औँठी बेचेर गीत रेकर्ड गर्ने ‘लाइभ क्वीन’

औँठी  बेचेर गीत रेकर्ड गर्ने ‘लाइभ क्वीन’

लोक–पप गायिक योजना पूरी युवा पुस्ता माझ निकै चर्चित छिन् । १ दशकदेखि गायन र उद्घोषणमा सक्रिय उनले ४ दर्जनभन्दा बढी गीय गाइसकेकी छन् ।   मोरङ उर्लाबारीमा जन्मिएकी उनका मनै त हो,पहाडकी छोरी,घार–धुर्र मदानी, ऐ शिवजी,भगायो ड्राइभरले गीत बजारले रुचाईएका गीतमा पर्दछन् । पढाइमा पनि योजनाले पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी छन् । नेपालमा पहिलो पटक फेसबुक लाइभ कार्यव्रmम सुरु गरेकी पुरीलाई धेरैले ‘लाइभ क्वीन’ भनेर पनि चिन्छन । बहुमुखी प्रतिभाकी धनी पुरीको गायन यात्रा,संघर्ष र सफलतामाथि केन्द्रित भएर अमरवाणी अनलाइनले गरेको कुराकानीः  

तपाईलाई गायन क्षेत्रमा लाग्ने चाहना कसरी पलायो ?

म सानैदेखि रेडियो सुन्ने गर्थे । रेडियोमा बज्ने गीत र आवाजले मलाई एकदमै जिज्ञासु बनाउथ्यो । रेडियोबाट कसरी आवाज आउछ भन्ने लाग्थ्यो । त्यसभित्र मान्छे पो हुन्छ न कि भन्ने  लाग्थ्यो । यतिसम्म कि म ९÷१० वर्षको हुँदा मैले रेडियो नै फुटाए हेरेको थिए । त्यसभित्र त चुम्बक र साना यन्त्र पो रहेछन् । रेडियोकै आवाज सुनेर ममा गायिका बन्ने सोच आएको हो ।  बुवा पनि सामान्य गायक हुनुहुन्थ्यो, जनवादी गीतहरु गाउनु हुन्थ्यो र सराङ्गी पनि बजाउनु हुन्थ्यो । त्यसले पनि प्रभाव पारेको होला । म विद्यालयमा सानै कक्षामा गीत गाएर पुरस्कार जित्थे ।  

यो क्षेत्रमा लाग्ने तपाईँको इच्छाप्रति घरपरिवारको कस्तो सहयोग रह्यो ?

  मेरो बुबा/आमा त मेरो इच्छाप्रति एकदमै सकारात्मक हुनुहुन्थ्यो । तर, अंकलहरुले चाँहि छोरी गीतसंगीत क्षेत्रमा नलागोस, यसमा दुःख छ, भन्नुहुन्थ्यो र मलाई उहाँहरुले नर्स बनाउने इच्छा राख्नुभएको थियो । नर्सिङको प्रवेश परीक्षा दिन विभिन्न क्याम्पसमा लानुपनि भएको थियो । म इन्ट्रान्समा जानी–जानी फेल हुन्थे । किन कि मलाई नर्स पेशा भन्दा गायिका बन्ने प्यास थियो । त्यही हुटहुटी पूरा गर्न यो क्षेत्रमा लागँे ।   अहिले त अंकलहरु पनि सपोर्ट गर्नुहुन्छ । गायन क्षेत्रबाट जेजति आर्जन गरेको छु स्रोताहरुको माया पाएको छु त्यसमा सबै खुसी छन् । र ,मिहेनत र निरन्तर लागेमा जुनसुकै पेशामा पनि सफलता हात पार्न सकिन्छ जस्तो लाग्छ मलाई ।   पहिलो गीत रेकर्डिङको अनुभव कस्तो रह्यो ?        पहिलो गीत मैले झापा दमकमै रेकर्ड गरेँ । गीत रेकर्ड गर्दा अलिअलि नर्भस त भए तर खासै गाह्रो भएन् । समस्या चाहिँ पैसाको भयो । मैले पैसा नभएर आमाले उपहार दिनु भएको औंठी बेचेर गीत रेकर्ड गरेकी थिए । भनौ मेरो लागि त्यो औैठी भन्दा मेरो गीत रेकर्ड गर्ने हुटहुटी बढी थियो । त्यो गीत थियो, सम्झन्छु तिमीलाई..... ।

गायन क्षेत्रलाई अगाडि वढाउन काठमाडौं छिर्नुभएको हो ?

हो । गायन क्षेत्रमै लाग्ने उद्देश्यले काठमाडौं आए । घरपरिवारमा बुवा÷आमा सकारात्मक हुनुहुन्थ्यो । अंकलहरुले म गायनमा लागेको त्यति रुचाउनु भएको थिएन् । तैपनि दुःख गरेर आफ्नो यात्रामा म निरन्तर लागि रहे । तारा लिम्बु दिदीसँग मिलेर २०६५ साल तिर एल्बम निकाले । त्यो एल्बम निकाल्न पनि पैसाको निकै खाँचो भयो । बुवाले साउदी अरबमा पसिना बगाएर कमाएको ६५ हजार रुपैया एल्बम निकाल्न खर्च भयो । कति मान्छे विदेशको कमाईले घरजग्गा जोड्छन् तर, मैले एल्बम निकाल्न पैसा खर्चिए । त्यो पैसाले नपुगेर मैले आफ्नो सुनको सिक्री बैंकमा धितो राख्नु परेको थियो । यस्तो दुःख गरेर निकालेको एल्बम ‘न्यू वे’ थियो ।

 पहिलो एल्बम निकाल्दा के–कस्ता समस्या झेल्नु भयो ?

निश्चय पनि केही समस्याहरु आए, मध्यम वर्गीय परिवारको छोरी भएकाले धेरै ठूलो नभए पनि साना तिना आर्थिक समस्याहरु आइ परे, सोचेको काम सही ढंगले र सही समयमा नहुनाले केही चिन्ता चाहिँ लाग्दथ्यो तर म हतास भइन् । हाम्रो मानसिकतामा ढिलाई, अल्छीपनले गहिरो जरो गाडेको छ । त्यसले गर्दा पनि काम हुन समय लाग्यो, पर्खनु प¥यो तर जे होस् पर्खाइको फल मिठो हुन्छ भने झैँ एल्बम बजारमा आउँदा निकै नै खुसी लाग्यो । म स्कुलमै हुँदाखेरी नै डाक्टर योगी विकासा नन्दको प्रवचन सुन्थे, उहाँको सकारात्मक साहित्यहरु पढ्थे, त्यसले पनि मेरो सहनशीलतालाई बढाएको थियो । म आफैँले आफैँलाई सम्झाउँथे । ‘योजना त यहाँ केही गरेर देखाउन आएकी होस्’ तैँले नै हिम्मत हारे के हुन्छ ? भन्ने विचार मनमा आउँथ्यो ।  

संगीतबाट कसरी उद्घोषणमा फड्को मार्नुभयो ?

यो तारा लिम्बु दिदीको साथले गर्दा हो ।  एल्बम निकाली सकेपछि विभिन्न एफएम रेडियोमा अन्तरवार्ता दिन जानु पर्दथ्यो । सुरुमा डर लाग्थ्यो र एफएमका प्रस्तोताहरु कसरी यस्तो कार्य गर्न सक्छन् होला जस्तो लाग्थ्यो पछि घुलमिल हुँदै जाँदा ए म पनि के कम छु र म पनि उद्घोषण गर्न सक्छु भन्ने साहस मनमा पलाउँथ्यो । कुनै काम सुरुमै गाह्रो लाग्यो भन्दैमा छोड्नु हुँदैन । सुरुमा त सबै काम गाह्रो नै हुन्छ तर विस्तारै त्यसमा लाग्दै गएपछि, गाह्रोपन सहँदै गए पछि त्यो सजिलो बन्छ र त्यसपछि त एकदमै सजिलो बायाँ हातको खेल भन्छन् नि त्यस्तै हुन्छ । हामी जुन विषय अफ्ठ्यारो छ त्यसलाई बेवास्ता गर्छौ या किताबलाई कुनातिर थन्काउँछौ वास्तवमा त्यस्तो गर्नु हुँदैन बरु त्यसलाई गाह्रो हुँदाहुँदै पनि पठन जारी राख्नुपर्छ विस्तारै त्यही विषय सबभन्दा सजिलो लाग्छ । यो सल्लाह चाँही मेरो विद्यार्थी दर्शक श्रोतालाई है त । त्यसपछि संगीतलाई बढाउनकै लागि मैले आफ्नो खर्च व्यवस्थापन गर्नु पर्दथ्यो । म कसैमा भर नपरी आफैँ केही गर्नुपर्छ भन्ने सोच राख्थेँ । त्यसले गर्दा एफएममा उद्घोषण थालेँ । काम गाह्रो थियो बिहान ५ बजेदेखि बेलुका पाँच बजेसम्म काममा खटिइन्थ्यो । २ वर्षसम्म साहै्र मिहेनत गरे त्यसपछि अर्को एफएममा पार्टटाइम गरेर संगीत सिक्ने र संगीत साधना गर्दथे । त्यसै बीचमा २०७२ सालमा भूकम्प आयो, सबै क्षेत्रमा मन्दी छायो । समयमा तलब नपाइने अवस्था थियो । त्यसले निश्चय नै केही गाह्रो त हुन्थ्यो नै तर केही गर्ने प्रतिज्ञा भएपछि त्यो पनि सजिलै पार गर्न सकिन्छ या सकिँदो रहेछ यो म मेरो अनुभवबाट भन्दै छु ।        

त्यसपछि मैले अनलाइन पत्रिकामा काम गरे । ओएस नेपाल युट्युब च्यानलमा पनि काम सुरु गरे । ओएस नेपाल नेपालकै सबभन्दा धेरै दर्शक (भ्यूअर्स) भएको यूट्युब च्यानल हो । नेपालमा पहिलो पटक नै फेसबुक लाइभ कार्यव्रmम मैले सुरु गरे त्यसैले धेरै जनाले मलाई ‘लाइभ क्वीन’ भनेर पनि चिन्नुहुन्छ ।

कलाकारिता क्षेत्रमा महिला कलाकारहरुमाथि यौन हिंसाका हुने कुरा बेलावखत चर्चामा आउने गरेको छ ? तपाइँले पनि यस्ता समस्याहरु भोग्नु प¥यो कि ?

जहाँसम्म मैले त्यस्ता समस्या भोग्नु प¥यो कि भन्ने कुरा छ, त्यसमा के छ भने त्यस्ता समस्या सृजना गर्ने तत्वहरु आउन नखोजेका होइन तर तिनीहरुलाई मैले समयमै तिनीहरुको निहीत स्वार्थ बुझ्न सकेकाले त्यस्तो समस्या आइलागेनन् । तर, केही गायिका साथीहरु यस्तो समस्या परेको कुरा गर्नुहुन्छ  । यसमा म आफ्नो गाँठो राम्रोसँग बाँध्नु, चोरलाई दोष नलाउनु भन्न चाहन्छु । त्यस्तो तत्व त जहाँ पनि हुन्छन् तिनीहरुलाई समयमै चिन्नुपर्छ, बहकिनु हुँदै, जालमा पर्ने छिट्टै रातारात सेलिब्रेटी बन्ने चाहना नराख्नु नै बेस र अर्को कुरा शिक्षित भएको खण्डमा त्यस्ता समस्या पैदा गर्नेहरु टाढै रहन्छन् । म त भन्छु जो सँग सुन्दरता मात्रै छ तिनीहरुलाई त्यस्ता समस्या आउँदछन् तर ब्यूटी विद् ब्रेन छ भने त्यस्तो आँट गर्दैनन् । साथै पुरुष वर्गको पनि महिला प्रतिको सोचाइ र धारणामा आमूल परिवर्तन आउन जरुरी छ । क्षणिक स्वार्थका लागि ठूलो जोखिम उठाउदा उहाँहरुलाई पनि घातक छ । जसरी अमेरिकामा यौनिक हिंसाका घटना बाहिर आउँदै छन् र दोषिमाथि कार्यवाही हुँदैछ । अब नेपालमा पनि बिस्तारै आवाजहरु उठ्दैछन् र चाँडै त्यस्ता क्षणिक स्वार्थ पुरा गर्न  चाहनेहरु कठघरामा उभिने छन् । यो कुरा सबैले गहिरिएर हृदयदेखि सोच्नु जरुरी छ ।  

गीत/संगीत बाहेक तपाईको रूची केमा छ ?

मलाई पढ्न असाध्य मन पर्छ । व्यस्तताका बावजुद पनि समय निकालेर म सकारात्मक सोचयुक्त पुस्तक पढ्छु । म विशेष गरेर डा. योगी विकासानन्द, ओशोका किताबहरु, नारीवादी कितावहरु, तस्लिमा नसरिनका किताबहरु र सफलतासँग सम्बन्धित किताब पढ्छु, नभए यूट्युबमा यस्तै कार्यव्रmमहरु हेर्छु । हाम्रो जीवनमा सोच निर्धारण गर्न किताबले ठूलो  भूमिका खेल्छन् । एउटा भनाइ नै छ, तिमी पाँच ओटा किताब जस्तो पढ्छौ त्यस्तै बन्छौ ।     

   तपाइँ आफूलाई बहिर्मूखी या अन्तर्मूखी के ठान्नु हुन्छ ?

 म  बच्चामा बहिर्मूखी नै थिए तर यूवावस्थामा अन्तर्मूखी तर आजभोलि आवश्यकता अनुसार बहिर्मूखी र अन्तर्मूखी बन्छु । आफ्नो विषय र क्षेत्र सम्बन्धित विषय वस्तु भए आफ्नो विचार निडरता पूर्वक विना हिचकिचाहट राख्न सक्छु ।     

   नयाँ बर्षको योजना के छ ?

 योजना त बनाउनै प¥यो । आउने वर्षमा एकल एल्बम “योजना” निकाल्दै छु सायद दसैँ सम्ममा तयार हुन्छ होला । त्यसैगरी कन्सर्टका लागि विदेश जाने योजना पनि छ । त्यसैगरी मलाई ध्यान योगामा पनि गहिरो रूची छ, त्यसलाई नियमित गर्नेछु ।

 संगीत क्षेत्रमा आउन चाहने तथा आमस्रोताहरुलाई के भन्नुहुन्छ ?

सम्पूर्ण नेपालीहरुमा नयाँ वर्ष २०७५ को मंगलमय शुभकामना भन्न चाहन्छु । अरुले शुभकामना न दिने हो । सफलताको लागि मिहिनेत गर्ने, पसिना बगाउने काम त तपाईहरुकै हो, त्यसैले कामना भन्दा काममा विश्वास गर्नुहोला, ज्ञानको दायरा र क्षेत्रलाई बढाउनुस् भन्न चाहन्छु र गीतसंगीत क्षेत्रमा आउन चाहनेलाई गहिरो दृढ इच्छा शक्ति ल्याएर मात्र आउनुस् । म गीत संगितमा सफल भएरै छाड्छु भन्ने आत्मविश्वास राख्नुस् संघर्ष गर्न तयार रहनुस् । तयारी गर्नुस् । ज्ञान बटुल्न कन्जुस्याई नगर्नुस् । एउटा गायक गायिकाले गीत गाउँदा जति सजिलो देखिन्छ वास्तविकता त्यो भन्दा गाह्रो हुन्छ । गाह्रोपनलाई झेल्ने शक्ति जम्मा गरेर आउनुस् तपाईको गायक गायिका बन्ने सपना अवश्य पुरा हुनेछ । तपाईँहरुलाई हार्दिक शुभकामना ।

प्रस्तुतिःखगेन्द्र बिसी,khagendrabc123@gmail.com

 

 

 

प्रतिकृया दिनुहोस

मैले त मन्त्र पढे तिम्रै नामको तीज

कविता : ऐनामा अनुहार 

रमिला र खुमनको तीज गीत 'भुरुरु उडेको

भिखारीको ‘समुद्र साउती’ बजारमा

पत्रकार न्यौपानेको 'स्कुल बेच्ने बालक'

पाँडे र पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि