दुर्गम क्षेत्रमा नुन महङ्गिने सम्भावना छ : ब्रजेश झा,विभागीय प्रमुख, साल्ट ट्रेडिङ कर्पोरेशन 

दुर्गम क्षेत्रमा नुन महङ्गिने सम्भावना छ : ब्रजेश झा,विभागीय प्रमुख, साल्ट ट्रेडिङ कर्पोरेशन 

२०२१ साल साउन १८ गते जन्मिएका ब्रजेश झा नेपाल साल्ट ट्रेडिङको विभागीय प्रमुख हुन् । उनी २०४९ सालमा खुला प्रतिस्पर्धाबाट साल्ट ट्रेडिङ कर्पोरेशनको सेवामा प्रवेश गरेका हुन् । यसअघि उनले युएस आइडीबाट सञ्चालित परियोजनामा काम गरेका थिए र केही समय शिक्षण समेत गरेका थिए । यतिमात्र होइन कागज कारखानामा काम गरेको अनुभव पनि छ उनीसँग । अधिकृत हुँदै हाल साल्ट ट्रेडिङ विभागीय प्रबन्धकको जिम्मेवारी सम्हालेका झा एक निष्ठावान कर्मचारी हुन् । साल्ट ट्रेडिङबाट उत्पादित सामग्रीहरू, वितरणको अवस्था, गुणस्तर लगायतका बारेमा झासँग अमरवाणीका संवाददाता रमेश दवाडीले गरेको कुराकानी :

 

साल्ट ट्रेडिङले अहिले के–कस्ता सामग्रीहरू उत्पादन गर्दै आएको छ ? 

साल्ट ट्रेडिङको सुरुवात नुनको उत्पादन र गर्ने उद्देश्यबाट भएको हो । तर, अहिले चिनी,चामल, मैदा, गहुँको पिठो,तेल, कागज, सिमेन्ट, ग्यास टायर जस्ता उपभोग्यवस्तुको उत्पादन र विक्रीवितरण गर्दै आएको छ ।  तत्कालीन अवस्थामा भौगोलिक विकटता र यातायातको कठिनाइले गर्दा नेपालमा नुन किन्न नजिकका भारतीय बजार पुग्नुपर्ने बाध्यता थियो । आफ्नै स्रोत नभएको कारण नुनको विक्री–वितरणमा निकै ठूलो समस्या थियो । राजा महेन्द्रको पूर्वाञ्चल भ्रमणका बेला स्थानीय जनताहरूबाट ‘नुन खान पाइएन सरकार !’ भनेर विन्ती चढाएका थिए । त्यसपछि राजा महेन्द्र भ्रमणबाट फर्किएपछि ‘यो नुनको एउटा कम्पनी नै खडा गर्नुप¥यो’ भन्नुभएछ । त्यसमा सरकारको पनि लगानी राख्ने र नुनको कारोबार गर्ने व्यवसायीलाई पनि समेटने । त्यसपछि नेपालमै पहिलो निजी–सार्वजनिक साझेदारी (पीपीपी) मोडेलमा साल्ट ट्रेडिङ कर्पोरेशनको स्थापना भयो । २०२० साल भदौ २७ गते स्थापित कर्पोरेशनले निरन्तर आफ्नो सेवा दिँदै आएको छ ।  

देशभर नुन वितरणको जिम्मा पाएको छ, साल्ट ट्रेडिङले, कतिपय स्थानमा अहिलेपनि नून पुग्न सकेन, ढिके नुनकै प्रयोग गर्न वाध्य भनेर समाचार आउने गरेका छन् । आयोडिनयुक्त नुन पु¥याउन के–के काम थाल्नुभएको छ ? 

साल्ट ट्रेडिङले ढिके नुन पनि उत्पाद गर्छ र आयोडिन युक्त धूलो नुन पनि । कर्पोरेशनले नूनको प्याकेटिङ  गराएर विक्री वितरण गर्दै आएको ५० वर्ष पूरा भएको छ । एउटा के भनिन्छ भने–‘कम्जुमरको विहेवियर’ त्यो सबैभन्दा ‘टप पार्ट’ पर्दछ । पहिला ढिके नुन नै खाने चलन थियो । ०४२ सालदेखि विस्तारै धूलो नून को ‘प्याकेटिङ’ गर्न थालियो र विस्तारै ढिके नुनको प्रयोग हट्दैछ । काठमाडौँमा ढिके नुन तपाईंले देख्नुहुन्न । यदाकता असन, लगनखेल, पाटनमा केही विशेष पूजा कर्मको लागि भनेर ढिके नुन राखेको पाइन्छ ।  कर्पोरेशनले आयोडिन युक्त नून ‘आयो’,‘भानु’‘शक्ति’ र ‘तेज’ को उत्पादन र विक्री वितरण गर्दै आएका छ । तर, दुर्गममा वस्तुभाउलाई खुवाउन ढिके नुन पनि प्रयोग गरिन्छ । कतै–कतै चियामा पनि ढिके नुन हालेको देखिन्छ । प्याकेटको धूलो नुन हाल्दैनन् । धूलो नुनले स्वद बिग्रन्छ भन्छन् । भोटे चियामा नुन हालेर खाने चलन छ । त्यसकारण पनि केही स्थानमा ढिके नून अझै प्रचलनमा रहेको छ ।   

साल्ट ट्रेडिङबाट उत्पादित सामग्रीहरूको वितरणको अवस्था कस्तो छ ? 

देशभर हाम्रा ९३ ओटा कार्यालय छन् । २२ ओटा दुर्गम जिल्लाका विशेष स्थानमा छन् त्यहाँ पनि गोदामहरू छन् । एउटै जिल्लाभित्र पनि ४/५ ठाउँमा छन् । जस्तै कि जुम्लामै नाराकोट र सदरमुकाम सिमिकोटमा गोदाम छन् । त्यस्तै शहरी इलाकामा डिलर र सहकारी संस्थाहरू मार्फत् हामीले आफ्ना उत्पादन बिक्री–वितरण गराउँछौँ । अहिले यस्ता वितरण केन्द्र झण्डै ६ हजारको हाराहारी रहेका छन् । हामीले सर्वसुलभ रूपमा देशभरका प्रत्येक बजारमा नुन पु¥याएका छौँ । 

अहिले मुलुक संघीय संरचनामा गइसकेका छ, संघीय संरचनामा साल्ट ट्रेडिङको संघीय मोडल कस्तो हुन्छ ? 

ट्रेडिङको मुख्य कार्यालय काठमाडौंमै छ । यो केन्द्रीय सरकारकै मातहतमा छ । पहिलेदेखि नै हाम्रा क्षेत्रीय कार्यालय सातै प्रदेशमा थिए । अब ती नयाँ संरचना बमोजिम राज्य तहका कार्यालय हुन्छन् । नेपालगन्ज, धनगढी, भैरहवा, वीरगन्ज र विराटनगर जस्ता इन्ट्री प्वाइन्टमा हाम्रो कार्यालय स्वभाविक रुपमा ठूलो हुन्छ । मुख्यत नाकाबाट जहाँबाट सामान भित्रिन्छ त्यहाँको अफिस स्वभाविक रूपले ठूलो हुन्छ । काठमाडौँको कार्यालय त्यसै पनि ठूलो हुने नै भयो यो केन्द्रीय राजधानी भयो । काठमाडौँ भ्याली (काठमाडौ, भक्तपुर र ललितपुर) को जनसंख्या ६० लाखभन्दा बढी पुगिसकेको अवस्था छ । हेटौंडा, जनकपुर, सुर्खेत, धनगढी, पोखरामा हाम्रो पहिलेदेखि नै अफिस छ । मुलुक संघीयतामा जाँदा हामीलाई सेवा प्रवाह गर्न कुनै समस्या र अप्ठेरो छैन । 

कण्ठ रोग परियोजनले अनुदानमा बनाएका गोदामहरूको अवस्था कस्तो छ ?

 नेपालमा कण्ठ रोग नियन्त्रणका लागि भारत सरकारको आर्थिक सहयोगमा २०३० देखि २०५३ सालसम्म कण्ठ रोग नियन्त्रण आयोजना सञ्चालन भएको थियो । यो आयोजना तत्कालीन श्री ५ को सरकार स्वास्थ्य मन्त्रालयको मातहतमा सञ्चालित थियो । आयोडिनयुक्त नुनको अभावमा यस्तो रोग लाग्ने भएकाले आयोजना र कर्पोरेशनसँगै मिलेर काम अघि वढाइएको थियो । दुर्गम जिल्लामा आयोडियन युक्त नूनको अभावले गर्दा कण्ठ रोगी वढेकाले त्यसको न्यूनिकरण गर्ने उद्देश्य परियोजनाको थियो ।  त्यसैले साल्ट ट्रेडिङकै कम्पाउन्डभित्र एउटा भवनमा कण्ठरोग नियन्त्रण आयोजनाको अफिस थियो त्यतिबेला । त्यसका कर्मचारी छुट्टै थिए । आयोजनाको काम साल्ट ट्रेडिङसँग नुन खरिद गर्ने, त्यसलाई प्याकेटिङ गराउने, दुर्गम क्षेत्रको नुन ढुवानीका लागि टेन्डर गर्ने, त्यसको ढुवानी गराउने, कर्मचारीको तलबभत्ता मिलाउने, भारत सरकारबाट आएको अनुदानको परिचालन गर्ने, खर्च गर्ने, त्यसको अडिट गराउने आदि इत्यादि काम हुन्थ्यो ।

आयोजनाले नै तत्कालीन अवस्थामा १३ ठाउँमा गोदाम भवन बनाएको थियो । ती गोदामहरू २५ वर्षसम्म सञ्चालनमा आए, (सन् १९७३–१९९८) सम्म । त्यसपछि, गोदामको ‘लाइफ’ कम हुँदै गयो । नुनले अरू चिजलाई पनि खाइदिन्छ । इँट्टा, सिमेन्ट सबै खाईदिन्छ । ती भवनहरू त्यतिखेरै जीर्ण भइसकेका थिए ।  त्यसमध्ये वीरगञ्ज र जनकपुरमा गोदाम अवशेषका रुपमा मात्र बाँकी छन् । अन्य ११ स्थानका गोदाम पनि टेका लगाएर राखिएको अवस्था छ,साल्ट ट्रेडिङका कार्यालय परिसरमै । ती मध्येपनि केही भूकम्पले हल्लाएर कमजोर बनाइदियो ।  मानवीय क्षति हुनसक्ने संम्भावना देखेर हामीले प्रयोग गरेका छैंनौ । 

तिनको पुननिर्माण कसले गर्छ त ? 

पुननिर्माणका लागि हामीले आफ्नो तर्फबाट गरौंला । त्यो छँदैछ । भारतीय सहयोगबाट निर्मित गोदामहरूको अवस्था २ ठाउँमाको गोदाम समाप्तै भएको छ । वीरगन्ज र जनकपुरको । बाँकी रहेका ११ स्थानको भवन जीर्ण अवस्थामा छन् ।  

अहिले ढुवानी खर्चको अवस्था कस्तो छ ? 

नेपाल सरकारको ‘पिओन’ कार्यक्रमअन्तगर्त राष्ट्रिय योजानाबाट पास भएको र त्यसलाई बजेटमा पारिएको विषय हो । त्यो ‘क्वान्टिटी’ आपूर्ति मन्त्रालयले तोक्छ । यति परिणमका ढुवानी गर्नुप¥यो भनेर  । तोकेको परिणाम हिसाबले बजेट निकासा गरिन्छ । ‘टेन्डर’ गरेर  ढुवानी गराइन्छ र ढुवानीपश्चात वर्षैपिच्छे अडिट हुन्छ । अडिट महालेखा परीक्षकको कार्यालयबाट हुन्छ । आपूर्तिमन्त्रालयले पनि कण्ठ रोग निवारण कार्यक्रम सञ्चालन गरेको छ । जसले साल्ट ट्रेडिङ मार्फत् दुर्गममा नुन ढुवानी गराउँछ । १० वर्ष यतादेखि प्रत्येक वर्ष झण्डै शतप्रतिशतको हाराहारीमा नुन ढुवानी भएको छ ।  

बङ्गलादेश र साल्ट ट्रेडिङबीच कस्तो व्यापार गर्न लागिएको हो ?

  यसको अभ्यास भइरहेको छ । त्यसबारे अहिले नै सबैभन्न मिल्दैन् । 

प्रक्रिया कहाँ पुग्यो त ? 

एक चरणमा मात्रै व्यापार हुँदैन । ‘ट्राईपाटी एग्रिमेन्ट’ भारतसँगको त्रिदेशीय सम्झौता नभइकन नेपालबाट व्यापार गर्न अफठ्यारो हुन्छ । त्रिदेशीय सम्झौतापश्चात मात्रै व्यापार सुरु हुने हो । नेपालबाट अदुवा बंगलादेश निकासी गर्र्नुप¥यो मानौं । निकासी गर्दा बीचमा भारतको बाटो प्रयोग गर्नुपर्छ । भारतले कुनै कारणबस रोकिदियो भने अदुवा त सडेर जान्छ । व्यापारीले यस्तो ‘रिक्स’ लिन सक्दैन । प्राविधिक रूपमा यो कुरा नेपाल, भारत र बंगलादेश तीनै देश बसेर सहमति भएपछि नेपाल–बंगलादेश व्यापार हुन्छ । अहिले यो प्रक्रियामै छ । विभिन्न चरणका वार्ता भएका छन् । के हुन्छ हुन्छ सबै अहिले नै भन्न सकिने अवस्था छैन । 

बेला–बेला खाद्य सामग्रीको गुणस्तरीयताको प्रश्न उठ्ने गरेको छ । साल्ट ट्रडिङबाट उत्पादित सामग्रीहरूको गुणस्तरबारे के भन्नु हुन्छ ?

 हामी गुणस्तरमा प्रतिवद्ध छौ । त्यसमा कुनै पनि ‘कम्प्रमाइज’ गरेका छैनौं ।  हाम्रो नारा नै हो ‘उच्च गुणस्तर, उचित मूल्य र सर्वशुलभ उपलब्धता हाम्रो प्रतिबद्धता’  । यो नारा सार्थक बनाउन कर्पोरेशन प्रतिवद्ध छ ।   गुणस्तरको विषयलाई लिएर उपभोक्ताबाट त्यस्तो गुनासो आएको छैन । उत्पादित सामग्रीहरूको गुणस्तरप्रति हामी सजग छौं । संवेदनशील छौँ । 

निजी–सार्वजनिक साझेदारितमा सञ्चालित कर्पोरेशनमा सरकारको पनि शेयर छ, राजनीतिक हस्तक्षेप कत्तिको छ ? 

साल्ट ट्रेडिङ कर्पोरेसनको बोर्डमा ७ जना ‘पब्लिक सेयर होल्डर’ रहन्छन् । २ जना सरकारीको पदाधिकारी हुन्छन्, नेशनल ट्रेडिङको महाप्रबन्धक पदेन सञ्चालक हुन्छन भने आपूर्ति मन्त्रालयका एक जना सह–सचिव सदस्य हुने व्यवस्था छ । त्यसैले यहाँ अन्यत्र जस्तो राजनीतिक हस्तक्षेप हुने ठाँउ छैन । जहाँसम्म नून चिनीको मूल्य निर्धारणको विषय छ त्यसमा मन्त्रालयले हस्तक्षेप गरेकै छ । नुनको मूल्य सरकारले नै निर्धारण गर्ने हो । विशेष सुविधासहित आएको चिनीको मूल्य सरकारले नै तोक्छ । मलको पनि सरकारले नै तोक्ने हो तर,मूल्य निर्धारित मापदण्डका आधारमा तय हुन्छ । त्यसलाई हस्तक्षेप भन्न मिल्दैन् ।

सरकारले दुर्गम क्षेत्रमा आयोडिनयुक्त नुन ढुवानीमा दिँदै आएको अनुदानलाई सेयरमा परिणत गर्ने आन्तरिक तयारी थालेको छ । यसकालागि अर्थमन्त्रालयका सहसचिव दामोदर रेग्मीको संयोजकत्वमा एउटा कमिटी नै गठन गरेको छ । यदि त्यसरी खर्च भइसकेको रकमलाई शेयरमा परिणत गर्नेहो भने दुर्गम क्षेत्रमा ढुवानी महँगो पर्छ र त्यहाँ नुनको मुल्य वढ्छ ।     

साल्ट ट्रेडिङ आफैंले मूल्य तोक्न पाए हुन्थ्यो भन्ने लाग्दैन ? 

त्यो त लाग्छ । नुन भारतीय बजारमा २०/२२ रुपैयाँ भारुमा विक्री भइरहेको छ । हामी डिलरलाई १८ रुपैयाँ ५० पैसामा बेचिरहेका छौँ । उपभोक्ताले २० रुपैयाँ पाएका छन् ।  नुनको कारोबारमा हामीलाई समस्या छ । हामी मात्रैले मूल्य निर्धारण गर्ने हो भने बढाउनुपर्छ भन्ने मानसिकता हो । किनभने सधैं घाटा खाएर कारोबार गर्न गाह्रो हुन्छ । 

 

 

तस्बिर : रमेश दवाडी/अमरवाणी

 

प्रतिकृया दिनुहोस

राजनीति हाम्रो रगतमा थियोः बीपी कोइराला

दुर्गम क्षेत्रमा नुन महङ्गिने सम्भावना

पूर्व बाल्यअवस्थाको कहानी हो ‘स्कुल

रोक्का जग्गाको नक्सापास छिट्टै : मेयर

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त

म कहिल्यै एमाले बन्न सक्दिन: गोपाल

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि