डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई नेपालको राजनीतिमा अलग धुव्रका रूपमा स्थापित छन् । उनी सत्तामा हुँदा मात्तिने र आत्तिने नेताहरूको कित्तामा पर्दैनन् । सशस्त्र माओवादी द्वन्द्वकै बेलादेखि अध्यक्ष प्रचण्ड समूहसँगको ‘टसल’ खेप्दै आएका डा.बाबुराम अन्ततः २०७२ साल असोज ९ गते विधिवत रूपमा नेकपा माओवादी पार्टीबाट बाहिए र नयाँ शक्ति नेपाल गठन गर्न पुगे । बाबुरामका राजनीतिक र व्यक्तिगत जीवनका उताव–चढाव १५ वर्षदेखि एक/एक नियाल्दै आएका छन् नयाँ शक्ति नेपालका प्रचार–प्रसार विभाग प्रमुख एवम् डा. भट्टराईका पूर्व स्वकीय सचिव विश्वदीप पाण्डे । १८ वर्षको कलिलो उमेर देखि नै डा. भट्टराईको सामीप्य र साथ पाएका उनले डा. भट्टराईलाई अत्यन्त नजिकबाट बुझेका छन् ।०४२ साल वैशाख ९ गते अर्घाखाँचीमा जन्मिएका पाण्डेले कहिले भारतको राजधानी दिल्ली त कहिले नेपालकै विकट जिल्लामा बसेर राजनीतिक संघर्ष गरे । उनको यात्राका सारथी थिए बाबुराम ।  बुवा स्व. भक्तिप्रसाद कम्युनिष्ट नेता थिए । बुवाकै राजनीतिक प्रभावले कम्युनिष्ट आन्दोलनमा होमिए उनी । पढाई पनि त्यस्तै भयो । विद्यालय फेर्नुप¥यो, विश्व विद्यालय फेर्नुप¥यो । डा.बाबुरामको छहारी पाएका पाण्डेले जस्तै समस्या आएपनि पढ्न भने छाडेनन् । उनले स्नातक तह उत्तीर्ण गरेँ । हाल स्नातकोत्तर तहमा अध्ययरत छन् । उनलाई सबैले डा.भट्टराईको स्वकीय सचिवको रूपमा सीमित रहेको देख्छन् । पाण्डेको राजनीति यात्राबारे कमैलाई मात्र थाहा छ । पाण्डेले बाबुरामसहित माओवादी अध्यक्ष प्रचण्ड, किरण, नारायणकाजी श्रेष्ठ लगायतका नेतासँग पनि संगत गरेका छन् । बाबुरामलाई आफ्नो मुख्य अभिभावक मान्ने विश्वदीपलाई पनि बाबुरामले पनि उत्तिकै माया गर्ने पाण्डेले सुनाए । त्यही माया, ममता र स्नेहले होला सायद पाण्डेले जीवनमा बाबुरामलाई साथ नछोडने वाचा पनि गरेका छन् । उनले भने, ‘यो जीवनभर घर परिवार छोड्न सक्छु तर बाबुराम छोड्न सक्दिन ।’ बाबुराम पाण्डेसँग राय–सल्लाह लिन्छन् । आफ्ना निर्णयको पहिलो प्रतिक्रिया उनैबाट लिन्छन् । पाण्डेको दाबी छ, ‘राजनीतिक यात्राको यो बिन्दुसम्म आइपुग्दा मैले कहिल्यै पनि बाबुरामलाई दुरुपयोग गरिन । ’ जनयुद्धको एउटा कमाण्डर, पूर्व प्रधानमन्त्रीका ‘प्राइभेसी’ कुरा छन् । सबै खोल्न पनि मिल्दैन् । यसप्रति विश्वदीप सधैं सजग र सचेत छन् । उनी बाबुरामको जिन्दगानी आफ्नै जस्तो ठान्छन् । आत्मीय छन् । भोगाइले मान्छेलाई व्यवहारिक र अम्बल बनाउने रहेछ भन्ने लाग्छ विश्वदीपलाई, उमेरले होइन । प्रस्तुत छ, डेढ दशकदेखिकोे बाबुरामको राजनीतिक यात्राबारे विश्वदीपले अमरवाणी अनलाइनका प्रतिनिधि रमेश दवाडीसँग गरेको कुराकानीः  

मैले सानै उमेरमा डा.बाबुरामसँग काम गर्ने मौका पाएँ । यस अर्थमा म आफूलाई भाग्यमानी मान्छु । कुनै समय यस्तो थियो कि ‘बाबुराम’ काल्पनिक नाम हो भन्ने सम्मको अवस्था थियो । म त्यहि बेला उहाँसँग जोडिन पुगेँ । १५ वर्षे यात्रामा मैले उहाँ जत्तिको इमान्दार र कर्तव्यनिष्ट नेता देखे/भोगेको छैन् । उहाँ मेरो आइडल नेता पनि हो । उहाँको कार्यशैली र निर्णय क्षमतासँग म पूर्ण रूपमा  सन्तुष्ट छु ।  हाम्रो सम्बन्ध १५ वर्षदेखि सुमधुर छ । मैले हालै नयाँ शक्ति पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएको छु । त्यो पनि मैले उहाँसँग गरेको कामको मूल्याङ्कन गरेर जिम्मेवारी दिएको अनूभुत मैले गरेको छु ।  सानै उमेरमा बुबाको प्रभावले गर्दा राजनीतिमा लागें । राजनीतिको यात्रा दुःखको भारी हो तर, मुक्तिको मार्ग पनि त्यहिंबाट प्राप्त हुन्छ ।

बाबुरामसँगको पहिलो भेट

मेरो घर रूपन्देहीको बुटवल हो । ०५६ सालदेखि विद्यार्थी राजनीतिमा जोडिएँ ।  त्यतिबेला तत्कालीन नेकपा माओवादीको जिल्ला संगठनमा सक्रिय थिएँ । मेरो बुवा 'स्व.भक्ति पाण्डे' पनि माओवादी आन्दोलनमा हुनुहुन्थ्यो । त्यतिबेला राज्यपक्षले माओवादीमाथि दमन गर्न संकटकाल घोषणा गरिसकेको थियो । त्यतिबेला सर्वसाधारणलाई त दुःख थियो भने माओवादी कार्यकर्तालाई झनै आर्मी–पुलिसले सताउथे । म पनि यस्तो दमनप्रति खरो रूपमा उत्रिने स्वभावको थिएँ । क्रान्तिका पुस्तक पढ्ने र उर्जाशील उमेर भएर होला म सरकारी दमनको विरोध गर्थें । सायद त्यहि भएर पनि हो कि बुवाले मलाई बाबुरामको राजनीतिक यात्रमा जोड्नु भएको  । त्यतिबेला बाबुरामलाई टाठोबाठो मान्छे स्वकीय सचिव चाहिएको रहेछ । कसलाई राख्ने भनेर उहाँ निकट नेताहरूको सल्लाह भएछ । माओवादी नेता डोरप्रसाद उपाध्याय र दीनानाथ  शर्माले ‘भक्ति पाण्डेको छोरा छन्, टाठा पनि छन्, पढ्दै पनि छन्, नयाँ कुरामा रूची पनि राख्ने खालका छन्, तिनलाई ल्याउँदा उपयुक्त हुन्छ’ भन्ने सल्लाह बाबुरामलाई दिनुभएछ । ‘ल ठीक छ, तीन महिना हेरौँ, तीन महिनामा पास भए भने निरन्तर गरौँला, होइन भने अरू सोचौँला’ भन्नुभएछ बाबुरामले । त्यसपछि एकदिन घरमा पार्टीका नेताहरू आएर ‘तिमी एक ठाउँमा जानुप¥यो’ भन्नुभयो । त्यतिखेर म एसएलसीको तयारीमा थिएँ । आर्मी, पुलिसले दुःख दिने गरेकाले म बुटवलमा अङ्कलसँग बसेर पढ्थें । मलाई नेपाल बाहिर लैजाने भन्नुभयो । पास भइस् भने निरन्तर हुन्छ, फेल भए तीन महिनामा फिर्ता हुन्छन् भन्नुभयो ।  पास–फेलको कुरा मैले बुझिन् । मेरो पढाई के गर्ने भन्ने कुरा भयो । पढाई उतै गएपछि गर्न मिल्छ भनेपछि ठीकै छ भनेर म उहाँहरूको साथमा हिडेँ । मलाई गोरखपुर लैजानुभयो । एकदिन त्यही बसियो । त्यतिन्जेल मलाई किन ल्याइएको हो भन्ने बेखबर थिए । गोरखपुर एकदिन बसेपछि भोलिपल्ट लखनऊ पुगियो । बुवा र रामप्रसाद बञ्जाडे मेरो साथमा हुनुहुन्थ्यो ।  टे«नमा उहाँहरूले ‘तँलाई बाबुराम भट्टराईको स्वकीय सचिव रूपमा लैजाँदै हो’ भन्नुभयो । मैले गम खाएँ । त्यतिबेला बाबुरामबारे अनेकन हल्ला सुनेको थिएँ । ‘बाबुराम प्लाष्टिक सर्जरी गरेर हिड्छन् रे, ओल्लोडाँडा, पल्लोडाँडामा जोगी बनेर हिड्छन् रे’ भन्ने सुनेको म एकाक्सी उहाँकै स्वकीय सचिव बनाउने भन्दा जिस्क्याए जस्तो पनि लाग्यो । राजनीतिबारे त्यति अनुभव नभएको मलाई के त्यस्तो महत्वपूर्ण जिम्मेवारी दिन्थे  होलान् भन्ने पनि लाग्यो एक मनमा । यस्तै–मनोवाद गर्दागर्दै लखनऊ पुगियो । त्यहाँ माओवादी नेता लेखराज भट्टको डेरामा डा. बाबुराम भट्टराई, हिसिला यमी  लेखराज भट्ट र उनकी श्रीमती हुनुहुन्थ्यो । उहाँहरूलाई मैले पहिलो पटक देखेँ । त्यसपछि म पक्का भएँ, बाबुराम छैनन् भन्ने मिथ्या हल्ला फैलाइएको रहेछ । त्यति बेला शेरबहादुर देउवा नेतृत्वको कांग्रेस सरकारले बाबुराम र प्रचण्डको टाउकाको मूल्य तोकेको थियो । माओवादी आंतकवादी नेताहरूको टाउको ल्याउनेलाई  ५० लाख रुपैयाँ पुरस्कार भनेर । त्यतिबेला म बाबुरामसँग जोडिए । म आफूले पाउन लागेको जिम्मेवारीप्रति रत्तिभर पनि विचिलित थिएन् । बाबुराम त्यतिबेला नेपाल आउने तयारीमा हुनुहुन्थ्यो ।  पहिलो पटक डा.साबसँग कुरा भयो । उहाँले ‘तपाईं हिसिला जीसँग जानुस्, हामी चैँ बाँचेर आइएछ भने भेटौंला’ भन्नुभयो । मन अमिलो भयो ।  

राजनीति र बाबुराम भट्टराईको साथ संगत गर्दा छोटो समयमा धेरै ज्ञान प्राप्त गरें र सिक्ने अवसर पाएँ ।  बाबुराम विश्वविद्यालयको एउटा विद्यार्थी बन्न पाएकोमा मलाई गर्व छ ।

म लखनऊबाट हिसिला म्याडमसँग दिल्लीतिर लागेँ । म्याडमले बाटोमा गाइड गर्नुभयो । ‘हामीसँग बस्ने हो ? ’ भनेर सोध्नुभयो ।  तराईमा बसेको मान्छे म ‘टुटेफुटे’ हिन्दी त बोल्थे नै । हिसिला म्याडमले मैले गर्नपर्ने कामहरू, प्राइभेसी कसरी मेन्टेन गर्ने जस्ता कुराहरू गाइड गर्नुभयो । त्यसको २०/२५ दिनपछि डा.साबहरू आउनुभयो ।  

पहिलो ‘स्टेटमेन्ट’

माओवादी नेताहरू दिल्लीमै भएका बेला सरकार–माओवादी पहिलो युद्धविराम भङ्ग भएको थियो । वार्ता भङ्ग भएको  ‘स्टेटमेन्ट’  बाबुरामले नै तयार गर्नुभएको थियो । मैले त्यो टाइप गरेँ । बाबुरामको काम गर्ने लगाव लोभ लाग्दो छ । उहाँ कुनै काममा लागि परेपछि फत्ते नगरी छोडनु हुन्न । भर्खर–भर्खरमा उहाँ काममा लय भर्न मलाई निकै गाह्रो हुन्थो । म  १८ घण्टा काममा खट्थेँ त्यतिबेला । खाना पकाउनेदेखि लिएर आइपर्ने सबै काम गरेँ । तीन महिना फेल भए त फिर्ता हुनुपथ्र्यो, फेल भैइयो भने फेरि जाने ठाउँ कहीँ थिएन । पढाई पनि बीचमै छुट्यो । पढाईमा फेल भएपनि डा.साबसँग बस्न पाउने परीक्षामा पास हुनु थियो मलाई । दायाँबायाँ गर्दा फ्युचर राम्रो हुन्न, बुबाले ‘अहिले तँलाई धेरै दुःख हुन्छ । भविष्यको लागि चैँ मैले यहाँ छोडेको हो । अन्यथा नलिनु, मेहनत गर्नु’ भनेर दिमाग यस्ता कुरा हाल्नुभएको थियो । फेरि डा.साब जस्तो मान्छेसँग बस्न पाउँदा यसलाई अवसरको रूपमा लिनुप¥यो भनेर आइपर्ने काम सबै गरेँ ।

प्रचण्डको धाप

मेरो प्रचण्डसँगको भेट पनि रोचक छ । प्रचण्ड कहाँ छन्, के छन् भनेर सोध्न गाह्रो थियो । प्रचण्डबारे मलाई जिज्ञासा बढ्यो । ‘पद्मरत्न तुलाधर भनेको प्रचण्ड हो, ज्ञानेन्द्र शाह भनेको प्रचण्ड हो’ भन्ने हल्ला सुनिन्थ्यो । प्रचण्ड–बाबुराम बस्ने ठाउँ एकदम प्राइभेसी हुन्थ्यो । उहाँहरू बस्ने ठाउँमा १/२ जना बाहेक अरूले बसेको घर नदेख्ने, भेट्न परे पनि बाहिर भेट्ने व्यवस्था थियो दिल्लीमा । एक दिन डा.साबले ‘एकजना मान्छे आउँदैछन् भन्नुभयो । दिउँसो १२-१ बजेतिर घण्टी बज्यो । मैले ढोका खोलें । ‘भक्ति जीको छोरा तपाईं हो ?’ भनेर मसँग हात मिलाउनुभयो । मैले हो भनेँ । यसो भन्दा मलाई प्रचण्ड उहाँ नै हो भन्ने थाहा भएन । डा.साबले पनि मलाई भन्नुभएको थिएन । त्यसपछि उहाँहरू बस्नुभयो । भित्र कुराकानी गर्नुभयो । हिड्ने बेलामा धाप मार्दै ‘ल ! राम्रो गर्नुस्, मिलेर काम गर्नुपर्छ’ भनेर उहाँ निस्कनुभयो । उहाँ गइसकेपछि डा.साबले ‘प्रचण्ड’ भन्ने तिनै हुन है’ भन्नुभयो । मलाई थकथक लाग्यो अनुहारै राम्रोसँग नियालिएन भनेर ।    

बाबुरामसँग फोटो खिच्ने रहर

मलाई पहिले देखि बाबुरामसँग फोटो खिच्ने रहर थियो । तर, त्यतिबेला क्यामेरा थिएन । सुरक्षाका दृष्टिले पनि संवेदनशील थियो । तैपनि म बाबुरामसँग बजार जाने बेला फोटो स्टुडियो देखेपछि ‘फेटो खिचौं’ भनेर प्रस्ताव गर्थे । उहाँ कुनै बहाना बनाएर टार्नु हुन्थ्यो । २/३ दिन टार्नुभो । मैले उहाँलाई फेरि पनि फोटो खिच्न अनुरोध गरेँ । मलाईं चैं किन टार्नुभएको छ भनेर मनमा पथ्र्यो । मैले धेरैचोटी भनेपछि डा.साबले बुबालाई फोन गरेर भन्नुभएछ ‘भाईले हैरान पा¥यो फोटो खिचौं भनेर । प्राइभेसीको कुरो हुन्छ यताउति हुन्छ ।’ मलाई बुवाको फोन आयो । बुवाले गाली गर्दै भन्नुभयो, ‘फोटोसोटो खिचौं नभन्त, तैंले नपठाउनुलास् बाइचान्स फोटो यताउति भयो भने नराम्रो हुन्छ । लेटेस्ट फोटो हुन्छ । फोटो खिचौं नभन्नु, पाइभेसीको अर्थ हुन्छ, अहिले नगर्नु’ भन्नुभयो । बुवाले भनेपछि मैले कुरा बुझेँ । निकै वर्षपछि मात्र उहाँसँग फोटो खिचेँ । जुनबेला मोहन वैद्यहरू पक्राउ परेपछि रोल्पामा बसियो आठ महिना । त्यसबेला डा.साब आफैंले ‘ल आउनुस् फोटो खिचौं’... भनेर बोलाएपछि फोटो खिचें  । मेरो वर्षौ को उहाँसँग फोटो खिच्ने धोको पूरा भयो ।  

बालबाल बाचेँ

द्वन्द्वकालको बेला थुप्रै बिर्सनै नसकिने क्षण छन् । रोल्पामा बस्दा सुरक्षा खतरा बढ्यो । प्रचण्ड, बाबुराम, जनमुक्ति सेना हामी सबैजना एकै ठाउँमा थियौं । प्रचण्ड र बाबुरामको एउटै घरमा मिटिङ हुन्थ्यो । ओल्लोडाँडा र पल्लो डाँडामा उहाँहरू बस्नुहुन्थ्यो । सुरक्षा घेरा भने एउटै हुन्थ्यो । रोल्पामा आर्मीको हेलिकप्टरले सर्च थाल्यो । हामी  बसेकै घर ताकेतामा पर्यो । अब, फायर  थाल्ने भयो भनेर सबै डरायौं । भाग्ने पनि ठाँउ थिएन् । अब मृत्युको घडी कुरिबसेको अनुभव भयो त्यतिबेला । प्रचण्ड र बाबुरामलाई पनि सिध्याउने भए भन्ने लाग्यो । एकाएक के भयो थाहा भएन, तीन राउण्ड घुमेर हेलिकप्टर फर्कियो । किन फर्कियो थाह भएन् ।

लालध्वजमाथि दु:खद् कारवाही माओवादी पार्टीमा छँदा पार्टीले गरेको कारबाही म बिर्सन सक्दिन् । कलिलो  मेरो मानसपटलमा कारवाही नराम्रा मान्छेलाई गर्छन् भन्ने थियो । बाबुराम भट्टराई त कुनै कोणबाट पनि नराम्रो मान्छे हुनुहुन्न ।  सबै पार्टीकै लागि काम गरेको, पढेलेखेको मान्छे, घरपरिवार, त्यागेर आएको मान्छे, पार्टीलाई राम्रो गर्दागर्दा पनि किन कारवाही ? भन्ने लाग्थ्यो ।  मलाई पार्टीप्रति शंका उत्पन्न भयो । त्यतिबेला सायद बाबुराम भट्टराईको ठाउँमा म हुन्थेँ भने हिमिलेशन भएर  पार्टीमा बस्दैनथें ।

प्रचण्डसँगको मतभेद माओवादी भूमिगतकालमै रोल्पामा बाबुराममाथि पार्टीले नराम्रो कारवाही गर्यो । खाने–बस्नेदेखि लिएर उहाँप्रति पार्टीले गर्ने व्यवहार एकदम तल्लोस्तरको थियो । प्रचण्डलाई केहीको अभाव हुँदैनथ्यो । बाबुराम भन्ने वित्तिकै सामान्य मानिसलाई गर्ने व्यवहार भन्दा पनि अति नै तल्लो स्तरको थियो ।  प्रचण्ड र बाबुरामलाई पार्टीले एकदम विभेद गथ्र्यो । बाबुरामलाई भेट्न जाने मान्छेलाई ब्लक गरिदिने, डराई–डराई लुकेर जानुपर्ने, खाने–बस्नेमा उत्तिकै समस्या थियो । रोल्पमा तल्लो तलामा गोठ हुन्थ्यो । माथिल्लो तलमा कोठा । बाबुरालाई संकेत गर्दै ‘तपाईंलाई ऊ त्यो घरमा बस्ने व्यवस्था मिलाएको छ, भन्थे ।  त्यहाँ विस्तारा पनि नमिलाएको, असरल्ल, भद्रगोल अवस्थाको र फोहोर उत्तिकै हुन्थ्यो । म आफैं झाडु–साडु लगाइदिने, विस्तरा मिलाइदिने लगायत सबै डा.साबको ख्याल राख्थें । प्रचण्डको लागि सबै चिरिच्याट्ट मिलेको हुन्थ्यो । कुनै असुविधा हुन्थेन् । जनयुद्धकालमा पनि प्रचण्डले सुखी जीवन बिताए । बाबुरामले दुखैदुःख झेल्नुभयो ।  वास्तवमा माओवादी पार्टी बनाउन बाबुरामको योगदान कुनै नेताको भन्दा कम छैन् । तर, वर्गविहीन समाज बनाउने उद्घोष गरेको पार्टीबाट एक जना वरिष्ठ नेता नै थिचोमिचोमा परे । यो निकै दुखदायी थियो । पार्टीले बाबुराम माथि सौतनी व्यवहार ग¥यो ।  यो अवस्थामा पनि बाबुराम आत्निुभएन ।  ‘हामी त सामान्य जनता सरह रहने छ हो, जनताकै जीवनशैली जिउनुपर्छ, यसलाई अन्यथा लिनुहुन्न’ भन्नुभयो उहाँले । मैले भने, यस्तो किन सहनुहुन्छ, तपाईं आफ्नो क्षमता भएको मान्छे, यसरी सहेर त कतिन्जेल चल्छ भन्दा उहाँले ‘मेरो लक्ष्य भनेको देशमा राजतन्त्र अन्त्य गरेर गणतन्त्र ल्याउनु हो । गणतन्त्र नआउँदासम्म म जे सहन पनि तयार छु, म यहाँबाट छुट्टिएर गएँ भने मलाई थाहा छ गणतन्त्र आउँदैन । राजतन्त्रको अन्त्य पनि हुँदैन । त्यसै कारण म यहीँ बसेरै, हिमिलेशन सहेरै भएपनि गणतन्त्र नल्याउँदासम्म छुट्टिन्न । सबै खालको विष पिएर भए पनि गणतन्त्र ल्याएरै छाड्छु । गणतन्त्र ल्याईसकेपछि संविधानसभाबाट संविधान जारी भइसकेपछि म बल्ल नयाँ बाटोमा लाग्छु’ भनेर त्यतिबेलै भन्नुभएको थियो । उहाँ कारवाहीमा परेको वर्ष ।  

बाबुरामले पार्टी छाड्दा...

बाबुरामले ०७२ असोज ९ गते नेकपा माओवादी केन्द्र छाड्नुभयो । उहाँले पार्टी छोड्ने निर्णय पहिलो पटक मलाई सुनाउनु भयो । हामी ललितपुरस्थित समिट होटलमा थियौं । उहाँले बिहानको ८ बजे  कान्तिपुर दैनिकका सम्पदाक सुधीर शर्मा र काठमाडौं पोस्टका अखिलेश  उपाध्यायलाई भेट्न बोलाउनु भएको थियो । शर्मा र उपाध्यायसँग भेटघाटको समयभन्दा हामी १५ मिनेट अगाडि पुग्यौं । राति उहाँले के सोच्नुभयो थाहा भएन, त्यसैबेला उहाँले भन्नुभयो, ‘विश्वदीप जी, ल आँट्नु प¥यो’ भन्नुभयो । ‘संविधान सभाबाट संविधान बन्यो । अब मौका यही हो । गणतन्त्र पनि आयो । संविधान पनि बन्यो । मेरो लक्ष्य पूरा भयो । अब नयाँ यात्रा तय गर्नुप¥यो । त्यही भएर उपयुक्त समय यही हो । अहिले पार्टी छोडेर नयाँ यात्रातिर लाग्ने निर्णय गरें, के हुन्छ ?’ उहाँले यस्तो निर्णय गर्नुहुन्छ भन्ने त मलाई धेरै वर्ष पहिले थाहा थियो तर आजभोलि नै भनेर सुन्दा म अचम्मित भएँ । बाहिर उपयुक्त माहोल पनि थिएन । संविधानसभाबाट संविधान जारी भएको बेला छ । उहाँले ‘संविधान अधूरो छ, मधेशको मुद्दा समेटिएको छैन्, जनजातिका मुद्दाहरू सम्बोधन भएको छैन्’ भन्नुभयो । उहाँले उठाएका मुद्दाहरू त ठीक थिए तर बाहिर नेगेटिभ थियो । डा.साबले उक्त निर्णय सुनाएपछि मैले भने,‘कुरा त ठीक हो, तर यो टाइमिङ उपयुक्त छैन्, बरू अलि केही समय तयारी लिएर गरौं अहिले नगरौं’ भनेर उत्तर दिएँ । उहाँले भन्नुभयो, ‘टाइमिङ भन्ने कुरा त्यस्तै हो । आज न भएर भोलि सरकार भन्ने बेलामा हुन्छ, मन्त्री नपाएर, आफ्ना मान्छेलाई मात्रै बनाउन नपाएर पार्टी छोड्यो भन्छन् । पार्टी छोडेपछि एउटा न एउटा आरोप त लगाइहाल्छन् तर संविधानसभाबाट संविधान बनाएपछि छोड्छु भन्ने उपयुक्त समय यहीबेला हो । मैले छोड्दा नै ठीक हुन्छ ।’ त्यो दिन प्रेस मिट अर्कै कारणले गर्ने भन्ने थियो । सायद प्रेस मिट नभएको भए पनि सायद त्यही दिनमा पार्टी छाड्नुहुन्थेन कि ! प्रेस मिटमा के बोल्ने भनेर सोच्दा त्यसरी मुड बन्यो कि भन्ने लाग्छ ।  प्रेस मिट चार बजे थियो । आजै गर्ने भनेपछि प्रेस मिटबाट घोषणा गर्ने भन्ने भयो । उहाँको मुड बुझ्दा कुनै हालतमा पार्टी छोड्नुहुन्छ भन्ने लाग्यो । मैले फेरि उहाँलाई ‘ २/४ जना मान्छे, गुट लिएर चैं निस्कन भन्दा निस्कने नै हो भने तपाईं एक्लै निस्कनुस् । एक्लै निस्केको घोषणा गर्नुस् । राम्रो तयारी गरेर पार्टी गठन गर्दा ठीक हुन्छ’ सुझाव दिएँ । उहाँले भन्नुभयो, ‘मैले पनि सोचको त्यहि हो ।’  प्रेसलाई म्याजेस गरेर आज विशेष छ भन्ने आशयले खबर गरें । त्यसपछि पार्टी छाड्ने निर्णय सेयर गर्नुभएको  छोरी मानुषीसँग हो । हिसिला म्याडम रसियामा हुनुहुन्थ्यो । सायद, यो कुरा उहाँसँग सेयर हुन पाएन होला । छोड्नुभन्दा एक घण्टा अगाडि वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी र देवेन्द्र पौडेललाई भन्नुभयो । त्यो बाहेक अरुलाई सेयर गर्नु भएको थिएन । प्रेस मिट र प्रचण्डलाई राजीनामापत्र एकैचोटी बुझाउनु भएको थियो

।  

 बाबुरामका कमजोरी

उहाँ अन्र्तमुखी स्वभावको मानिस हो । उहाँले तपाईंलाई माया गर्नुभएको हुन्छ । त्यो तपाईंलाई फिल हुँदैन । कसैलाई सम्मान गर्नुभएको हुन्छ तर मान्छेलाई थाहा हुँदैन । उहाँ अन्र्तमुखी हुनु भएकाले मान्छेले मलाई विश्वास गर्नुभएन कि, राम्रो मान्नु भएन कि भन्ने भ्रम पर्छ । तर, सबैभन्दा विश्वास उसैलाई गर्नुभएको हुन्छ । फिल गराउन सक्नुहुन्न । अन्र्तमुखी स्वभावले गर्दा कोही कसैसँग अन्तरङ्ग कुराकानी गर्नुहुन्न । छिटै खुल्न पनि सक्नुहुन्न । मान्छेहरू तिनै कुरालाई कमजोरी भनेर औल्याउछन् ।     

सल्लाहकार कस्तो हुनुपर्छ ?

कुनै पनि नेताको छवी बनाउन सल्लाहकारको भूमिका महत्वपूर्ण हुन्छ । पहिलो कुरा सल्लाहकार इमान्दार हुनुपर्छ । दोस्रो, निरन्तरता हो । दुःख–सुख हुन्छ । राजनीति खेल हो जितिन्छ–हारिन्छ । हारमा दायाँबायाँ गर्ने र जित्दा हौसिने खालका प्रवृत्ति  हुनुहुन्न । एउटै गतिमा, लयमा निरन्तरता दिन सकियो भने सफल भइन्छ । मिहेनत, निरन्तरता र धैर्यता, हुनुपर्छ । तेस्रोमा, तपाईंलाई समर्थन गर्ने त तपाईंसँगै हुन्छन्, तपाईंको विरोध जसले गर्छ त्यसलाई पनि पूर्वाग्रह नराखी आफ्नो टिममा लिएर हिंड्न सक्नु महत्वपूर्ण सूत्र हो ।

 स्वकीय सचिवका दुःख

सचिवालय अन्य नेताहरूको तुलनामा डा.साबको राम्रो छ । यसमै मैले ‘इमेज’ बनाएँ जस्तो लाग्छ । पार्टीका अध्यक्ष तथा मेन लिडरलाई मान्छेले भेट्न खोज्छन् । दिनहुँ धेरै फोन आउँछ । भेटाइदिन प¥यो भन्छन् । सबैले डा.साबलाई भेट्न खोज्छन् । कतिपय अवस्थामा समय मिलाउन सकिदैन् । डा.साबले पनि ‘विश्वजीलाई सम्पर्क गर्नुस्’ भन्नुहुन्छ । मान्छेले मलाई सम्पर्क गर्छन् । डा.साबको समय मिलेको हुँदैन । त्यस्तै टाइमिङ पर्छ । डा.साबले भेट्न नखोज्ने पात्र पनि हुन्छन् । त्यस्तो बेलामा एक/दुई पटक तीन पटकसम्म त ढाँटेर, अनेक बहाना बनाउन सकिन्छ तर चार पटकबाट फोन उठाउन पनि लाज हुन्छ । के भन्ने ?  डा.साब आफैंले भेट्न खोजेको मान्छेसँग त दुई/चार दिन ढिला भए पनि भेट्न मिल्छ, उहाँले आफैंले चासो देखाउनुभएन भने मान्छेलाई के लाग्छ भने ‘बाबुराम भट्टराईले म जत्तिको मान्छेलाई किन भेट्दैन ? बाबुराम भट्टराईको कानमा खबरै पुगेन, यो सबै रोक्ने चैं विश्वदीप हो’ भन्ने खालको आरोप लगाएको अनुभव पनि छ । मेरो हकमा के भयो भने, उमेर पनि सानोे तर क्षमता र जिम्मेवारी ठूलो । म भन्दा राजनीतिमा लगानी भएका, उमेर भएका सिनियर व्यक्तिहरू धेरै हुनुभयो, उहाँहरूलाई ‘यो हिजो आको फुच्चेले हामीलाई सिकाउने ? ’ माओवादीमा छँदा पनि र अहिले नयाँ शक्तिमा छँदा पनि यस्तो भन्छन् । मेरो क्षमता देखेर मान्छेहरूलाई इष्र्या,जलन हुन्छ । निकै चुनौती सामना गरेँ । गाली त कति खाइयो खाइयो । त्यही गालीलाई ताली मान्दै म आफ्नो जिम्मेवारीलाई निरन्तरता दिँदै आएको छु । जिन्दगीमा मैले सबैभन्दा महत्वपूर्ण उपलब्धि ठानेको ‘विश्वदीप पाण्डे’ भनेर बनाएको परिचय नै हो । यो परिचय राजनीतिले दिएको हो । व्यवसाय गरेको भए म पैसाँ कमाउँथें होला तर नाम कमिन्थेन । राजनीति र बाबुराम भट्टराईको साथ संगत गर्दा छोटो समयमा धेरै ज्ञान प्राप्त सिक्ने अवसर पाए बाबुराम विश्वविद्यालयको एउटा विद्यार्थी बन्न पाएकोमा मलाई गर्व छ ।

 

 

प्रतिकृया दिनुहोस

केही व्यवसायीका कारण सिंगो निर्माण

चीन र भारत प्लस वान मोडलमा पुगिसकेका

सरकारी अनुदानबिना श्रम ऐनले तोकेको

वडाबासीको काममा कुनै कमी हुँदैन: राम

राजनीति हाम्रो रगतमा थियोः बीपी कोइराला

दुर्गम क्षेत्रमा नुन महङ्गिने सम्भावना

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला