राजनीति हाम्रो रगतमा थियोः बीपी कोइराला (अन्तर्वार्ता)

राजनीति हाम्रो रगतमा थियोः बीपी कोइराला (अन्तर्वार्ता)

वीपी कोइरालाले सन् १९८२ मा भारतको कलकत्ताबाट (कोलकता) प्रकाशित हुने अमृत बजार दैनिकका (अंग्रेजी संस्करण) तीर्थशंकरलाई दिनु भएको अन्तर्वार्ता । सो अन्तर्वार्ता जयराज आचार्यद्वारा अनुदित एवम् पाक्षिक संम्बत्सर पत्रिका वर्ष १,अंक ३, २०४० बाट साभार गरिएको हो । वीपी कोइरालाको ३६ औं जन्मजयन्तीको अवसरमा सो अन्तर्वार्ताको अंश हामीले पुनःप्रकाशित गरेका हौँ :

तीर्थशंकर :  जीवनमा तपाईंले कहिले निश्चय गर्नुभयो कि तपाईं एउटा डाक्टर वा यस्तै केही हुनुहुने छैन, बरू आफूलाई राजनीतिमा समर्पित.... ?

वी.पी. :  हेर्नुस् त्यो कुनै सचेत निर्णय थिएन । राजनीतिमा हाम्रो रगतमा थियो । म तीन वर्षको हुँदा मेरो पिताजीले नेपाल छाड्नु परेकने थियो । उहाँको विरोधमा परिवारको प्रत्येक सदस्यलाई पक्रिने वारेण्ट (पुर्जी) थियो  । हाम्रो सर्वस्व हरण भएको थियो । हामीहरू देश निकाला भई भारतामा १२ वर्ष बस्यौँ । त्यसरी मेरो स्कूली शिक्षा भारतमै भयो र त्यही नै कलेजमा भर्ना भएँ । स्कूलमा छँदा म आतंककारी आन्दोलमा संलग्न भएँ । त्यतिबेला आतंककारी आन्दोलन केन्द्रीय रूपमा संगठित थिएन । कलकत्तामा दुई तीन समूह थिए । विहारमा एक, हाजिपुर समुह थियो ।

पंजावमा दुई तीन समूह थिए । म बिहार समुहसित संलग्न थिएँ । र, बनारसमन स्कूलमै हुँदा सर्वप्रथम पक्रिएँ । पछि म छोडिएँ किनकि म ज्यादै सानो उमेरको थिएँ, र मजिस्टेटले विश्वासै गरेनन् कि यति सानो लडाकाले त्यत्रो ठूलो लुट र डकैती गरेको होस् । त्यसपछि म कम्युनिष्ट आन्दोलनमा लागेँ र बनारसान त्यसको विद्यार्थी संगठनको सानो केन्द्र खाले, जसमा  देबकान्त बरुवा र राजेश्वर राव पनि थिए । म त्यो संगठनको सचिव थिए र हामीहरू कम्युनिष्ट पार्टी बन्ने परीक्षणकालमा जस्तै थियौँ । जब ट्रोस्टस्कीको पक्षमा म थिएँ–मलाई बिरक्त लाग्न थाल्यो र स्वराज आन्दोलनकाताका  म गान्धीजी तर्फ विस्तारै  खिचिदै गएँ ।

तीर्थशंकर : तपाईंका त्यतिखेरका भावनाहरू सम्झदा तपाईं भारतलाई आफ्नो घर जस्तै ठान्नुहुन्थ्यो ?

वी.पी. : करिव । हामी घरमा नेपाली राजनीतिका नै कुरा गथ्यौ, किनकि देशनिकाला भएका मानिसहरू त्यहिँ आएर भेटघाट गर्थे । हामीलाई थाहा थियो अन्त्यमा हामीले नेपाल फर्कनु पर्नेछ, त्यो त सदैव पृष्ठभूमिमा विद्यमान हुन्थ्यो । तर हामीले भारतीय स्वराज आन्दोलनमा पनि भाग लियौँ । मेरो पिताजी जिल्ला काँग्रेस कमिटिका सदस्य हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो–भारत स्वतन्त्र नभइन्जेल नेपालमा कुनै प्रजातान्त्रिक आन्दोलन सफल हुन सक्तैन । ति त एक सिक्काका दुई पाटा जस्ता थिए । त्यस कारण भारतको स्वतन्त्रताका लागि लड्ने नेपालका प्रजातन्त्रवादीहरूको पनि काम थियो । त्यसरी म राजनीतिमा चाख राख्ने भएँ । अनि म सन् १९३५ मा समाजवादीहरूका सम्पर्कमा आएँ र म काँग्रेस सोसलिष्ट पार्टीको अत्यन्त सक्रिय सदस्य भएँ ।

तीर्थशंकर : त्यो त १९३५ को कुरा भयो, राजनीतिमा लागेको ४६ वर्षपछि आएर आज कुनै पश्चताप गर्नुहुन्छ कि ? मैले के सोधको भने आज राजनीतिक आन्दोलनहरूले जनतालाई केही दिन सक्छन् भन्ने तपाईं  ठान्नुहुन्छ कि हुन्न ?

वी.पी. : सन्तोष ?

तीर्थशंकर : हैन, मेरो आशय, यी सारा प्रक्रियाबाट केही गर्न सकिन्छ र ?

वी.पी. :  हेर्नोस्, मैले त्यो समस्यालाई अझसम्म समाधान गरेको छैन, किनकि राजनीतिमा सक्रिय हुँदा  नहुँदा मैले अलिकित साहित्यमा पनि हात चलाउन थालेको थिएँ । म हिन्दिमा लेख्थें, र म स्कूलको विद्यार्थी छँदा नै धेरै महत्त्वपूर्ण हिन्दी पत्रिकाहमा मेरा कथाहरू छापिन्थे । त्यस कारण म राजनीतिमा नलागेको भए मैले केही सिर्जनात्मक साहित्यिक कृतिहरू लेख्ने सक्थें होला । तर, अन्तत्वगत्वा, मेरो के सोचाइ छ भने राजनीतिबाट उम्किन खोजेपनि त्यसले हामीलाई पक्डिन्छ, जस्तो कि हामीले ट्याक्स तिर्नुपर्छ, जुन किसिमको समाजमा हामी बस्छौँ, त्यसमा राज्यले व्यक्तिगत जीवनका क्षेत्रलाई पनि आक्रान्त पारेको छ ।

तीर्थशंकर : कुरो ठीक हो, राज्यले आक्रान्त पारेको छ । त्यसकारण तपाईंले जुन  प्रजातान्त्रिक प्रक्रियाका लागि जीवनमा संघर्ष गर्नुभयो, त्यसको के फल हुन्छ ? विकसित मुलुकहरूमा हैन, हाम्रा मुलुकहरूमा प्रजातन्त्र जुन किसिमले संचालित छ, त्यसले खाली यो देशमा प्रजातन्त्र चल्न सक्दैन भन्ने मात्र देखाउँछ हैन ?

वी.पी. : तैपनि...भारतमा भएका गत दुईवटा संसदीय चुनावहरूको उदाहरण लिनुहोस्, जो पनि चुनावलाई एउटा स्वाँग धोका मात्र भन्थे, मतदान केन्द्रहरू हडपिएका हुन्थे, तैपनि करोडौँ रुपैयाँ खर्च भएका थिए । हामीले सामना गरिरहेको एउटा समस्या त्यही हो र हाम्रो एउटा काम आफ्नो देशमा वास्तवमै प्रजातन्त्र सफल रूपमा संचालित गर्नु नै हो । जुन किसिमका हाम्रा कार्यकर्ताहरू छन्, र जुन किसिमको शुद्ध माटो यहाँ छ, भारतमा जस्तो गहिरो जडा गाडेको परम्परागत कट्टरता यहाँ छन र मलाई यो काम सम्भव छ जस्तो लाग्दछ । हामीहरू भारतीय जस्ता कट्टरपन्थी छैनौं । भारतमै पनि जनता  असफल भएका छैनन्, नेताहरू असफल भएका छन् ।

पाकिस्तान, बंगलादेश र दक्षिणपूर्वी एसियाका अधिनायकवादी देशहरूकले जस्तै समान पूर्वाधार खडा गरेर पनि तिनीहरूले भारतमा केही पनि गर्न सकेका छैनन् भन्ने होइन । अरूलेभन्दा भारतले राम्रो गरेको छ । तैपनि मलाई के लागेको छ भने नेताहरूले विकासको लागि जुन प्राथमिकता निर्धारण गरेका छन् त्यो गलत छ । तिनीहरूले विकासका लागि अमेरिका वा  युरोपको नमूना अपनाएका छन् । तिनीहरूले जाने बुझेको नमूना पनि त्यही हो । मैले यहाँका मानिसहरूलाई भनिरहेको छु, भारतले अपनाएको नमूना अमेरिकाबाट आएको हो र त्यो नमूना अन्तर्गत भारतले ठूलो विकास गर्न सक्छ तर त्यसको परिणाम ४०–४५ प्रतशित जनतालाई सदासर्वदा गरिबीको रेखामुनि नै राख्नु हुनेछ ।

तीर्थशंकर : यहाँ मसँग तपाईंले भनेका एक वाक्य छ–‘‘ समाजवादी विकासका लागि हामी कहाँ आर्थिक आधार भएन’’ तपाईं अझै यस्तै सोच्नुहुन्छ ?

वी.पी. : हो । (म यस्तै सोच्छु ।)

तीर्थशंकर : उसो भए तपाईं प्रधानमन्त्री नै भएर प्रजातान्त्रिक एवम् स्वतन्त्र हातले काम गर्न पाए पनि नेपाललाई अर्को हङकङ या सिंगापुर बनाउने के लोभ नहोला ?  

वी.पी. : अहँ, छैन । म त त्यस्ता वृहत् परिणामका नमूनाको विरुद्धमा छु ।

तीर्थशंकर : त्यसो भए यी कुरामा के महात्मा गान्धी नै अझै पनि तपाईंका आदर्श हुन् ?

वी.पी. : तपाईंले गान्धीको कुन पक्ष भन्नुभएको मलाई थाहा भएन ।

तीर्थशंकर : उनको धारणा थियो कि विदेशी सहायताद्वारा कसैले पनि आफ्नो देशलाई समृद्ध बनाउन सक्दैन । तपाईंको पनि त्यही हो ?

वी.पी. : हो, त्यसमा म पनि सहमत छु ।  

तीर्थशंकर : साम्राज्यवाद या उपनिवेशवादले मानिसका मनमा पार्ने प्रभावबारे तपाईंको के विचार छ ? तपाईंले भारतीय युवावर्गको  परिवर्तनलाई नियालेर हेर्नुभएको होला नि ?

वी.पी. : विकासका लागि अमेरिका या युरोपेली नमूना ग्रहण गर्नुभएको छ । फलस्वरूप जब एउटा सम्पन्न वर्गको जन्म हुन्छ, त्यसले उस्तै भोगवादी प्रबृत्ति बढाउछ । त्यही नै बाँकी जनताका लागि पनि अनुकरणको वस्तु बन्न जान्छ ।

तीर्थशंकर : हो, तर नेपालीलाई यस्ता नमूना अघि सारेर विकास गर्नबाट तपाईं कसरी रोक्नुहुन्छ ?

वी.पी. : म त्यस प्रकारको सम्पन्नताको प्रवेश हुन दिन्न । म ठूलाठूला होटलहरू बनाउन्न, म तिनका विरुद्ध छु । किनभने तिनले युवकहरूको मनलाई भ्रष्ट पार्दछन् । त्यसबाट हुन जाने राष्ट्रिय क्षतिको जुनमूल्य छ त्यसको विचार गर्नुपरेको छ ।  

तीर्थशंकर : गान्धीजीले भारतीय नेतृत्व वर्गमा कुनै त्यस्तो प्रभाव छोडेर गएनन् । तपाईं यहाँ नेपालमा त्यस्तो प्रभाव पार्न सकौला भन्ने कसरी ठान्नुभईरहेछ ?

वी.पी. : भारतीय नेतृत्व वर्गले गान्धीजीलाई प्रयोग ग¥यो ।  जब भारत स्वतन्त्र भयो, नेताहरूले गान्धीको साथ छोडिदिए । गान्धीजी माथि तैपनि कामको भार थियो । उनको यति धेरै काम थियो कि तपाईं विश्वासै गर्न सक्नुहुन्न्थ्यो । तर त्यो सब काम उनी एउटा सानो व्यवस्थाद्वारा गर्दथे । उनलाई दरबारको आवश्यकता परेन । तर हामीले दरबार बनाउन थाल्ने हो र हाम्रा कर्मचारीहरूलाई दरबारमा बसेर काम गर्न लगाउने हो भने त्यसले एउटा नमूना प्रस्तुत गर्दछ र भोलि गएर कुनै विद्यार्थी पहिला भयो या जाँचमा राम्रो ग¥यो भने मैले त्यहि दरबारमा काम पाउनुपर्ने हो भन्न थाल्छ ।  जब नेतृत्व नै.... भने त्यसले अरूलाई कसरी चरित्र प्रदान गर्न सक्छ ? जवाहरलाल नेहरुले समेत कमाण्डर इन चिफका घरमा बस्न चाहनुभयो तर मलाई नेपाली मानिसमाथि विश्वास छ नभए म राजनीतिमा लाग्ने थिइन ।

यो देशको नियतिमाथि विश्वास नभएको भए म बाँचिरहने थिइन । यो देशको नियतिमाथि विश्वास नभएको भए म दशवर्ष जेलमा बस्दा र फाँसीको फन्दाको नजिक पुग्दासम्म म बाँचीरहने थिइन् । निश्चय पनि कहिलेकाहीँ निरासाका क्षणहरू आउँछन् । तै पनि म के भनेर आफूलाई सान्त्वना दिन्छु भने मैले मेरी माता (मातृभूमि) क्यान्सर रोगबाट मुक्त पार्न सकिन भने पनि हरेश खाएर पनि छोडिदिने त छैन, बरू आफूले सक्दो भरमग्दुर गर्नेछु ।

तीर्थशंकर : तपाईंको जीवन भन्नु निराशाको चक्र होइन ? भनौ न समाजवादी आन्दोलनको सफलता या तपाईं नै यहाँको सत्ताबाट यति लामो अवधिसम्म बाहिर रहिराख्नु यत्यादि... ?

वी.पी. : जब लेलिनले ठूलो परिणाममा माक्र्सवादको कार्यान्वयन गर्ने मौका पाए, उनको अगाडि विकासको नमूना थियो अमेरिका । मलाई यो अमेरिकाप्रतिको मोह देख्दा अचम्म लाग्छ । लेलिन सधैं भन्थे–हामी पच्चिस वर्षमा अमेरिकालाई भेट्टाउँछौं । त्यो अमेरिकी नमूना थियो । अमेरिकाको नमूना कस्तो थियो ? हेनरि फोर्ड प्रथमले अमेरिकामा एउटा वृहत् उत्पादन प्रणालीद्वारा उत्पादन गर्ने कारखाना चलाए । रुसले पनि त्यही अनुकरण ग¥यो र माक्र्सवादको असफलताको जरो पनि त्यही नेरै थियो । तपाईं कुनै रुसी कारखानाको राम्रो प्रबन्धक हुनुहुन्छ भनेर अमेरिकी कारखानामा पनि राम्रो हुन सक्नुहुन्छ । किनभने शोषणको माध्यम फरक हुनसक्छ तर उत्पादन प्रणाली उही नै हो । तपाईंको राजनीतिक व्यवस्था या सिद्धान्त जेसुकै होस् जनताका आधारभूत भौतिक आवश्यकताहरू पूर्ति गर्नका लागि यदि तपाईं कुनै नमूना ग्रहण गर्नुहुन्छ भने त्यसले उनै दोषीहरूलाई  जन्म दिन्छ ।

तीर्थशंकर : तर, माओले चीनमा आफ्नो तीस वर्षको शासनकालमा अमेरिकी नमूनाको कहिल्यै अनुकरण गरेनन् ?

वी.पी. : माओले पनि फेरि त्यही नमूना ग्रहण गरे । तर उनीसँग त्यो प्रविधि नभएको हुनाले त्यसको अभावमा नै उनले सो काम गर्न चाहे–‘‘ हाम्रा रित्ता हातले हामी...’’

तीर्थशंकर : .....पहाड हल्लाउने छौं ?

वी.पी. : हो, तर त्यो सम्भव थिएन । माओको त्रुटी त्यहिनीर थियो । चीनले पनि उत्पादित भौतिक लाभको परिणामका आधारमा नै विकासको हिसाबकिताब ग¥यो । यदी अमेरिकी नमूना नै गर्ने हो भने त्यहि प्रविधि पनि स्वीकार गर्नैपर्छ । बृहत् उत्पादन गर्ने हो भने त्यही बमोजिमको उचित प्रविधि पनि ग्रहण गर्नुपर्छ । जब म चीन गएको थिएँ, र बिजुली उत्पादन गर्न भनि लाखौं श्रमिकहरू ठूलो बाँध निर्माण गर्ने काममा लागेको देखेँ । यी सब ठूला कुरा किन ?  किनभने उनीहरूले अमेरिकासित प्रतिस्पर्धा गर्न चाहे,यद्यपी उनीहरूसित सामान्य बुल्डोजर जस्ता आधारभूत कुराहरू पनि थिएनन् ।

तीर्थशंकर : चीन जस्तो ठूलो मुलुकले त्यस्तो बृहत् औद्योगिकीकरण नगरिकन पनि काम चलाउन सक्छ भन्ने तपार्ईं ठान्नुहुन्छ कि कसो ?

वी.पी. :  मैले आफ्नो दिमाग चीनका समस्यामा लगाएको छैन । तर नेपालमा हामीलाई त्यति ठूला कुरा चाहिंदा पनि चाहिन्न र हाम्रो औकातले पनि भ्याउँदैन ।

तीर्थशंकर : तर, त्यसमो लागि फेरि नयाँ मानिस चाहिन्छ । यस्तो प्रलोभनमा फस्नबाट तिनीहरूलाई जोगाएर राख्न सक्नुहुन्छ ?

वी.पी. :  यो एउटा गाह्रो काम हो र मेरो बिचारमा एकदम महत्त्वपूर्ण पनि छ । म त ठूलाठूला सडकहरूको निर्माणको समेत बिरुद्ध छु, र त्यसले गर्दा मेरो निकै आलोचना भएको छ । किनभने म जहाँसुकै पनि भनिदिन्छु–हामीहरूलाई ठूला सडक चाहिँदैन ।  सडक भनेको के हो ? संचारको माध्यम । हेर्नुहोस् अमेरिका एउटा ठूलो देश हो र त्यहाँ बृहत् परिणामका प्राकृतिक स्रोतहरू लडिरहेका छन् मानिसहरूलाई पर्खेर । त्यहाँको जनसंख्या भने थोरै छ, त्यकारण अनिवार्य श्रमदान गर्न पर्ने भयो । फलतः तिनीहरूले श्रम बचाउ प्रविधिको विकास गर्ने प¥यो । हाम्रो त्यो अवस्था छैन । अमेरिकामा विभिन्न उपनिवेशहरू थिए, जो विभिन्न उत्पादन केन्द्रका रूपमा थिए । र, सामानहरूको ओसारपसारका लागि सडकहरू बनाउन प¥यो । त्यो अवस्था यहाँ छैन । करोडौं रुपैयाँ खर्च गरेर सडक निर्माण गरी शहरहरूलाई जोडिएको छ । तर, ओसारपसार गर्ने कुरा केही छैन ।  एक दुई बस चल्छन् । हामीसँग सडकको सम्भार गर्ने पैसा पनि छैन । त्यस कारण हाम्रो काम गाउँको निर्माण गर्नु हो, गाउँको गरिबी उन्मुलन गर्नु, अशिक्षा उन्मुलन गर्नु, ओखतीमुलो र शिक्षाको व्यवस्था गर्नु हो । यदि हामी  यही गर्न सक्दैनौँ भने राजनीतिमा लाग्नु कुनै अर्थ छैन ।

तीर्थशंकर : तपाईंले भेटेका विभिन्न विचार र प्रवृत्तिका मानिसहरू मध्ये सबैभन्दा सहृदयी र इमान्दार व्यक्ति को लाग्यो ?  

वी.पी. :    (महात्मा) गान्धी ।

तीर्थशंकर : उनको त कुरै छोडिदिनुहोस् । जो सत्तामा बसे तिनका बारेमा मैले सोधेको ।

वी.पी. :   सत्तामा ? मलाई लाग्छ, जवाहर नेहरु बडो संवेदनशील मानिस थिए । मैले सुभाष बाबुलाई पनि एकै पल्ट भेटेथेँ र उनले मलाई निकै प्रभावित पारेका थिए । तर, मैले उनलाई राम्रोसँग चिनिन ।

तीर्थशंकर : यो उपमहाद्विपभन्दा बाहिरका मानिसहरू मध्ये सबभन्दा बढी कसबाट प्रभावित हुनुभयो ?

वी.पी. : चाउ एनलाई । म उनलाई ठूलो आदरका दृष्टिले हेर्छु ।  माओसँग मेरो एक्कै पल्टमात्र आधारात २ घण्टा जति भेट भएको थियो । उनी बुढा भइसकेका थिए र एक किसिमmे पिता जस्तो व्यक्ति । मलाई लाग्छ–नेहरुजीले आफूले धेरै मेहनत नगकिन नै सफलता हाँसिल गर्दा एक प्रकारले पुल्पुल्लिएर हुर्केका मानिस जस्ता लाग्थे ।  गान्धीजीले उनलाई कसरी भारतको उत्तराधिकारी छाने म बुझ्न सक्दिन । उनी त गान्त्रीवादका विपरिवादी थिए । अन्तर्राष्ट्रिय मामिलाको ज्ञान चाउ एन लाइलाई बढी थियो । उनी बडो सुसंस्कृत र परिष्कृत व्यक्ति थिए । आफ्नो व्यवहारबाट म र मेरी श्रीमति दुवैलाई अत्यन्त प्रभावित पारेका थिए ।

तीर्थशंकर : दशकौंसम्म जुन आधारभूत कुराहरूकना लागि तपाईं लडिरहनु भएको छ, सबैलाई संसदीय अधिकारहरू, आधारभूत मानवअधिकार या नागरिक स्वतन्त्रता....

वी.पी. :     .... जन साधारणको आर्थिक सुधार । एउटा चाखलाग्दो कथा छ । म प्रधानमन्त्री भएपछि मोहन शम्शेर राणासित कहिलेकाहीँ बातचित हुन्थ्यो । एक पालि उनले मलाई सोधे–अब त तपाईं प्रधानमन्त्री पनि हुनुभयो, यसपछि तपाईंको के आकांक्षा छ ? तपाईं के गर्न चाहनुहुन्छ ? मैले भनेँ– मेरो एउटै आकांक्षा छ, म एउटा निम्नमध्यम परिवारको मानिस हुँ । मेरो सानो खेतिपाती छ, जसबाट मेरो आधारभूत आवश्यकता पूरा हुन्छन्, मेरा दुईवटा गाई छन्, र मेरा केटाकेटी यहाँ स्कूलमा पढ्छन् । त्यस कारण मैले भनेँ–म नेपालको सबैभन्दा गरिब परिवारलाई मेरो परिवारको बराबरीमा ल्याउन चाहन्छु, ठूलाठूला सडक र भव्य भवनहरू हैन, नेपालको सबैभन्दा गरिब परिवारले मेरो जत्तिकै आर्थिक आस्था प्राप्त गर्नुपर्छ ।

तीर्थशंकर : यस्तो केही पनि हासिल नभएको देख्दा तपाईंलाई निराशा हुँदैन ?

वी.पी. : हैन, हामीले प्रयास गरिरहनुपर्छ । स्वभावतः कहिलेकाहीँ निराशाका क्षणहरू पनि आउँछन् र मलाई लाग्छ म एउटा ढुङ्गाको पर्खालमा टाउको ठोकी रहेछु, तर त्यो निराशा धेरै बेर रहँदैन । हामीले प्रयास जारी राख्नुपर्छ ।  

तीर्थशंकर : नेपालमा प्रजातन्त्र आउन कति वर्ष लाग्ला–दुई वर्ष, तीनवर्ष...?

वी.पी. : हैन, प्रजातन्त्र   त एउटा प्रक्रिया हो, क्रमशः विकसित हुन्छ । यदि त्यो प्रक्रिया सुरु भैदिए, आर्थिक विकासका नीतिहरू उचित किसिमले बनाइदिए, र ति नीतिहरूको कार्यान्वयन सुरु भैदिए म खुसी हुने थिएँ । प्रजातन्त्र स्थापना हुना साथ इतिहासको अन्त्य हुने होइन । मानव जातिको समस्यालाई निरन्तर लखेटिरहनेछ । मैले देख्न खोजेको के हो भने हामीहरूले ति समस्याहरूलाई स्वतन्त्राताका साथ समाधान गर्ने प्रयास गर्न थाल्यौं, जसमा हाम्रो भावना, या निर्णयको छनोटमा कुनै बन्देज नहोस् । सायद म अलि दार्शनिक हुँला । हेर्नुहोस्, मानिसको दुर्भाग्य के छ  भने ऊ कहिल्यै पूर्ण हुन सक्दैन । एउटा किसानको उदाहरण लिनुहोस् । ऊ विचरा हरसंभव प्रयास गर्छ, जमिन जोत्छ, मल हाल्च, सिंचाई गर्छ । तर, अकस्मात् उसको नियन्त्रण बाहिरको कुनै घटना भइदिन्छ र उसको सारा प्रयास खेर  जान्छ । मानिसको दुर्भाग्य त्यही हो । भविष्यमा के हुन्छ कसैले जान्न सक्दैन । तैपनि हामीले आपल्नो देश  र समाजका सम्बन्धमा निर्णय लिने अधिकार हामी कुनै एक व्यक्तिलाई दिने कि सबै जनता मिलेर सामूहिक रूपमा यो निर्णय लिने ?

तीर्थशंकर : तपाईं प्रायः जेलमै हुनुहुन्छ, या निर्बासनमा हुनुहुन्छ । त्यसकारण तपाईंको पार्टीले दोस्रो तहका नेताहरूको पनि विकास गरेको छ । त्यो दोस्रो त कत्तिको राम्रो छ ? राजनीतिबाट तपाईं लोप हुनुभयो भने तिनले आन्दोलन चलाउन र अझ महत्त्वपूर्ण कुरो त देशको प्रशासन चलाउन सक्छन् ? दोस्रो तहको नेतृत्व वर्गलाई तपाईंको सन्तुष्टि बमोजिम विकास गर्न सक्नुभएको छ ?

वी.पी. : देशलाई सञ्चालन गर्न दोस्रो तहको नेतृत्व मैले विकास  गर्न सकेको छु भनेर मैले तपाईंलाई भनेँ भने त्यो तपाईंप्रतिको न्याय र स्वयं प्रति इमान्दार नभएको ठहरिन्छ । हाम्रा मानिसहरू एकदमै इमान्दार छन् र तिनीहरूले बडो दुःख पाएका छन्, तर उनीहरूले सबै कुरा आफैं संचालन गर्न सक्छन् भनेर म भन्दिन ।  अन्तर्राष्ट्रिय मामिलामा, वित्तिय मामिलामा, योजनामा हाम्रा कार्यकर्ताहरू मध्ये हामीसँग अत्यन्त सक्षम मानिस होइन । त्यसका लागि हामीले बाहिरबाट मानिस झिकाउनुपर्ला तर हामी त्यसो गर्न पनि चाहदैनौँ.... भारत स्वतन्त्र हुँदा भारतको त्यो अवस्था थिएन । तपाईंहरू कहाँ प्रशस्त सक्षम मानिसहरू थिए र आज देशले दुःख पाएको उनीहरूको अक्षमताले होइन,बरु साम्राज्यवादी प्रयोजनका लागि व्रिटिसहरूले स्थापना गरेका एउटा संस्था पनि खारेज नर्गनाले हो । पुलिसको नियमावली, सेनामा भर्ना र प्रमोशनको नियम–यी पनि आजसम्म उही नै छ

तीर्थशंकर :  तपाईं यो व्यवस्था परिवर्तन गर्न सक्नुहोला ? घुसखोरी, भ्रष्टाचार....?

वी.पी. : त्यसलाई परिवर्तन गर्न सकिन्छ । हाम्रा मानिहरूले भारतीयहरूले भन्दा गुणात्मक रूपमा बढी दुःख सहेका छन्  र संख्यात्मक रूपमा पनि तुलनात्मक आधारमा हेर्दा तिनको संख्या बढी नै छ । उनीहरू देशभक्त र अनुशासित छन् । तिनीहरू त्यस्तो सामन्ती व्यवस्थाका पासोबाट मुक्त हुनसक्छन्, भन्ने आशा गर्न सकिन्छ ।  तर जब तिनीहरूले नयाँ समाजको निर्माण गर्ने कोसिस गर्नेछन्, तिनीहरूमा त्यो क्षमताको अभाव हुनसक्छ । हेर्नुहोस्, लेलिनले जब शक्ति हत्याएका थिए, केही महिना त जे काम पनि छुनासाथ भैहाल्यो, तर प्रश्न थियो सेनाको पुनर्गठन कसरी गर्ने  ? लाल सेनाका जिम्मा लिएका व्यक्ति ट्रोटस्कीका अगाडि समस्या के थियो भने जंगी अड्डाहरू संचालन गर्न सक्ने अफिसरहरू जति सारा सामन्ती वर्गबाट आएका व्यक्तिहरू थिए । उनी बडो अफठ्यरो दुविधामा परे । त्यसपछि उनले को को बोल्शोविक पक्षका समर्थक थिए र को को थिएनन् भन्ने आधारमा छुट्याउन थाले ।

तीर्थशंकर : तीन वर्षसम्म एक असाधारण आकर्षक भएका व्यक्तिका रूपमा चिनिदा तपाईंलाई कस्तो लाग्छ ?

वी.पी. :  हैन, मलाई लाग्छ–मैले एउटा नेताले पाउने आधारभन्दा  बढी प्रेम र स्नेह प्राप्त गरेको छु । तपाईंलाई थाहा छ, मानिसहरू मलाई सान्दाजु (दाजुहरू मध्येमा सानो चाहीँ) जसले माने हुन्छ, दाजु भन्नाले आफूभन्दा ठूलो र आदरणीय सानो भन्नाले आफ्नो नगिचैको उमेरको, अलिकति मात्र जेठो । त्यस कारण मैले एउटा परिवारको नेतृत्व गरेको छु, निःसन्देह मेरो यो परिवार एकदम ठूलो छ । पार्टीमा मेरो स्थानको कारणले गर्दा  मैले इँटाको प्रहार पनि खाएको छु । यदी म पुल्लुलईएको भए मैले आफ्नो विवेक गुमाउँथे होला, मलाई थाहा छैन, जब मेरा साथीहरू के गर्ने भन्ने निर्णय लिने संकटमा पर्छन्, म एउटा समाधान भेट्छु–सायत उति उज्वल समाधान नहोला तर त्यो काम चलाउ समाधान अबश्य हुनसक्छ ।

तीर्थशंकर :  तपाईंको निर्णय गर्ने प्रक्रियाको मूलस्रोत के हो ? –बौद्धिकत...सहज ज्ञान...?

वी.पी. : मलाई थाहा छैन, म आफूलाई बिश्लेषण गर्न सक्दिन ।

तीर्थशंकर : तपाईं आफूलाई कस्तो किसिमको मानिस भन्नुहुन्छ–यथार्थको मैदानमा दह्रो गरि खुट्टा टेकेको मानिस, अलि रोमाण्टिक या सम्भवतःअलि ज्यादा आदर्शवादीमा के ?

वी.पी. : मैले आफ्नो जीवनको पहिलो प्रेम सम्मेलन गरेको कलकत्ता  ग्रयान्ड  होटेलमा १९४७ मा हो । म त्यतिखेर खुब डराएको थिएँ  र कलकत्ताका पत्रकारहरू त्यति दयालु पो कहाँ हुन्छन् र ? तै पनि तिनका प्रश्नहरूको सकेसम्म मैले राम्रो जवाफ दिएँ । जब सम्मेलन सिद्धिएको थियो, एउटा पत्रकारमसँग आयो, र मलाई त्यसले भन्यो–कोइराला जी, तपाईं एउतटा यथार्थवादी राजनीतिज्ञ हुनुभन्दा एक रोमाण्टिक व्यक्ति जस्तो देखिनुहुन्छ । मलाई पनि त्यस्तै हो जस्तो लाग्छ ।  अलिकति रोमाण्टिक भावनाको मात्रा नभईकन जीवनको यति ठूलो पीडा सहन सकिन्न, यो मेरो सोचाइ छ । म अलि स्वप्नदर्शी पनि छुकि जस्तो लाग्छ । एकपल्ट मलाई जेलमा ६ महिनासम्म पूर्ण एकान्तमा राखिएको थियो ।

मेरा हात गोडामा हत्कडी र नेल थिए, र कुनै मानिसलाई देख्न पाउँदैनथेँ । म खाली दुरबाट आएको आवाजमात्र सुन्थें । म त्यहाँबाट कसरी भाग्ने या त्यस्तै विषयमा सपना देखिरहन्थेँ । केही घण्टापछि म झल्याँस्स हुन्थे, कि मैले केवल सपना देखिरहेको थिएँ  । आफ्नो व्यक्तिगत दुःख सहनका लागि पनि हामीहरूलाई केही रोमाण्टिक भावनाको आवश्यकता पर्छ जस्तो लाग्छ । दुःख पाएका आइमइहरू, दुब्लाएका केटाकेटीहरू....

तीर्थशंकर : राष्ट्रहरूको नियतिलाई केले नियन्त्रण गर्छ–माक्र्सवादी द्वन्द्व, ईश्वर ?

वी.पी. : म एक अर्थमा माक्सवादी हुँ, किनभने समाजको कसरी  विकास हुन्छ भन्ने व्याख्यामा मैले माक्सवादी पद्धति स्वीकार गरेको छु  तर त्यो मात्र सम्पूर्ण होइन ।  मेरो बिचारमा मानवका अनन्त पक्ष छन् । आर्थिक पक्षले मात्र उसको व्याख्या गर्न सकिदैन । वास्तवमा इतिहासका क्रान्तिकारीहरू मानिसमा पेटको समस्याले भएका होइनन्, भन्ने मेरो धारणा छ । पेटको समस्याभन्दा उच्चतर कुनै उद्देश्यले प्रेरित नभइमन मानिस मानिस बलिदान हुन्छन् भन्ने म ठान्दिन । दोस्रो विश्वयुद्धका बेला बंगालको महाअनिकाल बारे सोच्नुहोस्  ।  कलकत्तामा सडकमा लाखौं मानिस मरे तर त्यहाँ कुनै क्रान्ति भएन किनकि तिनको त्यो भोकको समस्याभन्दा उच्चतर कुनै बस्तुसित गाँसिएको थिएन । अर्को कुरा, मलाई के लाग्छ भने मानिसका दुईटा आधारभूत विरोधाभास छन्–उसका निहित अराजकतावादी तत्त्व र सामाजिक  तप्का बीचमा । नेतृत्त्व सधैं अराजकतावादी हुन्छ, र त्यसले आफ्नो स्वतन्त्रतामा कहिल्यै कुनै बन्देज स्वीकार गर्दैन  ।

सबैभन्दा राम्रो साम्यवादी वा समाजवादी समाज मौरी या कमिलाहरूको हुन सक्छ । तर, तिनीहरू विकासवादी सिद्धान्त बमोजिम विकसित हुँदैनन्, किनभने तिनीहरूमा कुनै बिद्रोह जन्मिदैन । मानव समाजको त्यो नयाँ जरा हाल्ने प्रयास गर्छ,त्यसको भयंकर विरोध हुन्छ । काईष्ट,सोक्रेटिस, गान्धी, त्यस्तै अर्का मान्छे जो चैन सँग मर्न पाए ती बुद्ध थिए, तर कसरी पाए म व्याख्या गर्न सक्दिन । तर, आज कुरा अस्वीकृत हुन्छ, त्यही नै भालि गएर संविधान बन्छ । मैले अराजकतावादी या बिद्रोही भावनाहरूलाई उपन्यास आदि लेखेर तृप्ति दिन्छु, र मेरा समाजवादी भावनालाई राजनीतिमा काम गरेर आफ्नो समाजका मानिसहरूको भाग्यमा सुधार ल्याउने कोसिस गरेर तृप्ति दिन्छु । एक समाजवादीका हैसियतले म मानिसलाई नियमित गर्ने असलभन्दा असल कानूनको खोजीमा हुन्छु । यी भावनाको बिचमा सन्धि गराउन मानिसहरूलाई गाह्रो लाग्छ, र कति त मसँग भन्छन्, मेरा साहित्यिक कृतिहरूले मेरा राजनीतिक संघर्षलाई प्रतिबिम्बित गर्देनन् । त्यो किन हुन्छ भने जब म लेख्छु, त्यतिखेर म राजनीतिज्ञ हुन्न  ।

तीर्थशंकर : तपाईं समग्र चिन्तन प्रणालीमा कहीँनेर ईश्वरको पनि स्थान छ ?

वी.पी. : अहँ ! ईश्वर छ, तर प्रचलित अर्थमा हाईन, जस्तोकि हाम्रो नियतिको निर्माताका रूपमा होइन । म यसपाली जयप्रकाश नारायणजीसित गफ गर्दै थिएँ  । उहाँ पनि कहिलेकाहीँ यस्ता कुरा उठाउनुहुन्थ्यो र मैले भनेँ–एकछिन अघि मैले तपाईंलाई पनि भनेँ नि, मानिस एक स्वप्नदर्शी पनि हुनुपर्छ । यदि तपाईं एउटी केटीलाई प्रेम गर्नुहुन्छ, र त्यो केटी गुलाफको फूल हो या त्यसको अनुहार नै चन्द्रमा नै हो, भन्नसक्नुहन्छ भने तपाईंले उसलाई पर्याप्त प्रेम गर्नुभएन ।  प्रेमको अवस्था एउटा भ्रम हो, तर साथसाथै एउटा वास्तविकता पनि हो । कविता पनि वास्तविक हो ।

विहान बाघ भन्ज्यांग (दार्जिलिङ) माथिबाट सुर्योेदय भएको दृश्य देखेर यदि तपाईं उद्धेलित  हुनुभएन अथवा त्यसबाट उद्धेलित भएर दिनभरीका लागि आनन्दित भइरहन सक्नुभएन,यदि चौपाटी (बम्वईको समुन्द्र किनार स्थित मैदान) बाट सूर्यास्त भएको हेरेर पनि रातभर आनन्दित निदाउन भएन भने तपाईंले कुनै आधारभूत कुरा गुमाउनु भयो । पुरी (जगन्नाथ पुरीबाट) देखिने समुद्रको शान्त छटालाई देखेर पनि तपाईं आन्दोलित हुनुभएन भने तपाईंले जीवनको केही कुरा गुमानउनु भएको छ । यिनै अनुभूतिमा ईश्वर विराजमान छन्, ईश्वर कवितामा हुन्छन्, ईश्वर सपनामा हुन्छन् । ईश्वरलाई विज्ञानको माध्यमले तपाईं व्याख्या गर्नसक्नुहुन्न । भौतिक आधारमा व्याख्या गर्न सक्नुहुन्न । ईश्वर भन्नु एक आध्यात्मिक अनुभव हो ।  

तीर्थशंकर : बितेका तीस वर्ष तपाईं कुनै किसिमले विताउन पाएको  भए सायद कसरी विताउनुहुन्थ्यो होला ? तपाईंलाई कुनै विषाद छकि ?

वी.पी. : अर्को कुनै किसिमले होइन । यदि मैले आफ्नो जीवन पुनःसुरु गरेर बाँच्न थाल्ने हो भने सायद एक दुई साधारण कुरामा म परिवर्तन रोज्थेँ हुँला, तर मूलतः म उनै कुरा गर्दथेँ  । कुनै पनि हालतमा म कटु अनुभवग्रस्त व्यक्ति होइन, म निराशालेग्रस्त व्यक्ति होइन । म आनन्दले परिपूर्ण व्यक्ति पनि होइन । म अझ बढी बोध, बढी बुद्धिमानीको चाहना गर्दथेँ हुँला । तर, आधारभूत परिवर्तन होइन । अहँ  । म सन्तोषपूर्ण व्यक्ति होइन, तर मेरो कुनै सिकायात पनि छैनन् । मैले एउटा यस्तो परिवार पाएको छु जसलाई पाउन म योग्य छैन । मैले यस्ता साथीहरू पाएको छु, जो मलाई प्रेम गर्छन् । मेरा शत्रुले पनि मलाई ठूलो आधार गर्छन् ।  

तीर्थशंकर : तपाईंको जीवनामा सबैभन्दा आनन्ददायी अनुभप या स्मृति कुन हो ?

वी.पी. :  मेरो जीवनको सबैभन्दा आनन्ददायी अनुभव म प्रधानमन्त्री हुँदाको अनुभव होइन, म प्रधानमन्त्री बन्ने कुराको मेरो दुलहीले घोर विराध गरेकी थिइन् । यति विरोध गरिन की त्यसपछिको केही कार्यक्रम समारोहहरूमा मसँग नबोल्ने भइन् । साँचै भनुँ मेरो जीवनको सबैभन्दा आनन्दायी अनुभव या स्मृति हालसालैको एउटा घटनाको छ–त्यसबारे म तपाईंलाई भन्छु । म एउटा गाउँको भ्रमणमा थिएँ । एउटी १९–२० वर्षकी एकदम राम्री र स्वस्थ केटी म कहाँ आइन् । तिनी शिवजीको मन्दिरमा पूजा गरेर आएकी रहिछन्  र निधारमा पूजाको टिका समेत लगाएकी थिइन्  । म  अति नै व्यस्त थिएँ । तै पनि तिनले एक पाली भेट गर्ने आग्रह गरिछन् । जब मेरा साथीहरूले तिनलाई मकहाँ ल्याए, उनले म एक्लै भेटेर कुरा गर्न चाहन्छु भनिन्, अनि हामी एक्लै कुरा गर्न थाल्यौं । उनले मलाई भनिन् कि उनी आफ्नो जीवन मलाई अर्पण गर्न भनेर मन्दिर गएकी थिइन् ।

म बिरामी छु र चाँडै अप्रेशको लागि दिल्ली जाँदै छु भन्ने उनलाई थाहा रहेछ ।  ती खबिवाहित षोडसीले जसले खाउँ–खाउँ र लाउँ–लाउँको बयमा उभिएर आफ्नो जीवन देवमन्दिरमा गएर मलाई अर्पण गरिछन् । मैले भने–यो त ज्यादै ठूलो उपहार भयो, त्यसको बदलामा म तिमीलाई के दिन सक्छु ? उनले भनिन्–तर म तपाईंले दिनुभएको उपहार लिन बाँचिरहेको छैन, म त मरिहाल्छु नि ।  म त्यो दिन प्रशन्नताका साथ रोएँ । मेरो जीवनको सबैभन्दा आनन्दको स्मृति हो । केहीदिन अघि केही बुढाबुढीहरूको हुल मेरो घरतिर आइरहेको मैले देखेँ । अनि ति मान्छे को हुन भनेर मैले सोधेँ ।  उनीहरू शिवरात्रीको दिन पशुपतिनाथको दर्शन गर्न भनि तराईको कुनै गाउँबाट यहाँ आएका थिए,  दर्शन गरेर घर फर्किदै थिए ।  मैले उनीहरूलाई भनेँ पुरा तीन दिन हिंड्न बाँकी नै छ, र मलाई भेट्न आएर आफ्नो समय मात्र किन  खेर फाल्नुभो ? तिनीहरूको अगुवाले भने–हैन, नभेटिकन जाने हो भने गाउँका मानिसहरूले यिनीहरूलाई गाली गर्छन् । काडमाण्डू त गयो तर बी.पी कोइरालालाई नभेटिकन आयौँ ? अनि तिनीहरूले आफ्नो घर लाने भनेर मेरो तस्बिर मागे । त्यस्तो स्नेह गरेको देख्दा प्रशन्न नभइकन को रहन सक्ला र ?

तीर्थशंकर :  तपाईं आफूलाई कुन रूपमा सम्झिन चाहनुहुन्छ ?

वी.पी. :  मलाई थाहा छैन...कुन रूपमा...मलाई थाहा छैन ।

तीर्थशंकर :  विशेषगरी तरुणहरूले कुन रूपमा सम्झिउन ?

वी.पी. : हेर्नोस्, अब मेरो धेरै बाँच्नुछैन । हद से हद धेरै बाँचे, तीनचार वर्ष । यदि प्रजातन्त्रको स्थापना गर्नमा केही गर्न सकेंभने त्यही नै कामद्वारा मेरो सम्झाना हुन्थ्यो होला । त्यस कारण  जब जान्छु म जान्छु । हिन्दु चलन अनुसार शव दहनको खरानी नदीमा फालिन्छ , कुनै स्मारक या चिहान बनाईँदैन । मलाई त्यो बिचार बडो राम्रो लाग्छ ।  सारा हिन्दु जातिको कला हेर्नुहोस्–ति विशाल मन्दिरहरू हेर्नुहोस् । कसले तिनको नक्सा बनायो, कसले निर्माण ग¥यो, जनताका भित्ते चित्रहरू कसले लेख्यो  ? यो अज्ञात परम्परालाई मलाई अत्यन्तै मुग्ध पार्छ ।

यतिका वर्ष राजनीतिमा रहेर पनि मलाई ठूला ठूला स्वागत समारोहहरूले अप्ठेरोमा पार्छन् । मलाई ठूला ठूला समारोहहरू मन पर्दैनन् भनेर जब म भन्छु, मैले खाली बहाना पारेको मात्रै होइन, भन्ने कुरा सबैलाई थाहा छ । म कुन उडान नम्बरबाट आउँदैछु, भनेर कहिल्यै बताउन्न किनभने मलाई स्वागत गर्न एयरपोर्टमा मानिसहरू आए भने मलाई बडो अफठ्यारो लाग्छ ।  सार्वजनिक जीवनमा अज्ञात रहने अवस्था नै मलाई ठीक लाग्छ । भीड देखेर म लाज मान्छु । हेर्नोस्, कुनै मानिस वास्तवमा त्यति ठूलो हुँदैन, जति ठूलो ठानिएको हुन्छ, न त त्यति सानो नै हुन्छ जति उसलाई सानो बनाउन खोजिन्छ ।  

तीर्थशंकर : गान्धीजी नि ?

वी.पी. :  उनी त मानिस नै भिन्दै थिए । आज सम्मका महानतम् मानिसहरू मध्ये एक ।  यसको मतलब गान्धीजीले भनेको सबै कुरामा म समर्थन गर्छु भनेको होइन । तर, उनी मेरो जीवनकालमा सर्वोत्तम व्यक्ति थिए ।  गान्धी पछि म जयप्रकाश नाराणलाई अर्को आदरणीय व्यक्ति मान्छु । निश्चय नै गान्धी जति ठूला त होइनन्, गान्धीको जस्तो तीक्ष्ण बुद्धि उनमा थिएन तर उनी साँच्चै नै असल व्यक्ति थिए । अरू सबै साधारण मानिस थिए, कुनै कुनै अरूभन्दा अलि बेस । म तिनीहरू मध्ये एउटा हुन सकौला तर गान्धी हुन सक्दिन ।

तीर्थशंकर : तपाईं आफू कुन किसिमले सम्झिइनु चाहनुहुन्छ भनेर मैले सोद्धा मेरो के तात्पर्य थियो भने तपाईं एक असल नेता, एक दयालु व्यक्ति वा यस्तै के रूपमा सम्झिनु चाहनुहुन्छ ?

वी.पी. :   एउटा असल मानिस । म एउटा असल मानिस भनी परिचित हुन चाहन्छु । मैले एउटा उपन्यास लेखेको छु–मोदिआइन (मोदीकी स्वास्नी) । कथा महाभारतबाट लिइएको हो । अझ गीतबाट भनौं । आठ वर्ष जेलमा रहँदा मैले गीता पढेको थिएँ । मैले धेरै टिकाहरू पनि हेरेँ, तर मलाई गीताले सन्तुष्टि दिन सकेन । त्यसपछि मैले त्यो उपन्यास लेखेँ । त्यो उपन्यासको नायक ९–१० वर्षको लड्का छ, त्यो केटाले भविष्यमा गर्न चाहेको सबै कुरा मोदीकी स्वास्नीलाई बताउँछ । मोदीकी स्वास्नीले त्यो लड्कालाई भन्छे उसको अन्तिम वाक्य पनि यहि हो–नानी महाभारतका वीर जस्तै ठूलो नहुनु, वीर नहुनु । तिनीहरूको वीरताले बिध्वंश निम्त्यायो । खालि असल हुनु । प्रधानमन्त्री हुनुभन्दा अघि मैले अर्कौ एउटा उपन्यास पनि लेखेको थिएँ–हिटलर र यहुदी । यसमा पनि मैले उही सिद्धान्त प्रतिपादन गरेँ–मानिसले यदी ठुलो हुने महत्त्वकांक्षा राख्यो भने उसले केवल विध्वंश ल्याउनेछ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

   

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

राजनीति हाम्रो रगतमा थियोः बीपी कोइराला

दुर्गम क्षेत्रमा नुन महङ्गिने सम्भावना

पूर्व बाल्यअवस्थाको कहानी हो ‘स्कुल

रोक्का जग्गाको नक्सापास छिट्टै : मेयर

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त

म कहिल्यै एमाले बन्न सक्दिन: गोपाल

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि