राजेश हमाल भन्छन्ः नेपालीको भविष्य बर्खाको खाडलजस्तै छ

राजेश हमाल भन्छन्ः नेपालीको भविष्य बर्खाको खाडलजस्तै छ

सिनेमा वा पुस्तक भनेको आफ्नो–आफ्नो कालखण्डलाई सम्बोधित गर्ने माध्यम हो। एउटै सिनेमाले हरेक कालखण्डमा काम गर्दैन। किनकि समाज चलायमान छ, परिवर्तन हुँदै जान्छ। अर्को कुरा कलामा लागेको मान्छे कलासिर्जनामै धेरै काम गर्दो रहेछ, लामो समय टिक्नका लागि पनि। तपाईंले के गर्नु भयो मान्छेले बिर्सिन्छन्, तर तपाईंको सिर्जना पढ्दा या हेर्दा उनीहरूले के महसुस गरे, त्यो सधैँ यादगार हुन्छ।"

 

बजारमा किसिम–किसिमका किताब प्रकाशित भइरहेका छन्। कुनै एक क्षेत्रमा स्थापित भइसकेपछि पुस्तक लेख्ने लहरै चलेको छ। नेपाली सिनेमामा चालिसको दशकको उत्तरार्धदेखि झण्डै दुई दशकसम्म एकछत्र अभिनय–टावर बनेका राजेश हमाल आजभोलि अभिनयमा कम र चिन्तन–मननमा बढी ‘इन्गेज’ देखिन्छन्। सेलिब्रेटीहरूले पुस्तक लेख्ने होड गरिरहेको बेलामा हमाललाई पनि पुस्तक लेख्न रहर जागेको छ। प्रस्तुत छ अभिनेता हमालसँग नेपालखबरका लागि केही समयअघि गरिएको वार्ताः

आगामी दिनको योजना कत्तिको बनाउनुभएको छ? एउटा नेपालीका रूपमा धेरै दूरको कुरा सोचेर तर नेपालमा बसेर योजना बनाउनुभयो भने तपाईं निराश हुनुहुन्छ। नेपालमा कुनै पनि क्षेत्रमा बसेर काम गर्ने हिम्मत राख्नु हुन्छ भने, तपाईंले ‘वान स्टेप एट अ टाइम, वान डे एट अ टाइम’ नै लिएर अगाडि बढ्नु पर्छ, पानी छाम्दै। १० वर्षपछि यस्तो होला वा हुनुपर्छ भन्ने कल्पना गरेर योजना बनाउनु भयो भने त्यहाँ तपाईं जान सक्नुहुन्न। त्यसैले त युवाशक्ति भविष्यको चित्रांकन गरेर देश छाडेर गएका हुन् नि। आफ्नो पढाइ सकेर भविष्य बनाउँछु भन्ने जति पनि युवाहरू छन् उनीहरू १५–२० वर्षपछिसम्म सोचेर विदेशितिर लागेका छन्, तत्कालको जीवन त्यति नराम्रो नहुँदा–नहुँदै पनि। त्यसकारण आजको परिस्थितिमा तपाईंले धेरै लङ–ट्रम सोच्नुभयो भने यस्तो जटिल परिस्थितिमा गुज्रिरहेको मुलुकमा तपाईंले धेरै ठूलो योजना बनाउन सकिन्नँ। पानी जाँच्दै हिँड्नुपर्छ, बर्खामा कुनै बाटोमा पूरै पानी जमेको हुन्छ नि, कहाँनेरि खाल्डो छ, कहाँनेरि सम्म छ भन्ने थाहै हुँदैन। कति मान्छेहरू त्यसलाई देख्नेबित्तिकै पारि पुगिँदैन भनेर फर्किन्छन्, कति मान्छे पानी जाँच्दैजाँच्दै त्यहीँबाट जान्छन्। नेपालमा बस्ने भनेको त्यही पानी जाँच्दैजाँच्दै हिँड्ने हिम्मत गर्नु हो।

तपाईंले यत्रो लामो समय बिताउँदा त्यही पानी जाँचेर बस्नुभएको हो? हो, म त जाँच्छु। मेरो आफ्नै प्रोफेसनमा पानी जाँच्दै आएको मान्छे हुँ म। भोलि के हुन्छ भन्ने थाहा नपाई बाटो नभएको ठाउँमा पनि हिँड्दै आएको हो हुँ। ‘युगदेखि युग’सम्ममा काम गर्दा मलाई यही क्षेत्रमा २६–२७ वर्षसम्म काम गर्छु भनेर थाहै थिएन। मेरो अगाडि कुनै उदाहरण पनि थिएन। नेपालमा सुपरस्टार, महानायक भनेको के हो भन्ने पनि थाहा थिएन। एउटा फिल्म गरेपछि अर्को फिल्म बन्छ कि बन्दैन भन्ने दुविधामा रहेर फिल्ममा काम गरेको मान्छे म।

त्यत्रो २६–२७ वर्ष तपाईंलाई टिकाइराखेको चाहिँ केले त? किनकि अवसर त तपाईंसँग पनि अरू थिए नि? सिनेमा वा पुस्तक भनेको आफ्नो–आफ्नो कालखण्डलाई सम्बोधित गर्ने माध्यम हो। एउटै सिनेमाले हरेक कालखण्डमा काम गर्दैन। किनकि समाज चलायमान छ, परिवर्तन हुँदै जान्छ। अर्को कुरा कलामा लागेको मान्छे कलासिर्जनामै धेरै काम गर्दो रहेछ, लामो समय टिक्नका लागि पनि। तपाईंले के गर्नु भयो मान्छेले बिर्सिन्छन्, तर तपाईंको सिर्जना पढ्दा या हेर्दा उनीहरूले के महसुस गरे, त्यो सधैँ यादगार हुन्छ। त्यसकारण दर्शक वा पाठकलाई त्यस्तो ‘फिल’ दिनसक्नु भयो भने उनीहरूले तपाईंलाई कहिले पनि छाड्दैनन्, बिर्सिदैनन्। आज म देश–विदेशमा जाँदा ४०–४५ वर्षभन्दा कम उमेरका र अर्कैअर्कै पेशामा संलग्न व्यक्ति भेट्छु, उहाँहरू मलाई भेट्ने बित्तिकै भन्नुहुन्छ, ‘ओहो, तपाईंको युगदेखि युग निस्किँदाखेरि तपाईंको जस्तो कपाल पाल्न पाए, तपाईंले त्यहाँ एउटा कट्टु लगाउनु भएको थियो, पूरा त्यो गाउँको बजारभरि खोजेँ त्यो कट्टु।’ तर उहाँहरूलाई के थाहा डान्स गर्ने दिन म जिन्स लगाएर गएको थिएँ, यसलाई काटेर कट्टु बनाएर लगाउनुपर्छ भनेर पछि काटेर लगाएको। तर दर्शकहरूले त्यो फिल गरेर कट्टु खोज्न गए। त्यो नै फिल हो नि।

त्यो त जीवनको कुनै स्मृतिको कुरा भयो। मानिसका सुन्दर स्मृतिहरूमा रहन सक्नु ठूलै कुरा हो नि?  त्यो कालखण्ड बिताएको मान्छेहरूमा कहीँ न कहीँ एउटा ‘फिलिङ्स’ उब्जाएको छ, मेरो कामले। चाहे त्यो मैले गरेको फिल्म हेरेर होस्, चाहे त्यसबाट प्रभावित भएको समाजलाई देखेर होस्। कसैले ‘मैले बुबाको पैसा चोरेर हेर्न गएको थिएँ’ भन्छ, कसैले ‘म गाउँबाट हिँडेरै हलमा गएर, पुलिसको डन्डा खाएर, टिकट झ्यालबाट निकाल्दा यहाँ छाला गाको थियो’ भन्छ। यस्ता अनुभवहरू ती कालखण्डका हुन्। अहिले त्यही किसिमको अनुभव नहुन सक्छ। त्यसकारण कसैले गरेको कामले आफूलाई के ‘फिल’ दियो, त्यो लामो समय टिक्दोरहेछ।

 

राजेश हमाल

राजेश हमाल

 

तपाईंको यो अनुभव पुस्तकमा आउँदैन? लेखक हुनेबारे केही सोच्नुभएको छ कि? मैले कोशिस चाहिँ गर्न खोजिरहेको छु। लेख्ने मान्छेलाई थाहा हुन्छ, सुरू गर्न नै एकदम गाह्रो छ।

भनिन्छ, लेखन र प्रेम (सेक्स पनि) उस्तै हुन्, सुरूमा अलि लजालु हुन्छ। हो। हो एक्ज्याक्टली।

अब किताब लेख्दा आफ्नै आत्मकथा लेख्ने कि? आत्मकथा नै लेख्नुभयो भने त्यसमा तपाईंले धेरै महत्वपूर्ण र भव्यतम कुरा लेख्नुहोला भन्ने लाग्छ। आत्मकथाले धेरै ठूलो न्याय खोज्छ। कतै आफ्नो सबै भावनाहरू, जीवनहरू खोलेर राख्न चाहनुहुन्छ कि एउटा गहिराइमा गएर सोच्नु हुन्छ? मलाई लाग्छ, आत्मकथाहरू धेरै रोचक रोचक हुन्छन्, तर शतप्रतिशत सही हुन्छन् भन्ने ठोकुवाका साथ भन्न सकिँदैन।

उपन्यासमा वास्तविक कुरो कति छ भनेर सोध्ने चलन छ, अनि आत्मकथाहरूमा आख्यान कति छ भनेर सोध्ने चलन छ। तपाईंलाई पनि पछि पाठकले सोध्लान् नि? जसरी आख्यान (उपन्यास वा कथा) गैरआख्यानबाट अछुत रहन सक्दैन। लेखनको प्रेरणाको विन्दु पनि गैरआख्यानबाटै आउँछ। त्यस्तै गैरआख्यान वा आत्मकथा नै लेख्दा पनि कहीँ न कहीँ तपाईं काल्पनिकतामा जानुपर्छ। कसैलाई कहीँ न कहीँबाट तपाईंले सुगर कोेटिङ गर्नै चाहनु हुन्छ। अझ तपाईं एउटा विश्वसनीय ठाउँमा पुगिसकेपछि या तथाकथित सफलताको उचाइमा पुगिसकेपछि तपाईंले कुनै न कुनै पक्षलाई सुगर कोटिङ गर्नु हुन्छ, हुन्छ। कुनै न कुनै ठाउँमा गएर त्यसलाई चाहे पठनीय बनाउने निहँुमा होस्, चाहे आकर्षक बनाउने बहानामा होस्, त्यस्तो गर्नुहुन्छ। जस्तो हामी सिनेमामा भन्छौँ, सिनेम्याटिक लिबर्टी लिएको अर्थात् सत्यतालाई नाटकीय रूपान्तरण गरिएको। लेखन पनि त्यस्तै हो।

तपाईंले लेख्न सक्ने अर्को विधा यात्रा संस्मरणहरू पनि हो। यात्रामा तपाईंको रूचि पनि देखिन्छ। लेख्न थाल्ने हो भने तपाईंले पक्कै ‘इन्जोय’ गर्नु हुन्छ। यी कुराले म लेखनमा भित्रभित्रै प्रेरित चाहिँ भइरहेछु।

 

अभिनेता राजेश हमाल

अभिनेता राजेश हमाल

 

यात्रा त खुब भइरहेको छ नि?  अँ, भइरहेछ। रूचि पनि लाग्छ। विशेष गरी १० वर्षमा नेपाली डायस्पोरा यस्तो बढेको छ कि विदेशमा, १५–२० वर्षअघि विदेश जाँदा एउटा खास पृष्ठभूमिको नेपाली मात्र भेटिन्थ्यो। अब अहिले एकदम समावेशी, पूर्वदेखि पश्चिमसम्म तराईदेखि हिमालसम्म जहाँका पनि छन्। मैले ‘अब्जरबेसन’ गर्दा सबैभन्दा रोचक पक्ष चाहिँ के लाग्छ भने, जर्मनीमा बसेको होस् या जापानमा, कतारमा बसेको होस् या फ्रान्समा या अमेरिकामा बसेकै किन नहोस्, नेपालीहरूमा सप्पैमा त्यो नेपालीपन छ, जुन साझापन हो। अनि जहाँजहाँ बस्नु भएको छ, त्यहाँत्यहाँको ‘फ्लेभर’ पनि छ। मैले यात्राबाट यस्तो देखेको छु।

डायस्पोरामा नेपालीहरू बढेर नेपाली किताब पनि धेरै विदेशमा गइरहेका छन्। विदेशबाट पहिला–पहिला कलाकारहरू मात्र बोलाइन्थे, अहिले लेखकहरू पनि लैजान थालिएको छ।  म फिल्म लाइनमा आउँदा (२५ वर्ष अगाडि) प्रायः कलाकार विदेश गएकै हुँदैनथे। अहिले धेरै कलाकारको एक–एक वर्षमा पासपोर्ट फेर्नु परिरहेको हुन्छ, धेरै देशको भिसा लागेर, पेज नपुगेर। विदेशमा नेपालीहरू धेरै भएकै कारण कलाकार, गायक, डान्सर, लेखक सबैको केही न केही कार्यक्रम भइरहेको हुन्छ। कहिले साहित्य सम्मेलन गरिरहेका हुन्छन्, कहिले के गरिरहेका हुन्छन्। यसमा एकदमै ध्यान दिनुपर्ने के हो भने, अहिले प्रायः विदेशमा जानेहरू पहिलो पुस्ता छन्, जसलाई यताको अनुभव प्रशस्त छ। उनीहरू यताको अनुभव बचाइराख्न चाहन्छन्। आउने २५ वर्षमा भने यो अवस्था सम्पूर्णतः फेरिन्छ। अर्को २५ वर्षमा त्यही समाजमा, त्यही रहनसहनमा हुर्किएको नेपालीहरू विदेशमा हुन्छन् तर ९० प्रतिशत दोस्रो पुस्ता आउँछ। त्यो दोस्रो पुस्तामा हुर्किएको नेपालीलाई कसरी यहाँको नेपालीहरूले लिङ्क राखिरहने भन्ने अहिलेदेखि सोच्नुपर्ने हुन्छ। अहिले अमेरिकामा सबैभन्दा ठूलो डायस्पोरा भनेको भुटानका नेपालीभाषी छन्, जो शरणार्थी भएर बसेका छन्। उनीहरूमा नेपालका नेपालीभाषीभन्दा सांस्कृतिक मूल्यमान्यता २० गुणा बढी भेट्टाएँ। नेपालको नेपाली चाहिँ धेरै कुरामा लचक छ, जहाँ गएर बस्यो त्यहाँको रहनसहनमा अलिअलि ढल्किहाल्छ। ९० हजारभन्दा बढी भुटानी नेपालीहरू शरणार्थी क्याम्पबाट अमेरिकामा बसोबास गराएको छ पछिल्लो ६–७ वर्षमा। त्यो ९० हजारले अहिले एकदमै आफ्नो कला–संस्कृतिलाई प्रभाव पार्न दिएका छैनन्। काठमाडौँका नेपाली अमेरिका गए भने बुढीआमा पनि सजिलोका लागि स्ल्याक्स लगाएर हिँड्छन्। तर भुटानी नेपालीका स्वास्नीमान्छे वा लोग्नेमान्छेहरूले चाहिँ ढाका टोपी आदि छाडेका छैनन्।

प्रतिकृया दिनुहोस

राजेश हमाल भन्छन्ः नेपालीको भविष्य

साथी इसिगुरोः अहंकारबिनाको कलाकार

भारतीय (अ)लोकतन्त्रको कोलाज

बियर गिलासमा बाक्लो दही (सुन्तलाबारी

चीनमा पत्थरमा पर्यटन (चट्टानगुफाहरु

शक्ति र गरिबी दुवैले जीवनलाई जादुमयी

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि