काठमाडौं । नेपाल र बङ्गलादेशबीच विध्युत विकासको क्षेत्रमा द्विपक्षीय सहकार्य शुरुवात गर्ने सम्झौता भएको छ । उर्जा जलश्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुन र बङ्गलादेशको विध्युत ऊर्जा तथा खनिज मन्त्रालयका राज्यमन्त्री नसरुल हमिदले शुक्रवार सम्झौतामा हस्ताक्षर गरे ।
सम्झौता पत्रमा दुई देशबीचको सम्बन्धलाई आर्थिक तथा व्यापारिक विकासमा सहकार्य मार्फत अभिवृद्धि गर्ने, विध्युत उत्पादन, ग्रीड कनेक्टिभिटी, ऊर्जा दक्षता, नवीकरणीय ऊर्जा तथा जल विध्युत विकासबाट दुवै पक्षको हित हुने गरी काम गर्ने उल्लेख छ ।
समझदारीपत्रअनुसार दुई देशबीच सहकार्यका लागि ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति र सहसचिवस्तरमा संयुक्त प्राविधिक समूह गठन हुनेछ । आगामी दुई महीनाभित्रै ती समितिको बैठक बसेर भावी कार्यदिशा तय गरिनेछ । बङ्गलादेश सरकार निजीस्तरमा लगानीका लागि समेत सहमत भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले जानकारी दिएका छन् ।
दुबै देशमा संयुक्त लगानी गर्ने, बङ्गलादेशले नेपालको विध्युत खरीद गर्ने र सरकारी तहमा उच्चस्तरीय संयन्त्र बनाएर काम गर्नेलगायतका विषय समझदारीपत्रमा समेटिएको छ । नेपालको ऊर्जा क्षेत्रमा बङ्गलादेश स्वयमले नै लगानी गर्ने वा संयुक्त कम्पनी बनाएर लगानी गर्ने वा अरु कुनै उपाय अपनाउने भन्ने विषयमा द्विपक्षीय छलफलमा महत्वपूर्ण सहमति भएको मन्त्री पुनको भनाइ छ ।
बङ्गलादेशका विध्युत ऊर्जा तथा खनिज राज्यमन्त्री हमिदले बङ्गलादेशी जनताको सपना पूरा गर्ने र ऊर्जाको माग सम्बोधन गर्ने लक्ष्यका साथ आफ्नो देशले ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपालसँग हात बढाएको बताए ।
नेपालमा जलस्रोतको अपार सम्भावना भएकाले दुई देशका सरकारी वा निजी क्षेत्रले मिलेर काम गर्ने जानकारी दिँदै उनले आजको समझदारीपत्र ऐतिहासिक महत्वको रहेको उल्लेख गरे । आफ्नो देशले सन् २०४१ सम्ममा विकसित राष्ट्रमा स्तरोनन्ति गर्ने लक्ष्य राखेको जानकारी दिँदै उनले त्यसका लागि करीब ६० हजार मेगावाट विध्युत जरुरी रहेको र नेपाल मात्रै उपयुक्त विकल्प रहेको बताए ।
उनले भने, ‘सन् २०२१ सम्म नै हामीलाई २४ हजार मेगावाट विध्युत जरुरी छ । हाल बङ्गलादेशको आर्थिक वृद्धिदर ७ दशमलब २ प्रतिशत रहेको र त्यसलाई आगामी वर्षमा १० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।’
आगामी भदौ १४ र १५ गते हुन लागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा संयुक्त छलफल गर्ने सहमति भएको उनीहरुको भनाइ छ । रासस
प्रकाशित २५ साउन २0७५ , शुक्रबार | 2018-08-10 10:39:07
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार