महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधी पक्राउ नपरेको विरोधमा नेवि संघले मंगलबार कञ्चनपुर जिल्ला बन्दको गराएको छ ।
निर्मलाको हत्याप्रति सरकार उदासिन रहेको भन्दै दबाब स्वरुप बन्द आयोजना गरिएको हो । निर्मलाको हत्या भएको २ महिना वित्दापनि हत्यारा पक्राउ नपरेको भन्दै हत्यारा पक्राउ गर्नुपर्ने, अनुसन्धानका क्रममा प्रमाण मेटाउने प्रहरी अधिकृतहरुलाई कारबाही हुनुपर्ने लगायतका मागहरु राखेर नेविसंघ कञ्चनपुरले एक दिने जिल्ला बन्द गरेको हो ।
बन्दका कारण बिहानैदेखि कञ्चनपुर जिल्लाको जनजीवन प्रभावित बनेको छ । बजार, व्यवसाय, कलकारखाना, उद्योगधन्दा, शिक्षणसंस्था बन्द छन् । यातायातका साधनहरुचलेका छैनन् ।
लामोदूरीबाट आएका सवारी साधनहरुलाई भने सदरमुकाम प्रवेश गर्न दिइएको भएपनि महेन्द्रनगरबाट छुट्ने लामो तथा छोटो दूरीका सबै सवारी साधनसञ्चालनमा रोक लगाइएको छ ।
बन्दकर्ता नेविसंघका कार्यकर्ता सडकमा भेला हुन थालेका छन् । उनीहरु फाट्ट फुट्ट रुपमा खुलेका केही पसलसमेत बन्द गराउँदै हिडेका छन् । विभिन्न चोकहरुमा बिहानैदेखि टायर बालेर प्रदर्शन सुरु गरिएको छ । सोमबार नेविसंघले जिल्लाका शैक्षिक संस्थाहरु बन्द गराएको थियो । चरणवद्ध आन्दोलनको घोषणा गरेको नेविसंघले आफ्ना आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
प्रकाशित १६ आश्विन २0७५ , मङ्गलबार | 2018-10-02 06:03:25
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार