काठमाडौँ । कवि बद्री भिखारीको कवितासङ्ग्रह ‘समुद्र साउती’को भानु जयन्तीको अवसर पारेर विमोचन गरिएको छ ।
संङ्ग्रहको वरिष्ठ कवि तुलसी दिवस, श्यामल, स्वप्नील स्मृति, महेश पौडेल, जसराज किराँतीले संयुक्त रूपमा लोकार्पण गरेका हुन् । कार्यक्रममा बोल्दै समीक्षक महेश पौडेलले भिखारीका कवितामा शालिन विद्रोह र विनम्रता पाइने कुरा बताए । अर्का समिक्षक श्यामलले शक्तिशाली कविताहरूको सङ्ग्रह ‘समुद्र साउती’ले नेपाली कविता साहित्यको इतिहासमा एउटा बलियो खुड्किलो थपेको कुरा पनि बताए ।
कार्यक्रममा समीक्षकहरूले विभिन्न साहित्यका पुस्तक हरेक सर्जक र साहित्यानुरागीहरूले अनिवार्य खरिद गरेर पढ्ने प्रथा बसाल्नुपर्ने र यसो गर्न सकिएमा साहित्य र सर्जक कहिल्यै पनि भोको नमर्ने तथा अझ उत्कृष्ट साहित्यको सिर्जनामा पे्ररणा मिल्ने कुरामा जोड दिए ।
कवि तुलसी दिवसले भिखारीका कवितामा नविनतम् कथ्यसहितको बिम्बहरू पाइने कुरा अघि सारे । इटहरीमा बसेर साहित्यसाधनमा लागिरहनुभएका कवि बद्री भिखारीको यो तेस्रो सङ्ग्रह हो । यस भन्दा अघि उनका ‘हत्केला भरिका रेखाहरू’ (मुक्तकसङ्ग्रह), ‘माड्सापका झोला’ (कवितासङ्ग्रह) प्रकाशित छन् ।
४० कवितालाई ५ खण्डमा विभाजन गरी १२८ पेजमा सङ्ग्रहीत गरिएको यस पुस्तक ‘समुद्र साउती’ शिखा बुक्स बाट प्रकाशित र ज्ञानज्योति बुक्स पब्लिकेसनद्वारा वितरित गरिएको छ । आकर्षक पकेट साइजमा प्रकाशित यस पुस्तकको आवरण रेखाचित्र जीवन पौडेल र लेआउट तथा साजसज्जा सरोज बलामीले गरेका हुन् भने यसको मूल्य २००/– रुपैयाँ रहेको छ ।
प्रकाशित ३१ असाढ २0७५ , आइतबार | 2018-07-15 10:37:36
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार