काठमाडौँ । कवि सुमन पोखरेलद्वारा अनूदित कवितासङ्ग्रह ‘मनपरेका केही कविता’को सार्वजनिक गरिएको छ । शनिबार सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रमबिच उक्त कविता सङ्ग्रह वरिष्ठ कवि तुलसी दिवसले सार्वजनिक गरेका हुन् । विप्लव प्रतिक, मोमिला, बलराम अधिकारी र दीपक सापकोटाले पुस्तकमाथि अन्तरक्रिया गरे ।
कार्यक्रममा बोल्दै कवि बलराम अधिकारीले अनुवाद पृथक् सिर्जनाभन्दा पनि अनुसिर्जना हो, जहाँ काव्यिक पर्यावरणको पर्याप्त ज्ञान हुनुपर्ने भन्दै पाठकलार्ई कविता आफ्नै ढङ्गले बुझ्न पाउने अधिकार पनि रहेको बताए ।
त्यस्तै कवि विप्लव प्रतिकले नेपाली साहित्यमा हुने गरेका अनुवादमा खासै कृतिमाथि उचित न्याय हुन नसकेको र नेपाली साहित्य पनि मुल कृतिको आत्मा नमर्ने गरी अनूदित गर्न सकिएमा विश्वबजारमा चर्चित हुन सक्ने भन्दै यस सङ्ग्रहले नेपाली अनूदित साहित्यिक सङ्ग्रहहरूमा एक उत्कृष्ट प्रतिनिधिको रूपमा उभिएको बताए ।
अर्का प्रखर वक्ता कवि मोमिलाले यस सङ्ग्रह शब्दभन्दा पनि मूल कविताको भाव र आत्मामा बढि केन्द्रित भएर अनुवाद गरिएको हुनाले कविता नेपाली कविता भएर आएको छ र यो नै कृतिको सुन्दर पक्ष रहेको बताइन् ।
त्यस्तै वरिष्ठ कवि तुलसी दिवसले नेपाली साहित्यिक बजारमा अनुवाद जति हुनुपर्ने हो त्यति नभएको र जसरी हुनुपर्ने हो त्यसरी पनि नभएको र अब यसको निकास र विकासका लागि व्यक्तिगत मात्र नभएर सामूहिक रूपमा काम अगाडि बढाउनुपर्ने तर्क राख्लै कवि दिवसले साहित्यको उत्थानका लागि छिटै नै नेपालमा विश्व साहित्य सम्मेलनको आवश्यकता रहेको धारणा व्यक्त गरे ।
दीपक सापकोटाद्वारा सञ्चालीत अन्तरक्रियामा कवि सुमन पोखरेलले यस सङ्ग्रहको अनुवाद गर्दा कविताको प्राविधिकता र सिर्जनाबिच सन्तुलन कायम राखेर अनुवाद गरिएको बताए ।
यस पुस्तकमा अन्ना आख्मातोभा, अन्ना स्विर, एलेन गिन्सबर्ग, ओक्टाभियो पाज, गाब्रिएला मिस्ट्रल, ज्याक प्रिभेर, डेलमिरा अगस्तिनी, नाजिक अल मलाइका, नाजिम हिकमत, निजार कब्बानी, पाब्लो नेरुदा, फरोग फारुखजाद, महमुद दरविस, येहुदा अमिसाई तथा सिल्भिया प्लाथका जम्मा ६४ ओटा कविताहरू समाविष्ट रहेका छन् ।
शिखा बुक्सबाट प्रकाशित र ज्ञानज्योति बुक्स पब्लिकेसनद्वारा वितरित यस कवितासङ्ग्रहको मूल्य २५०/- रुपैयाँ रहेको छ । उक्त संङ्ग्रहको सुन्दर आवरण डिजाइन सन्तोषकुमार दाहालले गरेका हुन् ।
प्रकाशित ८ बैशाख २0७५ , शनिबार | 2018-04-21 02:27:31
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार