काठमाडौं । पत्रकार तथा लेखक दामोदर न्यौपानेको पाँचौ पुस्तक 'स्कुल बेच्ने बालक' साउन पहिलो सातादेखि बजारमा आउने भएको छ । पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो । यो पुस्तकमा प्रारम्भिक बाल्यकालका बालबालिकाको मनोविज्ञानलाई अध्ययन गरेर लेखिएको शिखा बुक्सका पुष्पराज पौडेलले विज्ञप्ती मार्फत जानकारी दिए ।
‘बालबालिका अपार सम्भावनाका खानी हुन् । ती सम्भावनालाई प्रस्फुटित गराउने चुनौती हरेक अभिभावक, शिक्षकको हो । विश्वव्यापीकरण र बजारमुखी व्यवस्थाले यो चुनौतीलाई सहज बनाउन सघाएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘एकातिर सहज बनाउन सघाएको छ भने अर्काेतिर शिक्षा क्षेत्रमा केही वर्ष यता देखिएको जागिर केन्द्रित शिक्षा पद्धतीले बालापन नै गुम्ने खतरा देखिएको छ । यही सन्दर्भमा लेखक न्यौपानेले लेखेको यो पुस्तकमा लालनपालन (प्यारेन्टिङ) का सुक्ष्म, मनोविश्लेषणात्मक र व्यवहारिक विषयलाई विस्तृत रुपमा छलफलमा ल्याइएको छ ।’
सामन्ती संस्कारले गाजेको हाम्रो समाजमा बालबालिकाका कुरा सुनिदैन । प्रविधिले ल्याएका लालनपालनमा देखिएका नया नया विकृतिको समाधान गर्ने उत्तम उपाय भनेको बालबालिकाकासग निरन्तर लोकतान्त्रिक संवाद नै हो । अर्थात् सुन्ने, सुनेर व्यवहार गर्ने र उनीहरुलाई सहभागी गराउने नै हो । ‘पुस्तकको मुल सन्देश यही हो ।
एउटा बालकको इच्छा, आंकाक्षा, दया, माया, करुणा, प्रेम, रिस, आवेग जस्ता संवेगमाथि सुक्ष्म तरिकाले उठाइएको छ यो पुस्तकमा,’ विज्ञप्तीमा भनिएको छ, ‘शिक्षा कस्तो हुने ? सिकाइ कस्तो हुनु पर्ने भनेर बहस चलिरहेको छ अहिले । यो पुस्तकको प्रकाशनले लालनपालन शिक्षाको महत्वबारे बहस चलाउने हामीले विश्वास गरेका छौं ।’
न्यौपानेका ‘एम्बुसमा ६ वर्ष, ‘कर्म : सिकाइमा गहिरिएको खाडल’, ‘स्वर्णिम समय’ र चित्रकथा ‘ट्यालेन्ट शो’ प्रकाशित छन् ।
प्रकाशित २७ असाढ २0७५ , बुधबार | 2018-07-11 02:02:43
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार