काठमाडौँ । कथाकार तथा आख्यानकार सबु सुवेदीद्वारा लिखित उपन्यास ‘मञ्जूषा’ शनिबार राजधानीमा एक कार्यक्रमकाबिच लोकार्पण गरिएको छ । वरिष्ठ कवि तथा आख्यानकार भुवनहरि सिग्देल, आख्यानकार अमर न्यौपाने, पत्रकार फूलमान वन, समीक्षक सचिन घिमिरे, चलचित्र लेखक प्रदीप भारद्वज र लेखक सबु सुवेदीले संयुक्त रूपमा उपन्यासको विमोचन गरेका हुन् ।
पुस्तक लोकार्पण कार्यक्रम पहिलो र दोस्रो चरणमा भएको थियो । पहिलो चरणमा पुस्तकको लोकार्पण गरियो भने दोस्रो चरमा पुस्तकमाथि अन्तरक्रिया गरियो । अन्तरक्रिया कार्यक्रमको नेतृत्व गरेका समिक्षक सचिन घिमिरेले लेखक सबु सुवेदी, आख्यानकार अमर न्यौपाने र पत्रकार फूलमान वनलाई प्रश्न सोधेर उपन्यासको बलियो तथा कमजोर पक्षमा टिप्पणी गराएका थिए ।
लोकार्पणपछि पहिलो चरण कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलले सबु सुवेदी नयाँ लेखक नभएर साहित्यिक जगत्को क्षमतावान लेखकका रूपमा उपस्थित भएको बताए । उनले भने, ‘लेखनमा परिपक्वता, सलर र सहज भाषाशैली लोभलाग्दो छ । सुवेदीको भाषाशैलीबाट प्रभावित भएको छु, भाषाशैली परिस्कृत छ । उपन्यास मञ्जूषा वर्तमान सामाजिक विषयवस्तुमा आधारित रहेको छ ।’
अर्का वक्ता चलचित्र लेखक प्रदीप भारद्वजले यस उपन्याले आफूलाई पनि लेख्न प्रेरित गरेको बताए । उनले भने– ‘मैले यो उपन्यास पढेँ । पढ्ने क्रममा मलाई निकै राम्रो लाग्यो । म फरक विधाको मान्छे भएर पनि यस उपन्यासमा समाविष्ट कथावस्तुले मलाई छोएको छ । समाजका स–साना घटना निकै मार्मिक रूपमा उठाइएको छ । सुवेदीको लेखनको म फ्यान बनेको छु । मलाई यसले पुस्तक लेख्न प्रेरित गरेको छ ।’ दोस्रो चरणको अन्तरक्रिया कार्यक्रमा आख्यानकार अमर न्यौपानेले उपन्यासको परिकल्पना र सरल प्रस्तुति रहेको बताए । उनले भने, ‘उपन्यासको भाषा सरल रूपमा रहेको छ । यसले समाजको यथार्थ कथावस्तुलाई समावेश गरिएको छ । लेखकले परिकल्पना गरेको यस उपन्यासको परिकल्पना नै राम्रो छ ।’ वर्तमान समाजको चित्रण उपन्यासमा छ । उपन्यासमा युवा उमेरका प्रेम सम्बन्ध केलाइएको छ आख्यानकार न्यौपानेले भने ।
पुस्तकका बारेमा बोल्दै अर्का वक्ता फूलमान वनले– ‘नयाँ लेखक भएर पनि सबु सुवेदीको लेखनमा परिपक्वता भेटिन्छ । समाजका सुक्ष्म पक्षलाई कथामार्फत सरल, सहज र सरस भाषाशैलीमा उतार्नु लेखकको बलियो पक्ष हो ।’ वनले उपन्यास नारीले लेखे पनि उपन्यासमा नारी र पुरुष दुवैको कथावस्तु समेटिएकाले यस उपन्यास विभिन्न सिद्धान्तले समीक्षा समेत गर्न सकिने बताए ।
पुस्तकमाथि बोल्दै उक्त उपन्यासकी लेखक सुवेदीले प्रेमको नयाँ परिभाषा गरेकी छु । बाँकी पाठकको जिम्मा रहेको बताउनुभयो । उक्त उपन्यास ‘मञ्जूषा’ शिखा बुक्सले प्रकाशन गरेको हो । जसको मूल्य रु. ३७५/– रहेको छ । पुस्तकको सुन्दर आवरण डिजाइन सन्तोषकुमार दाहालले गरेका हुन् ।
तस्बिर : रमेश दवाडी
प्रकाशित १२ जेष्ठ २0७५ , शनिबार | 2018-05-26 11:45:23
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार