रसुती हुन स्वास्थ्य संस्थामा जाने चलन थिएन । उनी घर घरमा गएर प्रसुती हुन स्वास्थ्य संस्थामा जानु पर्छ भन्दै सचेतना दिन थालिन् ।

त्यतिमात्र होइन स्वास्थ्य संस्थामा प्रसुती हुन आउने विपन्न महिलाहरुलाई खाना खुवाउनुको साथै आफूसँग भएका कपडा दिएर पठाउँथिन् । त्यतिमात्र होइन कतिपय सुत्केरीलाई आफ्नै तलबबाट पैसा दिएर पठाउँथिन् । जागिरको सिलसिलामा घर बाहिर भएको हुनाले २४ सै घण्टा सुत्केरी तथा पाठेघर खस्ने समस्या भएका महिलालाई सेवा दिएर बस्थिन् ।

विकट गाविसमा बसेर उत्कृष्ट र अरु भन्दा फरक काम गरेको भन्दै जिल्ला स्वास्थ्य तथा केन्द्रबाटै पनि उनलाई हौसला प्राप्त भएपछि काम गर्न झनै जोस बढ्यो । ‘मलाई सबैभन्दा प्यारो हौसला लाग्थ्यो’, उनी भन्छिन्, ‘यहि हौसला नै मलाई काम गर्ने गतिलो हतियार बन्यो ।’ सल्यानबाट सुर्खेतको विकट गाउँ अवलचिङ्गमा गइन् । त्यहाँ पनि उनले जागिर मात्र नभनी मानवीय सेवालाई मुख्य ठान्थिन् । रात दिन नभनी उनी सेवामा लागिरहिन् ।

‘मानव सेवा नै धर्म हो’ भन्ने भनाईलाई मूल मन्त्र बनाएर आफ्नो अभियान अगाडि बढाएकी उनी बिरामीको भएको जो कोहीको पनि फोन आयो भने तुरुन्तै पुगिहाल्छिन् । भन्छिन्, ‘मेरो त बिरामी भए पनि उपचार गर्ने पहुँचमा छु तर जो उपचारको पहुँचमा छैन उसको सेवा गर्नु हाम्रो दायित्व हो ।’ उनको यही सेवाभावका कारण उनी एन्टिग्रेटी आइडलको टप टेनमा छनोट हुन सफल भएकी छन् ।

‘पैसा होइन नाम कमाएकी छु जस्तो लाग्छ’, उनी भन्छिन्, ‘मलाई कुनै प्रमाणपत्र चाहिदैन, सबैको माया पाएकी छु यही नै ठूलो प्रमाणपत्र हो ।’ तीन भाईबहीनी मध्यकी जेठी सीताले आफ्नी बहिनी गुमाएपछि सबै किशोरीहरुलाई बहिनी जस्तो लाग्ने गरेको बताउँछिन् । ‘सबै किशोरीहरुमा बहिनीको आभाष पाउँछु’ सिताले भनिन्, ‘त्यसैले पनि यो अभियानलाई अझै सशक्त बनाएर लैजाने सोच बनाएकी छु ।’ हाम्रो कथा अनलाइनबाट साभार

प्रतिकृया दिनुहोस

व्यवसाय र समाजसेवा एकै ठाउँमा अटाउने

सांसदले मागे दशैं भत्ता

भित्रियो मनसुन

मेलम्चीको ठेक्का आह्वान, ११ महिनापछि

आयोजना अल्झाउने ठेकेदारलाई अयोग्य

त्रिवि सेवा आयोगको परीक्षाः केर्दै,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला