नेपालमा व्यवसायिक बन्दै ‘खेलाडी’ परेवा पालन

नेपालमा व्यवसायिक बन्दै ‘खेलाडी’ परेवा पालन

यादव थपलिया/काठमाडौं, शौखका निम्ति सुरू भएको क्यारियर पिजन (परेवा) पालन अहिले नेपालमा व्यावसायिक बन्दै गएको छ । सुरु–सुरुमा प्रतिस्पर्धात्मक उडानका निम्ति प्रयोग हुँदै आएको ‘खेलाडी’ परेवा पालन अहिले व्यवसायिक बन्न थालेको हो ।

नेपालमा काठमाडौँका गोरख शमशेर राणाबाट थालनी भएको परेवा पालनले अहिले मुलुकका विभिन्न जिल्लामा विस्तार हुँदै गएको छ । यस व्यवसायबाट मनग्य अर्थोपार्जन हुन थालेको बनेपाका परेवा पालक रघुवर चौप्रधानले बताए ।

नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका अध्यक्ष समेत रहेका चौप्रधान काभ्रेस्थित भोमिज परेवा क्लबका सदस्य हुन् । उनले यस्ता विभिन्न प्रजातिका ‘खेलाडी’ परेवा सय भन्दाबढी पालेका छन् । यी परेवाहरुमा टेडी, मद्रासी, बहराईन, पञ्जाबी र कामाघर रेडआई प्रजातिका रहेका छन् । टेडी प्रजातिको नेपालमा एक जोडीको ३० देखि ३५ हजारसम्म पर्ने, कामाघर रेडआई प्रजातिको २५ देखि ३० हजार र बहराईन र पञ्जाबी प्रजातिका प्रतिजोडी परेवा १० देखि १५ हजार रुपैयाँमा विक्री हुने चौप्रधानले बताए ।

बनेपामा मात्रै ४५ परिवारले यस्ता परेवा पालेको तथ्यांक भोमिज परेवा क्लब बनेपासँग रहेको छ । यस्ता परेवाहरु विदेशबाट मगाउँदा जोडीको १ लाखदेखि ३ लाखसम्म पर्ने गरेको क्लबका अध्यक्ष देवेन्द्रप्रसाद भैलले बताए । भैल व्यवसायिक रुपले ‘खेलाडी’ परेवा पाल्ने व्यक्तिका रुपमा परिचित छन् । प्रमुख रुपले व्यवसायिक रुपमै यस्ता परेवा पालन गर्नेमा क्लबका सचिव सागर कपाली र राजकुमार मानन्धर पनि हुन् । सुरुमा उडाउने प्रतियोगिताका लागि मात्रै यस्ता परेवा पाल्न थालिएको तर अहिले आर्थिक आर्जन समेत भईरहेको उनीहरु बताउँछन् । सागर कपालीले टेडी, पाकिस्तानी, रामपुरे र बहराईन प्रजातिका ‘खेलाडी’ परेवाहरु १३० ओटा भन्दा बढी पालिरहेको बताए ।

नेपालमा पालिएका यस्ता परेवाहरु भारत, बंगलादेश र पाकिस्तान निर्यात गर्दा एक लाख २५ हजारसम्ममा विक्री हुने गरेको चौप्रधानले बताए । निर्यातको कानुनी सुविधा नभएको कारणले भारत लगायत तेस्रो मुलुकमा परेवालाई निर्वाध निर्यात गर्न व्यवसायीहरुलाई अप्ठेरो परेको छ । वन विभाग, राष्ट्रिय निकुञ्ज, विधिविज्ञान प्रयोगशाला र अन्य सरकारी निकायबाट समेत अनुमति लिनुपर्ने हुनाले परेवा निर्यातमा बाधा परेको व्यवसायीको भनाइ छ ।

बनेपाका रघुवर चौप्रधान खेलाडी परेवा स्याहार्दै

नेपालमा विश्वराज जोशीले परेवा निर्यातका निम्ति लाईसेन्स लिएका भएपनि निर्वाध रुपले निर्यात गर्न नसकेको अवस्था रहेको चौप्रधानले जानकारी गराए । यसैगरी, स्पष्ट नियम कानुनका अभावमा विदेशबाट उच्च नश्लका परेवाका प्रजाति आयात गर्नपनि त्यत्तिकै कठिन रहेको व्यवसायीको गुनासो छ । सरकारले यस्ता परेवा निर्यातका निम्ति सुविधाजनक कानुनी व्यवस्था मिलाउने हो भने मुलुकको व्यापार घाटा समेत कम गर्न सकिने चौप्रधान बताउँछन् ।    यी परेवाहरुको प्रतियोगितात्मक उडान भने जिल्लामा वर्षको एक पटक र राष्ट्रिय स्तरमा एकपटक हुने गरेको चौप्रधानले बताए । राष्ट्रिय स्तरमा गठन भएको परेवा पालक संघमा संगठित हुँदै आएका विभिन्न जिल्लाका परेवा पालन व्यवसायीहरु राष्ट्रिय परेवा उडान प्रतियोगितामा सहभागी बन्दै आएका छन् ।

अहिले यस्तो प्रतियोगिताको १८ औँ संस्करण भईसकेको छ । दशैँ तिहारताका आकाशमा बाजको आक्रमण कम हुने भएकोले त्यही समयमा परेवा उडानको प्रतिस्पर्धा संघले गराउँदै आएको छ । प्रतियोगितामा यस्ता परेवाहरु ८ देखि २८ घण्टासम्म उडेको रेकर्ड संघसँग रहेको छ । उडेको अवस्थामा कसैले धाँधली गर्न नपाओस् भन्ने हेतुले हरेक तीन घण्टाको बीचमा उडेका परेवा एकपटक आकाशमा देखिनै पर्ने नियम समेत राखिएको छ । यसका निम्ति संघले ‘निरीक्षण समूह’ समेत तोकेको हुन्छ । राष्ट्रिय खेलकुद परिषद्सँग आवद्ध परेवा पालक संघले नेपालमा २०५७ सालदेखि परेवा उडान प्रतियोगिता सुरू गरेको हो । गोरख शमशेर राणाले परेवा उडान प्रतियोगिताको निम्ति चार लाख मूल्य बराबरको ‘केयुर रनिङ शिल्ड’ समेत स्थापना गरेका छन् । प्रतियोगितामा प्रथम हुनेले यो शिल्ड प्राप्त गर्छ ।

१८ औँ प्रतियोगिताका विजेता गोरख शमशेर राणाका पाँचवटा परेवाले २८ घण्टा ८ मिनेट उडेको रेकर्ड राखेको थियो । प्रतियोगिताको १४ औँ संस्करणमा भक्तपुरका मुधु घिमिरे, १५ औँ र १६ औँमा गोरख शमशेर राणा र १७ औँमा भक्तपुर लोकन्थलीका सुवास पौडेलका परेवाहरु विजयी भएका थिए । परेवा पालनको विश्व इतिहासलाई हेर्दा तीन हजार वर्ष अघिदेखि नै परेवा पाल्ने प्रचलन रहेको पाईन्छ । प्राचीन राजामहाराजाहरुले युद्ध र प्रेममा परेवाको प्रयोग प्रशस्तै गरेको इतिहास छ । यस्ता परेवालाई क्यारियर पिजन अर्थात सन्देश आदानप्रदान कर्ता नाम दिइएको थियो ।

विश्वमा सञ्चार प्रविधिको विकास हुनुअघि युद्धमा र एक अर्का मुलुकको जासुसी गर्नको निम्ति यी परेवाहरु प्रयोग गरिन्थे । तालिम प्राप्त परेवाहरुलाई सञ्चार आदान प्रदानको निम्ति सन् १८३५ मा एजेन्स फ्रान्स प्रेस (एएफपी) का संस्थापक चाल्र्स लुईस हवासले प्रयोग गरेका थिए । पछि, वेलायतको रोयटर्स समाचार संस्थाले सन् १८५१ बाट एथेन्स र ब्रसेल्सको स्टक एक्सचेञ्जका मूल्य र समाचारहरु संकलनका निम्ति ४५ वटा क्यारियर परेवाहरु प्रयोगमा ल्याएको इतिहास छ । विश्वमा दूरसञ्चारको उच्चतम् प्रविधि प्रयोगमा आईसकेपछि यस्ता परेवाहरुलाई समाचार आदानप्रदानका निम्ति प्रयोग गर्न छोडियो । यद्यपि, समाचार संकलनको सट्टा यस्ता परेवालाई उडान प्रतियोगिताका निम्ति प्रयोग गर्न थालियो । भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलंका लगायत विश्वका अन्य धेरै मुलुकमा हुने परेवा उडान प्रतियोगिता नेपालमा सुरु भएको पनि १८ वर्ष नाघिसक्यो । अब, नेपालमा यस्ता परेवा अर्थाेपार्जनका निम्ति समेत व्यवसायिक रुपले पाल्न थालिएको छ ।

 

प्रतिकृया दिनुहोस

कर्मचारी समायोजन अध्यादेशमा प्राविधिक

चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशमा

समायोजन अध्यादेश विरुद्ध कर्मचारी

अब हामी विकास निर्माणमा जुट्छौ: मुख्यमन्त्री

समायोजन पक्रिया प्रभावित हुने भन्दै

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला