काठमाडौँ । साहित्यकार द्वय रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह ‘हजार हाइकु’को काठमाडौँको सि.डब्लु. रेष्टरेन्टमा एक कार्यक्रमबिच विमोचन गरिएको छ । बरिष्ठ गीतकार रत्नशमशेर थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा समीक्षकको रूपमा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, दामोदर पुडासैनी र महेश पौडेलले पुस्तकको समीक्षा गरेका थिए भने लेखक रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’ले हाइकु वाचन सहित हाइकु र पुस्तकको बारेमा जानकारी दिए ।
पुस्तक बारे बोल्दै समिक्षक महेश पौडेलले ‘हजार हाइकु’ हाइकु मात्र नभई हाइकुको इतिहास र संरचनाको जानकारी समेत भएको बताए । समीक्षक दामोदर पुडासैनीले यस हाइकु सङ्ग्रह हाइकु प्रेमी तथा लेख्न र सिक्न चाहनेहरूको लागि पनि विशेष पढ्नै पर्ने पुस्तक सावित भएको बताए । त्यस्तै अर्का वरिष्ठ समिक्षक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले दुई लेखकहरू हाइकुको राम्रो संरचना र मर्म बुझेका लेखक भएको र यो कृति आफैमा उत्कृष्ट र राम्रो संकलन भएको बताए ।
गीतकार रत्नसमशेर थापाले यो कृति नेपाली साहित्यको बजारमा हाइकु विधामा एक सशक्त र बलियो कोसेढुङ्गा सावित भएको र यसले अझै विशिष्ट स्थान हासिल गर्न सफल होस् भन्ने शुभकामना व्यक्त दिंदै प्रत्येक नेपाली साहित्यक मनहरूको हात हातमा यो पुस्तक हुनुपर्ने कुरा बताए ।
नेपाली साहित्यको इतिहास धेरै प्राचिन देखि नै रहिआएको भए पनि हाइकु लेखनको इतिहास भने केही दशक अघिदेखि मात्र सुरु भएको हो । नेपाली साहित्य बजारमा सर्वप्रथम वि.सं. २०१७ सालमा शंकर लामिछानेले हाइकु भित्र्याए । त्यसपछि रूपरेखा, मधुपर्क, नेपाली हाइकु पत्रिका, अन्धगल्छी, चितवन पोष्ट दैनिक, समकालिन लगाएतका पत्रिकाहरूले हाइकुलाई विशेष स्थान दिँदै आएको पाइन्छ । ५–७–५ को तीन हरफमा जम्मा १७ अक्षरले बनाइने हाइकु लेखन नेपालमा मात्र नभएर भारत, बङ्गलादेश, अमेरिका, जापान, फ्रान्स लगायतका देशमा पनि प्रचलित विधा हो ।
हाइकुको इतिहास, हाइकु संरचना र संयोजनका आधार सहित उत्कृष्ट हजार ओटा हाइकु सङ्ग्रहीत २६२ पेज रहेको यस पुस्तक ‘हजार हाइकु’ शिखा बुक्स बाट प्रकाशित र ज्ञानज्योति बुक्स पब्लिकेसनद्वारा वितरित गरिएको छ भने यसको मूल्य ३२५/– रुपैयाँ रहेको छ ।
प्रकाशित २२ असाढ २0७५ , शुक्रबार | 2018-07-06 09:53:43
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार