म कहिल्यै एमाले बन्न सक्दिन: गोपाल किराँती, संयोजक पुर्नगठित नेकपा माओवादी   

म कहिल्यै एमाले बन्न सक्दिन: गोपाल किराँती, संयोजक पुर्नगठित नेकपा माओवादी   

गोपाल किराँती खरो बोल्ने र स्पष्ट विचार राख्ने नेताका रूपमा परिचित छन् । माओवादी केन्द्रमा हुँदापनि उनी कहिले ८०० जिल्ला बनाउनु पर्छ भन्ने धारणा राख्दा विवादमा आएभने कहिले पार्टीको आधिकारिक लाइन विपरित बोलेको भन्दै उनको आलोचना हुन्थ्यो । माओवादी केन्द्रले उनलाई पछिल्लो आम निर्वाचनमा पार्टीको हित विपरित गएको भन्दै कारवाही गरेको बताएको छ । तर, किराँती भने आफू नेकपा माओवादी पुनःगठन अभियानमा जुटेको बताउँदै आएका छन् । मशाल, एकता केन्द्र, माओवादी, एकीकृत हुँदै माओवादी केन्द्रसम्म पुग्दा उनको व्यक्तिगत तथा जातीय पहिचान पनि फरक–फरक रह्यो । माओवादी केन्द्रमा रहेर जातीयता र पहिचानका लागि निरन्तर संघर्ष गरिरहेको बताउने किराँती त्यतिबेला छाँगाबाट खसेँझै भए जब प्रचण्डले २०७४ साल असोज १६ गते एमालेसँग पार्टी एकीकरण औपचारिक प्रस्ताव केन्द्रीय नेताहरूलाई सुनाए । किराँती भन्छन् ‘यो माओवादी पार्टी विलय थियो ।’ उनले प्रचण्डले राखेको एकताको प्रस्तावको ठाडै विरोधमात्र गरेन पार्टीको प्रशिक्षण समेत बहिस्कार गरे । त्यसपछि उनी प्रचण्डको ‘तारो’ बने । र, अन्ततः उनी माओवादी केन्द्रबाट अलग्गिए । किराँतीको ३५ वर्षे राजनीतिक संघर्ष,भोगाई, नेपालमा कम्युनिष्ट आन्दोलन र उनले थालेको माओवादी पुनःगठन लगायत विषयमा केन्द्रित भएर अमरवाणीका संवाददाता रमेश दवाडीले उनीसँग गरेको कुराकानीः

 

 राजनीतिक यात्रा 

२०४० साल मंसिरबाट म राजनीतिमा होमिएँ । चक्कर  ब्रिटिस आर्मी बन्ने थियो । तर, एकजना आफन्तले देश र जनताको मुक्तिका लागि संघर्ष गर्नुपर्छ भनेपछि म राजनीतिमा लागेँ । त्यतिबेला उहाँ नेकपा चौमको बुद्धिजीवी हुनुहुँदो रहेछ । म पनि त्यसमै सहभागी भएँ र ०४५ सालमा म जेल परेँ १० महिना । तारेख धाउदै ०४६ सालको जनआन्दोलनमा सहभागी भएँ । आन्दोलन सफलभएपछि अञ्चलाधीश कार्यालय खारेज भयो र  मेरो मुद्दा पनि खारेज भयो ।  जनआन्दोलनपछि एमएस थापा र गोरेबहादुर खपाङ्गीसँग मिलेर जनमुक्ति मोर्चा गठन गरियो । म त्यसको केन्द्रीय सदस्य रहेँ । तर, पछिबाट खपाङ्गी र थापा राजावादी रहेछन् भन्ने थाहा भयो अनि मैले मोर्चा छाडेँ । जातियमुक्तिको सवाल उठाउने एउटा वामपन्थी शक्ति भन्ने मैले बुझेको थिएँ तर थापा र खपाङ्गी वामपन्थी रहेनछन् । म कलिलै थिएँ । स्वायत्त राज्यको माग गर्नुप¥यो भनेर ०४९ सालदेखि पूर्वमा गएर खम्बुवान राष्ट्रिय मोर्चा खोलियो । त्यसले आफ्ना गतिविधि अघि बढाएकै बेला ०५२ सालमा जनयुद्ध सुरु भयो । मोर्चा ‘जनयुद्ध’ को नीतिगत समर्थक थियो । ०५४ साल असारदेखि हामी पनि माओवादी ‘जनयुद्ध’ मै होमियो । ति दिन निकै कष्टकर थिए भन्ने घामजस्तै छर्लङ्ग छ ।   पछि पहिलाको मार्चालाई किराँत वर्कस पार्टी भनेर परिवर्तन ग¥यौं । ०६० सालमा माओवादीमा एकीकृत ग¥यौं । त्यसपछि केन्द्रीय जनसरकार तहको प्रारूप भनियो संयुक्त कान्तिकारी जनपरिषद्लाई  । म त्यसको केन्द्रीय सदस्य  ०५८ सालदेखि भएँ ।

०६० सालमा नेकपा माओवादीको केन्द्रीय सदस्यको जिम्मा पाएँ । पोलिटब्यूरो सदस्य पनि भएँ । मेची–कोसी ब्यूरोको जिम्मेवारी पाएँ । म जिम्मेवारी पाएको भूमिका पूरागर्न दत्तचित्त भएर लाग्थे । मलाई पार्टीले किराँत स्वायत्त जनसरकारको अध्यक्ष बनायो ।   पहिलो संविधानसभा निर्वाचनमा गृहजिल्ला सोलुखुम्बुबाट निर्वाचित भएँ । त्यसपछि गणतन्त्र नेपालको पहिलो संस्कृति, राज्य पुर्नसंरचना मन्त्री बनेँ । ०६८ मा पनि फेरि सोही मन्त्रालयको जिम्मेवारी सम्हाल्न पार्टीले पठायो । पछिल्लो चरणमा माओवादी पार्टी विभाजित भयो । यो कम्युनिष्ट आन्दोलनलाई ठुलो धक्का थियो । १० वर्षे जनयुद्धमा हजारौं व्यक्ति सहिद भए,कतिको घरवार बेपत्ता छ, जनताले धेरै अपेक्षा गरेको पार्टी टुक्रँदा मुलुकलाई ठूलो क्षति पुगेको छ । त्यो निर्वाचनले पनि पुष्टि गरिसकेको छ । 

‘माओवादी’ पुर्नगठन अभियान 

०७५ साल वैशाख ९ गते लेनिन दिवस र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर पुर्नगठन पक्षधर एकाकार भएका छौं । त्यसमा विश्वभक्त दुलाल (आहुति),लोकेन्द्र मगर म लगायतका केन्द्रीय सदस्य भेला भएर नेकपा माओवादी केन्द्र राष्ट्रिय भेला आयोजक समिति गठन गरेका छौं । साउन ७ गते पुष्पलाल श्रेष्ठ स्मृति दिवसरको अवसरमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय भएको छ । हामी पुनःगठन अभियानलाई धनीभूत रूपमा अगाडि बढाइने छ । 

सफल बनाउने सूत्र 

माओवादी  पुनःगठन अभियानका तीन ओटा महत्वपूर्ण पक्ष छन् । एउटा, वैज्ञानिक अथवा क्रान्तिकारी विर्सजनवादी धारको प्रश्न । अर्को, भावनाको प्रश्न र तेस्रो इतिहास निर्माणको प्रश्न ।  नेपालमा दशवर्ष जनयुद्ध भयो, नेपाली कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च संश्लेषण हो भनेर हामी मान्छौँ । त्यसका मागहरू पूरा भएका छैनन् । त्यसो हुनाले त्यो इतिहासले माग गर्दछ र माग पूरा गर्नको निम्ति अघि बढ्नुपर्छ एक नम्बरमा  । नम्बर २, भावनात्मक कुरामा जसलाई पछाडिबाट गोली लाग्यो अथवा रातको समयमा नदेखेको बेलामा गोली लाग्यो ती सहिदले त केही पनि भन्न पाएनन् नि ! तर, जसलाई यातनाद्वारा अन्तिम अवस्थामा पुग्दा र अगाडिबाट गोली लाग्दाखेरि अ म मारिने नै भएँ भनेर जसले सोच्नमा आयो उसले त्यो मारिने बेलामा माओवाद जिन्दावाद भनेर साथीहरूको बलिदान भएको छ । तर, त्यो हामी विर्सन सक्दैनौँ । त्यस्तै अर्को मुल कुरा विचारको कुरा हो । माक्सवाद, लेलिनवाद, माओवाद, मान्नेहरू मात्र कम्युनिष्ट हुन्छन् ।

अहिलेको विश्व कम्युनिष्ट आन्दोलनमा माओवाद मान्नेहरू कम्युनिष्ट हुँदैनन् । प्रचण्डले दस्तावेज लेख्नुभयो, प्रस्तुत गर्नुभयो अनि हामीले ठीक छ भनेर आयौँ । यतिबेला प्रचण्ड समूहलाई माओवाद चाहिएको छैन । त्यसमा हाम्रो भन्नु केही छैन् ।  हामी माओवाद छाड्दैनौँ । र, नेपालमा यो सम्भव छ, किनभने छरिएको भएता पनि माओवादी खेमा कमजोर छैन् । ठीक छ, सरकारमा पुगेको अवस्था छैन् । अब खड्क ओली र प्रचण्ड समूह चुनावमा भाग लिँदै, एकता भन्दै आएका छन् । जुन एकतालाई हामी विलय भन्छौँ । प्रचण्डको पलायन भन्छौँ । त्यहाँ पुगेर ठूलो भएतापनि त्यो दक्षिणपन्थी खेमा हो । र, माओवाद मान्नेहरू बीचमा क्रान्तिकारी खेमा निर्माण गर्नुपर्दछ भन्ने हाम्रो धारणा छ । त्यसो गर्दा मोहन वैद्य ‘किरण’,  नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत शक्ति मिलेर बलियो कम्युनिष्ट पाटी खडा हुनसक्छ । वास्तवमा यो सच्चा कम्युनिष्ट पार्टी बन्छ । त्यो अभियानलाई हामी तीब्र गतिमा अघि बढाउछौं । हाम्रो कार्यदिशा त्यसतर्फ अघि वढिसकेको छ । यसलाई कसैले रोक्न सक्दैन । 

पार्टीको न्वारन छिट्टै

विचार र सिद्धान्तमा माओवाद हाम्रो हो ।  जो वैद्यले पनि मान्नुहुन्छ विप्लवजी पनि मान्नुहुन्छ । नेकपा माओवादी केन्द्रलेचाहिँ वादल, मातृका यादव, मणि थापाहरूसँग एकता गर्दा यो नाम नामाकरण भयो ।  अब उता विलयमा जाँदा नेकपा माओवादी केन्द्र विघटन भयो भन्नुपर्ने हुन्छ प्रचण्ड समूहले । एमालेले पनि केही भन्ला । उहाँहरूले विघटन भनेपछि हामी के गर्ने भन्दा हामीले पुर्नगठन गर्ने भन्ने हुन्छ । अहिले विवाद पनि देखिएको छ । विवादका कारण यदि उहाँहरूले एकता विलम्ब भयो, ढिलासुस्ती भयो भने नेकपा माओवादी केन्द्र यो राष्ट्रिय भेला आयोजक समितिलाई समानान्तर रूपमा हामी अगाडि बढाउछौँ । तर, भोलि फेरि वैद्य, विप्लवहरूसँग छलफल गर्दै लैजाँदा यसको नाम नेकपा माओवादी केन्द्र नै हुन्छ भन्ने छैन् ।  जे हुन्छ सल्लाह अनुसार नै हुन्छ । 

 

 

माओवादी बिगार्ने प्रचण्ड 

जनताले मूल्याङ्कन गर्न सक्नुपर्छ । माओवादको सिद्धान्त छाडेर एमालेसँग एकता गर्ने प्रचण्ड चैँ पार्टी बिगार्ने होकि माओवादको सिद्धान्त दृढतापूर्वक अख्तियार गरेर माओवादी केन्द्र सम्हल्ने बीचको मूल्याङ्कन जरुरी छ । हामी दोषी छैनौं । प्रचण्डहरू दोषी हुनुहुन्छ । कार्यकर्तालाई जसरी प्रशिक्षित गरियो, जसरी बलिदान गरियो, धेरै साथीहरू वेपत्ता घाइते हुनुहुन्छ, जनतालाई के भनियो ? अहिले एमालेकरणमा जसरी प्रचण्ड हामफाल्नु भएको छ त्यसो त भनिएको थिएन । तै पनि एमालेसँग एकताको निमित्त छलफल गर्न दिएको भए हुन्थ्यो । छलफल गर्न पनि दिनुभएन । खड्क ओलीसँग हस्ताक्षर गरेर ल्याएर पेरिसडाँडामा प्रस्तुत गर्नुभयो, सातबूँदे । चुनाव चिह्न सम्बन्धी एउटा बूँदा फेरेर ६ बूँदे प्रस्तुत गर्नुभयो, ०७४ साल असोज १७ गते । यसो गरिसकेपछि उहाँले जवाफ दिनुपर्छ, हामीले होइन् । हामी त यसको निरन्तरता चाहन्छौं । हामी ठीक छौँ या वेठीक छौँ । हाम्रो बुझाइमा हामी ठीक छौँ, यो सम्हालेर अगाडि बढ्न हामी चाहन्छौँ । तर, ठीक वेठीक जनताले छुट्याउनुपर्छ । अबको जनताले त्यो छुट्याउन सक्छन् भन्ने हामी ठान्छौँ । 

समाजवाद हाम्रो लक्ष्य

क्रान्तिको सिद्धान्त, पथ प्रदर्शक माक्सवाद, लेनिनवाद, माओवाद भन्छौँ । वर्तमान विश्वको सामाजिक क्रान्तिमा मानव मुक्तिको सर्वोच्चमुक्ति विज्ञान मानिएको छ । यसलाई हामी दृढतापूर्वक अख्तियार गर्छौँ । पुष्प कमल दाहाललाई ‘प्रचण्ड’ बनाएको पनि माओवादले नै हो । प्रचण्ड ठूलो भइसकेपछि उहाँ चाहिएन होला, हाम्रो भन्नु केही पनि रहेछन । र, यो सिद्धान्तको मातहतमा हामीले कार्यदिशा एउटा प्रस्ताव प्रस्ताव गरेका छौँ आयोजक समिति मार्फत् । राष्ट्रिय समाजवाद भन्नुपर्छ भनेर राष्ट्रिय समाजवादको कार्यदिशा प्रस्ताव गरेका छौँ । छलफल गर्दै अगाडि बढेका छौँ । त्यो राष्ट्रिय समाजवादविभत्र त्यहीअन्तर्गत राष्ट्रियता, जनवाद, जनजिवीका, पहिचान, मजदुर, किसान, महिला, दलित, जनजाति, मधेसी, उत्पीडित क्षेत्र आर्दि सबैलाई हामी व्यस्वस्थित गरेर लैजान्छौँ । 

 आइएनजिओवादी एमाले 

एमाले–माओवादीले ७ फागुनमा सात बूँदे सहमति गर्दै  माक्सवाद, लेनिनवादलाई निर्देशक सिद्धान्त मान्ने भनेका छन् । त्यो अब एमालेको भयो । लागू गरेपनि नगरेपनि । माओवादबारे छलफल गर्न सकिने भनेर ७ बूँदेमा लेखिएको छ । त्यसले के देखाउँछ भने महाधिवेशन होला उहाँहरूको, त्यो महाधिवेशनमा प्रचण्डलाई नै नचाहिने माओवाद एमालेले नै पारित गरिदिने भन्ने सम्भव भएन । बहुदलीय जनवाद घुमाउरो भाषामा एमालेले कायम राखेको छ । त्यसलाई प्रचण्ड समूहले स्वीकार गरेको अवस्था छ । र, वामपन्थी भनेको वाम दक्षिण मध्ये भन्ने चर्चा कम्युनिष्ट आन्दोलनमा हुन्छ । ओली र प्रचण्डसँग कोही प्रगतिशील छैन् । माओवाद नै छाडिदिने ? कसरी कान्तिकारी भए ? एउटा ब्यानरमा झगडा गरे । जनयुद्ध लेख्न नमान्ने खड्ग ओली, लेखाउनुपर्ने प्रचण्ड । यो के हो भन्दा एमाले भनेको आइएनजीओबाट पालिएको संस्था हो । जनयुद्धलाई सकारात्मक ढङ्गले विधानमा या प्रतिवेदनमा लेख्ने बित्तिकै अमेरिका र युरोपबाट आइएनजीओका वजेट दाताहरूले रकम रोकिदिन्छन् । त्यसैले खड्क ओली विदेशीले राम्रो मान्दैन भनेको हो । यसरी उहाँहरू बीचको लडाइँ त्यहाँ छ । पश्चिम बङ्गलमा ज्योति बशुको जुन नियति रह्यो, खड्क ओली र प्रचण्डबीचको गठबन्धन, एकताको नियति त्यही हो ।  

प्रचण्डसँगै सतिजान सकिन्न 

म जन्मनु अगाडि नेपालमा कम्युनिष्ट पार्टी निकट बहुकेन्द्र गठन भइसकेको थियो । २०१९ सालमा तेस्रो महाधिवेशनपछि कम्युनिष्ट पार्टीमा विभाजनको रोग समेत देखापरिसकेको थियो । धेरै कम्युनिष्ट समूह गुट,उप–गुटमा विभाजित थिए । यसमा हाम्रो पुस्ता दोषी छैन् ।  म किराँत पार्टीमा काम गर्दै थिएँ । माओवादी हुने भनेपछि माओवादी भयौँ । हामी त जोडिन आएका हौँ । हामी फुटवादी होइनौँ । हामी एकतावादी हौँ । तर, सिद्धान्त भनेको विज्ञान हो । माओवादी विज्ञानलाई उहाँ (प्रचण्ड) ले छोडेर गइसकेपछि हामी सति जान सकेनौँ । धेरै कम्युनिष्ट समूह छन् यसले बेफाइदा गरेको छैन् । नेपालमा धेरै कम्युनिष्ट आन्दोलप्रति, पार्टीपति, विचारप्रति झुकाव राख्ने जनताको संख्या छ धेरै समूह भएर त्यसो हुन सकेको हो ।  एउटै मात्र भएको भए थोरै मान्छे जनताकोमा पुग्थे । धेरै समूह भएकाले आफ्नो सदस्यता विस्तार गर्नका निम्ति पनि मान्छे घर घरमा पुगे । 

 

प्रचण्डसँगको टसल

यो उत्कर्ष समय हो । यसका केही पृष्ठभूमि छन् । यसमा पनि तीन ओटा कुरा छन् । पहिलो, ०७२ सालमा संविधान बन्यो । खड्क ओलीलाई प्रधामन्त्रीमा समर्थन गर्ने १६ बूँदेको सहमति पार्टीले ग¥यो । त्योसम्म ठिकै थियो । मेरो व्यक्तिगत आपत्ति थिएन र छैन पनि । गणतन्त्रको संविधान जसरी पनि बन्नुपर्छ र लागू गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत र पार्टीको धारणा हो ।  त्यहाँनिर ८ ओटा मन्त्री पायो एमाओवादीले । ८ मन्त्री पाउँदा दलीत र थारुलाई कुनै हालतमा नछुटाउँ भनेर मैले स्थायी समितिमा संघर्ष गरेँ । सुनुवाई भएन । ८ मन्त्रीमध्ये ६ जना खस आर्य मूलका नेताहरूलाई पठाइयो । के माओवादी नीति यही थियो त ? प्रचण्ड प्रधानमन्त्री हुनुभयो । त्यसमा महिलालाई क्याबिनेट मन्त्री बनाइएन दोस्रो घटना । तेस्रो घटना, चितवनमा रेणु दाहालले मेयर जित्नुभयो । उहाँलाई नै त्यो भन्नु मेरो केही छैन् । तर, रेणु दाहाललाई मेयर बनाउका निम्ति प्रचण्डले राज्यको सम्पूर्ण निकाय प्रयोग गर्नुभयो । जित्नुभयो रेणु दाहाल । राम्रै भयो । तर, के रेणु दाहाललाई जिताउनका निम्ति जसरी शक्ति दुरुपयोग गरियो पार्टीका अरू उम्मेदवारलाई जिताउन प्रचण्डले त्यसो गर्नुहुन्छ ? 

मुख्यमन्त्री नै छाडेँ

मैले मुख्यमन्त्री नपाएका कारण चुनावमा माओवादी केन्द्रलाई असहयोग गर्यो भन्ने गलत प्रचार हो । तथ्यहरूले पुष्टि गर्दैन । स्थानीय तहको निर्वाचनमा म पूर्णरुपले खटेँ । जीवनमा कहिल्यै नपुगेको संखुवासभा भोटखोला गाउँपालिकासम्म पुगेर पार्टीको पक्षमा भोट पनि मागेँ । तर, स्थानीय निर्वाचनमा चाहेजस्तो परिणाम आउन सकेन । १३७ स्थानीय तहमध्ये ९ ओटामात्रै माओवादीले जित्यो १ नम्बर प्रदेशमा । त्यसपछि भदौमा प्रदेश कमिटिको बैठक बस्यो । सल्लाह गरेर प्रस्ताव राखेँ, प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव आउँदैछ अब कसरी लड्ने ? भन्दा मुख्यमन्त्रीको उम्मेद्वार घोषणा गरे जाऊँ, मुख्यमन्त्रीको उम्मेद्वार प्रदेश इन्चार्ज गोपाल किराँती नै घोषणा गरौं भनेर मैले भनेँ । सबै कमरेडले सहमति  जनाउनुभयो ।  कहाँबाट थालौँ चुनावी अभियान ? ल ठीक छ भनेर सहमति गरियो । मुख्यमन्त्री नपाएर होइन, मैले पाएको मुख्यमन्त्रीको पद पनि छोडिदिएको हो । त्यसपछि हामी एकजुट भएर चुनावमा खटेकै हो । प्रत्यक्षतर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार हुने कि समानुपातिक हुने भन्ने विषय बाँकी नै थियो । भदौ १३ गते हामीले निर्णय ग¥र्यौँ, असोज १६ गते ठिक एक महिनापछि प्रचण्डले एमालेकरणको प्रस्ताव ल्याउनुभयो । ल्याईसकेपछि मैले सुरुमै भनें, माओवाद र पहिचानको मुद्दा के हुन्छ एकता गर्दा ? अध्यक्ष प्रचण्डलाई सोधियो । छलफल गर्न सकिन्छ भन्ने उत्तर दिनुभयो ।

 छलफलमा धकेलिन्छ भने एकता नभएर विलय हो । विलय हुने हुनाले एमालेसँगको विलयमा म जान्न । एमालेको चुनाव चिन्हमा चुनाव लड्दिन ।  असोज १६ गते चौतर्फी रूपमा पेरिसडाडाँमा भनियो, म त्यसमा प्रतिवद्ध भएँ । वक्तव्य दिएँ । एमालेको ऋण खाएर, उम्मेद्वार भएर, मुख्यमन्त्री जितेर जनताको काम गर्न म सक्दिन । नसक्ने हुनाले मैले मुख्यमन्त्रीको उम्मेद्वार परित्याग गरेँ । माओवादको पक्षमा विचारको वकालत गर्छु भनेर मैले असोज २७ गते फेरि वक्तव्य दिएँ । म उम्मेदार भइनँ । त्यसपछि प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा म सक्रिय रूपमा लागिनँ । असोज महिनामै प्रदेश इन्चार्ज मैले छोड्न खोजेँ । तर, प्रदेशका साथीहरूले मान्नुभएन । चुनावको मुखमा तपाईं नछाड्नुस्, कसलाई इन्चार्ज खटाउँछ माथिबाट । त्यसपछि व्यवहारिक हुँदैन । अफठ्यारो पर्छ । तपाईं नै हुनुपर्छ भने ।  मैले फिल्डमा त म खट्दिन, नाम मेरो राख्ने काम तपाईंहरूले गर्ने हो भने ठिक छ होइन भने म छोड्छु । किनभने यतिठूलो वैचारिक मतभेद भएपछि संगठनको जिम्मा लिन हुँदैन भन्दा गोपाल किराँतीको नाम राखेर काम हामीले गर्ने भनिसकेपछि प्रसार–प्रचारको काम अघि बढ्यो । आन्तरिक रूपले सरसल्लाह, खर्च खोजिदिने, कयौं योजना निर्माण गर्ने काममा त म लागेँ । तर, फिल्डमा गएर भोट मागिनँ । किनभन्दा भोट माग्ने बेलामा एमालेसँग संयुक्त कार्यक्रम हुन्थ्यो । संयुक्त कार्यक्रममा आलोचना ग¥यो भने साथीहरूको भोट बिग्रने, आलोचना नगर्दा आफूलाई चित्त बुझेको छैन् । त्यो बेला खपेर आलोचना नबोल्न पनि सकिन्थ्यो तर त्यसो गर्दा अहिले प्रश्न उठाउँथे । चुनावको बेला किन ठिक छ भनिस् ! थप अन्तरबिरोधमा नफस्नका निम्ति नखटेको हो । म नखटेर त्यस्तो नोक्सान प¥यो भन्ने लाग्दैन । 

 सम्भ्रान्त शैली कम्युनिष्ट पतनको कारक 

केही साथीहरु माओवादी पार्टी एकीकरणपछि संघर्ष गरौं भन्ने लाइनमा थिए । एमालेसँगको एकता महाधिवेशनसम्म जाऊँ भन्नेमा उनीहरुकोे जोड थियोे । त्यो मेरो अन्तरमनले मानेन् । किनभने, त्यो चरणमा पुगिसकेपछि के संघर्ष गर्ने १ त्यहाँनिर माओवादी स्थापित हुँदैन अहिले यो अहिले प्रष्ट छ । माओवाद स्थापित हुन बल गर्ने जब त्यसलाई विस्थापित गरिन्छ, म त महाधिवेशन छोडेर हिंड्छु । हिंड्दा तपाईं पनि हिंड्ने कि म मात्रै रु त्यहाँ पुगेर एक्लिने कि यहीँ एक्लिने रु यहीँ एक्लिदा क्रान्तिकारी भइन्छ । किन दुःख पाउने त्यहाँ रु प्रष्टै छ भोलि के हुन्छ भन्ने कुरा । अब यो अवस्थामा प्रचण्ड समूहको एक तिहाईमात्र माथिल्लो स्तरका नेताहरू क्रान्तिकारी भइदिएको भए मैले पनि आँट गर्थेँ । छैनन् । साथीहरू सम्भ्रान्त वर्गीय जीवनशैलीमा पतन भइसकेका छन् । त्यसो हुनाले नै एमालेसँको एकता मन नपराउनेमा म पुगे । म सर्वाहारा दृृष्टिकोण र जीवनशैली भएको हुनाले कहिले पनि एमाले बन्न सक्दिन् । 

प्रतिकृया दिनुहोस

केही व्यवसायीका कारण सिंगो निर्माण

चीन र भारत प्लस वान मोडलमा पुगिसकेका

सरकारी अनुदानबिना श्रम ऐनले तोकेको

वडाबासीको काममा कुनै कमी हुँदैन: राम

राजनीति हाम्रो रगतमा थियोः बीपी कोइराला

दुर्गम क्षेत्रमा नुन महङ्गिने सम्भावना

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला