चिनुआ अचेबेको रचनागर्भः कसरी लेखियो थिङ्स फल अपार्ट?

सन् १९३० नोभेम्बर १६ को कुरा हो। मेरो जन्म भएको न्नोबी भन्ने सहरले म जन्मेकै दिनदेखि मलाई सांस्कृतिक चौबाटोतर्फ हुत्याइसकेको थियो। त्यसबेलासम्म पश्चिमी र अफ्रिकी सभ्यताबीचको टकरावले गम्भीर बहस र संघर्षको दीगो स्वरूप लिइसकेको थियो। ती बहस र संघर्ष भाषा, धर्म, संस्कृतिहरूबीच निरन्तर चलिरहेको थियो।

जीवनको त्यस्तो चौबाटोले खतरा र रहस्यको संकेत गर्छ। त्यस्तो ठाउँमा जन्म लिनेले सहस्र टाउका भएका प्रेतहरूसँग लडाइँ गरेर आफ्नाहरू समीप फर्किन सक्ने अद्भुत दूरदर्शिता लिएर आउनु पर्छ। नत्र मैले जस्तो जीवनका उच्चाटलाग्दा दुःखलाई स्वीकार्न सक्नुपर्छ।

ईग्बो समुदायको जटिल संसारसँग मेरो परिचय गराइदिने मेरी आमा र दिदी जिनोबिया हुन। ईग्बो परम्पराका अनेक कथा हालेर तिनले मलाई निखारेका थिए। तिनले सुनाएका कथाहरू ठूला उत्सुकता जगाउने सामथ्र्य भएका हुन्थे। अनेक गीत र स्वरलहरीमा लहरीएर आउने ती कथाहरूमा नैतिक सन्देश भने अत्यन्त बलिया हुन्थे। मलाई मनपरेका कथाहरूका नायक म्बे नाम गरेको कछुवा थियो जसको फुक्काफाल बदमासी अत्यन्त रोचक हुन्थ्यो। ती कथाहरूले म सानो बच्चोका अघिल्तिर एक नयाँ अर्थ र महत्व भएको संसार उभ्याइदिएको थियो। अहिले त्यो समयको सम्झना गर्दा लाग्छ, मैले आख्यानकार बन्ने निधो गरेको त्यति अनौठो कुरा होइन। साहित्यिक यात्रामा अघि बढ्दै जाँदा स्टोरी टेलिङको त्यही जादुई समयमा फर्केर मैले धेरै बालकथाहरू लेखेको छु। जस्तो हाउ द लियोपार्ड गट हिज क्लज, चाईक एण्ड द रिभर, द ड्रम, र द फ्ल्युटः अ चिल्ड्रेन्स स्टोरी आदि।

नाईजेरियन ब्रोडकास्टिङ कर्पोरेसन (एनबिसी)को द टक्स भन्ने शाखाले मलाई स्क्रिप्ट सम्पादन गर्ने काम दियो। काम झीँझोलाग्दो भए पनि संवाद लेखनको राम्रो अभ्यास भने भयो। त्यहाँ सिकेको सिप मेरा लागि उपन्यास लेखनमा बडो उपयोगी बन्यो।

युनिभर्सिटी कलेज इबादान पुगेको दोस्रो वर्षमा मैले ‘पोलार अन्डरग्रयाजुएट’ र ‘म्यारियज प्रोपोजल’ नामका दुई छोटा कथाहरू लेखेँ। त्यहाँबाट प्रकाशित ‘युनिभर्सिटी हेराल्ड’ले ती कथाहरू प्रकाशन गर्ने भयो। त्यसै समय मेरा अरू केही कथाहरू पनि प्रकाशित भए। म तेस्रो वर्षमा पुग्दा, सो पत्रिकाको सम्पादकीय समितिमा बस्न आग्रह गरियो। त्यसको केही समयपछि नै म युनिभर्सिटी हेराल्डको सम्पादक बनेँ।

ईबादानमा म साहित्य, धर्म, र इतिहासका शिक्षकहरूसँग नजिकको सम्पर्कमा थिएँ। उनीहरूले वर्षौँसम्म यी विषयहरू पढाएका थिए। मेरा लागि धर्मको अध्ययन नयाँ र चाखलाग्दो बन्यो। कारण, मैले अध्ययन गर्ने विषयहरू क्रिश्चियन धर्मशास्त्रमा सीमित थिएन। त्यसभन्दा धेरै फराकिलो विषयमा म केन्द्रित भएँ, जस्तो वेस्ट अफ्रिकन रिलिजन्स। मेरा प्राध्यापकहरूमध्येका एक डा. परिन्दर यस विषयका ज्ञाता थिए। अहिले रिपब्लिक अफ बेनिन भनेर चिनिने दहोमी भन्ने ठाउँमा परीन्दरले पश्चिमका अफ्रिकी धर्म र सम्बन्धित शास्त्रहरूको गहिरो अध्ययन अनुसन्धान गरेका थिए। पहिलो पटक मैले विभिन्न व्यवस्थाहरूको तुलनात्मक अध्ययन गर्न पाएको थिएँ। त्यसै समयमा अर्को एक असाधारण बौद्धिक जेम्स वेल्चसँग पनि सङ्गत गर्ने मौका जु¥यो। युनिभर्सिटी कलेज, इबादान आउनुअघि उनी राजा जर्ज छैठौँ र बिबिसी जस्ता ठूला संस्थाहरूका सल्लाहकार रहिसकेका थिए।

हराएको थियो थिङ्स फल अपार्ट ... मेरा प्राध्यापकहरू असल शिक्षक मात्रै थिएनन्, उनीहरू अत्यन्त असल मानिस थिए। तर, मलाई उनीहरूको संगतले मात्रै पुगेको थिएन। एक दिन वेल्चले भने, ‘तिमीलाई जे जान्नु छ, त्यो हाम्रा लागि नयाँ हुन सक्छ। हामी त त्यो मात्रै सिकाउन सक्छौँ, जुन हामी जान्दछौँ।’ लाग्यो, यो कुरो ठीक हो। वेल्चले मलाई एउटा अत्यन्त रोचक गुह्य बुझ्न सहयोग गरे। वेल्च र अरू प्राध्यापकहरू मलाई मेरो अफ्रीका, मेरो नाइजेरिया र मेरो आफ्नै कथा भन्न सक्ने सामथ्र्य भएको मानिस बनाउन भनि पठाइएका थिएनन। मेरो कथा त मबाटै आउनु जरूरी थियो। ती कथाहरू भन्ने सिर्जनात्मक झिल्को त मभित्रै बल्न जरूरी थियो। त्यसका लागि चाहिन्थ्यो, आत्मनिरीक्षण, आफैप्रतिको गहिरो हेराइ र सम्बन्धहरू। यी सब कसैले मलाई सिकाउन सक्दैनथे।

विश्वविद्यालयको अंग्रेजी विभागले गर्ने कथा प्रतियोगितामा मैले कसरी सफलता पाएँ भनेर मैले अन्यत्र कतै लेखिसकेको छु। त्यस प्रतियोगीताको मूल्याङ्कन गरेकी शिक्षिकाले नतिजा सार्वजनिक गर्दा सहभागी कसैको पनि कथा उत्कृष्ट नभएको बताएकी थिइन्। ती सामान्य कथाहरूको होडमा मेरो कथा तुलनात्मक रूपले अब्बल भएता पनि मेरो कथामा संरचना पक्ष अर्थात् ‘फर्म’को समस्या भएको बताइएको थियो। त्यसैले म जान्न उत्सुक भएँ, आखिर के हो यो ‘फर्म’ भनेको? लाग्यो, यो फर्मको कुरामा मैले थाहा नपाएको केही त्यस्तो रहस्य छ जो कथा लेखनमा अत्यन्त उपयोगी हुनेछ। तर, जब मैले यस विषयलाई स्पष्ट बनाइदिन तिनै प्राध्यापकलाई आग्रह गरेँ, उनले मलाई बुझाउन सकिनन्। त्यसबेला मलाई लाग्यो, यी शिक्षिका अत्यन्त प्रतिभावान भए पनि, उनलाई अन्तरसांस्कृतिक धरातलमा उभिएर मलाई आफ्ना कुरा भन्न गाह्रो भयो।

यी माथि भनिएका परिस्थितिहरूमाझ मैले लेख्न थालेको कथा पछि गएर ‘थिङ्स फल अपार्ट’ बन्यो। मलाई यसको कथाले मजाले समातेको थियो। जुन बेला फुर्सद हुन्छ म लेख्न थालिहाल्थे। कताकति मलाई यो सजाय जस्तो पनि लाग्थ्यो। सिर्जनात्मकताको बन्दी बने जस्तो। तर आफ्नो दैनिक जागिरे काममा भने यसले असर पारेन। बरू यही समयमा केही बढुवा पाएँ। ब्रिटिसहरू धमाधम बेलायत फर्किन लागेपछि मलाई एनबिसीको बाहिरी प्रसारणको निर्देशक बनाइयो। एकातिर यस्तो जिम्मेवारी अर्कातिर आफ्नै कथाले मलाई पूरै खिचेर राखेको थियो। यस्तो लाग्थ्यो, दुई पूरै फरक संसारमा बाँचिरहेछु म। दुई भिन्न अस्तित्व भए जस्तो। यी दुई भिन्न संसार हत्केलाका दुई पाटा जस्ता थिए। एक अर्काका पूरक स्वरूप एउटै भएका तर अनुहार, काम, र संरचनामा फरक। मैले त्यसबेला लेखकले भोग्ने यस्तो जिन्दगी उद्घाटन गर्ने मौका पाएँ, जो उसका कथा लेखिएका पाताहरूमा बाँच्छ र सँगसँगै बाहिरी दुनियाँमा पनि पाइला चाल्दै रहन्छ।

त्यसै मेसोमा मेरा खेस्राहरूले पाण्डुलिपिको स्वरूप धारण गर्न थाल्यो। मलाई लाग्यो, पाण्डुलिपि हेर्दा समेत राम्रो देखिनुपर्छ। यसलाई हेर्ने पाठक र प्रकाशकको ध्यानाकर्षण गर्न सक्ने यसको अनुहार हुनुपर्छ। कुनै ब्रिटिस पत्रिकामा यस्तो एउटा संस्थाको विज्ञापन देखेको थिएँ जसले पाण्डुलिपिलाई आकर्षक डकुमेन्टको रूपमा ढाल्न सक्ने आफ्नो खुबीको जिरह गरेको थियो। त्यसैका आडमा मैले पाण्डुलिपिलाई आकर्षक बनाउने निर्णय गरेँ।

त्यसपछि मैले जे गरेँ, त्यो अहिले सम्झँदा लाज लाग्छ। त्यो मेरो केटाकेटीपन र मूर्खता पनि थियो। मसँग भएको एक मात्र हस्तलिखित पाण्डुलिपि मैले लण्डनको त्यस कम्पनीको ठेगानामा हुलाकमार्फत् पठाइदिएँ। केही हप्तापछि त्यस कम्पनीबाट एउटा चिठी आयो। उनीहरूले मेरो डकुमेन्ट आइपुगेको बताउँदै अब ३२ पाउन्ड पठाउनु पर्ने आदेश दिएका थिए। त्यसबेला अर्थात् १९५६ तिर ३२ पाउण्ड ठूलो रकम हुन्थ्यो। तर म हौसिएको थिएँ। मलाई चिठी पठाउने यी मानिसहरू मेरा लागि ठूलै महत्वका हुन् भन्ने लागेको थियो। मैले पैसो पठाइदिएँ।

त्यसपछि जे हुनु थियो, त्यही भयो। बर्बाद। पैसो पाएपछि त्यो टाइपिङ एजेन्सी चुपचाप कतै अलप भयो। एक हप्ता बित्यो, दुई हप्ता बित्यो, तीन, चार, पाँच हप्ताहरू गर्दै समय बित्दै गयो। म बहुलाउन लागेँ। मैले दुईटा चिठीहरू पनि पठाएँ तर उत्तर आएन। 

अहो, त्यो पाण्डुलिपि नआएको भए... त्यसबेला ब्रिटिस व्यवस्थामाथि मान्छेको ठूलो विश्वास थियो। त्यसै व्यवस्थाको सयँलमा हुर्केका थियौँ हामी। मान्छेलाई लाग्थ्यो, जे चीज जहाँ पठायो, त्यो जरूर आफ्नो ठेगानामा पुग्छ। हुलाक चोरी, डकुमेन्टको जथाभावी हविगत हुन्छ भन्ने कसैले सोच्दैनथ्यो। अहिले कसैले पनि त्यति सजिलै आफ्नो डकुमेन्ट पोस्ट गरेर पठाउन सक्दैन।

तर मेरो भाग्य भनौँ, म एन्जेला बिट्टी नामकी ब्रिटिस महिलासँग काम गर्न थालेँ। उनी बिबिसीमा बज्ने टक सोकी पूर्व निर्माता थिइन्। बिट्टीलाई एनबिसीले आफूसँग काम गर्न आग्रह ग¥यो र उनी हाम्रो दुई सदस्यीय विभागकी प्रमुख बनिन्। त्यसबेला मैले बिट्टीलाई आफ्नो पाण्डुलिपि र टाइपिङ एजेन्सीको कथा खरखर सुनाएँ। सुनेपछि उनी त एकदम रन्थनिइन्। रिसले आगो भइन्। उनी आफू अत्यन्त इमान्दार थिइन्। उनले तुरून्त भनिन्, ‘मलाई त्यो एजेन्सीको नाम र ठेगाना दिनुस्।’

भाग्यवश, उनको बेलायत फर्किने बेला हुनै लागेको थियो। उनले बेलायत पुगेर त्यस एजेन्सीको ठेगाना पत्तो लगाएर पाण्डुलिपिबारे बुझ्न त्यसको कार्यालयमै पुगिन्। एजेन्सीको व्यवस्थापकसँग भेटेर उनले एजेन्सीले नाइजेरियाको आफ्नो सहकर्मीसँग गरेको दुव्र्यहारको कडा शब्दमा निन्दा गरिन्। ती एजेन्सीका मान्छेहरू अघिल्तिर एक साहसिली महिला बोलिरहेकी थिइन्, जसले उनीहरूलाई ठूलै समस्यामा पारिदिन सक्थिन्। त्यहाँ सबै आत्तिए। उनले थपिन, ‘म तीन हप्तापछि नाइजेरिया जाँदैछु। आशा छ, त्यसबेलासम्म मेरा साथीले आफ्नो रकम र पाण्डुलिपि फिर्ता पाउनेछन्। त्यसो भएन भने तपाईहरूले यसबारेमा थप कुरा सुन्नुहुनेछ।’

केही हप्तापछि एउटा सुन्दर प्याकेट हात लाग्यो। त्यो मेरो पाण्डुलिपि थियो। अहिले त्यस घटनालाई सम्झिँदा लाग्छ, यदि त्यो पाण्डुलिपि कथम् फिर्ता आएको थिएन र त्यसै हराएको थियो भने लेखनमा मलाई पटक्कै जाँगर हुने थिएन।

चिनुआ अचेबेको आत्मकथा देअर वाज अ कन्ट्रीः अ पर्सनल हिस्ट्री अफ बायफ्राबाट केही अंशको नेपाली अनुवाद यहाँ प्रस्तुत गरिएको हो। अचिबेलाई विश्व प्रसिद्ध कृति 'थिङ्स फल अपार्ट'का लेखक रूपमा संसारभरका साहित्यका पाठकले चिन्दछन्। उनी नाइजेरियाली लेखक हुन्। (अनुः उज्ज्वल प्रसाई)

प्रतिकृया दिनुहोस

राजेश हमाल भन्छन्ः नेपालीको भविष्य

साथी इसिगुरोः अहंकारबिनाको कलाकार

भारतीय (अ)लोकतन्त्रको कोलाज

बियर गिलासमा बाक्लो दही (सुन्तलाबारी

चीनमा पत्थरमा पर्यटन (चट्टानगुफाहरु

शक्ति र गरिबी दुवैले जीवनलाई जादुमयी

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि