‘लाप्राक पुगेर फर्किंदा मनोबल बढेको छ’

गोर्खा एकता इन्टरनेशनल ग्रुप मार्फत् हङकङ र मकाउमा निर्माण र सुरक्षा क्षेत्रमा व्यवसाय गरिरहेका यमकुमार (त्रिलोक) गुरुङ गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार हुन्। एनआरएनएको अहिलेसम्मकै ठूलो लोककल्याणकारी परियोजना लाप्राक पुनर्निर्माण टास्क फोर्स सदस्य गुरुङ पहिलो स्वयंसेवक टोलीसहित लाप्राक पुगेर भर्खरै हङकङ फर्किए। एनआरएनए हङकङको अध्यक्ष र एसिया प्यासेफिक क्षेत्रको संयोजक रहिसकेका गुरुङसँग नेपालखबर हङकङले आइतबार हङकङमा गरेको वार्ताः

भर्खरै लाप्राक पुगेर फर्किनुभयो, पुनर्निर्माण प्रक्रिया कहाँ पुगेको छ? अहिले लाप्राकको पुनर्निर्माणमा एनआरएनए अध्यक्ष शेष घले सहित हामी सबै लागिपरेका छौँ। हामीले चीनबाट किनेर लगेको वातावरणमैत्री ईंटा बनाउने मेसिनबाट ईंटा निर्माण सुरु भएको छ। सरकारबाट प्राप्त जमिनलाई सम्याउने र जगको काम पनि भइरहेको छ। तर त्यहाँको भौगोलिक अवस्था र अत्याधिक चिसोका कारण समस्या छ। बाहिरबाट त्यहाँ गएकालाई सास फेर्न पनि मुस्किल हुँदोरहेछ। कति जना त त्यहाँ एकदुई दिन बसेर फर्किहाल्ने गर्छन्। हाम्रा एक्साभेटर चालकहरु, इन्जिनियरहरु नै सक्दिनँ भनेर फर्किन्छन्। यसको अर्थ त्यहाँको परिस्थिति अत्यन्तै चुनौतीपूर्ण छ। त्यसमाथि हामीसँग पर्याप्त मानवीय स्रोत पनि छैन।

ईंटा बनाउने काममा नेपाली सेनाका १२० जना जतिले सहयोग गरिरहनु भएको छ। तर अहिले निर्माण क्षेत्रमा अनुभवी हाम्रा साथीहरु त्यहाँ जानुभएकोले ईंटा उत्पादन तीव्र भएको छ। मैले भर्खरै हाम्रो प्रतिनिधिसँग कुरा गरेको थिएँ। प्रोेजेक्ट म्यानेजर बद्री राजभण्डारी र एचआर म्यानेजर नेपाल कुवँर सहित सबै अहिलेको प्रगतिबाट खुसी हुनुहुन्छ।

तपाईं हङकङबाटै स्वयंसेवक टिम लिएर लाप्राक जानु भएको हो? मसँग अस्ति लाप्राक गएको टोली एनआरएनए स्वयंसेवकहरूको सबैभन्दा पहिलो टोली हो। हङकङबाट हाम्रो प्रतिनिधिका रुपमा एक जना भाइ हुनुहुन्छ। अरु नेपालकै साथीहरू स्वंसेवकका रुपमा त्यो टोलीमा समावेश हुनुभएको हो। विश्वभरका एनआरएन साथीहरुलाई आह्वान गरेर आआफ्नो राष्ट्रिय समन्वय परिषद्का माध्यमबाट एनआरएनका साथीहरु, विदेशी साथीहरु, खासगरी इञ्जिनियर र अनुभवी साथीहरु जम्मा गर्ने काम पनि भइरहेको छ। तर जनशक्तिको कमीका कारण मसँग गएको टोली चाहिँ अलिकति आकस्मिक व्यवस्थापनजस्तो हो। छोटो समयमा कामलाई अघि बढाउन मिलाएका हौँ।

 

आकस्मिक व्यवस्थापन कसरी भयो? यसबारे हामी छलफल गरिरहेका थियौँ। हङकङबाट चेतन गुरुङ जानुभयो। त्यसपछि मैले काठमाडौँ तथा पोखरामा बसेर घर बनाइरहेका प्रोपर्टी डेभलपर साथीहरुलाई सम्पर्क गरेँ। कति साथीहरु विदेशमा काम गरेर फर्केका र कति हाम्रै कम्पनीबाट विदेश आउन निवेदन दिएर बसिरहनुभएका साथीहरू छन्। मैले ती साथीहरुमध्ये कोको यस क्षेत्रमा अनुभवी र दक्ष छन् भन्ने पत्ता लगाएर स्वयंसेवकको रुपमा काम गर्न आग्रह गरेँ। उनीहरुले पनि ‘तपाईंहरु समुद्रपारिबाट आएर काम गरिरहनु भएको छ, हामीले किन साथ नदिने’ भनेर लाप्राक जानुभयो। जे होस् छोटै समयमा हामीले सुपरभाइजर, कोअर्डिनेटरसहित केही दक्ष र केही अर्धदक्ष साथीहरु गरेर २० जनाको टोली लगेर काममा लगाउन सफल भइयो। यसमा खुसी लागिराखेको छ।

यो टोली तपाईंले व्यक्तिगत पहलमै बनाउनु भएको हो?  मैले गरेँ। सोनाम लामा, जो अमेरिकाको क्षेत्रीय समन्वय परिषदमा हुनुहुन्छ र हामी एनआरएनएको लाप्राक पुनर्निर्माण टास्क फोर्समा पनि छौँ, उहाँले पनि तपाईंले यस्तो राम्रो टोली बनाउनु भएको रहेछ। म पनि तपाईंहरुसँग जान्छु भन्नुभयो। स्वयंसेवी टोलीका सदस्यलाई म पनि सहयोग गर्छु भन्नुभयो। स्वयंसेवकलाई हामीले एनआरएनएबाट केही दिने व्यवस्था गरेका छैनौँ। विदेशबाट जानेहरुले दर्ता शुल्क पाँच सय डलर दिनुपर्ने हुन्छ। त्यसपछि लाप्राकसम्म यातायात, खानेबस्ने व्यवस्था एनआरएनले गरिदिन्छ। तर नेपालमै रहेका मानिसहरुलाई पठाउँदा पाँच सय डलर तिर्नु पर्दैन। हामीले बस र जीपमा पठायौँ, कति जना आफ्नै मोटरसाइकलमा पुगे। हामी केही हेलिकप्टरमा पनि गयौँ। यो यातायात खर्चदेखि लिएर त्यहाँ काम गर्दा लगाउने कपडा, पञ्जासहितका व्यक्तिगत सरसामानको व्यवस्था हामीले गरेका छौँ। त्यहाँ बसुञ्जेल साथीहरुले मेसमा खानपान गर्छन्, जसको प्रतिव्यक्ति दिनको ३५० रुपैँया तोकिएको छ। त्यो सबै खर्च मेस चलाएबापत हामीले एनआरएनएलाई तिर्नुपर्ने हुन्छ। त्यसको जिम्मेवारी हामीले लिएका छौँ।

 

लाप्राक पुगेको पहिलो स्वयंसेवक टोलीसँग गुरुङ

यो टोली कति समय लाप्राकमा बस्छ? कम्तीमा दुई हप्ता। त्यति त बस्नैपर्छ। कति जना त जाने एक दिन बस्ने, फोटो खिच्ने, सेल्फी लिएर फेसबुकमा राख्ने र फर्किने गर्दारहेछन्। तर हामीलाई त उत्पादन चाहिएको हो। अहिले कम्तीमा दुई हप्ता बस्नुपर्ने नियम बनाएका छौँ। त्यहाँको परिस्थिति हेर्दा दुई हप्ताभन्दा बढी बस्न पनि कठिनाई हुन्छ। दुई हप्तापछि पनि कामलाई निरन्तरता दिन चाहने साथीहरुलाई (आर एन्ड आर) रेस्ट एन्ड रिफ्रेसमेन्टको व्यवस्था पनि छ। उहाँहरुलाई केही दिनका लागि लाने, आरामपछि काममा फर्काउने व्यवस्था गरिएको छ।

स्वयंसेवकको पहिलो टोली लाप्राक पुगेपछि विश्वभरका एनआरएनबाट कस्तो रेस्पोन्स आयो?  म व्यवसायकै सिलसिलामा पनि महिना दुई महिनामा नेपाल गइरहेको हुन्छु। हङकङ नेपालको नजिक भएकोले पनि अन्य मुलुकभन्दा अगाडि हुन्छजस्तो लाग्छ। अर्को कुरा हङकङमा मेरो व्यवसायको प्रकृति पनि निर्माणसँग सम्बन्धित छ। गत तेह्रचौध वर्षको अवधिमा हामीले निर्माणसम्बन्धी निकै अनुभव र ज्ञान हासिल गरिसकेका छौँ। यो पनि हाम्रो एउटा एडभान्टेज हो। अघि नै मैले भनिसकेँ, लाप्राकमा जनशक्तिको खाँचो भएको र त्यहाँ गएका मान्छे टिक्न नसकेको अवस्थामा हामीले गएर गर्न सक्छौँ भन्ने सन्देश दिएका छौँ। हामीले त्यति गरिसकेपछि अरु साथीहरुले पनि तयारी थालेका छन्। टास्क फोर्सको बैठकमै अस्ति सकेसम्म आफैँ, नसके पनि साथीहरुलाई आग्रह गरेर हाम्रो परियोजनाबारे स्पष्ट गराएर स्वयंसेवकका रुपमा पठाउन पहल गर्ने सल्लाह भयो। यो परियोजना चुनौतीपूर्ण भएकोले सबै लागिपरेर तोकिएको मितिमा काम पूरा गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नका लागि सबैलाई आह्वान गरिएको छ। २० जनाको टोली पठाएर हामीले फ्रन्ट गेट खोलिदिएका छौँ तर त्यति मात्रै गरेर हात बाँधेर बस्ने पक्षमा हामी छैनौँ। यसपछि पनि हामीले अरु टोली बनाइराखेका छौँ। अरु साथीहरुले पनि यसमा सहयोग गर्नुहुन्छ भन्नेमा विश्वस्त छु।

चाहिनेजति स्वयंसेवक परिचालन भएका छैनन्, लाग्ने खर्च पनि सबै उठिसकेको छैन। यस्तो अवस्थामा सोचेकै समयमा यो परियोजना कसरी पूरा होला? सबैभन्दा मुख्य कुरा विश्वास हो र दोस्रो कुरा मेहनत हो। जहाँ पनि चुनौती आउँछ नै। हङकङकै सन्दर्भमा कुरा गर्ने हो भने सरकारीदेखि लिएर निजीसम्म अर्बौँ डलरको परियोजनामा काम ग¥यौँ। त्यसमा बजेट, स्रोत, डिजाइनजस्ता कुरामा समस्या आउनु सामान्य हो। तर त्यसलाई हामी कसरी सामना गर्छौँ धेरै कुरा त्यसमा निर्भर हुन्छ।

हामीसँग पैसा नभएको होइन। ३३ करोड संकलन भइसकेको छ। हो, त्यसले पुग्दैन तर अरु पैसा उठाउनका लागि पनि काम भइरहेका छन्। साथीहरुले त्यसमा अवश्य नै सहयोग गर्नुहुनेछ। हामीले पहिले पनि गरेका हौँ, आवश्यक परेमा फेरि पनि गर्न तयार छौँ। यसबेला हामीलाई सबैभन्दा धेरै कुनै कुराको खाँचो छ भने त्यो हो, टिमवर्क। सबैले हामी गर्न सक्छौँ, गर्नुपर्छ, यो हाम्रै जिम्मेवारी हो भनेर समन्वय गर्न जरुरी छ। त्यति गरियो भने यो काम सफल हुन्छ।

 

पुननर्निर्माण टास्क फोर्समा चाहिँ कत्तिको टिमवर्क भइराखेको छ? टास्क फोर्समा हाम्रा अन्तर्राष्ट्रिय समन्वय परिषदका अफिस बियरर साथीहरु हुनुहुन्छ। बेलायतबाट मेजर डम्बर घले, अमेरिकाबाट सोनाम र मलगायत साथीहरु छौँ। हाम्रो निरन्तर छलफल र बैठक भइरहेको छ। ईंटा बनाउने मेसिनका लागि जमुना गुरुङले विशेष भूमिका खेल्नुभयो। त्यो कहाँ किन्ने भन्ने सल्लाह हुँदा भारतदेखि दक्षिण अफ्रिकासम्मको नाम आएको थियो। तर उत्पादन, गुणस्तर र मूल्य हेर्दा हामीले चीनबाट किन्यौँ। स्वयंसेवक परिचालनका लागि विश्वभर कुरा भइरहेको छ।

लाप्राक पुनर्निर्माणमा अहिले जो जो सक्रिय छन्, उनीहरू अर्को विश्व सम्मेलनबाट नेतृत्वमा आउन चाहन्छन् भन्ने चर्चा छ। तपाईं पनि तयारीमा हुनुहुन्छ कि?  खुला रुपमै भन्ने हो भने सबै कुरामा हात हालेर सम्भव हुँदैन। मैले खास योगदान दिन सक्छु भनेर एनआरएन भवन र टास्क फोर्समा रहेर पुनर्निर्माण लागिपरेको छु। देशमा यति ठूलो संकट आउँदा एनआरएनले पनि केही गर्न सक्छौँ, बोल्ने मात्रै होइन गरेर देखाउन सक्छौँ भन्ने प्रतिबद्धता पूरा गर्नका लागि मात्रै म लाप्राक गएको हुँ। त्यसबाहेक मेरो अरु कुनै व्यक्तिगत स्वार्थ छैन। हामी सबै मिलेर काम ग¥यौँ भने यो परियोजना सफल हुन्छ भन्ने संकल्प लिएर लाग्नेबाहेक अरु स्वार्थ मेरो छैन।

तपाईं एनआरएनएको एसिया प्यासेफिक क्षेत्रको संयोजक पनि भैसक्नु भयो, मलेसियामा यही महिना हुन लागेको क्षेत्रीय सम्मेलनका एजेण्डा के हुन्?  योभन्दा अगाडिको मेरो कार्यकालमा हामीले फिलिपिन्समा सम्मेलन गरेका थियौँ। फिलिपिन्समा थोरै मात्र नेपाली भए पनि हामीले उहाँहरुलाई उत्साहित गर्नुपर्छ भनेर पहिलेदेखि नै कुरा गरेका थियौँ। उहाँहरुलाई एनआरएनका उद्देश्य र क्रियाकलापबारे अवगत गराएका थियौँ। साथसाथै नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ, वैदेशिक रोजगार। फिलिपिन्सले अन्तर्राष्ट्रिय बजारमा वैदेशिक रोजगारमा कसरी विकास ग¥यो र उनीहरुको रणनीति कस्तो छ भन्ने सिक्नका लागि पनि हामी त्यहाँ गएका थियौँ।

एनआरएन एसियामा सबैभन्दा धेरै संख्या भएको मुलुक मलेसिया हो। ठूलो संख्या भएपछि सबैभन्दा धेरै समस्या पनि हुने नै भयो। अवसर र चुनौती दुवै छन्। अहिले साथीहरु लगानी र उद्यमशीलताजस्ता एजेन्डामा पनि केन्द्रित भएका छन्। ठूलो संख्यामा नेपाली आप्रवासी कामदार भएको मलेसियामा समस्या पर्दा कुनै कल्याणकारी कोष नभएको देखिएको छ। कल्याणकारी कोषको सुरुवात गर्ने कुरा भएको छ। मलेसियाको सम्मेलनको मुख्य एजेन्डा यिनै हुन्।

तपाईंले हङकङ र मकाउमा कमाएको पैसा नेपालमै धेरै लगानी गरिरहेको देखिन्छ। कुन कुन क्षेत्रमा लगानी गर्नुभएको छ?  सबैको आआफ्नो योजना हुन्छ। म गत दशकमा हङकङमा आफूलाई स्थापित गर्नमा लागेँ। मेहनत, संघर्ष र साथीभाइको सहयोगले कमबेसी यो तहमा आइपुगेँ। लक्ष्य पूरा गरेँ भन्न त मिल्दैन। कम्पनीको अवस्था पनि राम्रै छ। देशमा पनि केही गर्नुपर्छ भन्ने सोच पुरानै हो। र अहिले विभिन्न क्षेत्रमा अवसरहरु आइरहेका छन्। निर्णय नै त लिइसकेका छैनौँ, तर मलगायतका साथीहरुले दुईचार ओटा परियोजनाहरुमा गम्भीर रुपमा अध्ययन गरेर अन्तिम चरणमा पुगिसकेका छाँै। तर देशमा लगानीमैत्री वातावरण पनि हुनुप¥यो। सीधै भन्ने हो भने बैंकबाट ऋण लिएर व्यवसाय थाल्ने परिस्थिति छजस्तो लाग्दैन। बैंकहरुले ब्याजदर एकदमै बढाइराखेका छन्। यी सबै कुराहरु हेर्नुपर्ने हुन्छ। लगानी भनेपछि सबै आफ्नो नगद हाल्ने कुरा हुँदैन।

भर्खरै लगानी सम्मेलन पनि सम्पन्न भयो, अब त लगानीको वातावरण बन्दै छ नि, हैन?  शब्दमा मात्र सीमित हुनुभएन। त्यही खालको नीति पनि बनाउनुपर्छ सरकारले। ऋणदेखि लिएर विदेशी मुद्रा लेनदेनजस्ता कुराहरुमा सहजता आउनुपर्छ। विदेशी लगानीकर्ता भनेपछि विदेशी मुद्रा पनि ल्याउनुप¥यो, परेको बेला बाहिर पनि लानुपर्ने हुन्छ। बैंकले लगानीकर्ताका लागि निश्चित र सस्तो ब्याजदर दिनुप¥यो। एउटा ब्याजदरमा ऋण लियो, छ महिनापछि तुरुन्तै बढ्छ। अर्को मुख्य कुरा देशमा पूर्वाधार र राजनीतिक स्थिरता आवश्यक छ। सबैभन्दा खट्केको कुरा पूर्वाधार हो। रोडको अवस्था राम्रो छैन। प्लेन समयमा उड्दैन। अस्ति म पोखरा जाँदा, तीन घण्टा प्लेन ढीला भयो। तीन घण्टा भनेको निकै लामो समय हो। भद्रपुरबाट फर्किदाँ पनि अढाई घण्टा प्लेन ढीला भयो। समय भनेको पैसा हो। यसमा सुधार गर्न सक्यौँ भने, हामी त सँधै देशमुखी नै छौँ, आफ्नो सर्कलका विदेशीहरुलाई पनि प्रस्ताव राखेर परियोजनाहरु ल्याउन सक्छौँ।

अन्तमा, हङकङको यो बीपी इन्टरनेसनल होटलमा बसेर कुरा गरिरहँदा लाप्राकलाई कसरी सम्झिनु हुन्छ? जीवनमा केही पाउनलाई केही गुमाउनै पर्छ। जीन्दगीको यो यात्रामा मैले थुप्रै अनुभव बटुलेँ। कहिले धेरै सुखका दिन बिताएको छु भने कहिले धेरै दुःखका दिन पनि भोगेको छु। धेरै चुनौतीहरुको सामना गरेकोले मलाई आत्ममूल्यांकन गर्ने समय पनि हो जस्तो लाग्छ। दुःख छ, गाह्रो छ भनेर त्यहाँ नजाने भन्ने हुँदैन। लाप्राकमा बस्ने नेपाली पनि हाम्रै दाजुभाइ, बाबुआमा, दिदीबहिनी हुन्। उनीहरु त्यहाँ जन्मेदेखि बसिरहेका छन् भने हामी एकदुई महिना गएर सहयोग गर्न किन सक्दैनौँ? यही भावनाका कारण म चार पटक लाप्राक गइसकेँ।

हो, अहिले हामी हङकङकजस्तो विश्वकै विकसित सहरको होटेलमा कफी पिउँदै गफ गरिरहेका छौँ। तर लाप्राक पुगेर भुटेको मकै खाँदा पनि बेग्लै आनन्द प्राप्त हुन्छ। त्यसको छुट्टै चार्म छ। अस्ति भोक लागेको बेला लाप्राकमा प्रोजेक्ट म्यानेजरले मकै झिकेर दिनुभयो। मकै खाँदा आनन्द, शक्ति र मनोबल बढेको महशुस गरेँ। हरेक पटक लाप्राक पुगेर फर्किंदा मनोवल अझै बढेको महशुस गर्छु। विकट छ, अफ्ठ्यारो छ भनेर तर्कियौँ भने हामीले आफ्नो देश कहिल्यै बनाउन सक्दैनौँ।

प्रतिकृया दिनुहोस

केही व्यवसायीका कारण सिंगो निर्माण

चीन र भारत प्लस वान मोडलमा पुगिसकेका

सरकारी अनुदानबिना श्रम ऐनले तोकेको

वडाबासीको काममा कुनै कमी हुँदैन: राम

राजनीति हाम्रो रगतमा थियोः बीपी कोइराला

दुर्गम क्षेत्रमा नुन महङ्गिने सम्भावना

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला