शक्ति र गरिबी दुवैले जीवनलाई जादुमयी बनाउँदैन

शक्ति र गरिबी दुवैले जीवनलाई जादुमयी बनाउँदैन

म एक मुभी स्टार हुँ। म अहिले ५१ वर्षको भइसकेँ तर मैले अझै पनि बोटोक्स (अनुहारको चाउरी हटाउन प्रयोग गरिने औषधी) प्रयोग गरेको छैन।

म शुद्ध छु तर मेरो व्यवहार मेरा फिल्ममा अक्सर देखिने २१ वर्षेजस्तै हुन्छ। हो, म त्यस्तै व्यवहार गर्छु। म भारतका दशौँ लाख मानिसहरुलाई सपना र प्रेम बेच्छु, जो मलाई संसारको सबैभन्दा उत्तम प्रेमी ठान्छन्।

तपाईंहरु कसैलाई सुनाउनुहुन्न भने म एउटा कुरा भन्न चाहन्छु, म त्यस्तो प्रेमी होइन तर मप्रतिको त्यो अवधारणा कहिल्यै नबदलियोस् भन्ने चाहन्छु।

यहाँ उपस्थित थुप्रैले मेरो फिल्म हेर्नुभएको छैन भन्ने कुरा मलाई जानकारी दिइयो, म साँच्चै नै तपाईंहरुप्रति निकै दुःखी छु।

तर यसले मेरो पूर्ण आत्म–आशक्तिलाई बदल्दैन।

मित्र क्रिस र जुलियटले मलाई यहाँ भविष्यको ‘तपाईं’ बारे बोल्न निम्ता दिए। स्वभाविक रुपमा म आफ्नो वर्तमानबारे बोल्न गइरहेको छु भन्ने मलाई लाग्यो। किनभने वास्तवमा मानवता मजस्तै छ भन्ने कुरामा म विश्वस्त छु। मानवता उमेर बढ्दै गएको मुभी स्टारजस्तै हुन्छ, जो आफू वरिपरिको नवीनतासँग जुध्दै, आफू पहिलो स्थान छु कि छैन भन्ने सोच्दै निरन्तर चम्किरहने उपाय खोजिरहेको हुन्छ।

भारतको राजधानी नयाँ दिल्लीस्थित शरणार्थी बस्तीमा मेरो जन्म भएको थियो। मेरा पिता स्वतन्त्रता सेनानी हुनुहुन्थ्यो। मेरी आमा पनि अन्य आमाहरुजस्तै योद्धा हुनुहुन्थ्यो। हामीले वास्तविक होमो सेपियन्सजस्तै बाँच्नका लागि संघर्ष गर्‍यौँ। मैले बीसेबाइसे उमेरमै दुवै अभिभावक गुमाएँ। यसमा मैले अलिकति हेलचेक्र्याइँ गरेको कुरा मैले स्वीकार्नैपर्छ, तर...

मेरा पिता बितेको रात म अझै सम्झिरहन्छु। छिमेकको ड्राइभरले हामीलाई अस्पतालसम्म लगेको थियो। ‘मरेको मान्छेले राम्रो टिप दिँदैनन्’ भन्दै ऊ अँध्यारोमा गायब भएको थियो। त्यसबेला म मात्र १४ वर्षको थिएँ। मैले पिताको मृत शरीर कारको पछाडिको सिटमा राखेँ र अस्पतालबाट घरतर्फ गाडी हाँके। आमा मेरो छेउमा बस्नुभएको थियो बीच बाटोमा पुगेपछि आफ्नो निःशब्द रुवाइका बीच आमाले मतिर हेरेर सोध्नुभयो, ‘तैँले गाडी चलाउन कहिले सिकिस्?’ ‘अहिले भर्खरै आमा!’ मैले जवाफ दिएँ।

त्यही रातपछि आफ्नो युवावस्थामा रहेको मानवताजस्तै मैले बाँच्ने कच्चा तरिकाहरु सिकेँ। इमानदारिताका साथ भन्नुपर्दा त्यसपछि जीवनको रुपरेखा निकै सरल बन्यो। जे भेटियो त्यही खाने र जे अह्रायो, त्यही गर्ने।

डेट गएको पहिलो केटीसँगै बिहे गरिन्थ्यो र आफ्नो कारको कार्बोरेटर ठीक गर्न सके आफूलाई विशेषज्ञ ठान्न पाइन्थ्यो। ‘गे’ भनेको ‘खुसी’ का लागि परिष्कृत अंग्रेजी शब्द हो भन्ने मलाई लाग्थ्यो र ‘लेस्बियन’ भनेको पोर्चुगलको राजधानी।

अघिल्लो पुस्ताले हाम्रो रक्षार्थ पसीना र त्यागबाट सिर्जना गरेको व्यवस्थामा हामी भर पर्थ्यौँ र सरकार वास्तवमै हाम्रो भलाइका लागि काम गर्छ भन्ने सोच्थ्यौँ। विज्ञान सरल र तार्किक थियो। ‘एप्पल’ त्यसबेलासम्म स्टिभ जब्सको होइन पहिले इभ र पछि न्युटनको स्वामित्वमा रहेको फल थियो भने ‘युरेका!’ सडकमा नांगै दौडिनुअघि चिच्याउने कुरा।

जीन्दगीले जता डोर्‍यायो, त्यतै गइन्थ्यो। र मानिसहरुले ज्यादातर स्वागत नै गर्थे। बसाइँसराइ त्यसबेलासम्म मानिसलाई होइन, साइबेरियाली सारसका लागि प्रयोग गरिने शब्द थियो। सबैभन्दा महत्वपूर्ण कुरो तपार्इं जे हुनुहुन्थ्यो, त्यस्तै देखिनुहुन्थ्यो र आफूले सोचेको कुरा बोल्नुहुन्थ्यो।

त्यसपछि तीस वर्ष पुग्न लाग्दा म घना मुम्बई महानगर सरेँ। त्यसपछि भर्खरै औद्योगिकरण भएको लोभलाग्दो मानवताजस्तै मेरो जीवनको रुपरेखा पनि फरक हुन थाल्यो। सहरिया हडबडीमा झकिझकाउ अस्तित्वको खोजी गर्दैगर्दा चीजहरु अलि फरक देखिन थाले। मैले त्यस्ता मान्छेहरु भेटेँ, जो संसारका सबै क्षेत्र, अनुहार, जाति, लिंगका थिए। परिभाषाहरु अधिक तरल बन्न थाले। कामले मानिसलाई परिभाषित गर्न थाल्यो र मानवजातिको विविधता र प्रगतिमा कायम रहन कठिन हुनेगरी सम्पूर्ण व्यवस्था मलाई अविश्वसनीय लाग्न थाल्यो। विचारहरु थप स्वतन्त्रता र गतिसित बग्न थाले। र मैले मानव आविष्कार र सहकार्यको चमत्कारको अनुभव लिन पाएँ मेरो सिर्जनात्मकतालाई यो सामूहिक प्रयासले सहयोग गरेपछि म सुपरस्टार बनेँ।

४० वर्षको उमेरमा म साँच्चै उडिरहेको थिएँ। म जताततै थिएँ। तपाईंलाई थाहा छ, त्यसबेला मैले ५० फिल्म र २०० गीतमा काम गरिसकेको थिएँ। मलाई मलेसियामा सम्मानित गरिएको थियो र फ्रान्स सरकारको सबैभन्दा उच्च नागरिक सम्मान पनि दिइसकिएको थियो, जसको नाम म अझैसम्म उच्चारण गर्न सक्दिनँ।

आइ एम सरी फ्रान्स! सम्मानका लागि धन्यवाद! तर त्योभन्दा ठूलो कुरा मैले एन्जेलिना जोली भेट्ने मौका पाएँ.... अढाइ सेकेण्डका लागि।

र म ढुक्क छु, उनी पनि मसँगको त्यो भेट कहीँकतै सम्झिन्छिन् होला। नसम्झिन पनि सक्छिन्! र म गोलाकार डिनर टेबलमा हाना मोन्टानासँगै बसेँ। धेरैजसो समय उनको ढाड मतिर फर्केको थियो। मैले भनेजस्तै म उडिरहेको थिएँ, माइलीदेखि लिएर जोलीसम्म। र मानवता मसँगै उडिरहेको थियो। वास्तवमा हामी दुवै आवश्यकताभन्दा बढी नै उडिरहेका थियौँ।

त्यसपछि के भयो, तपाईंहरु सबैलाई थाहा छः इन्टरनेट आयो। म ४० को दशकको अन्त्यमा थिएँ र मैले पिँजडामा थुनिएको गाइने चराझैँ ट्वीट गर्न थालेँ। मेरो दुनियाँसँग जोडिएका मानिसहरुले यसको प्रशंसा गर्थे। तर म र मानवताको प्रतीक्षामा अरु चीज पनि थिए। हामीले दुनियाँमा विचार र सपना विस्तार हुने अपेक्षा गरेका थियौँ। हामीले साँघुरो विचार र विवेकका लागि सौदाबाजी गरेका थिएनौँ। मैले भनेका हरेक कुराहरुले नयाँ अर्थ लिन थाले। राम्रा, नराम्रा, अत्यन्त खराब, जेजस्तो भए पनि मैले गरेका काममाथि दुनियाँले टिप्पणी गर्ने स्थिति थियो। वास्तवमा मैले नगरेका र नभनेका कुराहरुमाथि पनि उस्तै टिप्पणी भए।

चार वर्षअघि मेरी पत्नी गौरी र मैले तेस्रो बच्चा जन्माउने निर्णय गर्‍यौँ। इन्टरनेटमा ऊ हाम्रो १५ वर्षीय छोरोको सन्तान भएको दाबी गरियो। उसलाई रोमानियामा कार चलाउँदै एउटी युवतीसँग रोमान्स गरेको बताइयो र एक नक्कली भिडियो पनि देखाइयो। हाम्रो परिवार निकै दुःखी भयो। अहिले १९ वर्ष पुगेको मेरो छोरोलाई अहिले पनि ‘हेलो’ भन्दा अर्कोपट्टि फर्किन्छ र भन्छ, ‘ब्रो मसँग युरोपको ड्राइभिङ लाइसेन्स त छैन।’

यस्तो नयाँ संसारमा बिस्तारै यथार्थ भर्चुअल र भर्चुअल यथार्थ बन्यो। र म आफू जे बन्न चाहन्छु, त्यही बन्न सक्दिनँ भन्ने सोच्न थालेँ। र यसबेला मानवता ठ्याक्कै मजस्तै बनेको छ। मलाई लाग्छ, हामी दुवै ‘मिडलाइफ क्राइसिस’ बाट गुज्रिरहेका छौँ। मजस्तै मानवता पनि ‘ओभरएक्स्पोज्ड’ ओपेराकी प्रमुख गायिका भइसकेका छौँ। मैले कपालमा लगाउने तेलदेखि डिजेल जेनेरेटरसम्म सबथोक बेच्न थालेँ। मानवता पनि कच्चा तेलदेखि परमाणु रियाक्टरसम्म सबथोक किनिरहेको थियो। तपाईंलाई थाहा छ? मैले आफूलाई बिल्कुल नयाँ देखाउन स्किनटाइट सुपरहिरो सुट लगाउने कोसिस पनि गरेँ। मैले स्वीकार्नैपर्छ, म नराम्ररी असफल भएँ। र संसारका सबै ब्याटमेन, स्पाइडर मेन र सुपरमेनको तर्फबाट कसैले नसुन्नेगरी खुसुक्क भन्न चाहन्छु, सुपरहिरो सुट लगाउँदा टाङमुनि निकै पीडा हुन्छ।

हो म साँचो बोलिरहेको छु। र, गल्तीपूर्वक म नयाँ तरिकाको नृत्य पनि आविष्कार गर्न पुगेँ, जुन कुरो मैले महसुस गरेकै थिइनँ। त्यसले अनियन्त्रित रुप लियो। यसलाई लुंगी डान्स भनिन्छ। बिनालाज म तपाईंहरुलाई अलिकति नाचेर पनि देखाइदिन सक्छु। अन्याथा म प्रतिभाशाली छु।

यो साँच्चै अनियन्त्रित बन्यो। तपाईंले देखेजस्तै मैलेबाहेक के भइरहेको छ भन्ने कुरा कसैले थाहा पाएनन् र मैले वास्ता गरिनँ। किनभने सम्पूर्ण संसार र सम्पूर्ण मानवता म जत्तिकै दिग्भ्रमित लाग्दथ्यो। तर मैले हार मानिनँ। अरु सबैले झैँ मैले पनि सामाजिक सञ्जालमा आफ्नो परिचय पुननिर्माण गर्ने कोशिस गरेँ। मलाई लाग्थ्यो, मैले अलिकति दार्शनिक ट्वीट गरेँ भने मानिसहरुले मलाई त्यसकै सन्दर्भमा हेर्नेछन्। तर ती ट्वीटमा आएका केही प्रतिक्रियाहरु निकै अल्मल्याउने खालका थिए। तपाईंलाई थाहा छ नि, आरओएफए, एलओएल। त्यस्तै मेरो एक विचारोत्तेजक ट्वीटमा कसैले ‘एडिडास’ लेखेर पठायो। उसले जुत्ताको नाम लेखेर किन पठायो भनेर म छक्क परेँ। मैले आफ्नो १६ वर्षीया छोरीलाई यसबारे सोधेँ र उसले मलाई ज्ञान दिई, आजभोलि ‘एडिडास’ को अर्थ हुन्छ, ‘अल डे आइ ड्रिम अबाउट सेक्स।’

तपाईंहरुलाई त्यसको यस्तो अर्थ थाहा छ कि छैन मलाई थाहा छैन। त्यसैले मैले मिस्टर एडिडासलाई बोल्ड अक्षरमा ‘डब्लुटिएफ’ लेखी पठाएँ। मनमनै धन्यवाद पनि दिएँ कि केही शब्दका छोटकरी रुप कहिल्यै परिवर्तन हुँदैनन्।

थाहा पाइहाल्नुभयो, अहिले म ५१ वर्षको भएँ र म यत्ति भन्न चाहन्छु, मानवताको अस्तित्वको लागि यो महत्वपूर्ण समयको हो। किनभने वर्तमानको तपाईं साहसी, आशावादी, नवीन र कुशल हुनुहुन्छ। र जाहेर छ, वर्तमानको तपाईं रिस उठ्नेगरी परिभाषित गर्न कठिन हुनुहुन्छ। अस्तित्वको यो मनमोही तर त्रुटिपूर्ण क्षणमा यहाँ आउनुअघि अलिकति साहस जुटाएर मैले राम्ररी ऐना हेर्ने निर्णय गरेँ। मैले आफू झन्झन् मदाम टुसाडको मैनाकृतिजस्तो देखिन थालेको महसुस गरेँ।

आत्मस्वीकृतिको त्यो क्षणमा मैले मानवता र आफैँलाई सबैभन्दा उचित र महत्वपूर्ण प्रश्न गरेँः के मैले आफ्नो चेहरा मर्म गर्न जरुरी छ? मानव सिर्जनाको आधुनिक अभिव्यक्ति म एक अभिनेता हुँ। म आएको धर्ती अवर्णनीय तर सरल आध्यात्मिकताको स्रोत हो। विशाल उदारताका साथ सपना बेच्ने पेसामा संलग्न स्वतन्त्रता सेनानीको मुस्लिम सन्तान म जसरी हुन्छ रोमान्सको राजा बन्नुपर्ने निर्णय भारतले गर्‍यो। यस्तो अनुहार भएकोलाई ‘बलिउडको बादशाह’ बनायो। यसलाई एक तरिकाले कुरुप, अपरम्परागत र पर्याप्त रुपमा चकलेटी नभएको भनी व्याख्या गरिएको छ।

यो प्राचीन भूमिका मानिसले मलाई अन्तहीन मायाका साथ आलिंगन गरेका छन्। उनीहरुबाट मैले शक्ति र गरिबी दुवैले जीवनलाई बढी जादुमयी र कम पीडादायी बनाउन सक्दैन भन्ने कुरा सिकेको छु। मानव जीवन, सँस्कृति, धर्म, राष्ट्र, आदिको गरिमा वास्तवमा यसको दया र अनुग्रह गर्ने क्षमतामा रहन्छ भन्ने कुरा पनि मैले मेरो देशका जनताबाट सिकेको छु। तपाईंलाई सञ्चालन गर्ने, सिर्जनाको लागि झक्झक्याउने, असफल हुन नदिने, बाँच्न सहयोग गर्ने जुनसुकै स्रोत भए पनि त्यो प्रेम नै हो।

मेरो देशका एक रहस्यवादी कविले प्रसिद्ध कविता लेखेका छन्ः

पोथी पढीपढी जग मुआ, पण्डित भया न कोय ढाई आखर प्रेमका, पढे सो पण्डित होय

त्यसैले प्रेम गर्न सक्षम भविष्यको ‘तपाईं’ म विश्वास गर्छु। अन्याथा यो हुर्किन पाउने छैन, आत्म–अवशोषण गर्दागर्दै यो समाप्त हुनेछ।

तपाईं आफ्नो शक्तिलाई पर्खाल निर्माण गरी बाहिरका मान्छेलाई बाहिरै छेक्न पनि प्रयोग गर्न सक्नुहुन्छ र पर्खाल भत्काएर तिनलाई भित्र स्वागत गर्नमा प्रयोग गर्न सक्नुहुन्छ। तपाईं आफ्नो विश्वासलाई मानिसहरुमा डर पैदा गर्न तथा आतंकित पार्न पनि प्रयोग गर्न सक्नुहुन्छ र ज्ञानको उच्च विन्दुमा पुग्नका लागि मानिसलाई सहयोग गर्ने साहस दिनमा पनि प्रयोग गर्न सक्नुहुन्छ। तपाईं आफ्नो उर्जालाई परमाणु बम बनाएर विध्वंसको अँध्यारो फैलाउन पनि सक्नुहुन्छ र करोडौँका लागि उज्यालोको आनन्द फैलाउन प्रयोग गर्न पनि सक्नुहुन्छ।

तपाईं समुद्रलाई फोहोरले भर्न र सारा जंगल फाँड्न सक्नुहुन्छ। तपाईं पारिस्थितिक प्रणाली नष्ट गर्न पनि सक्नुहुन्छ र प्रेमपूर्वक पानी र रुखमार्फत जीवनको सुधार गन पनि सक्नुहुन्छ। तपाईं मंगलग्रहमा पुगेर सशस्त्र किल्ला बनाउन पनि सक्नुहुन्छ र जीवनको खोजी तथा प्रजातिहरुबाट सिक्न अनि सम्मान गर्न पनि सक्नुहुन्छ। तपाईं हामी सबैले कमाएको सम्पूर्ण सम्पत्ति व्यर्थ युद्ध सुरु गर्न तथा सानासाना बालबालिकाको हातमा बन्दुक थमाउन पनि प्रयोग गर्न सक्नुहुन्छ र तिनको खाली पेट भर्ने खाना बनाउनमा पनि प्रयोग गर्न सक्नुहुन्छ।

मेरो देशले मानिसमा प्रेम गर्ने क्षमता ईश्वरीय शक्तिबराबर हुने कुरा मलाई सिकाएको छ। पहिले नै निकै क्षति पुर्‍याइएको सभ्यातायुक्त संसारमा प्रेम निरन्तर चम्किरहनेछ।

गएका केही दिनमा यहाँ गजबमा मानिसहरु आएर आआफ्नो प्रतिभा देखाइसकेका छन्। व्यक्तिगत उपलब्धि, आविष्कार, प्रविधि, विज्ञान, आदिबारे हामीले यहाँ प्राप्त गरिरहेको ज्ञान नै भविष्यको ‘हामी’ बारे उत्सव मनाउन पर्याप्त छ। तर त्यो उत्सवभित्र प्रेम र करुणालाई विकसित गर्ने हाम्रो क्षमताको खोज रहन जरुरी छ।

भविष्यको ‘तपाईं’ असीमित छ भन्ने मलाई विश्वास छ। भारतमा यसलाई चक्र भनिन्छ। यो जहाँबाट सुरु हुन्छ, त्यहीँ पुगेर अन्त्य हुन्छ। यस्तो तपाईं, जो देश र काललाई फरक तरिकाले हेर्छ अनि आफ्नो अकल्पनीय र शानदार महत्व तथा ब्रम्हाण्डीय सन्दर्भमा आफ्नो पूर्ण महत्ताहीनता दुवैलाई बुझ्न सक्दछ। यस्तो तपाईं, जो मानवताको वास्तविक निर्दोषितातिर फर्किन्छ, जो मनैदेखि प्रेम गर्दछ, जो सत्यको आँखाबाट हेर्दछ र निश्चल मनले सपना देख्छ।

भविष्यको ‘तपाईं’ बुढ्यौलीतिर अग्रसर मुभी स्टारजस्तै हुनुपर्छ, जसलाई पूर्ण रुपमा आफैँसँग प्रेममा रहेको संसार सम्भव छ, भन्ने कुरा मान्न बाध्य बनाइएको हुन्छ। आफ्नो उत्तम प्रेमी आफैँ भएको संसार तपाईंले सिर्जना गर्नुपर्छ। सज्जनवृन्द! मलाई विश्वास छ, भविष्यको ‘तपाईं’ यस्तै हुनुपर्छ।

(बलिउड अभिनेता शाहरुख खानले 'द फ्युचर यु' थिममा क्यानडाको भ्यानकुभरमा आयोजित यस वर्षको टेड कन्फेरेन्समा दिएको मन्तव्यको भावानुवाद। त्यहाँ उनले मानवता, आफ्नो प्रसिद्धि र प्रेमका बारे बोलेका थिए।)

प्रतिकृया दिनुहोस

राजेश हमाल भन्छन्ः नेपालीको भविष्य

साथी इसिगुरोः अहंकारबिनाको कलाकार

भारतीय (अ)लोकतन्त्रको कोलाज

बियर गिलासमा बाक्लो दही (सुन्तलाबारी

चीनमा पत्थरमा पर्यटन (चट्टानगुफाहरु

शक्ति र गरिबी दुवैले जीवनलाई जादुमयी

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला